कुन गाउँका महिला ?

कुन गाउँका महिला ?


nisedhगत वर्षको अन्तर्राष्ट्रिय महिला दिवसमा म सुर्खेतको गढी गाविसमा थिएँ । रेडियो र कृषकसँग सम्बन्धित एउटा अनुसन्धानको सिलसिलामा हामी कृषक महिला तथा पुरुषलाई भेटेर कुराकानी गरिरहेका थियौँ । गाउँभरि एकप्रकारको उल्लास थियो, माथि डाँडाको स्कुलमा मानिस जम्मा भएर कार्यक्रम गरिरहेका थिए । महिला भाषण गरिरहेका, पुरुष तथा महिला एवम् युवा, किशोर किशोरीहरू सुनिरहेका गजबको दृश्य थियो । गढीबाट लेखगाउँ गाविसतिर जाँदै गर्दा काठमाडौंस्थित एउटा एफएम स्टेसनबाट मोबाइलमा फोन आयो । चिरपरिचित पत्रकार भाइले प्रश्न गरे, ‘आज अन्तर्राष्ट्रिय नारी दिवस, वर्षैपिच्छे काठमाडौंका पाँच तारेहोटलहरूमा नारी दिवस मनाइन्छ, गाउँका महिलालाई नारी दिवस भनेको के हो थाहासम्म छैन । गाउँ–गाउँमा यसलाई पु-याउन के गर्नुपर्छ होला ? तपाईंको विचारमा कहिले पुग्छ होला ?’ तपार्इंले कुन गाउँको कुरा गर्नुभएको ? मेरो प्रतिप्रश्नमा उनी एकैछिन अल्मलिए र भने विभिन्न गाउँहरू, विकट ठाउँहरू । जवाफमा मैले आफूले गाउँमा देखेका दृश्यहरू बताएँ । गाउँ भन्नेबित्तिकै कतिलाई गाउँका मान्छेलाई केही थाहा छैन भन्ने छ । जुन धेरै हदसम्म गलत हो । महिलाको प्रसङ्गमा गाउँ भन्ने शब्द हिजोआज अधिकारवादी, पत्रकार, दातृ निकाय सबैले नै बारम्बार प्रयोग गर्ने शब्द हो । हो, गाउँमा विकटता छ । गाउँमा सुविधा छैन, महिलालाई हेर्ने दृष्टिकोणमा असमानता छतर यति हुँदाहुँदै पनि सहर र गाउँलाई तुलना गर्दा गाउँमा भन्दा सहरमा झनै धेरै समस्याहरू देखिन्छ । जनचेतनादेखि विभिन्न विषयगत जानकारीसम्ममा सहरका महिलाको बुझाइ कमजोर छ भन्दा कतिलाई चित्त नबुझ्न सक्छ, तर यो नै वास्तविकता हो । गाउँका महिलाको सचेतना र सहरका महिलाको सचेतनामा फरक छ । तर, प्रश्न के हो भने गाउँ कस्तो गाउँ ? कुन गाउँ ? कहाँको गाउँ ? ले केही फरक अवश्य नै पार्छ । त्यस्तै सहर शब्दलाई पनि अब फरक–फरक अवधारणाबाट हेर्नु आवश्यक भएको छ । सहरका महिला भन्नेबित्तिकै विभिन्न मञ्चमा बोल्न सक्ने तथा अन्य व्यावसायिक महिलाको छवि आउने गरेको छ । तर, सहरका महिला ती विभिन्न पेसा र व्यवसायमा भएका महिला मात्र होइनन्, ती त बरु धेरैजसो गाउँहरूबाट आएर विभिन्न सहरमा स्थापित भएका छन् । सहरका वास्तविक महिलाको अवस्था त धेरै फरक छ ।
राजधानीकै कुरा गरौँ, काठमाडौं, ललितपुर, भक्तपुर र कीर्तिपुर तीनवटै सहर हुन, सहर मात्र होइन राजधानीका सहर हुन् । यी तीन सहरका कतिपय महिला आफ्ना परम्परावादी मूल्य–मान्यताभन्दा माथि पटक्कै उठ्न सकेका छैनन् । उठ्न सकेका छैनन् भन्दा पनि तिनलाई खोई कसरी–कसरी माथि उठाउने वातावरण नै बन्न सकेको छैन । नारी दिवस थाहा नपाउने सहरका महिला गाउँका भन्दा धेरै छन् । सञ्चारमाध्यममा पहुँच भएर पनि यी सहरका महिला गाउँका महिला जति सचेत देखिँदैनन् । यी तीन ठूला सहरका स–साना उपसहर या टोलमा बस्ने महिलालाई सांस्कृतिक रूपमा त धेरै सम्पन्न बनाइएको छ, तर राजनीतिक तथा अन्य अधिकारका सवालमा भने खासै वास्ता गरेको पाइँदैन । सहरमा भन्न नसकिएका कथा बोकेर बाँच्ने महिला धेरै छन् । गाउँमा बरु महिलाले मौनता तोड्न थालेका छन्, आफ्ना कुराहरू समाज र मिडियाका सामु राख्न थालेका छन्, तर सहरका महिलाले महिलाविरुद्धका हिंसालगायतका कुरामा सहरै बस्ने गरेको पाइएको छ । सहरहरूको अचम्मको विशेषता देखिएको छ, त्यहाँ कि त निकै सचेत मान्छे बस्छन् या त खासै कुनै कुरामा मतलबै नगर्ने मानिस छन् । आफ्नै दुःखसुख गरेर खाने, अरूको वास्ता नगर्ने र आफ्नो पनि अरूले मतलब नगरोस् भन्ने चाहने, आफ्नै परम्पराअनुरूपका पूजा, जात्राजस्ता कुराहरूमा रमाउने र सांस्कृतिक चाडपर्व राम्ररी सम्पन्न हुनुलाई नै आफ्नो खुसीको विषय ठान्ने । विगत केही वर्षमा विभिन्न जिल्लाका महिलामा सचेतनाको अवस्थामा वृद्धि भयो, तर सहरका महिलामा भएन ।
माओवादी आन्दोलनका अनेक नकरात्मक पक्ष हुँदाहुँदै पनि महिलाको जनचेतना वृद्धिमा यसले ठूलो भूमिका निर्वाह गरेको छ । विभिन्न क्षेत्रमा महिलाको सहभागिता पनि यो आन्दोलनले बढायो । महिलाको उन्नति गरौँ भनेर रणनीतिक तवरमा त यस्तो भएको होइन, तर बाध्यताले महिलालाई धेरै कुरा जान्ने बुझ्ने बनायो । गाउँमा पुरुषहरू कि त माओवादी आन्दोलनमा लागे या भारत तथा अन्य मुलुक भासिए । यसबीचमा महिलाले बाध्य भएर बारीमा हलो जोते, मान्छे मर्दा मलामी गए, घरको धुरी फाटेर घरमा पानी चुहियो धुरीमा चढेर घर छाए । यी यस्ता कामहरू हुन जुन विगतमा पुरुषले मात्रै गर्ने गर्थे । महिलाले धुरी चढ्न हुँदैन भनिन्थ्यो, महिलाले मलामी जानुलाई पनि सामान्य मानिदैनथ्यो, हलो जोत्दा अलच्छिन लाग्छ भन्ने मान्यता थियो । तर, समयक्रममा महिलाले यी सबै गरे । जेन्डर रोल (लैङ्गिक भूमिका) परिवर्तन भएर यस्तो परिस्थितिको सिर्जना भएको होइन, यो त केवल बाध्यता थियो । गाउँमा पुरुष नभएपछि महिला कुलो बनाउने, बाटो बनाउनेजस्ता गाउँका बैठकहरूमा सहभागी हुन थाले । महिलाले बैठकमा जानु भनेको पनि गाउँमा अनौठै मानिन्थ्यो, तर उनीहरू जानैपर्ने परिस्थितिको सिर्जना भयो जसले उनीहरूमाथि कामको बोझ त अवश्य बढ्यो नै, साथमा उनीहरूको सशक्तीकरण पनि भयो । महिलाहरू समाजमा निर्धक्कसँग बोल्न थाले । अहिले पनि कतिपय अधिकारवादीहरू गाउँका महिलाको प्रतिनिधित्व गर्छु भन्दै गाउँका महिलामाथि अन्याय मात्रै भएको, उनीहरू निरीह बनेको, उनीहरू बोल्नै नसक्ने, आफ्ना कुरा राख्नै नसक्नेजस्ता कुराहरू गर्छन् । हो, यस्तो परिस्थिति भोगिरहेका महिला पनि नभएका होइनन्, छन् तर महिलाको आत्मविश्वास बढेका र आफैँले धेरै कामहरू गरेका, गाउँमा उदाहरणीय भूमिकामा रहेका महिलाको कथा दिनप्रतिदिन बढ्दै गएको छ । उदाहरणका लागि विभिन्न गाउँमा भएको रक्सीविरोधी आन्दोलनलाई लिन सकिन्छ । रक्सीविरोधी आन्दोलन कुनै परियोजनाले गरेको थिएन । यो अभियान महिला स्वयम्ले गरेका थिए, गरिरहेका छन् । विधवा महिलाले सेतो पहिरन लगाउने अभियान पनि कुनै सहरबाट सुरु भएको होइन, गाउँकै महिलाले यसको सुरुवात गरेका हुन् । सहरका महिलाले रक्सीविरोधी आन्दोलन गरेको पाइएको छैन, यद्यपि सहरमा यसको समस्या धेरै छ । राजनीतिक चेतना पनि गाउँका महिलामा धेरै छ । त्यसैले गाउँका महिला भनेर उनीहरूलाई केही आउँदैन या थाहा छैन भन्नु भनेको उनीहरूलाई ‘अन्डरमाइन्ड’ गर्नु हो, उनीहरूको अवमूल्यन गर्नु हो ।