युरोपेली केन्द्रीय बैंक (ईसीबी) ले ५०० दरको युरो नोट विस्थापन गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । दैनिक जीवनमा कमै प्रयोग हुन थालेपछि ईसीबीले उक्त बैंक नोट हटाउन लागेको हो ।
कतिपय अपराधीहरूले सजिलोका निम्ति यो बैंक नोट प्रयोगमा ल्याएका भए पनि नगदमै कारोबार गर्न रुचाउने जर्मनीका आमनागरिकलाई ईसीबीको यो निर्णयले खिन्न बनाएको छ ।
आइतबारदेखि नै १९ मध्ये १७ वटा युरोपेली मुलुकका केन्द्रीय बैंकहरूले बैजनी रंगको ५०० दरको नोट जारी गर्न छाड्नेछन् । जर्मनी र अस्ट्रियाका केन्द्रीय बैंकले मात्र केही समय यो नोट प्रचलनमा ल्याउनेछन् । युरोपेली केन्द्रीय बैंकको विज्ञप्तिअनुसार सहज वातावरण निर्माणका लागि अप्रिल २६ सम्म यी दुई मुलुकले ५०० दरका बैंक नोट प्रयोग गर्नेछन् ।
जर्मनीको मार्गबर्गका मेडिकल प्राविधिज्ञ रल्फले युरोपको सबैभन्दा ठूलो एकल मुद्रा अर्थात् ५०० दरको नोट विस्थापित गर्न लागेकामा असन्तोष प्रकट गरे । उनले ५०० नोटले कारको किस्ता तिर्ने गरेको अनुभव सुनाए, ‘मलाई धेरै रकम भुक्तानी गर्नुपर्दा ठूलै बैंक नोट चाहिन्छ, र यो मलाई मन पनि पर्छ । यसको अर्थ म आपराधिक चरित्रको व्यक्ति त होइन ।’
ईसीबीको यो निर्णयसँगै युरोपेली क्षेत्रका अरू बैंकहरूले पनि बिस्तारै यो नोट जारी गर्न र लिन बन्द गर्नेछन् । ईसीबीले यसको साटो अरू कम मूल्यका नोटहरूको संख्या बढाउनेछ । तर, घरमा ५०० का नोट राख्दैमा आत्तिनुपर्दैन, किनभने यी सबै नोटको वैधानिकता सुनिश्चित गरिएको छ । ‘मानिसहरूले यो नोट चलाउन वा घरमै राख्न सक्छन्,’ ईसीबीकी प्रवक्ता इभा टेलरले बताइन् । गत महिना युरो नोटको प्रवाह हुँदा ५०० दरको नोटको हिस्सा करिब २ प्रतिशत मात्र थियो ।
प्रतिक्रिया