कसरी मनाउने मर्यादित होली ?– संगीता रेग्मी

कसरी मनाउने मर्यादित होली ?– संगीता रेग्मी


bicharमानव समाजको विकासक्रममा निर्माण भएका विभिन्न संस्कृतिहरूमध्ये हिन्दू समुदायले सांस्कृतिक एवम् धार्मिक दृष्टिकोणले मनाउने पर्वमध्ये ‘होली’ एक हो । नेपालमा पनि होलीलाई विभिन्न क्षेत्रका हिन्दू धर्मावलम्बी तथा त्यो संस्कृतिसँग नजिक रूपमा रही सम्बन्ध निर्माण गरेको अन्य समुदाय पनि होली तद्नुरूप मनाउने गर्छन् । पछिल्ला केही वर्षमा नेपालका विभिन्न ठाउँमा मनाइने होलीमा भारतीय चलचित्रको प्रभाव प्रस्ट देखिन्छ । होली निःसन्देह वर्षमा आपसी रिस, राग र द्वेषलाई समाप्त पार्दै एक–अर्कोसँग अङ्कमाल गरी विभिन्न रंगको पर्व होलीमा रंग, अबिर लगाई सद्भावको साटासाट गरिन्छ ।
नेपालमा होली पर्व दुई दिनसम्म महत्वका साथ मनाउने गरिन्छ । पहाडी जिल्लामा अघिल्लो दिन र तराईमा भोलिपल्ट यो पर्व धुमधामका साथ मनाइन्छ । होलीलाई तराई–मधेसमा ‘फगुवा’ भन्ने गरिन्छ । आफन्त, इष्टमित्र, साथीभाइबीच अबिरको टीका लगाएर एक–अर्काबीच सुखद पलहरू साटासाटा गर्ने र वर्षैभरि शुभ होस् भनी शुभकामनाका शब्दहरू आदानप्रदान गर्ने दिनका रूपमा चिनिने यस पर्वको विशिष्ट महत्व र सन्देश रहेको छ । होलीको महत्व र सन्देशलाई नजिकबाट नियाल्दा यस पर्वमा आफन्त, इष्टमित्र, साथीभाइहरूले मीठो, चोखो खाएर पनि एक–अर्कामा खुसियाली साटासाट गरेको हामीले देख्दै र भोग्दै आएका छौँ । यी सबै विषयलाई हेर्दा होली पर्वको महत्व धेरै छ । यसबाट हामीले धेरै कुरा सिक्न सक्दछौँ । तर, केही समययता होलीपर्व विकृतिका रूपमा देखापरेको छ ।
होली पर्वलाई एकातिर महिलाको संवेदनशील अङ्ग छोएर आनन्द लिने दिनका रूपमा विकसित गरिएको छ भने अर्कोतर्फ जथाभावी लोला हान्ने, मोसो दल्ने, रंग छ्यापिदिने र नशालु पदार्थ सेवन गरी आनन्द लिने दिनका रूपमा पनि यसलाई प्रयोग गर्ने जमात बढ्दै गएको छ जुन हामीले गएको वर्षहरूमा देखेका छौँ । यस वर्ष पनि यो कुरा पूर्ण रूपले हट्छ भन्नेमा हामी ढुक्क छैनौँ । यही रवैयाबाट होली पर्वलाई प्रयोग गर्नेहरूको जमात बढ्दै गयो भने भविष्यमा राज्यले नै कडा रूपमा यसलाई बन्देज लगाउनेसम्मको कार्य गर्न बाध्य हुनेछ भन्नेमा शङ्का छैन ।
सबैजसो पर्वका राम्रा सन्देश र उद्देश्य रहेका हुन्छन् । तर, समाजमा हामीले नै यसलाई विकृत बनाउने काम गरिरहेका छौँ । होलीको सन्दर्भमा पनि यदि हामीले यसमा बढ्दै गएका विकृतिहरू रोक्ने सन्दर्भमा ध्यान दिएनौँ भने यसको नकारात्मक दुष्परिणाम हामी सबैले भोग्नुपर्ने हुन्छ ।
यतिबेलाको समय सङ्क्रमणकालीन छ । यस्तो अवस्थामा हरेक कार्यबाट समाजमा हिंसा, अन्याय, अत्याचार हुने सामाजिक सद्भावमा गम्भीर असर पुग्ने कामहरू बढी हुने गर्दछन् । त्यसैले होलीका नाममा पनि यी कार्यहरू नहुन् भनेर सजगता अपनाउनु वेश हुन्छ । होली पर्व सद्भाव र भ्रातृत्वको मियो हो । समाजमा बढ्दै गएको अपराध मानसिकताले पनि होली पर्वलाई विकृतियुक्त बनाउने सन्दर्भमा भूमिका निर्वाह गरिरहेको छ । सभ्य समाज निर्माणका लागि पनि आपराधिक मानसिकता र प्रवृत्तिलाई निरुत्साहित पार्ने काममा सबै लाग्नु जरुरी छ । होली पर्वलाई मर्यादित रूपमा सबैले मनाउने वातावरण निर्माण गर्ने काम सबैको हो । होली पर्वलाई विकृत हुनबाट रोक्न हरेक जिल्ला र स्थानीयस्तरमा पनि विशेष तयारी र सजगता अपनाउँदै सचेतनाको पाटोलाई खरो ढङ्गबाट अगाडि बढाउन जरुरी छ । आफ्नो सभ्यता र संस्कृतिलाई संरक्षण गर्दै आगामी दिनमा होली पर्वलाई मर्यादित पर्वको रूपमा चिनाउन आवश्यक छ ।