आयातलाई टक्कर दिँदै स्वदेशी औषधि उद्योग

आयातलाई टक्कर दिँदै स्वदेशी औषधि उद्योग


  • छविलाल बगाले

कुनैबेला औषधिमा विदेशकै भर पर्नुपर्थ्यो । आयातितमध्ये करिब ५० प्रतिशतमा भारतीय उत्पादनकै दबदबा थियो । तर, विस्तारै स्वदेशी उद्योगले विदेशी उत्पादनलाई टक्कर दिन थालेका छन् । पछिल्लो चार वर्षको तथ्यांक हेर्दा पनि स्वदेशी र विदेशी औषधिको कारोबारमा धेरै अन्तर देखिँदैन ।

आर्थिक बर्ष ०७४/७५ मा बाह्य मुलुकबाट मात्रै २५ अर्ब बराबरको औषधि नेपाल भित्रियो । जुन अघिल्लो बर्षको तुलनामा ५ अर्ब बढि हो । प्रत्येक आर्थिक बर्षमा नेपाल भित्रिने औषधिको अनुपात बढ्दो छ । तर, आयातलाई टक्कर दिन स्वदेशी उद्योग पनि आक्रामक रुपमा लागेका छन् । स्वदेशी औषधि उद्योगले पनि आर्थिक बर्ष ०७४/७५ मा मात्रै २० अर्बको कारोबार गरे । जुन विदेशीको तुलनामा पाँच अर्व कम हो ।

दुई दशकअघिसम्म अधिकांश औषधी आयात हुन्थ्यो । अहिले ४ सय थरीका औषधि नेपालमै उत्पादन हुन्छ । अहिले बजारमा भारतीय उत्पादनको ५२ र नेपाली उत्पादनको ४५ प्रतिशत हिस्सा छ । तीन प्रतिशत चाहिँ अन्य मुलुकबाट आयात हुन्छ ।

आन्तरिक उत्पादन प्रोत्साहित गर्न सरकारले आत्मनिर्भर भइसकेका केही औषधि आयातमा रोक लगाउने तयारी गरिरहँदा उद्योगी राज्यले साथ दिए औषधिमा ८० प्रतिशत आत्मनिर्भर हुन सकिने दावी गर्छन ।

नेपालमा अहिले ५५ वटा उद्योगले वार्षिक २० अर्ब बराबरको औषधि उत्पादन गरिरहेका छन् । २५ वटा कम्पनी उत्पादनको तयारीमा छन् । क्यान्सर, न्यूरो र किड्नीसम्बन्धी उच्च मोडिक्युलर बाहेकका सबै औषधि नेपालै उत्पादन गर्न सकिने उत्पादकको दाबी छ ।