कालीगण्डकी ‘ए’विरुद्ध स्थानीय आन्दोलित

कालीगण्डकी ‘ए’विरुद्ध स्थानीय आन्दोलित


नेपालकै ठूलो जलविद्युत् आयोजना कालीगण्डकी ‘ए’को क्षेत्र बेलटारीमा बसोवास गर्दै आएका स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् ।

बेलटारीका स्थानीय बासिन्दाले शनिबारदेखि आयोजना जाने बाटो बन्द गरेका छन् । प्रभावित क्षेत्रका सर्वसाधारणले अन्यत्र उत्पादन भएको विद्युत् नभई कालीगण्डकी जलविद्युत् आयोजनाको ट्रान्सफर्मरबाट विद्युत् पाउनुपर्ने माग राखेका छन् । सिँचाइका लागि पाइप, बेलटारी चोकदेखि इरिखोलासम्म पक्की सडकलगायतका माग उनीहरूले राखेका छन् । स्थानीय बासिन्दाले प्राधिकरणबाट पाएको सुविधा कटौती भएको आरोप लगाएका छन् ।

आयोजना निर्माण हँुदा आफूहरूको जग्गाजमिन सबै सकिएको र आयोजनाको निर्माणपश्चात् सो ठाउँको विकास हुने सोचे पनि खानेपानी र उपभोग गरेको बाटोसमेत बन्द भएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको स्थानीय बासिन्दा अनिश न्यौपानेले बताए । विद्यालय र गाउँलेलाई खानेपानीको समस्या हँुदासमेत आयोजनाले चासो नदेखाएको उनको भनाइ छ ।

आयोजनाका प्रमुख राजेश पाण्डेले स्थानीयवासीको आन्दोलनले पावरहाउस जाने बाटो बन्द भएको र सवारीसाधन आवतजावत हुन नसकेको जानकारी दिँदै हालसम्म स्थानीय बासिन्दाले आफूहरूसँग कुनै पनि माग औपचारिक रूपमा नराखेको बताए । आफूले प्रशासन र आयोजना रहेको गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षलाई जानकारी गराएको प्रमुख पाण्डेले बताए । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम थापाले आयोजना प्रमुख र स्थानीय बासिन्दासँग बसेर समस्याको समाधान गरिने बताए ।