कफीमा लगानी आकर्षित गर्ने उद्देश्यले आगामी फागुनमा पहिलोपल्ट राजधानीमा राष्ट्रिय लगानी सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग बढ्दै गएको, तर उत्पादन न्यून भएकाले उत्पादन बढाउने उद्देश्यले सम्मेलन हुन लागेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग वार्षिक ८ सय मेट्रिकटन भए पनि उत्पादन ५ सय १३ मेट्रिकटनमा सीमित छ । बोर्डको आयोजना र युरोपेली संघअन्तर्गत ‘टीपीएचडी’को आर्थिक तथा प्राविधिक सहयोगमा सो सम्मेलन हुने भएको हो ।
नेपालमा अराविका जातको कफी खेती हुन्छ । सो कफीको माग कोरिया, जापान, जर्मनी र अमेरिकाबाट धेरै भएको छ । मागलाई पूरा गर्न एवं कफीको उत्पादन बढाउन लगानी सम्मेलन अपरिहार्य भएको बोर्डका प्रवक्ता दीपक खनालले बताए ।
नेपालका ४३ जिल्लामा साना किसानले व्यावसायिक कफी खेती गर्दै आएका छन् । आर्थिक वर्ष ०७४–०७५ मा ५३ हजार रोपनीमा कफी खेती गरिएको थियो । सोही वर्ष रु. नौ करोड ३७ लाख २५ हजारको कफी निर्यात गरिएको थियो भने रु. ६ करोड ५८ लाख ९१ हजारबराबरको आयात भएको थियो ।
गत तीन वर्षको तथ्यांक हेर्दा कफीको माग धेरै भए पनि उत्पादन कम देखिन्छ । आव ०७१–०७२ मा रु. दुई करोड ४९ लाख ९१ हजारको निर्यात र नौ करोड ९१ लाख ७६ हजारको आयात भएको थियो । यसैगरी आव ०७२–०७३ मा निर्यात रु. पाँच करोड ५४ लाख ४१ हजार र आयात रु. १० करोड ७९ लाख थियो भने आव ०७३–०७४ मा निर्यात रु. पाँच करोड चार लाख र आयात आठ करोड ४५ लाख ३८ हजारको भएको थियो ।
बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार गत आवदेखि आयातको तुलनामा निर्यात बढेको देखिन्छ । करिब ९० लाख हेक्टरमा कफी खेती गर्न सकिने भए पनि आव ०७१–७२ मा दुई हजार ३८१ हेक्टर, ०७२–७३ मा दुई हजार ६१८ हेक्टर, ०७३–७४ मा दुई हजार ६४६ हेक्टर र ०७४–७५ मा दुई हजार ६५० हेक्टरमा कफी खेती गरिएको थियो ।
नेपालमा पछिल्लो चार वर्षमा कफीको उत्पादन स्थिर देखिन्छ । आव ०७१–७२ मा ४६३, ०७२–७३ मा ४३४, ०७३–७४ मा ४६६ र ०७४–०७५ मा ५१३ मेट्रिकटन कफी उत्पादन भएको थियो ।
प्रतिक्रिया