२ वर्षभित्र १३ सय ८१ मेगावाट विद्युत उत्पादन हुँदै

२ वर्षभित्र १३ सय ८१ मेगावाट विद्युत उत्पादन हुँदै


  • छविलाल बगाले

आगामी २ बर्षभित्र मुलुकमा १ हजार ३ सय ८१ मेगावाट विद्युत प्रणालीमा जोडिदै छन् । चालु आर्थिक वर्षभित्रै ३ सय ५८ र आगामी आर्थिक वर्षमा १ हजार २३ मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएको प्राधिकरण विद्युत खेर जाने डरमा थियो । तर भारतसँगको ‘इनर्जी बैंकिङ’ ले विद्युत खेर जानबाट जोगाएको छ । यतिबेला मुलुकभर विद्युत भण्डारण अर्थात ‘इनर्जी बैंकिङ’को चर्चा पनि छ ।

नेपालमा बर्खायाममा बढि भएको विद्युत भारतलाई दिने र आवश्यक पर्दा ल्याउने गरी यस्तो सहमति भएको हो । नेपाल विद्युत प्राधिकरणले आगामी २ बर्षभित्र मुलुकमा १ हजार ३ सय ८१ मेगावाट विद्युत उत्पादन हुने प्रक्षेपण गरेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । उनका अनुसार उत्पादित विद्युत बढि हुने भएकोले सरकारले पनि भारतसँगको ‘इनर्जी बैंकिङ’ लाई बढावा दिएको हो । ‘अहिले प्रणालीमा कुल १ हजार ८२ मेगावाट विद्युत छ ।’ उनले भने, ‘चालु आर्थिक बर्षभित्र ३ सय ५८ र आर्थिक बर्ष २०७६÷७७ मा १ हजार २३ मेगावाट विद्युत प्रणालीमा जोडिनेछ ।’

नेपालमा २ वर्षभित्र कहाँबाट कति विद्युत ?

आर्थिक बर्ष २०७५/७६– प्राधिकरणका २ र निजी क्षेत्रका १६ आयोजनाबाट ३ सय ५८ मेगावाट
आर्थिक बर्ष २०७६/७७– अपर तामाकोशीसहित १ हजार २३ मेगावाट
हाल प्रणालीमा रहेको विद्युत– १ हजार २३ मेगावाट

लक्ष्यलाई सफलतामा पुऱ्याउन प्राधिकरण आफ्ना मातहात रहेका ६० मेगावाटको अपर त्रिशुली थ्रि–ए र १४ मेगावाटको कुलेखानी तेस्रोलाई समयमै सम्पन्न गर्न लागिपरेको छ । विद्युत प्राधिकरणकै सहायक कम्पनीमार्फत निर्माण भइरहेका र निजी क्षेत्रबाट निर्माण भइरहेका जलविद्युत आयोजनाको जडित क्षमता १ हजार २३ मेगावाट छ ।

प्राधिकरण र सहायक कम्पनी मातहातका आयोजनाको अवस्था

यसै आथिक बर्षभित्र उत्पादन हुने प्रक्षेपण गरिएको प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाट क्षमताको अपर त्रिशुली थ्रि–‘ए’ को ८७ प्रतिशत प्रगति भएको छ । यस्तै प्राधिकरणकै १४ मेगावाटको कुलेखानी तेस्रोको पनि काम अन्तिम चरणमा पुगेको छ । प्राधिकरणका प्रवक्ता अधिकारीका अनुसार यो आयोजनाको प्रगति ९७ प्रतिशत छ । उता, नेपाल विद्युत प्राधिकरणकै सहायक कम्पनीमार्फत निर्माण भइरहेका ४५६ मेगावाटको अपर तामाकोशीको प्रगति ९७ प्रतिशत, १११ मेगावाटको रसुवागढीको प्रगति ७० प्रतिशत, १४.८ मेगावाटको अपर सान्जेन ७५ प्रतिशत, ४२.५ मेगावाटको सान्जेन ६० प्रतिशत र १०२ मेगावाटको मध्य भोटेकोशी प्रगति ४५ प्रतिशत छ ।

आगामी कात्तिकदेखि ४ सय ५६ मेगावाटको तामाकोशी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन शुरु भएपछि नेपालमा विद्युत बढि हुन्छ । हिउँदमा कम र बर्खामा बढि विद्युत उत्पादन हुने भएकोले बर्खाको उत्पादन भारत पठाएर हिउँदमा पुनः नेपाल ल्याउने सरकारी प्रयास सान्दर्भिक छ । हाल नेपालमा निजी क्षेत्रका ७७ आयोजनाबाट ५ सय २१ र प्राधिकरणका आयोजनाबाट ५ सय ६३ मेगावाट विद्युत उत्पादन हुँदै आएको छ । यस्तै, २ हजार ५ सय १० मेगावाटका १ सय १४ आयोजना निर्माणाधिन छन् भने २ हजार ६ सय ४८ मेगावाटका १ सय २२ आयोजना वित्तिय व्यवस्थापनको पर्खाइमा छन् ।