लेखकीय स्वतन्त्रताको पक्षमा– वियोगी बुढाथोकी

लेखकीय स्वतन्त्रताको पक्षमा– वियोगी बुढाथोकी


bicharकुनै पनि देशका लागि आफ्नो भाषा, साहित्य, कला एवम् संस्कृति भनेको अमूल्य सम्पत्ति अर्थात् गहना समान हो भनेर त्यसैअनुरूप महत्वका साथ हेरिन्छन् । यसको सम्वद्र्धनका लागि सम्बन्धित निकायले महत्वपूर्ण रूपले हेरेर भूमिका खेलेका हुन्छन् । खेलिनु पनि पर्छ । यो यथार्थमा भन्ने हो भने सम्बन्धित निकायको दायित्वभित्र नै पर्न आउँछ । समुन्नत साहित्यले भूगोलको प्रत्येक छेउसम्म पुगेर आफ्नोस्तरअनुसारको शब्दको मोहनी लगाउन सक्छ । त्यसका लागि देशभित्र छरिएर रहेका तर अवसरको खोजीमा तड्पिरहेकाहरूसम्म पुगेर तिनको सिर्जनशील क्षमता र भावनाको कदर गर्नुपर्छ । वर्तमान समय सञ्चारको क्षेत्रले निकै फड्को मारिसकेको परिप्रेक्ष्यमा अवसर प्रदान गर्नु र प्राप्त अवसरलाई जोगाउनका लागि संरक्षण र प्रोत्साहन प्रदान गर्दै प्रेरणा र हौसला दिनु आवश्यक मानिन्छ । त्यसरी नै विभिन्न भाषामा अनुवाद गरेर आफ्नो देशको पहिचान हुने गरी देश–देशान्तरसम्म पु-याउने कार्य गरिनुपर्छ ।
यसै मेसोलाई दृष्टिगत गरेर हुनुपर्छ २००८ सालमा ऋद्धिबहादुर मल्लको अध्यक्षतामा नेपाली लेखक सङ्घको गठन भएको थियो । त्यतिखेर लेखनाथ पौडेल, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, विश्वेश्वरप्रसाद कोइराला, माधवप्रसाद घिमिरे, विजयबहादुर मल्ल, लक्ष्मीप्रसाद देवकोटा, हृदयचन्द्रसिंह प्रधान, ईश्वर बराल, जनार्दन सम, भीमनिधि तिवारी, रत्नध्वज जोशी, केदारमान व्यथित, रुद्रराज पाण्डे, भवानी भिक्षु, पूर्णबहादुर एमएलगायतको सहभागिताका कारण पनि नेपाली लेखक सङ्घ चर्चामा रहनु स्वाभाविकै हो । यसको पुनर्गठन ०१० मङ्सिर १० गते भएको थियो भने ०१२ मा नेपाली लेखक सङ्घको तेस्रो अधिवेशन सम्पन्न भएको थियो । इतिहासलाई खोतलेर हेर्ने हो भने त्यतिखेरको समयमा सङ्घले धेरैवटा सभा, सेमिनार र गोष्ठी गरेको देखिन्छ । जसका कारण त्यतिखेरको सङ्गठित संस्थामा आबद्ध लेखकका कारण र साहित्यिक क्षेत्रमा भएको प्रगति देशकै स्वर्णयुग यसर्थ पनि मान्न सकिन्छ कि त्यस समयका स्रष्टाहरूले जीवन्त र कालजयी सिर्जनाकर्म गरेकाले सधैँ स्मरणीय रहन सफल भएका छन् । त्यो यथार्थसँग वर्तमान आफैँ पनि साक्षीको रूपमा उभिएको छ ।
समयको प्रस्थानसँगै देशको राजनीतिले पञ्चायतको कालरात्रि भोग्न बाध्य भएपछि साहित्यिक संस्थाहरू पनि निष्क्रिय हुनु स्वाभाविकै हो । देशमै कालो बादलले ढाकेको समयमा विभिन्न छद्म नाममा साहित्यकार देखापर्न थाले । सोझै भन्नु र लेख्नुभन्दा पनि बिम्बको सहारा लिन पुगेका थिए । तथापि एकातर्फ लोकतन्त्रवादी र अर्कोतर्फ प्रगतिशील खेमामा बाँडिन पुगे । कतिपय दरबारिया खेमामा उभिएर अरूको चियोचर्चामा साहित्यिक यात्रामा तल्लीन हुन पुगेका थिए । जसको परिणाम राजनीतिक हस्तक्षेपस्वरूप ओझेलमा नेपाली लेखक सङ्घ पनि प-यो ।
लोकतन्त्रवादीहरूको विचारमा जसरी खेलकुदका लागि क्लबहरू खुल्दा राम्रा खेलाडीहरू जन्मिन्छन् । विद्यार्थी सङ्गठनहरू खुल्दा राम्रा युवा नेताहरूको उदय हुन्छ भनेझैँ साहित्यिक सङ्घ, संस्था र साहित्यिक पत्रपत्रिकाहरू खुलेको र प्रकाशनमा आएको खण्डमा त्यसको नियमितता र सक्रियताका कारण राम्रा साहित्यिक अनुहारहरूलाई जन्माउने गर्दछ । ढोका बन्द गरेर भित्र आएन भन्नु गलत हो । स्थान उपलब्ध गराएपछि नै प्रतिभावानहरूले प्रतिभा उजागर गर्न पाउनेछन् । अर्कोतर्फ अघिल्लो पुस्तासँगको उठबस, सरसङ्गत, अन्तरक्रियाका कारण आफूमा भएका प्रतिभालाई उजागर गर्न सक्षम र सफल हुन प्रेरणा मिल्ने छ भन्ने विश्वास गर्दछन् । तर, यस्ता संस्थाहरू माथिबाट लाद्ने र निर्देशनमा मात्र चल्ने गरी भ्रातृ सङ्गठन भएको खण्डमा सहज यात्रा नाप्न कठिन हुन जाने भएकाले शुभेच्छुकको रूपमा रहनु पनि त्यत्तिकै आवश्यक मानिन्छ, मानिनु पनि पर्छ । लेखकीय स्वतन्त्रताको पक्षधर यसैलाई मान्न सकिन्छ । प्रगतिशीलको नाममा राजनीतिक साहित्य र नारा साहित्य लेख्नुभन्दा त्यसभन्दा माथि उठेर यथार्थ र जीवन्त साहित्य जनजनको बोली र मनमनको खोजीअनुसारको सिर्जना समयको माग हो । त्यसो त आफूले लेखेको मात्र प्रगतिशील र अरूले लेखेको चाहिँ अप्रगतिशील ठान्ने दोषी चश्माले हेर्नेहरू पनि कम छैनन् । यस्तो सोचाइका भोकाहरू यहाँ मात्रै होइनन् विश्वमै छन् । भइनै रहन्छन्, हुन्छन् भन्दैमा कोही आत्तिनु वा कोही पात्तिनुभन्दा पनि यथार्थ साहित्य पस्किनु आजको आजको आवश्यकता मानिनुपर्छ ।
कसैले पनि नसोच्दा हुन्छ लेखकहरूलाई अङ्कुश लगाएर र निर्देशन दिएर लेख्न लगाउने कल्पना आजको समयमा धेरै टाढाको विषय भइसकेको छ । यसतर्फ कसैले कल्पनै नगरे पनि हुन्छ । तथापि सत्ताका निकट रहन मन पराउने केही औँलामा गन्न सकिनेहरू नहुने भने होइनन्, हुन्छन् । तर, ती र त्यस्ताका सिर्जना क्षणिक मात्र हुन्छन्, कालान्तरसम्म जीवित र कालजयी हुन सक्तैनन् । यो यथार्थ हो । यथार्थभन्दा पर गएर गरिने त्यस्ता सिर्जनाको अव काम पनि छैन । यद्यपि ठूला पत्रिकाहरूले केहीलाई उठाउने नाममा केही सीमितलाई शृङ्गार अर्थात् सस्तो कस्मेटिकलाई बहुमूल्यको उपाधि भने दिन थालेका छन् । यस्ता क्रियाकलापबाट सच्चा सर्जकले जोगिनुपर्ने समय भने आएको छ ।
नेपालको परिप्रेक्ष्यमा भन्ने हो भने पनि कुनै पनि राजनीतिक परिवर्तनका लागि आन्दोलनमा कविहरू सडकमा उत्रिएर आफ्ना सिर्जनामार्फत विगुल फुक्ने काम गरिनै आएका छन् । ०३६, ०४६ वा ०६२, ०६३ त्यसका उदाहरणहरू हुन् । पछिल्ला समयमा केही राम्रा कविका सिर्जनाले एउटा बेग्लै खालको धार समातेर श्रोताजनलाई जुरुक्कै उचाल्न सक्षम हुँदै गएको आभास मिल्न थालेको छ । यो खुसीको पाटो हो । आन्दोलनको सिलसिलामा कविता वाचन गर्दा त्यहाँ धारका कुरा हँुदैनन् । कुनै एउटा राजनीतिक सिद्धान्तका वकालत हुँदैनन् । समग्रमा परिवर्तनका पक्षमा रहरलाग्दा र लोभलाग्दा शब्द संयोजनले आक्रोशको आगो बालिरहेको हुन्छ । उपस्थित जनसमुदायको मनलाई भित्रैसम्म पसेर स्पर्श गरिरहेको हुन्छ ।
०४६ सालको आन्दोलनको कुरा गर्दा नाटककार अशेष मल्ल निवासमा गिरिजाप्रसाद कोइरालाले प्रजातन्त्रवादी साहित्यकारहरूले आन्दोलनको समर्थनमा जनतालाई आकर्षित गर्न मानिस भेला भएको ठाउँमा वा बसमा यात्रा गर्दा भाषण गर्नुपर्दैन, तर कवितामार्फत चेतना जगाउने कार्य गर्नुपर्छ भन्ने सल्लाह दिएका थिए । उपस्थित साहित्यकारले पनि वसन्तको खोजी नामक संयुक्त कविताकृति प्रकाशित गरेर आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए । त्यहाँ राजनीतिक सन्देशभन्दा पनि परिवर्तनको ढोका खोल्न शब्दको साँचो प्रयोग गर्न भनिएको थियो । सोहीअनुसार साहित्यकारले पनि आफ्नो गच्छेअनुसार धर्म निर्वाह गरेर आन्दोलनलाई थप बल पु-याएका थिए । तर, सफल आन्दोलनपछि पनि साहित्यकारको पक्षमा केही भएनन् केही पाउनका लागि साहित्यकारले जनतालाई आकर्षित गरेका थिएनन्, त्यसैले केही आशा गरेका पनि थिएनन् र छैनन् पनि । वर्तमान कार्यसमितिले लेखकीय स्वतन्त्रताको मूल नारामा टेकेर हाम्राभन्दा पनि राम्रा कविहरूलाई तीनपल्ट एउटै मञ्चमा उभ्याएर कविताको रसास्वादन गराउन सफल भयो भने वाचन गरिएका कवितालाई यस पङ्क्तिकारको सम्पादन तथा प्रकाशनमा नेपाली कविताको समकालीन स्वर नामक कृति प्रकाशित गरेर एउटा उदाहरणीय कार्य गरेको छ ।
प्रजातन्त्रको प्राप्तिपछि पुनः ब्युँतियो नेपाली लेखक सङ्घ । अहिले देशका ४२ वटा जिल्लामा यसका शाखाहरू फैलिएका छन् । अन्य जिल्लामा शाखा विस्तारको क्रम जारी नै छ । हालै सर्लाही, रौतहट र बारामा शाखाहरू खोलिए । यसको केन्द्रीय महाधिवेशन आउँदो वैशाखमा गर्ने सार्वजनिक सूचना गोरखापत्रमा प्रकाशित भइसकेको सन्दर्भमा लोकतन्त्रवादी साहित्यकारहरूको छाता सङ्गठन लेखकीय स्वतन्त्रतालाई आफ्नो मूल नारा बनाएर अगाडि बढेको छ । यसमा बढीभन्दा बढी लोकतन्त्रवादी साहित्यकारहरूले सदस्यता लिएर सङ्गठनलाई मजबुत बनाउने दिन आएको छ । शाखा गठन नभएका जिल्लाले पनि यसै सन्दर्भलाई अवसरको रूपमा लिएर फागुन महिनाभित्र शाखा गठन गर्न अग्रसर हुने अवसरको सदुपयोग गरेको खण्डमा संस्था मजबुत हुने विश्वास गर्न सकिन्छ । त्यसैअनुरूप सङ्गठन गरेर आउँदो महाधिवेशनमा आफ्नो सक्रियता, दक्षता र साहित्यिक कर्मको लेखाजोखा गर्ने समय आएको छ । तथापि केही सीमित महत्वाकाङ्क्षाका भोकाहरू सधैँ सुस्ताउने र चुनाव आउँदा उक्साउने र उक्सिनेहरूबाट भने सजग हुनैपर्छ । बढीभन्दा बढीलाई समेट्न वर्तमान कार्यसमिति लागिपरेको छ । स्वस्थ प्रतिस्पर्धाले सङ्गठन बलियो हुने भएकाले पाउने यससँग आबद्ध भएर अगाडि बढ्न पाउनु साहित्यिक वृत्तका लागि राम्रै कुरा हो, स्वागत गरिनुपर्छ । प्रजातन्त्रमा आस्था र विश्वास हुनुका कारण संस्थामा आस्थावान् सबै अटाउनुपर्छ । सङ्गठनलाई झोलामा राखेर सीमित व्यक्तिमा सङ्गठनलाई खुम्चाउन खोज्नु वर्तमानको चाहना होइन, हुन पनि सक्तैन । यसै हिसाबले लेखक र लेखकीय स्वतन्त्रताका पक्षधर लोकतन्त्रवादी सर्जकहरूलाई समेट्नु र सङ्गठित गर्नु आजको आवश्यकता हो । सर्जक, सिर्जना र सङ्गठनलाई सुरक्षित र मर्यादित बनाउन आगामी महाधिवेशन अग्रसर हुने विश्वास गर्न सकिन्छ ।
(लेखक नेपाली लेखक सङ्घका महासचिव हुन् ।)