आयरल्यान्ड र बंगलादेशको उत्कृष्ट प्रदर्शनले चालू विश्वकपलाई रोमाञ्चक मोडमा पु-याउँदा पाकिस्तान र इंग्ल्यान्डको गन्तव्य अनिश्चित बनेको छ । समूह ‘ए’मा वेस्टइन्डिजलाई पराजित गरेर सनसनी फैलाएको आयरल्यान्डले आफूले खेलेका चार खेलमा तीन खेल जितेर क्वार्टरफाइनलमा पुग्ने प्रबल सम्भावना देखाएको छ । त्यस्तै वर्षा बाधक बन्दा अस्ट्रेलियासँग एक अङ्क खोस्न सफल बंगलादेशले पनि दुई खेलमा जित र एकमा बराबरी गरेर क्वार्टरफाइनलमा पुग्ने आशालाई जीवितै राखेको छ । तर, यी दुई देशको उत्कृष्ट प्रदर्शन पाकिस्तान र इंग्ल्यान्डका लागि टाउकोदुःखाइ बनेको छ । यतिबेला इंग्ल्यान्डलाई क्वार्टरफाइनलमा पुग्न सबै खेल जित्न आवश्यक भएको छ भने आयरल्यान्डविरुद्धको खेल पाकिस्तानका लागि गर कि मर भएको छ । यदि आफ्नो अन्तिम खेलमा पाकिस्तान आयरल्यान्डसँग पराजित भएमा विश्वकपबाट बाहिरिनेछ । सुरुका दुई खेलमा भारत र वेस्टइन्डिजसँग नराम्रोसँग पराजित भएको पाकिस्तानले त्यसपछिका तीन खेलमा जित हासिल गरेको छ । विश्वकपमा टिकिरहन पाकिस्तानले आयरल्यान्डलाई जित्नुपर्ने दबाब छ । आयरल्यान्डले अब भारत र पाकिस्तानसँग खेल्न बाँकी छ । राम्रो रनरेटका कारण आयरल्यान्डको स्थिति निकै बलियो मानिएको छ । तसर्थ आयरल्यान्डलाई ठूलो अन्तरले पराजित गर्न सके मात्रै पाकिस्तानको अन्तिम आठको स्थान सुनिश्चित हुनेछ ।
चालू विश्वकपमा भारत र न्युजिल्यान्ड निकै बलिया देखिएका छन् । उनीहरूले आफ्ना सबै खेल जितेर अन्तिम आठमा स्थान बनाउँदै आफ्नो समूहमा शीर्ष स्थानमा रहेका छन् । तर, विश्वकपको प्रमुख दाबेदार अस्ट्रेलिया र दक्षिण अफ्रिकाले अहिलेसम्म क्वार्टरफाइनलमा स्थानमा बनाउन सकेका छैनन् । बंगलादेशविरुद्धको खेल वर्षाका कारण रद्द हुँदा अस्ट्रेलियालाई ठूलो घाटा लागेको छ । सहजै जित्ने खेलमा मौसम खलनायक बन्दा अस्ट्रेलिया अङ्क–तालिकामा पछि परेको थियो । अझ न्युजिल्यान्डसँगको सनसनीपूर्ण खेलमा पराजित भएपछि अस्टे«लियाले निकै उतारचढावको सामना गर्नुपरेको थियो । त्यसपछिका दुई खेल जितेर अस्ट्रेलिया लयमा फर्किसके पनि अङ्क–तालिकामा उसको स्थान कहाँ रहन्छ त्यसको टुङ्गो लाग्न सकेको छैन । पछिल्लो खेलमा श्रीलङ्कालाई पराजित गरेको अस्ट्रेलियाले अन्तिम आठमा आफूलाई सुरक्षित बनाए पनि श्रीलङ्का र बंगलादेशको प्रदर्शनले अस्ट्रेलियाको स्थानलाई पक्का गर्नेछ । त्यस्तै चालू विश्वकपमा निकै उतारचढावको सामना गरिरहेका पाकिस्तान, वेस्टइन्डिज र दक्षिण अफ्रिकाले अहिलेसम्म अन्तिम आठको स्थान सुरक्षित गर्न सकेका छैनन् । यी देशहरूमा अन्तिम आठमा पुग्ने दक्षिण अफ्रिकाको सम्भावना बलियो भए पनि पाकिस्तान र वेस्टइन्डिजले भने फलामकै चिउरा चपाउनुपर्ने देखिन्छ । पाकिस्तान दुई खेल र वेस्टइन्डिज तीन खेलमा पराजित भइसकेको छ । यस्तो अवस्थामा पाकिस्तानको सम्भावना देखिए पनि रनरेट पाकिस्तानका लागि दुर्भाग्य बन्न सक्छ ।
यसरी अहिले चालू विश्वकप क्रिकेट निकै रोमाञ्चक मोडमा पुगेको छ । आयरल्यान्ड र बंगलादेश अन्तिम आठमा पुग्न ज्यान छोडेर लागेका छन् भने अन्य राष्ट्रको प्रदर्शनमा पनि निकै उतारचढाव देखिएको छ । प्रतियोगिताअघि विश्वकपका दाबेदार मानिएका राष्ट्रहरू अहिले अन्तिम आठका लागि सङ्घर्ष गरिरहेका छन् । न्युजिल्यान्ड र भारतले अपराजित रहँदै विश्वकपमा दाबेदारी प्रस्तुत गरे पनि उनीहरूको पछिल्लो खेललाई विश्लेषण गर्दा त्यसै भन्न सकिने अवस्था छैन । एसोसियट राष्ट्रविरुद्धको खेलमा भारत र न्युजिल्यान्डले मुस्किलले जित हासिल गर्नु यसको उदाहरण हो । त्यस्तै दाबेदार राष्ट्रले पनि स्वाभाविक रूपमा प्रदर्शन गर्न नसक्नुले विश्वकपमा नौलो तरङ्ग उत्पन्न गराएको छ । तसर्थ निकै सनसनीपूर्ण र रोमाञ्चकारी बन्दै गएको विश्वकपका आगामी खेल पनि निकै रोमाञ्चकारी बन्ने देखिएका छन् । अन्तिम आठमा नै ठूलो उलटफेर हुने सङ्केत देखिएको छ ।
खेलकुद समाचार
राष्ट्रिय तेक्वान्दोमा आर्मीले बाजी मा-यो
नेपाल आर्मीले प्रथम राष्ट्रिय महिला तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । टिम च्याम्पियनको बनेको आर्मीले तीन स्वर्ण दुई रजत र चार कास्य जितेको थियो । नेपाल तेक्वान्दो सङ्घअन्तर्गतको महिला सशक्तीकरण व्यवस्थापन समितिद्वारा आयोजित प्रतियोगितामा विश्वविद्यालय तीन स्वर्ण र दुई रजत साथ दोस्रो भयो । तेस्रो स्थानमा रहेको पश्चिमाञ्चलले दुई स्वर्ण दुई रजत र चार कास्य हात पारेको थियो ।
प्रतियोगिताको सिनियरमा ५३ केजीमा स्वर्ण जितेकी पश्चिमाञ्चलकी तारा जीसी र जुनियरमा ३० केजीमा पहिलो भएकी आर्मीकी सरिश्मा शाह उत्कृष्ट खेलाडी घोषित भएका थिए । दुवैलाई जनही २५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । नगद पुरस्कार अमेरिकामा बस्ने गणेश अर्याल र समाजसेवी कमला कार्कीले प्रायोजन गरेका हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको अन्तिम दिन ५७ केजीमा आर्मीकी ज्ञानी चुनारा, ४६ केजीमा विश्वविद्यालयकी काजल श्रेष्ठ, ३७ केजीमा मध्यमाञ्चलकी उर्मिला तामाङ, ३४ केजीमा विश्वविद्यालयकी सविना नगरकोटी, ३२ केजीमा आर्मीकी योगमाया श्रेष्ठ तथा ४३ केजीमा पश्चिमाञ्चलकी सरिता श्रेष्ठ पहिलो भए ।
विजेतालाई द्वारिका होटलकी अध्यक्ष अम्बिका श्रेष्ठ, नेपाल पारा तेक्वान्दो सङ्घका अध्यक्ष जर्नाजन ढुङ्गेल, नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष हरिश्वर पोखरेललगायतले पुरस्कृत गरेका थिए । दुईदिने प्रतियोगितामा पाँच विकास क्षेत्र र चार विभागीय गरी नौ टिमका ९० खेलाडीले १० स्वर्णका लागि प्रतिस्पर्धा गरेको आयोजककी अध्यक्ष एवम् प्रतियोगिता संयोजक नन्दा बस्यालले जनाएकी छिन् ।
गाम्चामा क्रिकेट रंगशालाको शिलान्यास
राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री सुशील कोइरालाले सुवर्णशमशेर स्मृति क्रिकेट रंगशालाको हालै शिलान्यास गरेका छन् । सुवर्णशमशेर अध्ययन प्रतिष्ठानले बुढानीलकण्ठ गाम्चा १७ मा रहेको ९५ रोपनी जग्गा हातामा उक्त रंगशाला निर्माण गर्न लागेको हो । सो अवसरमा प्रतिष्ठानका अध्यक्ष ध्रुव खड्काले यसै सातादेखि रंगशाला निर्माणको काम थालिने जानकारी दिएका छन् । खड्काले पहिलो चरणमा पर्खाल लगाउने र त्यसपछि ‘फिलिङ’ गर्ने काम हुने बताएका छन् ।
रंगशालाको अनुमानित लागत २५ करोड रुपैयाँ रहेको बताइएको छ । तीन वर्षभित्र उक्त रंगशालाले अहिलेको कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्वरूप पाउने अध्यक्ष खड्काले बताए । पूरै निर्माणकार्य सकिन पाँचदेखि सात वर्ष लाग्ने अध्यक्ष खड्काले जनाएका छन् । रंगशाला बन्ने जग्गालाई गत माघ १२ गतेको क्याबिनेटले प्रतिष्ठानलाई भोगाधिकार दिने निर्णय गरेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले पर्यटन आकर्षण केन्द्रको ठाउँमा निर्माण हुन लागेको रंगशाला राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरमा आकर्षणको केन्द्र बन्ने विश्वास व्यक्त गर्दै रंगशाला निर्माणले सो स्थानको अन्य विकासको बाटो पनि खुल्ने बताए । प्रधानमन्त्री कोइरालाले निर्माणकार्यमा सरकारले पूरै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
गाम्चामा नयाँ क्रिकेट रंगशाला निर्माण हुन लागेकोमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले खुसी व्यक्त गरेका छन । कप्तान खड्काले यो क्रिकेट खेलाडीको लागि खुसीको खबर भएको बताउँदै यसले क्रिकेट खेलको विकासमा अहम् भूमिका निर्वाह गर्ने बताए । क्रिकेट रंगशालाको खडेरीमा रुमलिरहेका क्रिकेट खेलाडीका लागि यो खुसीको खबर भएको बताउँदै कप्तान पारसले यसले युवा खेलाडीलाई प्रोत्साहित गर्ने बताए । सीमित साधन–स्रोतमा पनि क्रिकेट खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरिरहेको अवस्थामा नयाँ रंगशालाको निर्माणले नेपाली खेलाडीको स्तरमा सुधार आउने उनको कथन थियो । लामो समयपछि निर्माण हुन लागेको रंगशालाले नेपाली क्रिकेटको समग्र विकास र विस्तारमा अहम् भूमिका खेल्नेमा कप्तान पारसले विश्वास प्रकट गरेका थिए ।
पारस र विमल सम्मानित
युरो इन्टरनेसनल स्कुल, काँडाघारीले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र राष्ट्रिय फुटबलर विमल घर्तीमगरलाई नगदसहित सम्मान गरेको छ । आ–आफ्नो खेलमार्फत अन्तर्राष्ट्रिय जगत्मा नेपालको प्रतिष्ठा अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु-याएकोमा खेलाडीद्वयलाई सम्मान गरिएको हो । युरो कला तथा संस्कृति महोत्सवका अवसरमा कमलादीको नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक कार्यक्रमबीच उनीहरूलाई जनही २५ हजार र युरो खेलकुद सम्मान पुरस्कारबाट सम्मान गरिएको थियो ।
बुढानीलकण्ठको ह्याट्रिक
बुढानीलकण्ठले छैटौँ काठमाडौं जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्ड खेलकुदको उपाधि जितेको छ । टिम च्याम्पियन बुढानीलकण्ठले एक सय ७१ अङ्क जोडेको थियोे । बुढानीलकण्ठले उपाधि जितेको यो लगातार तेस्रोपल्ट हो । यो उपाधिसँगै बुढानीलकण्ठले रनिङ सिल्डमाथि पनि कब्जा जमाएको छ । काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा एक सय २९ अङ्क जोडेको विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय दोस्रो भएको थियो । ७० अङ्कसाथ नेपाल एपीएफ स्कुल, कीर्तिपुरले तेस्रो स्थानमा चित्त बुझायो । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १५ हजार, १२ हजार र नौ हजार नगद पुरस्कारसहित ट्रफी, पदक तथा प्रमाणपत्र प्राप्त गरेका थिए ।
उमा कुङ्फु विश्व मार्सल आर्टमा
थाइल्यान्डको बैंककमा हुने प्रथम विश्व मार्सल आर्ट गेम्समा नेपालको उमा कुङ्फु सङ्घले सहभागिता जनाउने भएको छ । मार्च १२ देखि २२ तारिखसम्म हुने गेम्समा १२ खेलाडीसहित १८ सदस्यीय नेपाली टोलीले सहभागिता जनाउने उमा कुङ्फु सङ्घले जनाएको छ ।
ताइचीतर्फ मणिराज मिक्छान, प्रज्ञा केसी र रमन राई चाम्लिङले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । त्यस्तै कुङ्फु सान्डाको ७५ केजीमा प्रकाश खत्री, ८० केजीमा अमिन तामाङ, ४० केजीमा विकास लामा, आयुष्मा श्रेष्ठ र देव देवकोटा, ६५ केजीमा दावा लामा, ३५ केजीमा सृष्टि श्रेष्ठ र सुवास अधिकारी तथा ५१ केजीमा सुहान श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । उनीहरूलाई तीन साताअघिदेखि अनिमेशलाल श्रेष्ठले बुढानीलकण्ठको बाल विकास इंग्लिस बोर्डिङ स्कुल र बालाजुको ऋत एकेडेमीमा नियमित प्रशिक्षण दिइरहेका छन् ।
टोलीनेता तथा प्रशिक्षकमा अनिमेशलाल श्रेष्ठ, व्यवस्थापकमा उमा कुङ्फु सङ्घका सचिव सिद्धार्थ लामा तामाङ तथा अफिसियलमा सङ्घका अध्यक्ष उद्धव थापामगर र सदस्य मुन्नी सुवेदी रहेका छन् । सञ्जितकुमार राई र सुकमान लामाले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । टिकटको समस्याका कारण टोली दुई समूहमा बँँडिएर बैंकक जाँदै छन् । एक टोली मार्च ९ तथा अर्को टोली मार्च १३ मा बैंकक जाने कार्यक्रम रहेको छ ।
उमा कुङ्फुले विदेशी भूमिमा कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागेको यो पहिलो अवसर भएको सचिव लामाले जनाएका छन् । गत मङ्सिरमा काठमाडौंमा भएको प्रथम दक्षिण एसियाली मार्सल आर्ट च्याम्पियनसिपमा उमा कुङ्फुका खेलाडीले भाग लिएका थिए ।
पारा जुडोलाई खेलकुद सामग्री
नेपाल जुडो सङ्घले कीर्तिपुरस्थित लेबोरेटरी उमाविका दृष्टिविहीन जुडो खेलाडीलाई खेल सामग्री र पोसाक सहयोगस्वरूप प्रदान गरेको छ । म्याट, गी र ट्रयाकसुट गरी करिब चार लाख ५० हजार मूल्यबराबरको सामग्री प्रदान गरिएको नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो सङ्घका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् । जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यले लेबोरेटरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. बालगोपाल वैद्यलाई सो खेल सामग्री हस्तान्तरण गरेका थिए ।
लेबोरेटरीमा हाल ५२ जना दृष्टिविहीन जुडो खेलाडी रहेका छन् । उनीहरूलाई महासचिव श्रेष्ठसहित मोहन सुनुवार र रमेश मगरले प्रशिक्षण दिइरहेका छन् । पारा जुडोमा लेबोरेटरीको पहिलो नेपाली टोली भएको महासचिव श्रेष्ठले जनाएका छन् । श्रेष्ठका अनुसार चाँडै अन्य दुई विद्यालयमा पनि टिम बनाइनेछ । सोही अवसरमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका उपाध्यक्ष केदारमान स्थापितले दृष्टिविहीन जुडो टोलीलाई सहयोगस्वरूप पाँच हजार नगद र प्राथमिक उपचारका सामग्री पनि हस्तान्तरण गरेका थिए ।
स्लालम क्यानोइङ ह्याङ्जामा
तेस्रो पर्वतीय खेलकुद महोत्सवअन्तर्गत खुला स्लालम क्यानोइङ च्याम्पियनसिप मार्च १३ र १४ मा अपर सेती ह्याङ्जा, पोखरामा हुने भएको छ । च्याम्पियनसिप नेपाल -याफटिङ तथा क्यानोइङ सङ्घले आयोजना गर्न लागेको हो । प्रतियोगिताअघि मार्च १२ मा एसियाली क्यानोइङ महासङ्घको बैठक कमलादीस्थित होटल रोयल सिङ्गीमा हुने आयोजक सङ्घका अध्यक्ष मनबहादुर न्यौपानेले जनाएका छन् । बैठकको अध्यक्षता महासङ्घका अध्यक्ष सोकिन नारिताले गर्नेछन् । साथै नारिताले नै च्याम्पियनसिपको उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ ।
केसीटीसीलाई क्रिकेट उपाधि
काठमाडौं क्रिकेट टे«निङ सेन्टर (केसीटीसी) ‘ए’ले गणेशमान सिंह सहिद स्मृति कप टी–२० पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । केसीटीसी ‘ए’ले आयोजक युथ फर नेसन्स नेपाल (वाईएफएन)लाई एक विकेटले पराजित गरेको थियो । पहिले ब्याटिङ गरेको वाईएफएनले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय २३ रनको योगफल खडा गरेको थियो । वाईएफएनका वसन्त खत्रीले २६ तथा दीपेन्द्र ऐरीले २३ रन जोडेका थिए ।
जवाफमा केसीटीसी ‘ए’ले पूरै २० ओभर खेल्दै नौ विकेट क्षतिमा आवश्यक एक सय २४ रन जोड्यो । अन्तिम बलमा जितका लागि केसीटीसी ‘ए’लाई २ रन आवश्यक थियो । त्यसमा नन्दन यादवले आवश्यक रन जोड्न सफल भएपछि केसीटीसी ‘ए’ उपाधि सुनिश्चित गर्न सफल भएको थियो । केसीटीसी ‘ए’का आदिल खानले ३४ तथा सञ्जय बस्नेतले २५ रन जोडेका थिए ।
केसीटीसी ‘ए’का मनीष यादव फाइनल खेलको ‘म्यान अफ द म्याच’ चुनिए । चार ओभर बलिङ गरेका उनले १६ रन खर्चंदै तीन विकेट लिएका थिए । वाईएफएनका दीपेन्द्र ऐरी ‘म्यान अफ द सिरिज’ चुनिए । केसीटीसी ‘ए’का राजेश पुलामी बलिङ, वाईएफएनका किरण बुढा ब्याटिङ तथा वाईएफएनकै अर्जुन अधिकारी विकेट किपिङमा उत्कृष्ट खेलाडी चुनिए । विजेतालाई ५० हजार र उपविजेतालाई २५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
प्रोमा भुपेश पहिलो
भूपेश शाक्यले प्रथम श्रीनाथ राष्ट्रिय मुवाँ थाई प्रतियोगिताको पुरुष ७० केजी प्रोतर्फ शनिबार स्वर्ण जितेका छन् । श्रीनाथ कलेक्सनको मुख्य प्रायोजनमा नेपाल मुवाँ सङ्घद्वारा आयोजित प्रतियोगिताको पुरुष ४० केजीमा साकार पुनमगर, ४५ केजीमा युवराज थापामगर, ५० केजीमा राजेन्द्र नगरकोटी, ५५ केजीमा दावा मोक्तान, ६० केजीमा सन्तोषकुमार लामा, ६५ केजीमा अजय जोशी तथा खुलामा दावा स्टेभेन शेर्पा पहिलो भएका थिए । महिलाको ५० केजीमा अञ्जली श्रेष्ठले स्वर्ण चुमिन् ।
विजेतालाई युवा नेता गगन थापा र फोहोर मैला व्यवस्थापन शिविरकी प्रबन्ध निर्देशक डा. सुमित्रा अमात्यले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको दुईदिने प्रतियोगितामा ५० खेलाडीले ९ स्वर्णका लागि प्रतिस्पर्धा गरेको आयोजक सङ्घका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
जिम्न्यास्टिकको पुनर्ताजगी तालिम सुरु
नेपाल जिम्न्यास्टिक सङ्घको आयोजनामा ९औँ राष्ट्रिय जिम्न्यास्टिक निर्णायक तथा प्रशिक्षक पुनर्ताजगी तालिम आइतबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को ओलम्पियन सेमी कभर्डहलमा सुरु भएको छ । तालिममा ६० जनाको सहभागिता रहेको आयोजक सङ्घका महासचिव मुकुन्दलाल नकर्मीले जनाएका छन् । तालिममा भारतको एनआईएस पटियालाका पूर्वएकेडेमिक डिन डा. गुरुदयालसिंह बाबाले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । तालिमको आयोजक सङ्घका पूर्वसंस्थापक अध्यक्ष सुवर्णबहादुर क्षेत्रीले एक कार्यक्रमबीच उद्घाटन गरे । तालिम फागुन २९ गतेसम्म चल्नेछ ।
स्व. महर्जनको परिवारलाई आर्थिक सहयोग
राष्ट्रिय खेलकुद परिषद्का कराते प्रशिक्षक स्व. रामकृष्ण महर्जनको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । हेटौँडाको हुप्राचौरमा भएको मकवानपुर जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्ड खेलकुदको समापन कार्यक्रममा राखेप कर्मचारी सङ्घका अध्यक्ष रञ्जन थापा र कोषाध्यक्ष सुवास पोखरेलले स्व. महर्जनकी धर्मपत्नी शर्मिलालाई दुई लाख २९ हजार ६ सय ५५ रुपैयाँ हस्तान्तरण गरेका थिए । राखेपअन्तर्गत सम्पूर्ण स्थायी कर्मचारीबाट सङ्कलित रकम हस्तान्तरण गरिएको हो । महर्जनको केही महिनाअघि निधन भएको थियो ।
कोरियाको भिजन विश्वविद्यालयसँग सम्झौता
नेपाल खेलकुद विज्ञान प्रतिष्ठान र मित्रराष्ट्र कोरियाको भिजन विश्वविद्यालयबीच सम्झौता भएको छ । आधुनिक खेलकुदका उपलब्धिहरू विज्ञानमा आधारित रहेका हुनाले खेलकुदसम्बन्धी अध्यापन, अनुसन्धान, शिक्षण प्रशिक्षण तथा खेलकुद प्राज्ञिक कार्यक्रमहरूमा विज्ञानसम्मत विधि, प्रविधि र यान्त्रिक उपयोगितासम्बन्धी प्रविधिको प्रयोग महत्वपूर्ण रहँदै आएको छ । सन् २००३ देखि नेपाल खेलकुद प्रतिष्ठान संस्थागत रूपमा रहे तापनि सन् २०१३ बाट नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको रूपमा रूपान्तरण भई खेलकुदमा वैज्ञानिक पद्धतियुक्त प्रविधिको प्रयोगमार्फत खेलकुद विज्ञानसम्बन्धी विषयहरूको अध्यापन प्रक्रियागत रूपमा अगाडि बढिरहेको छ । राष्ट्रिय खेलकुद परिषद्को उच्च महत्व तथा प्राथमिकतामा रहेको नेपाल खेलकुद विज्ञान प्रतिष्ठान भविष्यमा खेलकुद विश्वविद्यालयमा रूपान्तरण हुने गरी दूरदृष्टिसहित निर्दिष्ट गन्तव्यमा निरन्तर अगाडि बढिरहेको छ ।
अध्यापन, अनुसन्धान, प्रकाशन, परियोजना परिचालन, प्रशिक्षण, तालिम, सेमिनार, गोष्ठी तथा प्रतिभा पहिचानलगायत खेलकुद विकासका विविध सैद्धान्तिक, प्रयोगात्मक एवम् प्राज्ञिक कार्यलाई योजनाबद्ध तवरले सञ्चालन गरिरहेको नेपाल खेलकुद विज्ञान प्रतिष्ठानले गत पुस ३० गतेदेखि फागुन २८ गतेसम्म ६ हप्ताको ‘स्पोर्टस् साइन्स कोचिङ कोर्स फर एलिट कोचर्स’ सञ्चालन गरिरहेको छ । राष्ट्रिय टिम तयारीमा संलग्न हुने विभिन्न तहका ७१ जना प्रशिक्षक उक्त कोर्षमा संलग्न रहेका छन् । खेलकुद विज्ञानमा आधारित ट्रेनिङ मेथड, साइकोलोजी, बायोमेकानिक्स, स्पोर्टस् मेडिसिन, न्युट्रिसन, योगा, शारीरिक तन्दुरुस्ती एवम् सोसँग सम्बन्धित विविध विषयको अध्यापनको माध्यमबाट राष्ट्रियस्तरका प्रशिक्षकको स्तरवृद्धिसम्बन्धी प्राज्ञिक कार्यमा मित्रराष्ट्र कोरिया, ताइवान, भारत, क्युवाका वैज्ञानिक एवम् स्वदेशी विज्ञ तथा विशेषज्ञहरूको संलग्नता रहेको छ ।
नेपालको खेलकुदको दिगो विकासका लागि हाम्रा मित्रराष्ट्रहरूबाट आउनुभएका वैज्ञानिकहरूबाट सहयोगको वचनबद्धता र प्रतिबद्धतासमेत व्यक्त भएको छ । यसै सन्दर्भमा मित्रराष्ट्र दक्षिण कोरियाको भिजन युनिभर्सिटी कलेज अफ जेड्जु र नेपाल खेलकुद, विज्ञान प्रतिष्ठानबीच मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ भएको छ । सो सम्झौतापछि उच्चस्तरीय शैक्षिक तथा प्राज्ञिक सहयोग आदान–प्रदानका माध्यमबाट नेपाल खेलकुद विज्ञान प्रतिष्ठान र भिजन युनिभर्सिटीबीच आपसी भाइचाराको सम्बन्ध विस्तार हुने विश्वास प्रकट गरिएको छ । सम्झौतापत्रमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा, भिजन युनिभर्सिटी दक्षिण कोरियाका तर्फबाट प्रोफेसर किम सुन जङ र नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका तर्फबाट कार्यकारी निर्देशक डा. प्रकाश प्रधानद्वारा हस्ताक्षर गरेका थिए ।
प्रतिक्रिया