राजनीतिले ल्याएको बेथिति– विनोद त्रिपाठी

राजनीतिले ल्याएको बेथिति– विनोद त्रिपाठी


nice phortoचार दिन भो पानी परेको, राजधानीका सडक हिलाम्मे छन् । सडकमा बटुवालाई गन्तव्य छिचोल्न मुस्किल पर्छ । कतै छैन सग्लो सडक । खानेपानीका नाममा, ढलका नाममा, टेलिफोन तारका नाममा आदि–आदि कारण तेस्र्याएर सडक असरल्ल पारिएको छ । यस्तै हिलैहिलो पार गर्दै माइक्रोबसमा कोचाकोच यात्रा गर्नुपर्छ । अरू सार्वजनिक बसमा चढ्न सकिँदैन ।
सरकारी अस्पतालमा उपचार गर्न जाँदा स्वस्थ व्यक्ति पनि बिरामी भएर फर्कन्छ । सार्वजनिक स्थल, चौर, डम्पिङसाइटजस्ता फोहोर थुप्रिएका छन् । सधैँ बागमती सफाइ गरिन्छ, तर नदीछेउ बस्न नसक्ने दुर्गन्धले सरुवा रोगहरू फैलाएको छ ।
सरकारी क्याम्पस राजनीति गर्ने थलो बनेका छन् । विभिन्न विश्वविद्यालय भ्रष्टाचारका नाममा अपाङ्ग बनेका छन् । तोकिएका दिनमा परीक्षा हुन सक्दैन । टाढाबाट पढ्न आउने विद्यार्थी होस्टलमा बस्न राजनीतिक दलको सोर्सफोर्समा रुमल्लिएका छन् ।
विमानस्थलमा हे-यो, अनुहारभरि स्वदेशको माया बोकेर खाडी मुलुकमा जाने युवाको लर्को छ । आमाको माया, परिवार र देशको मायालाई आँसुमा बगाएर पेट पाल्न बिदेसिएका मलीन अनुहार छन् ।
सरकारी कार्यालय पुगेको सेवाग्राही बल्लतल्ल काम बनाएपछि स्वर्ग जितेको अनुभूति गर्छ । एक दिनमा सक्ने काम साता दिनसम्म अल्झाउने पीडाबाट जनता सरकारी कर्मचारीबाट वाक्क छन् ।
सरकारले बिरामीलाई निःशुल्क दिने भनेका औषधि सरकारी अस्पतालमा पाइँदैन । त्यही औषधि पाउन सोर्सफोर्सबाट दिक्क बनेपछि निजी क्लिनिकमा किनेर बिरामी घर फर्कन्छ ।
निर्धक्क सडकमा हिँडेका किशोरी एसिडआतङ्कबाट त्रसित छन् । दिल्ली हुँदै बिहार, उत्तर प्रदेश र मधेसबाट सरेको एसिडआतङ्क पहाडका अपराधीलाई मौका मिलेको छ । अपराधी पक्राउ गर्ने प्रहरी नागरिकको महिला–पुरुषको सम्बन्ध तोड्न होटल–होटलमा छापा मार्न व्यस्त छ । महिलालाई सुरक्षा र सामाजिक मर्यादा लैङ्गिकमैत्री बनाउनुको सट्टा महिला–पुरुषको सम्बन्धलाई तोड्न नेपाल प्रहरी कथित कानुनी बाटो अवलम्बन गर्छ ।
सरकारी स्कुलमा पढाइ हुँदैन । न अनुशासन, न गुणस्तरीय पढाइ, न अतिरिक्त क्रियाकलाप बनेका सरकारी स्कुलमा सरकारको लगानी बालुवामा पानी भएको छ । सकिनसकी निजी क्ष्ँेत्रका स्कुलमा पढाइएका बालबच्चाको शुल्क तिर्न नसकेर अभिभावक जीवनभर घमाइलो दिन देख्न पाएका छैनन् । ठेकेदारले गर्ने ढिलाइले विकासका काम अलपत्र परेको सरकारी अधिकारी सुन्दैनन् । तिनै ठेकेदारहरू नेता र मन्त्रीको आडमा कम गुणस्तरीय र काम ढिलाइ गर्न उद्यत् छन् । यी र यस्तै सयौँ बेथितिले यतिबेला नेपाली जनता आक्रान्त छन् । राजनीतिक परिवर्तनबाट आशातीत नेपाली अनुहारले नेपालको राजनीतिक परिदृश्यका पदचापलाई नियाल्दा अझै पनि सुधारका कुनै सङ्केत पाउन सकेका छैनन् । हामीले दिल्लीबाट प्रजातन्त्र र राजनीतिक सुधारका विषय मात्र प्रवेश गराएनौँ, त्यही दिल्लीबाट एसिडआतङ्कको नयाँ अपराधको सुरुवात पनि ग-यौँ । भारतका राज्यबाट हामीलाई नुन मात्र आउँदैन, अपराधका वस्तु पनि आयातीत छन् । यो एसिडआतङ्क एसियामै बलात्कारको राजधानीका रूपमा परिचित दिल्लीमा ज्यादा हुने गर्छ । त्यहीँको राजनीतिक चक्रब्यूहमा परेको नेपाली राजनीतिको तीर अपराध बनेर एसिडका रूपमा काठमाडांै भित्रिएको छ ।
हरेक दिन अखबारका पानामा कुनै न कुनै कुनामा बलात्कारका समाचार छापिएका छन् । बलात्कारका घटनालाई अन्तै मोड्न केही मानवअधिकारवादी जो डलर र विदेशी रछ्यानमा रमाएका छन्, उनीहरू अनेक प्रमाण जुटाउँछन्, अनि पूजा बोहराहरू जस्तालाई निकम्मा सावित गरेर बलात्कारीलाई उन्मुक्ति दिन लगाइन्छ । दिनदिनै महिला सवालमा गोष्ठी–सेमिनार हुन्छन्, तर मधेसका महिलालाई पुरुषबराबरको स्वतन्त्रतामा कोही चुइँक्कसम्म बोल्दैनन् । छुट्टै राज्यका कुरा गर्ने मधेसी दलहरू पहिला आफ्नै समाज, आफ्नै घर, छरछिमेकमा महिलालाई पुरुषको तुलनामा अधिकार प्रदान गर्न आँखा चिम्लिन्छन् । तिनै मधेसबाट जन्मिएका एकाध विश्लेषक मधेसी महिला र उनीहरूको जीवनयापनका विषयमा बोल्दैनन् । काठमाडांैको स्वतन्त्र वातावरणबाट मधेसको महिला–पीडालाई सम्बोधन गर्नुपर्छ चेतना यिनले सम्झन चाहँदैनन् र महिला–पुरुष ‘एक रथका दुई पाङ्ग्रा हुन्’ भन्ने आवाज कहिल्यै बुलन्द गर्दैनन् ।
तलबकै भरमा काम गर्ने इमानदार सरकारी कर्मचारी परिवार पाल्न नसकेर टोलाउँछ । सँगैको साथीले घर बनायो कसरी ? तर यहाँ दैनिक गुजारा चलाउनै समस्या परेको यथार्थमा उसले आफ्नो इमानदारितामा पेट पाल्न नसक्ने चाल पाउँछ । घुसखोरी र बदमासी गर्नेलाई समाजले बहादुरी तक्मा दिन्छ । निरीह बनेका इमानदार कर्मचारी घटुवामा पर्छन् । असल र बहादुरी काम गर्ने प्रहरीलाई दुर्गम पु-याइन्छ । घुसमा पल्केकालाई सिमाना र सदरमुकामका अड्डामा हाजिर गर्न लगाइन्छ ।
देशैभरि बग्रेल्ती खुलेका सञ्चार संस्था छन् । तलब नपाएर प्याकप्याक्ती परेर सञ्चारकर्मी लोकसेवा आयोग धाउन सुरु गरेका छन् । लोकसेवामा दुई सय पदमा दुई लाखको आवेदन पर्छ । को योग्य को अयोग्य, छुट्याउनुको सट्टा सोर्सफोर्सबाट आएकालाई उत्तीर्ण गराइन्छ । देशभरका जमिनभरि अन्न फलाउने मन होइन, प्लटिङ गर्ने हातहरू सल्बलाएका छन् । कतै खेत बाँझै छन्, कतै चिराचिरा पारेर अलपत्र छोडिएको छ । एकथरी रातारात यही बिकाउ धन्दाबाट मालामाल छन्, अर्कोथरी आफ्नै जमिन बाँझो भएको टुलुटुलु हेर्न विवश छन् । सरकार हरेक वर्ष विदेशबाट अन्न आयात गर्छ । जनता कमसल अन्नबाट महँगो जीवन बिताइरहेछन् ।
रेमिट्यान्सको नाममा टोलैपिच्छे बैंक खोलिएका छन् । रगत र पसिनालाई विदेशको भूमिमा बगाएर आएको पैसाले बैंकको प्रतिफल उच्च छ, तर त्यही खाडीमा जीवन सकाएको बबुरोको परिवार बैंकको ऋण तिर्न जीवनभर सक्दैन ।
हामीले भोगेका र देखेका सबै कष्टकर विषयलाई हेर्ने हो भने यो कसरी र कहाँबाट सिर्जना भएको मूल तथ्य हेर्नुपर्छ । नेपालमा जतिजति राजनीतिक परिवर्तन हुँदै गयो, उतिउति जनताका नाममा यसप्रकारका बेथिति बढ्दै गएका छन् । गणतन्त्र आउनुअघिका बालबालिका अहिले युवा अवस्थामा प्रवेश गरिसके । तर, नेपाली जनताको वास्तविक जीवनयापनमा झन्झन् खराब बन्दै गएको छ । हिजो निर्माण भएका विकासका संरचना संरक्षण हुन नसक्दा भताभुङ्ग बनेका छन् । लोडसेडिङको मार दिनप्रतिदिन बढेको बढेकै छ । स्कुलको शुल्क, तरकारीको मूल्य, चामलको भाउ अकासिएको छ । तर, ८० प्रतिशतभन्दा बढी नेपालीको आय झन्झन् तल खस्किएको छ । आन्दोलनबाट सबै समाधान हुने भए हालसम्मका आन्दोलन नेपाली राजनीतिमा प्रशस्त भइसके । राजनीतिक फेरबदलले हाम्रा माग सम्बोधन हुने भए हुनुपर्नेजति परिवर्तन भइसके । तर, जनताका नाममा भएका परिवर्तन र आन्दोलन जनतालाई नै सताउने प्रकारका भएकोतर्फ अब स्वयम् जनता सचेत हुन जरुरी छ । राजनीतिक सङ्क्रमणकाल भनेर, संविधान नबनेको भनेर कुनै पनि व्यक्तिको सिङ्गो जीवन नै नारकीय बनाइदिने नेपालीको राजनीतिले जनताका लागि कहिल्यै राहतका काम गर्न सकेन । पटकपटक हुने कुनै प्रकारका आन्दोलनले जनतालाई होइन, पार्टीलाई र नेतालाई मात्र पोषण दिन्छ भन्ने सबै नेपाली जनताले एकपटक मनन गर्ने कि ?