केही दिनअघि राजधानीमा धोती लगाएका र राजधानीबाहिर टोपी लगाएका पुरुषहरूको जुलुस निस्कियो । ती जुलुसका उद्देश्य फरक थिए, टोपीवाला राष्ट्रियतामा केन्द्रित थिए भने धोतीवाला पहिचानमा केन्द्रित थिए । धोतीवाला नेपालीभन्दा पनि मधेसी हुनुमा गौरवान्वित देखिन्थे भने टोपीवालाले नेपाली हुनुमा गर्व गरिरहेका थिए । दुवैका जुलुस र तिनका फोटा हेर्दै गर्दा मनमा प्रश्न उब्जियो, ‘यी दुई जुलुसवालामा म कहाँ छु ?’ म अर्थात् जन्मँदैको मेरो पहिचान नेपाली महिला, नेपाली महिला कहाँ छन ? टोपी जुलुसमा टोपी लगाउनेहरू गए, धोती जुलुसमा धोती लगाउनेहरू गए । धोती र टोपी दुवै नलाउनेहरूको पहिचान के हो त ? यसैबीच अर्को प्रश्न पनि उब्जियो, के धोती मधेसी मात्रको पहिचान हो ? या टोपीचाहिँ मधेसीको पहिचानभित्र पर्दैन ? या धोतीचाहिँ पहाडीहरूले लाउँदैनन् ? यस्ता प्रदर्शनले मधेसी पहाडीबीच तिक्तता ल्याउँछ कि सौहार्दता बढाउँछ ? अहिले नै यसप्रकारका प्रदर्शनहरू किन भए ? टोपी जुलुसमा किन मधेसीहरूको सहभागिता गराइएन ? र, धोती जुलुसमा पहाडीहरूलाई किन बोलाइएन ? यो मुलुकमा जुँगाको लडाइँका नाममा पुरुषहरूको स्वस्थ /अस्वस्थ अनेक प्रतिस्पर्धा र तँछाड, मछाड त वर्षौंदेखि हेर्दै आइएको हो अब धोती र टोपीको नाममा के–के हेर्नु पर्ने हो यसै भन्न सक्ने अवस्था देखिँदैन । एकछिन धोतीको कुरा गरौँ, हो, धोती मधेसमा प्रायः पुरुषहरूले लगाउने पोसाक थियो, तर अहिले समयक्रममा युवाहरूले धोती होइन पाइन्ट नै लगाउन थालेका छन् । धोती पहाडमा पनि बूढापाकाले लगाउने पोसाक थियो, विशेषगरी पूजापाठमा बस्दा अहिले पनि घर घरमा धोती नै लगाउने चलन छ । विभिन्न मन्दिरमा पुजारीहरू अहिले पनि धोती नै लगाउँछन् चाहे ती मधेसी हुन् या पहाडी । त्यसैले धोती मधेसीको मात्र पोसाक होइन पहाडी पुजारीहरूको पनि हो । देवी–देउताको पूजा गर्ने हिन्दू धर्मवालम्बीहरूमध्ये धेरैले पूजाको बेला धोती नै लगाउँछन् । सानो छँदा हामीजस्तो भण्डारमा हजुरबुबा, बुबा, ठूलोबुबाहरूले पूजा गरेको देखेर हुर्किएकाहरूका लागि धोती बुबाहरूको पोसाक हो । दशैँको नवरात्रिभरि भण्डारमा पूजा गर्नेहरू दौरा–सुरुवाल या कमिज–सुरुवालमा पूजाकोठामा पस्दैनन्, धोती नै लाउँछन । विवाह, ब्रतबन्धलगायतका कार्जेमा पनि घरका पुरुषहरूले धोती नै लगाएर धार्मिक कार्य गर्ने चलन छ । पहिलापहिला क्षेत्री–बाहुनको घरमा खाना खाने बेलामा पनि धोती फेर्ने चलन थियो, तर हिजोआज धोती फेरेर खाना खानेहरू कमै भेटिन्छन् ।
पूर्वका धेरै मन्दिरमा जनजातिहरू पुजारी छन । उनीहरू पनि प्रायः धोती नै लाउँछन् । त्यसैले धोती भन्नेबित्तिकै मधेसीको छवि नै अगाडि आउँछ भन्ने पटक्कै होइन । को कहाँ कुन परिवेशमा कसरी हुर्कियो त्यसमा भर पर्छ । सानैदेखि लालबाबु यादवजस्ता मधेसीलाई देख्दै हुर्किएकाहरूले मधेसी भनेका त शिरमा ढाकाको टोपी लाउने पो हुन्छन् त भन्ने धारणा बोकेका हुन सक्छन् । धोती होस् या टोपी जुलुस नै निकालेर प्रदर्शन गर्नुपर्ने अवस्था हो जस्तो लाग्दैन । हाम्रो सामाजिक परिवेशको सन्दर्भमा कसैको खस्किएको अवस्थालाई लिएर ‘बिचरा धोती न टोपी भएछ’ भन्ने चलन पनि छ । यसको अर्थ धोती र टोपी सँगसँगै जोडिएर आउने कुरा हुन् । यी दुई छुट्टै ग्रहका कुरा नै होइनन् जसलाई यहाँ बनाउन खोजिएको छ । मधेस आन्दोलनका बेला टोपी लगाउनेहरूमाथि कारबाही नै होलाझैं वातावरण बनाइएको भए पनि बिस्तारै–बिस्तारै मधेसी र पहाडीबीचमा ल्याउन खोजिएको त्यो खाडल पुरिँदै गएको छ । हामी नेपालीको सबैभन्दा राम्रो पक्ष भनेकै विविधतामा एकता हो । हो, पोसाकले पहिचान दिन्छ, तर त्यो पहिचान सामुदायिकसँगै राष्ट्रियसमेत हुन सक्यो भने झनै राम्रो । कहिलेकाहीँ पोसाकहरू अन्तरसामुदायिक रूपमा पनि प्रयोग गर्न सकिन्छ । एक–अर्काप्रति सौहार्दता प्रदर्शन गर्नका लागि पोसाक, भाषालगायतका कुराको ठूलो योगदान हुन्छ । पहिला कालोमा रातो पारी भएको सारी नेवारी समुदायमा मात्र लगाइन्थ्यो । अहिले जुनसुकै समुदायका महिलाले पनि लाउँछन् । कुनैबेला ज्यापू महिलाको पोसाक भनेर चिनिने उक्त सारी अब सो समुदायको विशेष त हो नै अरूका लागि पनि उत्तिकै महत्वको भएको छ । धेरै जातजाति भएको हाम्रोजस्तो मुलुकमा फरक–फरक भेषभूषा हुनु स्वाभाविक हो । मधेस मात्र भनेर के गर्नु त्यहाँ पनि धेरै जातजातिको बसोबास छ । जातजातिसँगै भाषा र भेषभूषा पनि फरक छ । यी अनेक विविधतालाई जोड्ने भनेको राष्ट्रिय पहिचानसँग जोडिएका कुराहरूले हो ।
यो देश निश्चय नै सबै जातजातिको हो, तर विभिन्न जातजातिका पुरुषको मात्रै होइन महिलाको पनि बराबरी हो । त्यसो त महिलालाई आधा अकाश भन्ने गरिएको छ । तर, अकाश मात्र होइन यो देशको जमिनमा पनि महिलाको उत्तिकै हक छ जति पुरुषको छ । राष्ट्रियताको सवालमा होस् या घरपरिवारको यो जहाँ पनि लागू हुन सक्छ, लागू हुनुपर्छ । तर, हामीकहाँ त भनाइहरू पनि त्यस्तै छन्, राजनीतिमा जुँगाको लडाइँ भन्ने चलन छ । यसको अर्थ हो राजनीति त महिलाको होइन यो त जुँगा हुनेहरूको मात्रै हो । अहिले धोती र टोपी जुलुस पनि यस्तै तरिकाले भए । मानौँ पहिचान, राष्ट्रियतालगायतका कुरामा महिलालाई कुनै चासो या सरोकार नै छैन । या यो त उनीहरूको विषय नै होइन । वास्तवमा पहचान, राष्ट्रियता, राजनीति सबै नै यो देशका नागरिकसँग जोडिएका कुरा हुन् न कि महिला या पुुरुष । तर हाम्रा कतिपय मूल्य–मान्यता र ती मूल्य–मान्यतालाई अगाडि बढाउन सक्रिय व्यक्ति या समूहबाट कुनै वर्ग र समुदायलाई पछाडि पार्ने काम हुँदै आएको छ । धोती र टोपीको प्रसङ्ग त साङ्केतिक कुरा मात्र हुन् । त्यही साङ्केतिक सवालमा पुरुषहरूले राम्रो काम गर्न नसके चुरा, पोते, सारी उपहार दिने चलन पनि छ । टाढाको के कुरा गर्नु यही माघमा तोकिएको समयमा संविधान बनेन भनेर नेताहरूलाई सारी लगाएर फोटोमा सिँगारियो र सामाजिक सञ्जालमार्फत धुनधानसँग सेयर गरियो । त्यसको सीधा अर्थ थियो, संविधान बनाउन नसक्ने नामर्द अनि नामर्दको अर्थ महिला । अन्तर्राष्ट्रिय नारी दिवसको पूर्वसन्ध्यामा यत्ति नै भनौँ, धोती लाउनेले टोपी जुलुसमा जान सकोस्, टोपी लाउनेले धोती जुलुसमा नारा लगाओस् । यी धोती र टोपीबीच अन्य रङ्गी–चङ्गी धोती, कुर्ता, मिडी, लुङ्गी, फ्रक या पाइन्ट लगाउनेहरूको पनि समान अस्तित्व हुन सकोस् ।
प्रतिक्रिया