बल्ल बुझेछन् कोइरालाले

बल्ल बुझेछन् कोइरालाले


sushil-koirala-of-nepali-congressनेपालको विकास–निर्माणको बाधक के होला भनेर सामान्य मानिसलाई सोध्यो भने पनि उसले सही जवाफ दिन सक्छ । तर, नेपालकै कार्यकारी प्रमुख प्रधानमन्त्रीले सुशील कोइरालाले देश विकास हुन नसक्नुको कारण पत्ता लगाउन १३ महिना लागेछ ।
प्रधानमन्त्री कोइरालाले १३ महिना लामो अवधि सत्तामा बिताएपछि नेपालको विकास हुन नसक्नुको प्रमुख कारण ‘आपसी समन्वयको अभाव’ देखेका छन् । संसद्को विकास समितिले राष्ट्रिय गौरवका परियोजना बारेमा छलफल गर्न दिएको निम्तो स्वीकार्दै सोमबार बैठकमा पुगेका प्रधानमन्त्रीले भने, ‘ बिस्तारै अब मलाई धेरै ज्ञान प्राप्त भएको छ, हामी सबै मिलेर विकास गरौँ ।’ ‘म एउटा ले–म्यान भएकोले टेक्निकल विषयमा ज्ञान छैन, बरु मलाई प्रश्न गर्न मन लागिरहेको छ कि यतिका समयसम्म देशको विकासले किन गति लिन सकेन ?’– कोइरालाले थपे ।
‘विकास निर्माणसँग सम्बन्धित रहेर काम गर्ने सरकारी निकायबीचमा समन्यव छैन, अनि कसरी देशको विकास हुन्छ ?’ कोइरालाले सवाल गरे, ‘यहाँ एउटाले बनाउने र अर्कोले विभिन्न बहानामा भत्काउने चलन रहेछ, यसले कसरी हुन्छ ?’ विपक्षी नेताजस्तै गरी प्रधानमन्त्रीले समितिको बैठकमा कड्किँदै भने, ‘एउटाले, सडक बनाउने अर्कोले भत्काउने काम भइरहेको छ, कति पैसा गयो, कति घाटा भयो ? खै सिस्टम अफ गभर्नेन्स नै छैन, अनि कसरी हुन्छ ?’
नेपालमा दोस्रो विमानस्थल नहुँदा नेपालको अन्तर्राष्ट्रियस्तरमै बेइज्जत भएको पनि कोइरालाले बल्ल चाल पाएछन् । समितिको बैठकमा उनले भने, ‘अन्तर्राष्ट्रियस्तरमा देशको बेइज्जत भइरहेको छ, कहिले रन–वे चर्किएर उडान नै रोक्नुपर्ने अवस्था भएको छ, कहिले अन्तर्राष्ट्रिय विमान दुर्घटना भएर समस्या आएको छ, यसले हाम्रो निकै बेइज्जत भयो, अब काम नगरे कहिले गर्ने ? काम गर्नुप-यो, तत्काल दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुप-यो ।’
‘शान्ति, स्थायित्व र सिस्टम अफ गभर्नेन्स नभएसम्म विकास अगाडि बढ्न सक्दो रहनेछ, त्यसैले हामीले त्यता सोच्ने बेला आएको छ । त्यस्तो आवश्यकताको अनुभूति अहिले भइरहेको छ,’ कोइरालाले थपे, ‘देशमा यत्रो पानी बगिरहेको छ, पैसा बगिरहेको छ, डलर बगिरहेको छ, हामी उपयोग गर्दैनौँ । खोक्रो राष्ट्रियताले केही पनि हुँदैन, विकासका लागि सकारात्मक बन्नुप-यो, खै सकारात्मक बनेको ?’ प्रधानमन्त्री बन्दा मुलुकको विकासका लागि स्थिर सरकार, पारदर्शिता र भ्रष्टाचारमुक्त प्रशासन आवश्यक देखेका कोइरालाले त्यसैलाई निरन्तरता दिँदै भने, ‘हाम्रो काम पारदर्शिता र भ्रष्टाचाररहित हुनुपर्छ ।’
कुनै विदेशीले नेपालको विकास गरिदिने जस्तै गरी प्रधानमन्त्री कोइरालाले भने, ‘विकासको गतिमा तीव्रता दिन र विकास खर्च खेर जान नदिन आर्थिक वर्ष नै परिवर्तन गर्नुपर्ने देखिन्छ,’ उनले थपे, ‘अब आर्थिक वर्ष परिवर्तन गर्नुप-यो, असारमा बजेट ल्याउने अभ्यास बन्द गर्नुप-यो, यो अन्तिम समयमा आएर काम गर्ने बानीलाई पनि हामीले अन्त्य गरौँ ।’
समितिको बैठकमा पुगेका एमाले नेता माधवकुमार नेपालले पनि नेपालको विकास निर्माणको काम हचुवाका भरमा हुने गरेकोमा जोड दिए । ‘यहाँ सबै कुरामा हचुवापन व्याप्त छ । हचुवा पाराले अध्ययन गर्छौं । हचुवामै निर्णय गर्छौं र काम गर्छौं । अनि बीचमा गएर त्यो काममा बाधा–अवरोध खडा हुन्छ,’ नेता नेपालले उदाहरण दिँदै समितिको बैठकमा भने, ‘बागमती पुल, रौतहट र सर्लाही जोड्ने पुलको अध्ययन भयो होला, डिटेल प्रोजेक्ट रिपोर्ट तयार भएको पनि होला, थाहा छैन के भयो, तर त्यसको शिलान्यास मैले नै गरेको हुँ ।’

देश बनाउन हिँडेका ‘लडाकु’ आफ्नै चिन्तामा
हरेक आन्दोलनको अग्रभागमा देखिने तत्कालीन माओवादीका लडाकुहरू पार्टी शान्तिप्रक्रियामा आएसँगै बेपत्ता भएका छन् । आन्दोलनका कार्यक्रम घोषणासँगै सम्पर्कविच्छेद भएका लडाकुहरूको खोजीकार्यमा जुटेका एमाओवादी नेताहरूले निकै ठूलो प्रयास गर्दा पनि पार्टीका पूर्वलडाकुहरू पार्टी सम्पर्कमा आउन सकेका छैन्न् ।
‘लडाकु कमान्डरहरूचाहिँ सम्पर्कमा छन्, तर पाँच लाख बुझेर घर लागेका कमान्डर र लडाकुहरू पार्टीको सम्पर्कमा छैनन्,’ पार्टीका एक नेताले भने, ‘आन्दोलन सफल पार्न फेरि नयाँ लडाकु जन्माउनुपर्ने देखिन्छ ।’ पार्टीमा सम्पर्कमा आएका लडाकुहरू पनि पार्टीले घोषणा गरेको आन्दोलनबाट खुसी छैनन् र फेरि लडाइँमा जाने सोचमा पनि छैनन् । एक लडाकु कमान्डरले भने, ‘पार्टीका नेताहरू उपयोगवादको सिद्धान्तमा केन्द्रित देखिएकाले फेरि उनीहरूको कुरा कसरी पत्याउने ?’ ती कमान्डरका अनुसार माओवादीका धेरै लडाकु यतिबेला पार्टीको सम्पर्कमा छैनन् । उनीहरू आफ्नो पेसा–व्यवसायमा लागेका छन् । केही बिदेसिएका छन्, केही घरजग्गा कारोबारमा लागेर पागलजस्तै बनेर हिँडेका छन् । ती कमान्डरले थपे, ‘पार्टीमा अनुशासित र सक्रिय देखिएका साथीहरू अहिले आन्दोलन मात्र होइन पार्टीप्रतिकै मोहबाट टाढिएका छन् ।’
एमाओवादीका युवा नेता चन्द्रबहादुर थापा पनि पार्टीका लडाकुहरू पार्टीको सम्पर्कभन्दा निकै टाढा रहेको बताउँछन् । उनले भने, ‘धेरै लडाकु बिदेसिएका छन्, केही खेती–किसानीमा लागेका छन्, पहिले जुन रूपमा सम्पर्क हुन्थ्यो, अहिले त्यस्तो सम्पर्क छैन ।’ आन्दोलन सफल बनाउन ती सबैसँगको सम्पर्क अनिवार्य रहेको बताउँदै सागरले भने, ‘पार्टी सम्पर्कमा टाढा रहेकालाई सम्पर्क गर्ने कोसिस गरिँदै छ ।’
केही लडाकु पार्टीको भन्दा पनि आफ्नो चिन्तामा बसेका छन् । त्यसैले कुनै न कुनै काममा अल्झिन पुगेका छन् । माओवादीका धेरै नेता तथा कार्यकर्ता पछिल्लो समय कृषि, व्यापार–व्यवसायमा संलग्न छन् । ‘युद्धको नेतृत्व गरेको व्यक्तिले आज कुनै गाईफार्मको नेतृत्व गरिरहेको छ, अनि कसरी हुन्छ आन्दोलन ?’ ती कमान्डरले हाँस्दै भने, ‘गाईफार्ममा रहेका कमान्डरलाई आन्दोलनमा ल्याउन पार्टीले नयाँ भिजन ल्याउन सक्नुपर्छ, तर अहिले त्यो सम्भव देखिन्न ।’
माओवादीका केही नेताहरू व्यवसायबाट पनि थलिएका छन् । माओवादीकी चर्चित महिला नेतृ जयपुरी घर्ती कुखुरा व्यवसायबाट आर्थिक रूपमा टाट पल्टिएर नयाँ व्यवसाय गर्ने तयारीमा छिन् । पछिल्लो समय पार्टीको भन्दा पनि आफ्नो भविष्यको चिन्ता छ उनलाई । ऋणमा रहेकी घर्तीले भनिन्, ‘राजनीतिमा लागे पनि आयआर्जन गर्ने कामलाई पनि निरन्तरता दिनुप-यो भनेर केही नयाँ काम गर्ने सोचाइमा छु ।’ विभाजन भएर गएका पार्टीहरू एक नभए पार्टीले गर्ने कुनै पनि आन्दोलन सफल नहुने अडानमा रहेकी घर्तीले थपिन्, ‘छिन्नभिन्न रहेका कार्यकर्तामा नयाँ जोस थप्नका लागि पार्टी एक हुनुपर्छ र नयाँ भिजनका साथ अघि बढ्नुपर्छ ।’
तत्कालीन डिभिजन कमान्डर महेन्द्रबहादुर शाही पनि पार्टीबाट विरक्तिएका छन् । यद्यपि उनी पार्टीको काममा सक्रिय रहेको बताउँछन् । राजनीतिसँगै आयआर्जन हुने काममा लाग्ने तयारीमा लागेको शाही बताउँछन् । उनले भने, ‘सानो–तिनो व्यवयास गरेको छु ।’ त्यसो त अस्थायी शिविरमा रहँदा आर्थिक अनियमिततामा संलग्न भएको भन्दै काठमाडौंको भृकुटीमण्डप भेलाले उनीलगायत सातवटै डिभिजन कमान्डरहरूलाई निलम्बन गरेको थियो । आर्थिक अनियमितताका विषयमा छानबिन गर्न तत्कालीन महासचिव स्वर्गीय पोष्टबहादुर बोगटीको संयोजकत्वमा छानबिन कमिटीसमेत बनेको थियो । तर, त्यो मुद्दा पछि त्यत्तिकै सेलाएर गयो । भेलामा उनीहरूलाई अस्थायी शिविरमा रहँदा बालुवाखानी, यार्सागुम्बाको व्यापार, काठ, रक्तचन्दन तस्करीदेखि घरघजग्गा कारोबारीमा संलग्न भएको, लडाकुको पैसा हिनामिना गरेको आरोप लगाइएको थियो । सातजना कमान्डरमध्ये सबैभन्दा बढी डिभिजन कमान्डरहरू धनबहादुर मास्की ‘राजेश’, तेजबहादुर वली ‘प्रतीक’, महेन्द्रबहादुर शाही ‘प्रज्ज्वल’ र कालीबहादुर खाम ‘विविध’माथि आरोप लागेको थियो ।
पार्टीको काममा भन्दा पनि लडाकु कमान्डरहरू आम्दानीकै बाटोमा लागेका छन् । कमान्डरहरू धनबहादुर मास्की ‘राजेश’, तेजबहादुर वली ‘प्रतीक’, महेन्द्रबहादुर शाही ‘प्रज्ज्वल’ र कालीबहादुर खाम ‘विविध’को नाम अझै पनि पार्टीभित्र चर्चामा छ । मास्कीले दाङ हापुरेमा दाजु बमबहादुरको नाममा रहेका पक्की घरबाट आफ्नो लगानी विस्तार गरिरहेका छन् । उनी घरजग्गा कारोबारमा समेत संलग्न छन् । उनी पोखरामा कार्यालय रहेको मास्के कन्स्ट्रक्सनमार्फत पश्चिमाञ्चल क्षेत्रमा रहेका अधिकांश आयोजनाको निर्माणकार्यको ठेक्का हात पार्छन् । पार्टीले पनि उनलाई निर्माण व्यवसायीहरूको मोर्चाको पनि जिम्मेवारी दिएको छ । उनी भूमिगतजस्तै छन् । अर्का डिभिजन कमान्डर कालीबहादुर खाम पनि पार्टीको काममा भन्दा धन्दामै संलग्न भएका व्यक्तिमध्येको रूपमा चिनिन्छन् । रक्तचन्दनको तस्करीदेखि चिनियाँ व्यापारी लुट प्रकरणसम्ममा मुछिएका खाम प्रहरीको मोस्टवान्टेड सूचीमा छन् ।
आवश्यक परे हतियार उठाउने बताउँदै आएका एमाओवादीका केन्द्रीय नेता नन्दकिशोर पुन ‘पासाड’ले काठमाडौंको कपनमा बालुवाखानीमा लगानी गरेका छन् । तर, उनले आफू स्वयम् बालुवाखानीमा भएको लगानीको निगरानी गर्दैनन् । सो लगानीको प्रत्यक्ष निगरानी कान्छा छोरा दिपेश पुन र एमाओवादीकै नेता जोखबहादुर महराका छोरा तुकबहादुर महराले गर्ने गरेको बताइन्छ ।
तत्कालीन अवस्थामा बटालियन कमान्डर सङ्घर्ष र कम्पनी भिसी विनोदलाई दार्चुलामा ८२ लाख रुपैयाँ दिई यार्सागुम्बा किन्न पठाएर सोही क्रममा पार्टीभित्रैको गुण्डा प्रयोग गरी दार्चुलाको चमेलियामा मारेर फालेको आरोप पनि प्रज्ज्वलमाथि लागेको छ । उनी अहिले एमाओवादीका केन्द्रीय सदस्य तथा कालिकोट संयोजककोे जिम्मेवारीमा छन् । उनलाई क्यान्टोनमेन्टमा छँदा चार करोडबराबरको हिसाब हिनामिना गरेको आरोप ‘जनसेना’ले लगाउँदै आएको छ ।
अर्का डिभिजन कमान्डर कालीबहादुर खामले गर्ने गरेको धेरैजसो कारोबार सार्वजनिक नै भइसकेका छन् । रक्तचन्दनको तस्करीदेखि चिनियाँ व्यापारी लुट प्रकरणसम्म मुछिएका उनी अझै पनि नेपाल प्रहरीको मोस्टवान्टेड सूचीमा छन् । तीनवटी श्रीमतीका श्रीमान्समेत रहेका उनले काठमाडौंको हात्तीगांैडामा कान्छी श्रीमतीलाई फेन्सी पसल खोलिदिएका छन् । उनी स्वयम् भने अझै पनि विभिन्न ठेक्कापट्टा र रक्तचन्दन तस्करीको कारोबारमा संलग्न हुँदै आइरहेका छन् ।

भारतीय नागरिक भएकै कारण न्यायमा पन्पक्ष !
नेपाल र भारतबीच भएको शान्तिमैत्री सन्धिअनुसार विदेशी भएकै कारण कुनै नेपालीले भारतमा न्यायबाट वञ्चित हुनु नपरेको परिवेशमा भारतीय नागरिक भएकै कारण आफूलाई नेपालको सर्वोच्च अदालतले अन्यायमा पार्न खोजेको गुनासो व्यवसायीले गरेका छन् । लामो समयदेखि नेपालमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका रवि सिंहले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश कल्याण श्रेष्ठ र गोविन्दकुमार उपाध्यायको इजलासले गरेको एक फैसलाले आफूलाई अन्यायको अनुभूति गराएको बताएका हुन् । आफूले ललितपुर सानेपामा रेस्टुरेन्ट सञ्चालनका लागि केशवसिंह ठकुरी नामक व्यक्तिको घरजग्गा भाडामा लिएर उनैले दिएको नक्साबमोजिम घर पुनर्निर्माण गराएकोमा लाखौँ खर्च गरिसकेपछि निजले अर्काको जमिनसमेत आफ्नो भनी झुक्याएको खुलासा भएको र उक्त ठगीको मुद्दा लिएर जिल्ला अदालत गएको रवि सिंहको दाबी छ । सो मुद्दामा जिल्ला अदालतले ठग केशव ठकुरीलाई पक्रिएर कानुनी कारबाही अघि बढाउन आदेश दिएकोमा प्रहरीले ६ महिनाअघि नै उनलाई पक्रिएको पनि थियो । तर, कारबाहीमा परेपछि सर्वोच्च गुहारेका ठग ठकुरीलाई पक्राउ परेको दुई साता नबित्दै सर्वोच्चले बन्दीप्रत्यक्षीकरणको आदेश दिएर छुटाउनु आफूमाथि घोर पूर्वाग्रही निर्णय भएको व्यवसायी सिंहको दाबी छ । ठगी मुद्दामा थुनिएको व्यक्तिलाई बन्दीप्रत्यक्षीकरणको नियम नै लागू हुन नसक्ने कानुनी व्यवस्थाको उपेक्षा गर्दै दोस्रो पक्षसँग कुनै सरोकार नै नराखी सर्वोच्चका वरिष्ठ न्यायाधीशबाट एकपक्षीय फैसला हुनुलाई संयोग मात्र ठान्न नसक्ने भन्दै व्यवसायी सिंहले आफू भारतीय नागरिक भएकैले पूर्वाग्रही फैसला गरिएको बताए । तथापि, आफू अझै न्याय पाउने आशामा रहेको पनि उनले बताए ।

भावी गभर्नरको नाम सिफारिस
अर्थमन्त्री डा. रामशरण महतको संयोजकत्वमा गठित सिफारिस समितिले भावी गभर्नरको तीन नाम तय गरेपछि लामो समयदेखि कुतूहलको विषय बनेको नेपाल राष्ट्र बैंकको गभर्नर छनोट कार्यले अन्तिम रूप पाउने भएको छ । हिजो मंगलबार बसेको सिफारिस समितिको बैठकले गभर्नरका लागि पूर्वसचिव डा. युवराज भुसाल, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपाल र राष्ट्र बैंकका डेपुटी गभर्नर गोपालप्रसाद काफ्लेको नाम तय गरेपछि राष्ट्रबैंकले नयाँ गभर्नर पाउने निश्चित भएको हो । सिफारिस समितिले डा. भुसालको नाम पहिलो नम्बरमा राखेको छ भने डा. नेपाल र काफ्ले क्रमशः दोस्रो र तेस्रो नम्बरमा पारिएका छन् । आज बुधबार बस्ने मन्त्रिपरिषद् बैठकमा सिफारिस नाम पेस हुने र लगत्तै मन्त्रिपरिषद्ले एकजनालाई गभर्नर नियुक्त गर्नेछ । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार रहेका डा. नेपालले गभर्नर बन्नकै लागि सल्लाहकारको जिम्मेवारीबाट राजीनामा दिनुका साथै काङ्ग्रेसको सक्रिय सदस्यतासमेत परित्याग गरिसकेका भए पनि डा. युवराज भुसालको नाममा अन्तिम सहमति हुने सम्भावना प्रबल रहेको बालुवाटार सूत्रले जनाएको छ ।

प्रचण्ड फेरिँदा अमिक निराश
बडो उत्साहका साथ जनमोर्चा नेपालबाट एकीकृत माओवादी प्रवेश गरेका पुराना कम्युनिस्ट नेता अमिक शेरचनले आफू पार्टीबाट उपेक्षित भएको अनुभूति गर्न थालेका बुझिएको छ । लामो समयदेखि पार्टीगतिविधिमा नदेखिएका शेरचन एकीकृत माओवादी नै छाड्ने मनस्थितिमा पुगेको उनीनिकट सूत्रको दाबी छ । पार्टीमा आफूभन्दा कनिष्ट नेताहरूलाई हाबी तुल्याइएको र एमाओवादी नेताहरू पदलोलुप भएको भन्दै यस्तो परिवेशमा एमाओवादीको नेता बनेर बसिररहन नैतिकताले नदिने भन्दै उनले पार्टी छाड्ने तयारी गरेका हुन् । तथापि, एमाओवादीबाट अलग्गिए पनि सार्वजनिक जीवनबाट भने पन्छिएर नबस्ने उनको सोच रहेको बुझिन्छ । पार्टी–गतिविधि र पार्टीको जिम्मेवारीबाट विगत एक वर्षदेखि अलग रहँदै आएका शेरचनले पछिल्लो समय निर्मल लामा प्रतिष्ठानका नामबाट सक्रिय राजनीति गर्ने तयारी गरेका छन् । यसका लागि उनले पार्टीभित्रका आफूनिकट नेताहरूसँगको छलफललाई तीव्रता दिइरहेका छन् ।
‘निर्मल लामा दाइको नामबाट पार्टीले नै प्रतिष्ठान बनाउँछ कि भनेर कुरेँ, पटक–पटक कुरा पनि राखेँ, तर कुनै वास्ता गरिएन, त्यसैले साथीहरू मिलेर प्रतिष्ठान बनाएका छौँ, अब यसैलाई थप प्रभावकारी बनाउने तयारीमा छु,’ नेता शेरचन यसरी खुलस्त भए । आफ्नो लागि अब यो प्रतिष्ठाको विषय भएकाले यसैको अध्यक्षता निर्वाह गर्दै यहीँबाट थप भूमिका निर्वाह गरेर अघि बढ्ने सोच बनाएको उनले बताए । यसरी निर्मल लामाका अधुरा योजना प्रतिष्ठानको माध्यमबाट पूरा गर्ने सोचाइमा शेरचन पुगेका छन् । नेपालमा निर्मल लामाजस्तो इमानदार कम्युनिस्ट नेता जन्मन नसकेको भन्दै शेरचनले भने, ‘अहिले आएका सबै कम्युनिस्ट नेता स्वार्थी र पदलोलुप मात्र देखिएका छन् ।’
बृहत् शान्तिसम्झौतादेखि तत्कालीन सरकार र माओवादीबीच भएको सातबुँदे सम्झौतामा हस्ताक्षर गर्नेमध्येका एक नेता शेरचन आफ्नै पार्टीका केन्द्रीय नेताहरूले गरेको व्यवहारका कारण पार्टीमा सक्रिय नरहेको सन्दर्भबारे एउटा तप्कामा बेलाबेला चर्चा चल्दै आएको थियो । शान्तिसम्झौता गर्दा महत्वपूर्ण भूमिका निर्वाह गरेको वरिष्ठ राजनीतिकर्मीलाई एमाओवादीले चिन्न नसकेको अमिकनिकट व्यक्तिहरूको गुनासो छ । नेता अमिक स्वयम् पनि यो स्वीकार गर्दछन् । पार्टीमा रहेकामध्ये संसदीय राजनीतिक प्रणालीबारे जानकार नेतालाई बाइपास गरेर अघि बढ्न खोज्दा पार्टीले अहिलेको परिणाम भेग्नुपरेको शेरचनको ठहर छ । त्यसो त विगतका दलीय वार्ता र छलफलमा शेरचनको उपस्थिति अनिवार्यजस्तै हुने गरेको थियो । तर, एमाओवादीमा प्रवेश गरेसँगै उनले दलीय छलफलमा सहभागी हुन छाडेका थिए । उनी आफ्नै कारणले भन्दा पनि पार्टीले नै उनलाई दलीय छलफलमा सहभागी नगराएको बुझिन्छ । पछिल्लो चरणमा त पार्टीकै राजनीतिक कार्यक्रमहरूमा समेत सहभागी हुन छाडेका शेरचनले भने, ‘कहिलेकाहीँ जिल्ला जान्छु, साथीभाइ भेट्छु, यसैमा दिन बितिरहेको छ ।’
एमाओवादीमा रहेका अर्बपति नेताहरूका कारण पार्टी बदमान भएको नेता शेरचनको बुझाइ छ । यस कोणबाट हेर्दा यतिबेला शेरचनको पार्टीप्रतिको दृष्टिकोण नै फेरिएको छ । पार्टीनेताहरूको सम्पत्ति छानबिन समितिमा रहेर सबै नेताहरूको सम्पत्ति छानबिन गरेको र प्रतिवेदन दिँदा केन्द्रीय नेता नै दोषी पाइएको भन्दै कारबाहीका लागि सिफारिस गरेपछि उनीप्रति पार्टीका सबैजसो नेतारू नकारात्मक बनेका अर्को एक सूत्रको कथन छ । त्यसपछि नै पार्टीले उनीप्रति वास्ता राख्न छाडेकोे हो ।
तर, शेरचन भने पार्टीमा आफू वरिष्ठ नेता हुँदाहुँदै नेतृत्वले त्यसअनुसारको भूमिका नदिएकाले आफैँ पार्टीबाट टाढा रहेको बताउँछन् । ‘म पदको लोभ गरेर राजनीतिमा आएको होइन, मैले कहिल्यै यो पदमा मलाई राख भनिनँ,’ उनले अगाडि थपे, ‘साथीहरूको सल्लाहमा मलाई पार्टीको वरिष्ठ नेताको जिम्मेजारी दिँदा हुन्छ पनि भनेको थिएँ, अध्यक्ष प्रचण्डलगायतले त्यसमा सकारात्मक हुँदै ‘हुन्छ’ पनि भनेका थिए, तर पछि किन दिएनन् बुझ्नै सकिनँ । मभन्दा निकै कनिष्ठ मानिसहरू वरिष्ठ भएपछि कसरी पार्टीमा रहेर काम गर्न मन लाग्छ ? अहिले त भन्न पनि आफैँलाई लाज लागेर आउँछ, तर आफूभन्दा कनिष्ठहरूलाई कसरी वरिष्ठ मानेर बस्नु ?’
एमाओवादी पार्टी लोभीपापीहरूको जमघट गर्ने निकायको रूपमा रूपान्तरित हुँदै गएको शेरचनले दाबी गरे । एमाओवादी अध्यक्ष प्रचण्डलाई आफूले नै राजनीतिमा ल्याएको खुलासा गर्दै अमिकले भने, ‘त्यतिबेलाको बुझाइमा प्रचण्डले मुलुकका लागि केही गर्न सक्छन् भन्ने लाग्यो, त्यस्तो क्षमता उहाँमा देखेको हुँ, तर प्रचण्डजी पहिलेको जस्तो प्रचण्ड रहेको नपाउँदा म निराश छु ।’ पार्टीमा नारायणकाजीजस्ता स्थानीय (जनस्तर)को समस्या नबुझेका व्यक्तिदेखि बुर्जुवा शिक्षामा डिग्री हासिल गरेकाहरूसम्म रहेको भन्दै शेरचनले थपे, ‘नेताहरू कहाँ पैसा पाइन्छ, कसरी पदमा पुग्न सकिन्छ भन्ने ध्याउन्नमै तल्लीन रहेकोले पार्टीकै अस्तित्व समाप्त हुने खतरा पैदा हुँदै गएको छ ।’ पार्टीका नेताहरू राष्ट्रिय राजनीतिमा पनि आफूखुसी निर्णय गर्र्दै हिँड्ने गरेको भन्दै शेरचनले आफूलाई शीर्ष नेता भन्नेहरू नै केटाकेटीले गुच्चा खेल्दा झगडा गरे जसरी राष्ट्रिय मुद्दामा अल्झिरहेको बताए । समयअनुसार चल्नुपर्नेमा आजका नेताहरू पूरै असफल भएकोले मुलुकमा समस्या बढिरहेकोे नेता शेरचनको बुझाइ छ ।

लोकेन्द्रलाई उधारो राष्ट्रपतिको ललिपप
साता दिनअघिदेखि नेपाली राजनीतिक क्षेत्र राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकता हुने हल्लाले गर्माएको छ । दुवै पार्टीले उच्च तहको वार्ता समितिसमेत बनाएर अर्धपारदर्शी रूपमा छलफल अघि बढाए पनि एकीकरणका एजेण्डामा खुलेर छलफल हुन नपाउँदै पार्टीभित्रका गुट–उपगुट र असन्तुष्ट व्यक्तिहरूको चलखेलका कारण पार्टी–एकताको प्रयास राम्ररी तात्नै नपाई चिसिने सम्भावना प्रबल बनेको बुझिएको छ । फुटेको हाँडीलाई कुशल कुमालेले पनि टाल्न सक्दैन भनेझैँ दुई फरक विचार र बाटो बोकेका ‘पुरातनवादी’ शक्तिबीच मिलन हुनु भनेको फुटेको हाँडी जुटेजस्तै हो भन्नेहरू दुवै पार्टीमा प्रशस्तै भेटिन्छन् । देश, दल तथा कार्यकर्ताको मायाले भन्दा पनि आफैँभित्रका असन्तुष्ट या फरक विचार राख्नेहरूलाई समाप्त पार्ने उद्देश्यले कथित एकताको पासो थापिएको उनीहरू बताउँछन् । यस्तो जालमा राप्रपाका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द पर्छन्–पर्दैनन्, त्यो अहिले नै भन्न सकिने अवस्था नरहे पनि कमल थापालाई थाल खाउँ कि भात खाउँ भन्ने स्थितिमा पु-याएको पद्मसुन्दर लावती समूहले भने आकाश र धर्तीको मिलन हुन्छ भने मात्रै यो एकता सम्भव रहेको तर्क गर्न थालेको छ ।
केही दिनयता चर्चामा आएको ‘राजावादी’ र ‘गणतन्त्रवादी’ कित्ताका भनिने राप्रपा–राप्रपा नेपालबीचको एकताको निम्ति दीपक बोहरा, ठाकुरप्रसाद शर्मा, बुद्धिमान तामाङ, किरण गिरी राप्रपाबाट र केशरबहादुर विष्ट, निरञ्जन थापा र चन्द्रबहादुर गुरुङहरू राप्रपा नेपालको तर्फबाट वार्तामा खटिएका छन् । दुई दलको वार्ता समितिबीच विभिन्न चरणमा वार्ता भए पनि राप्रपा नेपालले बोकेको हिन्दूराष्ट्र र संवैधानिक राजाका विषयमा छलफल हुँदा राजसंस्थाको मुद्दामा गएर हलो अड्किएको बुझिएको छ । वार्ता चल्दै जाँदा दुवै पार्टीमा विद्रोह गरेका शक्तिबारे पनि छलफल भइरहेको र राप्रपा नेपालबाट वार्तामा खटिएका केशरबहादुर विष्ट, निरञ्जन थापा र चन्द्रबहादुर गुरुङले राप्रपाभित्रै विद्रोह गरिरहेका लोकेन्द्रबहादुर चन्दलाई भेटेर आकर्षक तर उधारो प्रलोभन दिएको बुझिएको छ । उनीहरूले भोलि एमाले–काङ्ग्रेसलाई सघाउने स्थिति आएको खण्डमा राष्ट्रपतिमा बार्गेनिङ गर्ने र कुरा मिलेपछि त्यो ओहोदा चन्दलाई नै दिने भन्दै फकाउन खोजेको स्रोतको दाबी छ । यदि त्यो हुन नसके आगामी महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बनाउने ललिपप पनि उक्त टोलीले चन्दलाई दिएको बुझिएको छ । अगुल्टोले हानेको कुकुर बिजुली देख्दा तर्सिन्छ भनेझैँ राप्रपा र राष्ट्रिय जनशक्ति पार्टी एकीकरण हुँदाको सम्झौता कार्यान्वयन नभएकै कारण विद्रोही बनेका चन्दले उक्त उधारो प्रस्तावलाई मृगतृष्णा ठानी एक कानले सुनेर अर्को कानले उडाइदिएको बताइन्छ ।
राप्रपाभित्र यस्तो स्थिति छ भने अर्कोतिर कमल थापाको ‘अधिनायकवाद’विरुद्ध पार्टी शुद्धीकरणको नारा उठाएर सुन्धारामा कार्यालय स्थापना गरेका पद्मसुन्दर लावतीको शक्तिशाली समूहले गत हप्ता मात्र राप्रपा नेपाल समानान्तर कमिटीको घोषणा गरेको अवस्थामा दुई राप्रपाको एकता अन्ततः ‘ए–कता ?’ मा गएर टुङ्गिने त होइन भन्ने टिप्पणी हुन थालेको छ । समानान्तर कमिटीको घोषणापश्चात् राप्रपा नेपालबाट शुद्धीकरणको अभियान चलाएका पद्मसुन्दर लावतीले पनि विभिन्न शक्तिसँग सहयात्राका लागि वार्ता कमिटी बनाएका छन् । आफ्नै नेतृत्वमा गठित वार्ता समितिमा उपाध्यक्ष दिलविकास राजभण्डारी, सत्रुघ्न लामा, महामन्त्री रामु राई, बालकृष्ण न्यौपाने, सहअध्यक्ष गणेश शेरचनलगायतका व्यक्ति रहेको बुझिएको छ । राप्रपा र राप्रपा नेपालको एकीकरणबारे समानान्तर कमिटीका महामन्त्री रामु राईले ‘कमल थापा आत्मसमर्पण गरेर विलय भए हामीलाई थाहा छैन, होइन भने त्यो सम्भव नहुने’ अभिव्यक्ति दिए । छुट्टाछुट्टै मुद्दा बोकेका यी पार्टीको मिलन हुनु असम्भव भन्दै उनले आफूलाई अकबरे खुर्सानी भन्ने कमल थापाको राग समाप्त भएको दाबीसमेत गरे । राप्रपा नेपालभित्र कमल थापाको पक्षमा उभिएका केही व्यक्ति अर्को दलमा विलय हुँदैमा लावतीले नेतृत्व गरेको राष्ट्रवादी शक्तिले आफ्नो पहिचान नगुमाउने राईको कथन छ ।
राप्रपासम्बद्ध अर्को एक सूत्रले चाहिँ आगामी वैशाखभित्रै दुई पार्टी एक हुने गरी एकताको वार्ता चलिरहेको दाबी गरेको छ । गणतन्त्र स्वीकार गरी आफूलाई लोकतान्त्रिक दलको रूपमा चिनाउन कसरत गरिरहेको राप्रपा र संवैधानिक राजसंस्था, हिन्दूराष्ट्रजस्ता विषयलाई मूल मुद्दा बनाएर आफूलाई चौथो दलको रूपमा उभ्याएको राप्रपा नेपालबीच दुवैको अहम्मा ठेस नलाग्ने उपायको खोजी भइरहेको बताइन्छ । यसका लागि अन्तरिम संविधानमा उल्लेख भएअनुसार राप्रपा नेपालले आफूलाई समयसापेक्ष रूपमा ढाल्नुपर्ने र मुलुकका ऐतिहासिक धरोहरहरूको जगेर्ना गर्दै अघि बढ्न राप्रपा पनि तयार हुनुपर्ने भन्ने रणनीति अख्तियार गरिन लागिएको सूत्रको दाबी छ ।

स्वास्थ्य मन्त्रालयको बेवास्ताले निजी अस्पतालमा मनपरी
स्वास्थ्य मन्त्रालयको लापरबाहीका कारण देशभरका निजी अस्पतालहरूले आफूखुसी शुल्क तोक्दा बिरामी मर्कामा परेका छन् । निजी अस्पतालहरूमा सरकारी तवरबाट हुने अनुगमन फितलो हुँदा यिनका सञ्चालकहरू मनपरी ढङ्गले उपचार शुल्क तोक्ने गरेका छन् । स्वास्थ्य मन्त्रालय, क्ष्ँेत्रीय स्वास्थ्य निर्देशनालय र जिल्ला जनस्वास्थ्य कार्यालयले अनुमगन गर्नुपर्ने स्वास्थ्य सेवा निर्देशिकामा उल्लेख भए पनि चुस्त ढङ्गबाट कुनै पनि अस्पतालमा हालसम्म अनुगमन हुन सकेको छैन ।
यस्ता अनुगमन गर्ने निकायको लापरबाही र बेवास्ताका कारण निजी अस्पतालले टिकटको मूल्यदेखि हरेक उपचारमा बिरामीबाट लाखौँ ठगी गर्दै आएका छन् । हरेक निजी अस्पतालले आफूखुसी दुई सयदेखि दुई हजारसम्म टिकटको मूल्य तोक्दा मन्त्रालय बेखबर बनेको छ । राजधानी र बाहिर पोखरा, चितवन, विराटनगर, नेपालगञ्जलगायतका सहरहरूमा खुलेका यस्ता प्राइभेट अस्पतालमा उपचारका लागि अन्य सेवामा पनि मनपरी ढङ्गबाट शुल्क तोकिएको छ । अस्पतालका अनुसार फरक–फरक दरले शुल्क तोक्दा सर्वसाधारण नागरिक ठगिएका छन् । चितवनस्थित एक अस्पताल व्यवस्थापक सुविधाबमोजिम फरक–फरक दर हुने गरेको भए पनि उपचार खर्च महँगो हुने बिरामी आफैँले जान्नुपर्ने ठाडो जवाफ दिन्छन् ।
तर, मन्त्रालयदेखि जनस्वास्थ्य कार्यालयसम्मले कुनै अनुगमन नगर्दा अस्पतालको मनपरी बढेको बिरामीको गुनासो छ । कहिलेकाहीँ हुने अनुगमनमा कर्मचारीलाई घुसको लोभ देखाएर अस्पतालहरूले आफ्नो मनोमानी झन् बढाउँदै लगेपछि अहिले स्वास्थ्य क्षेत्र व्यापारिक थलो बनेको छ । मेडिकल कलेजदेखि ठूला–साना अस्पतालमा उपचार गर्न जाने बिरामीले महँगो शुल्क तिर्नुपर्ने बाध्यताप्रति मन्त्रालय चुपचाप बसेको छ । सरकारी अस्पतालमा दरबन्दी भएका चिकित्सक आफ्ना निजी अस्पतालमा राम्रो सुविधा दिने प्रचार गर्दै सर्वसाधारणलाई ठगी गरेको कार्यप्रति पनि मन्त्रालय बेखबरजस्तै बनेको छ । केही समयअघि सरकारी दरबन्दीका चिकित्सकले निजी अस्पतालमा काम गर्न नपाउने विषय बाहिर आए पनि देशभरका डाक्टरको चर्को दबाबपछि मन्त्रालय अहिले चुप बसेको छ । ठग्न पाउनुपर्छ भनेर एकजुट बनेका देशभरका डाक्टरको दबाबलाई मन्त्रालयले तोड्न नसक्दा निजी अस्पतालको महँगो शुल्कको मारमा सर्वसाधारण सधैंभरि पर्ने भएका छन् । यसबारेमा बुझ्न खोज्दा स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले अनुगमनमा कमजोरी रहेको स्वीकार गर्दै निजी अस्पतालविरुद्ध आउने उजुरीका आधारमा छानबिन गरिने जानकारी दिए ।

राष्ट्रकविका रचना हिन्दीमा आउने
‘संवेदना के स्वर’ विमोचित
नेपालका लागि भारतका राजदूत रणजित रायले राष्ट्रकवि माधवप्रसाद घिमिरेका साहित्य–कृतिहरू हिन्दी भाषामा अनुवाद गरी प्रकाशनमा ल्याइने जानकारी दिनुभएको छ । विख्यात कवि–गीतकार दिनेश अधिकारीद्वारा रचिएका कविताको हिन्दी अनुदित सङ्ग्रह ‘संवेदना के स्वर’को पुस्तक विमोचन समारोहमा मन्तव्य दिँदै राजदूत रायले उक्त घोषणा गर्नुभएको हो । भारतीय दूतावास र बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानद्वारा आयोजित पुस्तक विमोचन कार्यक्रममा मन्तव्य दिँदै राजदूत रायले विशेषगरी संस्कृति, साहित्य र शिक्षाको क्षेत्रमा प्रतिष्ठानले गर्दै आएको कार्यको प्रशंसा गर्नुभयो । उहाँले भारत र नेपालबीच साहित्यिक क्रियाकलाप एवम् सिर्जनाको आदानप्रदानमा जोड दिनुभयो ।
सार्कका महासचिव अर्जुनबहादुर थापा, नेपाल सङ्गीत तथा नाट्यकला प्रतिष्ठानका उपकुलपति सरुभक्तलगायतका व्यक्तित्वको उपस्थितिमा राष्ट्रकवि माधवप्रसाद घिमिरे र राजदूत रणजित रायद्वारा ‘संवेदना के स्वर’को संयुक्त रूपमा विमोचन गरिएको थियो ।
कार्यक्रममा राष्ट्रकवि घिमिरेले कवितालेखन तथा आफ्नो साहित्यिक यात्राबारे अनुभूति सुनाउँदै हिन्दीमा केही कवितासमेत वाचन गर्नुभयो । यसप्रकारका प्राज्ञिक कर्म गरेर बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानले अत्यन्त प्रशंसनीय काम गरेको र नेपाल–भारत सम्बन्धमा यस्ता कार्यले थप प्रगाढता ल्याउने उहाँको कथन थियो ।
ख्यातिप्राप्त कवि/गीतकार दिनेश अधिकारीद्वारा रचित कविताका अनुवादक डा. गंगाप्रसाद अकेला हुनुहुन्छ । भारतको सुविख्यात प्रकाशन संस्था राजकमल प्रकाशन (नयाँदिल्ली)द्वारा प्रकाशित सो कृतिलाई हिन्दीमा अनुवाद गराउन बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानले सहयोग उपलब्ध गराएको कार्यक्रममा बताइयो ।
स्मरण रहोस्, भारतीय राजदूतावास र बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानको सहयोगमा हिन्दीमा ‘लक्ष्मीप्रसाद देवकोटा के निबन्ध’ र नोबेल पुरस्कार विजेता कृति ‘गीताञ्जली’को नेपालीमा अनुवाद तथा प्रकाशनसमेत भएको छ । मैथिली भाषामा लेखिएको ‘सितायन’लाई हिन्दी र अङ्ग्रेजीमा अनुवाद र प्रकाशन गर्ने कार्य पनि भारतीय दूतावास र बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानको सहयोगमा भइरहेको छ ।

बालिकाले यौनाङ्ग दुखेको बताएपछि…
लमजुङ/ एकपछि अर्को गर्दै बलात्कारका घटना सार्वजनिक भइरहेको परिवेशमा लमजुङमा पनि एक बालिका बलात्कृत भएकी छिन् । पूर्वीलमजुङको नौथर गाउँ विकास समितिकी पाँच वर्षीया बालिका बलात्कारको सिकार भएकी हुन् । बालिकालाई नौथरकै १९ वर्षीय युवक धनबहादुर गुरुङले बलात्कार गरेको खुलेको छ । प्रहरीले ‘२०७१ एफ’ नाम दिएको बालिकाको घरमा कोही नभएको मौका छोपी चकलेट दिन्छु भन्दै गुरुङले बालिकालाई जालमा पारेको थियो । त्यसपछि बालिकामाथि जबर्जस्ती करणी गरेको खुल्न आएको निमित्त प्रहरी प्रमुख राजेन्द्र अधिकारीले बताए । उनका अनुसार घटना गत २१ फागुन दिनको ३ बजे घटेको थियो । पीडित परिवारले बलात्कारका अभियुक्त गुरुङलाई किटानी जाहेरी दिएका थिए ।
बालिकाले पनि सुरुमा कसैलाई केही भनिनन् । पछि यौनाङ्ग दुख्यो भनेर आफन्तलाई भनेपछि आफन्तले सोधखोज गर्दा उनी बलात्कृत भएको रहस्य खुलेको थियो । त्यसपछि फकाएर सोधपुछ गर्दा बालिकाले गुरुङसँग खेलेको र उसले चकलेट दिएर फकाइफकाइ कपडा खोल्न लगाएर गरेका क्रियाकलापको इतिवृत्तान्त बताएको पारिवारिक स्रोतले जनाएको छ ।
प्रहरीले सूचनाका आधारमा अभियुक्तलाई २५ गते नै पक्राउ गरेको थियो । घटनाको प्रकृति र अस्पतालको ‘रिपोर्ट’ हेर्दा बालिकालाई बलात्कार गरेको देखिएको प्रस्ट्याउँदै निमित्त प्रहरी प्रमुख अधिकारीले भने, ‘अभियुक्त गुरुङलाई कारबाहीका लागि जबर्जस्ती करणीको महलअन्तर्गत प्रक्रिया अगाडि बढाई म्याद थप गरिएको छ ।’ घटनाका दोषीलाई कानुनी प्रक्रियाअनुसार कडाभन्दा कडा कारबाही गरिनुपर्ने बालअधिकार अधिकृत नवीनचन्द्र घिमिरेले माग गरेका छन् ।
पछिल्लो समय लमजुङमा बालबालिकामाथि यातना, दुव्र्यवहार, जबर्जस्ती करणी र बालविवाहका घटनाहरू बढ्न थालेको बाल हेल्पलाइन लमजुङले जनाएको छ ।
– छविलाल बगाले

हिन्दुत्व बचाउन अनौठो -याली
गत फागुन २९ गते काठमाडौंमा आकस्मिक रूपमा हजारौंको सङ्ख्यामा मोटरसाइकल -याली निस्कियो । जिल्ला प्रशासन एवम् प्रहरी निकायले समेत सुइँको नपाई निस्किएको सो मोटरसाइकल -यालीको नेतृत्व संयुक्त सनातन मोर्चाका केन्द्रीय संयोजक डा. मीठाराम विश्वकर्माले गरेका थिए । बाफलचोकबाट निस्केर कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, थापाथली हुँदै नयाँ बानेश्वरको निषेधाज्ञा रेखामा पुगेर -याली रोकिएको थियो । तब मात्र प्रहरीको पहरामा -यालीलाई तिनकुने पु-याइएको थियो ।
ओमकारको ध्वजा र राष्ट्रिय झन्डा मात्रै लिएर निस्केको -यालीका सहभागी सडकमा अन्य सवारीसाधनसँगै अघि बढेकाले सुरुमा केको भीड भन्ने ठम्याउन नसकेर प्रहरीहरू नै अलमल्ल परेका थिए । -यालीको अवस्थालाई हेर्दा ‘हिन्दूले पनि यस्तो खालको प्रदर्शन गर्न जान्दारहेछन्’ भन्ने भाव सबैमा पैदा भइरहेको थियो । सञ्चारक्षेत्र र प्रहरी प्रशासनलाई खबर नगरी आयोजना गरिएको सो -याली सनातन हिन्दू राष्ट्र नेपाल नागरिक सङ्घर्ष समितिका संयोजक हरिबोल भट्टराईको अगुवाइमा जारी ‘हिन्दू आन्दोलन’को समर्थनमा संयुक्त सनातन मोर्चाले निकालेको थियो । तिनकुनेमा गएर -याली सभामा परिणत भएको थियो भने सभालाई खुमबहादुर खड्का, हरिबोल भट्टराईलगायतले सम्बोधन गरेका थिए ।
सम्बोधनको क्रममा पूर्वगृहमन्त्री तथा नेपाली काङ्ग्रेसका अग्रणी नेता खुमबहादुर खड्काले अनादिदेखि चल्दै आएको र नेपालको मौलिक पहिचानको रूपमा स्थापित हिन्दूधर्म तथा हिन्दूराष्ट्रलाई निमिट्यान्न पार्न पश्चिमाहरूले ठूलो चलखेल गरिरहेकोप्रति समस्त नेपाली होसियार हुनुपर्ने बताए । पश्चिमाशक्तिले नेपालमा धर्मयुद्ध गराउन खोजेको दाबी गर्दै नेता खड्काले जतिसुकै विदेशी चलखेल भए पनि हिन्दूराष्ट्र कायम गराएरै छाडिने र संविधानमा हिन्दूराष्ट्र उल्लेख नभए सो संविधान जनताद्वारा च्यातिने चेतावनी दिए । यस्तै, सङ्घर्ष समितिका संयोजक हरिबोल भट्टराईले धर्म बचाउन आवश्यक परे कुनै पनि प्रकारको सङ्घर्ष गर्न आफूहरू तयार रहेको भन्दै धर्मनिरपेक्षता नेपालीको चाहना नभएर डलरको खेल मात्र भएको दाबी गरे ।
यस्तो प्रकारको -याली आयोजना गरेर के सन्देश दिन खोजिएको हो भन्ने जिज्ञासामा संयुक्त सनातन मोर्चाका संयोजक डा. मीठाराम विश्वकर्माले देशको शान्तिसुरक्षामा धर्मक्षेत्रबाट समस्या पैदा भएको गृहमन्त्रीले ठानेको खुलासा गर्दै धर्मका अभियन्ताहरूप्रति गृहमन्त्रीको नकारात्मक चेष्टा सार्वजनिक भएको परिवेशमा सरकारले प्रदान गर्ने कथित शान्तिसुरक्षाबिना पनि धर्मक्षेत्रले आफ्नो कार्य शालीन तवरबाट गर्न सक्छन् भन्ने सम्बन्धित पक्षले जानुन् भन्ने सन्देश दिन बेग्लै ढङ्गबाट -याली आयोजना गरिएको प्रस्ट्याए । धर्मनिरपेक्षताको नाममा धार्मिक विस्तारवाद–साम्राज्यवाद लादेर अनादिदेखिको हाम्रो धर्म, संस्कृति, सभ्यतामाथि बलात् आक्रमण गरी धर्मयुद्ध गराउन खोज्नेहरूको पक्षमा राज्यको पहुँचमा पुगेका नेताहरूले कार्य गरिरहेकाले नेताहरूबाटै मुलुकप्रति खतरा पैदा भएको डा. विश्वकर्माको कथन थियो ।
– बद्री फोयाल

विश्व काव्य यात्राको तयारीमा कवि वसन्त
नेपाली भाषा, साहित्य, संस्कृति एवम् परम्परालाई आगत पुस्ताका लागि सुरक्षित र संरक्षित रूपमा हस्तान्तरण तथा तिनलाई विश्वव्यापीकरणसमेत गरिनुपर्ने मान्यताका पक्षपाती, नेपाली साहित्यिक फाँटका पछिल्लो समयका चर्चित रोमान्टिक कवि/गीतकार वसन्त चौधरीले आफ्नो एकल विश्व काव्ययात्राका दौरान यही चैत ७ गते कास्कीको पोखरामा र चैत १४ गते सिंगापुरमा कविता वाचन गर्ने भएका छन् । पोखरास्थित गण्डकी बोर्डिङ स्कुलको सभाकक्षमा चैत ७ गते अपराह्न सम्पन्न हुने गीतकार चौधरीको एकल विश्व काव्ययात्राको १३आँै संस्करणको काव्यात्मक कार्यक्रम स्थानीय सामाजिक संस्था ‘नवआदर्श सामुदायिक विकास समाज’को आयोजनामा हुन लागेको हो । त्यसरी नै सिंगापुरमा आयोजना हुने १४औँ संस्करण ‘नेपाली सोसाइटी सिंगापुर’को आयोजनामा सम्पन्न हुन लागेको बताइएको छ ।
ती दुवै स्थानका कार्यक्रममा कवि चौधरीले आफ्ना नयाँ/पुराना नेपाली र हिन्दी गरी करिब बीसवटा प्रेमरसयुक्त कविता वाचन गर्नेछन् । पाँचवटा साहित्यिक पुस्तक एवम् आठवटा गीति एल्बम प्रकाशित गरिसकेका चौधरीले गत फेब्रुअरी १४ अर्थात् प्रणय दिवसको अवसर पारेर काठमाडौंमा एक बृहत् साहित्यिक जमघटबीच एक त्यस्तै प्रेमिल र स्वप्निल साहित्यिक कार्यक्रम ‘लभ इन दि एयर’ आयोजना गरेका थिए ।

ग्लोबल आइएमई कर्णालीमा पनि
ग्लोबल आइएमई बैंकले यही चैत १ देखि कर्णालीको कालिकोटस्थित मान्मा बजारमा आफ्नो ८५औँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले उक्त शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ । शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले कालिकोट जिल्लामा धेरै पहिलेदेखि बैंकको आवश्यकता महसुस भई आएको कारण ग्लोबल आइएमई बैंकले आफ्नो शाखा विस्तार गरेको जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजंग पाण्डेसमेत उपस्थित सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले ग्लोबल बैंकले उपलब्ध गराउने साना व्यवसायी कर्जा, कृषि कर्जा, रेमिट्यान्स सुविधा, होम लोनलगायतका सेवाको माध्यमबाट कालिकोट क्षेत्रको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
निजी क्षेत्रबाट सञ्चालित कुनै पनि व्यावसायिक बैंकको शाखा नरहेको कालिकोट जिल्लामा शाखा विस्तार गर्ने ग्लोबल आइएमई बैंक पहिलो बैंक भएको बुझिएको छ । बैंकले कालिकोटमा शाखा विस्तार गरेसँगै अब चौधै अञ्चलबाट ग्राहकलाई सेवा प्रदान गर्नेछ भने कालिकोटमा शाखा विस्तार गरेसँगै ग्लोबल आईएमई बैंकका ८५ शाखा, ८८ वटा एटीएम, ३३ वटा शाखारहित बैंकिङ सेवा तथा ५ लाखभन्दा बढी ग्राहक पुगेको बैंकले दाबी गरेको छ ।

लुभुमा ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना हुने
भोजपुर जिल्लाको दावाँ गाउँबाट राजधानी आई बसोबास गरेका व्यक्तिहरूको समूहद्वारा गठित दावाँली समाज तथा दावाँली मिलन क्लबको तत्वावधानमा गत फागुन २३ देखि ३० गतेसम्म पशुपतिनाथ परिसरमा आयोजित बृहत् श्रीमद्भागवत ज्ञान महायज्ञ सफलताका साथ सम्पन्न भएको छ । ‘ज्येष्ठ नागरिक सेवा केन्द्र’ स्थापना गर्ने उद्देश्य राखी लगाइएको सो महापुराणमा सातै दिनसम्म हजारौँ भक्तजनको उपस्थिति रहेको आयोजक पक्षको दाबी छ । उपप्रधानमन्त्री प्रकाशमान सिंहले शुभारम्भ गर्नुभएको उक्त महायज्ञको समापन भने भोजपुर दावाँ क्षेत्रबाट निर्वाचित सभासद् कृपाशुर शेर्पाले गर्नुभएको थियो ।
सो महायज्ञका क्रममा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन निर्माणका लागि करिब एक करोड सहयोग नगद सङ्कलन भएको बताइएको छ भने करिब एक दर्जन दाताले सो भवनमा एक–एक कोठा निर्माण गर्दा लाग्ने रकम दिने वचन दिएका छन् । एक लाखभन्दा बढी नगद सहयोग गर्ने दाताहरूमध्ये डा. सुन्दरलाल श्रेष्ठले ६ लाख, तारानाथ लुइँटेलले पाँच लाख ५५ हजार, नोबेल एकेडेमीले दश लाख ५१ हजार, गडुलध्वज बस्नेतले पाँच लाख, रमादेवी उपे्रतीले पाँच लाख एक हजार, धनबहादुर श्रेष्ठले तीन लाख एक हजार, रमोेदपुकार श्रेष्ठले दुई लाख ५१ हजार, श्रीमती रूपा श्रेष्ठले दुई लाख ५१ हजार, उत्तरकुमार श्रेष्ठले दुई लाख बाइस हजार, खगेन्द्र श्रेष्ठले दुई लाख २२ हजार दुई सय २१, पदमकुमार श्रेष्ठले दुई लाख एक हजार, चन्द्रप्रभा श्रेष्ठले दुई लाख एक हजार, राधा पाण्डेले एक लाख ५१ हजार प्रदान गरेका छन् भने एक लाखदेखि एक लाख पन्ध्र हजारसम्म दान दिनेहरूमा अम्बिका श्रेष्ठ, पम्फादेवी शर्मा, सुरेन्द्र कोइराला, ज्वालाराज सैंजू, पुण्यप्रसाद श्रेष्ठ, भक्तबहादुर श्रेष्ठ, डब्जुकुमार श्रेष्ठ, जनार्दन खड्का, बाबुकाजी श्रेष्ठ, कृष्णबहादुर प्रधान, टंक श्रेष्ठ, विष्णुकुमार श्रेष्ठ, माधवप्रसाद श्रेष्ठ, दुर्गाप्रसाद श्रेष्ठ, दलबहादुर श्रेष्ठ, कृष्णकुमार सैंजू, इन्द्रदेवी श्रेष्ठ रहेका र लाखभन्दा कम दिनेहरूको सूची निकै लामो रहेको आयोजकबाट बुझिएको छ । महायज्ञ आयोजक समितिका संयोजक गणेशकुमार श्रेष्ठका अनुसार यो निरन्तर चल्ने राष्ट्रिय अभियान भएकाले देशका सबै तह र तप्काका व्यक्ति, सङ्घ–संस्थाबाट भवन निर्माण अवधिभर सहयोग रकम प्राप्त भइरहने अपेक्षा गरिएको छ ।
सो भवन निर्माण निर्माणका निम्ति भोजपुर दिङ्लानिवासी डा. हरि लम्सालबाट लुभु (ललितपुर)मा तीन रोपनी जग्गा दानस्वरूप उपलब्ध भएको छ ।

सुशासन अभियानको प्रथम बैठक
सुशासन अभियान नेपाल केन्द्रीय कार्यसमितिको पहिलो बैठकले भ्रष्टाचारमुक्त समाज, व्यवस्था परिवर्तन र समृद्ध नेपाल निर्माणको गन्तव्यमा पुग्न १० वर्ष समय निर्धारण गरेको छ । अभियानले सुरुको कार्ययोजनामा संस्थाको विस्तार र सूचनाको हकलाई प्रयोगमा ल्याउने नीति लिएको बताइएको छ । संस्थाको नाममा खाता खोल्ने, सल्लाहकार नियुक्ति गर्ने, उपसमितिहरू निर्माण गर्ने, संस्थापक सदस्यहरूलाई आजीवन सदस्यता प्रदान गर्ने, अनेस्टी ओस्कार अवार्ड २०१५ को सिलसिलामा सहयोग गर्नेहरूलाई धन्यवाद दिने, जिल्ला, गाउँ तथा नगरक्षेत्रमा समन्वय समिति निर्माणका लागि स्थानीय अधिकारीलाई लिखित जानकारी गराउने, पाँचजनाको नाममा राष्ट्रिय कोष निर्माण गर्ने, वार्षिक प्रगति प्रतिवेदन तयार गर्ने, विधान संशोधन, जिल्लाको जिम्मेवारी तोक्ने, आर्थिक सहयोग र हिसाबकिताब सार्वजनिक गर्ने, नियमावली र आचारसंहिता संशोधन गर्ने, वेबसाइट सञ्चालन गर्नेलगायत कैयन निर्णय गरिएको संस्थासम्बद्ध मुक्ति भुसालले जानकारी दिए । सुशासन अभियान नेपालको अध्यक्ष भ्रष्टाचारविरोधी अभियन्ता शारदा भुसाल झा हुन् ।

मधेसका निधि पहाडी जिल्ला भ्रमणमा
नेपाली काङ्गे्रसका नेता एवम् भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधिले विकास निर्माण तथा पार्टी–सङ्गठनको चासोका साथ पश्चिमका दुई पहाडी जिल्ला अर्घाखाँची र गुल्मीको भ्रमण गरेका छन् । अर्घाखाँचीको सन्धिखर्कमा आयोजित जिल्ला परिषद्को उद्घाटन गरी गुल्मी पुगेका मन्त्री निधिले क्षेत्र नं. २ सँग जोड्ने दुई पक्की पुलको उद्घाटन गर्नुका साथै जोहाङ गाविसको चोरकाटेमा निर्माण हुने बढिघाट पक्की पुलको शिलान्यास गरेका थिए । सो क्रममा उनले चर्चित समाजसेवी एवम् सभासद् सुवर्ण ज्वारचनको अगुवाइमा निर्मित परमानन्द शान्ति आश्रमको निरीक्षण तथा देवालयको दर्शनसमेत गरे । पुलको शिलान्यास गर्दै मन्त्री निधिले विकास–निर्माणमा स्थानीय जनता चनाखो हुनुपर्ने बताउँदै निर्माणपछि संरक्षणको निम्ति पनि त्यत्तिकै सक्रिय हुनुपर्ने सुझाव दिए भने सभासद् ज्वारचनले गुल्मी क्षेत्र नं. १ हरेक कुरामा पिछडिएको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएकी थिइन् ।
चोरकाटेको कार्यक्रमपश्चात् मन्त्री निधिले रूपाकोट गाविसदेखि तुरुङ जोड्ने हुग्दी खोलामा आठ करोड ८२ लाख ७२ हजारको लागतमा निर्माण भएको पक्की पुलको उद्घाटन गरेका थिए । उनले तुरुङ गाविस र क्षेत्र नं. २ को जुभुङ जोड्ने चार करोड ९१ लाख १४ हजारको लागतमा निर्मित ६० मिटर लामो हावडा शैलीको पुलको पनि उद्घाटन गरेका थिए । उनले सालझण्डी–खज्र्याङ–तमघास हुँदै ढोरपाटन पुग्ने फास्टट्रयाक, रिडी–रुद्रवेणी हुँदै ढोरपाटन जोड्ने मुख्य सडकमार्ग र सहयोगी साना सडकसँगै कालीगण्डकी करिडोर निर्माणपछि यी जिल्लामा आर्थिक तथा सामाजिक विकासको कामलाई महत्व दिनुपर्ने बताए । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय (पश्चिमाञ्चल)का क्षेत्रीय निर्देशक श्यामलाल प्रधानले विकास निर्माणका कामलाई अधुरो राखेर भाग्ने निर्माण व्यवसायीलाई कानुनी कारबाही गर्नुका साथै कालो लिस्टमा राखिने चेतावनी दिए ।
तमघास–सिलमटारी–प्युठान सडक आयोजनाका प्रमुख मुकुन्दराज अधिकारीले आफूहरू राज्यका कर्मचारी मात्र नभई नागरिक पनि भएकाले विकास निर्माणको जिम्मेवारी र जवाफदेहिता दुवै भएको बताए भने चिन्तामणि भण्डारी र चेतन बस्नेतले समग्र क्षेत्रको विकासका लागि सकारात्मक धारणा राखेका थिए भने कार्यक्रममा नेपाली काङ्गे्रसका केन्द्रीय सदस्य एवम् क्षेत्र नं. २ का सभासद् चन्द्र भण्डारी, जिल्ला सभापति चन्द्रबहादुर केसी, सभासद् सुवर्ण ज्वारचन, दिलशोभा पुन, कृष्णबहादुर छन्तेल, नेका गुल्मीका पूर्वसभापति त्रैलोक्यप्रताप सेन, उपसभापति भुवनप्रसाद श्रेष्ठ, सचिव विष्णु बलाल, छन्दबहादुर पहराई, एमाले नेतृ मैना भण्डारी, ३ नं. क्षेत्रका सभापति दामोदर भुसाल, नेपाली जनसम्पर्क समिति भारतका बालकृष्ण पाण्डे, नेविसङ्घका पूर्वजिल्लासभापति महेन्द्र पाण्डेय, तरुण दल अध्यक्ष खिलध्वज पन्थीलगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो । सो अवसरमा मन्त्री निधिले पार्टी कार्यालयको प्राङ्गणमा सहिद शमशेरबहादुर खत्रीको सालिक राख्ने स्थानको शिलान्यास गरेका थिए । प्रायः सबै कार्यक्रममा मन्त्रीसँगै रहेका केन्द्रीय सदस्य चन्द्र भण्डारीले जिल्लाको वस्तुस्थिति र ऐतिहासिक तीर्थस्थल चार धाममध्येको एक धाम रुरु क्षेत्रको विषयमा जानकारी गराएपछि मन्त्री निधिले रिडीमा रहेको ऋषिकेष मन्दिरको निरीक्षण र पूजाअर्चना गरेका थिए ।

सार्वजनिक बसमा डीआईजीको सवारी
उपत्यका ट्राफिक प्रमुख डीआईजी (प्रहरी नायव महानिरीक्षक) जयबहादुर चन्द एसएसपी छँदा ट्राफिकअन्तर्गत डीआईजीका ट्वाइसीको जिम्मेवारीमा थिए । त्यसबेलाको घटना हो, उनकी छोरीले महाराजगन्जमा ट्राफिक नियम उल्लङ्घन गरी पार्किङ गर्दा त्यहाँ कार्यरत ट्राफिक कर्मचारीले उनको सवारीसम्बन्धी कागजात लिइदिएछन् । चन्दकी छोरीले फिल्डमा खटिएका ती कर्मचारीलाई आफ्नो चिनारी दिएकी भए सायद गल्ती नजरअन्दाज गर्दै उनको कारबाही मिनाहा हुने थियो कि !चन्दकी छोरीले तल्लो दर्जाका कर्मचारीसँग कुरा गर्नुभन्दा एसएसपी दर्जामा रहेका आफ्ना बाबुसमक्ष कुरा राखेर कागजात फिर्ता लिने प्रयास गरिन् । बाबु नै एसएसपी भएपछि डराएर ती ट्राफिक प्रहरीले कागजात फिर्ता ल्याइदेलान् भन्ने उनको सोच थियो । तर, छोरीको फोन रिसिभ गरेपछि तत्कालीन एसएसपी चन्दले ट्राफिक नियम उल्लङ्घन गरेकोमा आफूले कसैको निम्ति पनि केही गर्न नसक्ने भन्दै प्रक्रिया पु-याई आवश्यक जरिवाना तिरेर कागजात फिर्ता लिन सुझाव दिए । बाबुको कुराले छोरी रिसाइन्, तर फिल्डका काम गर्ने कर्मचारीको मनोबल उचो तुल्याउन दृढ रहेका चन्द कर्तव्यबाट विचलित भएनन् ।
नेपाल प्रहरीमा मुसो पक्रिँदा पनि बाघ नै ढालेजत्तिकै गरी प्रचारप्रसार गर्ने प्रवृत्तिको कमी नरहेको परिवेशमा वर्तमान उपत्यका ट्राफिक प्रमुख डीआईजी जयबहादुर चन्द भने यस मामलामा फरक सोच राख्छन् । प्रचारभन्दा कामलाई महत्व दिनुपर्छ भन्ने उनको मान्यता छ । उनी यसअघि उपत्यका ट्राफिकमा रहँदा र काठमाडौं जिल्ला प्रमुख (किलो वान) भएर रहँदाका कामहरू उल्लेख्य रहेको प्रहरीकै माथिल्ला अधिकृतले स्वीकार नगरे पनि तल्लो दर्जामा रही फिल्डमा खटिने प्रहरी कर्मचारीले भने उनको काम र व्यवहारको प्रशंसा गर्ने गरेका सुनिन्छन् । ड्युटीमा रहेका या फिल्डमा खटिने कर्मचारीको मनोबल उच्च पार्न चन्द आफूले माफ माग्नुपर्ने अवस्था आए पनि पछि पर्दैनन् भनिन्छ । कसैलाई काखा र कसैलाई पाखा गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै उनले कर्मवीरलाई पुरस्कार र ठगलाई दण्ड दिने गरेको भुक्तभोगीहरूको कथन छ ।
यस हिसाबले काठमाडौं प्रमुखको जिम्मेवारीमा रहँदा पनि उनले मिडियाबाजीभन्दा कामलाई नै ध्यान दिएको इतिहास छ । उनको कार्यकालमा अपराधको प्रतिशत घटेको थियो भने त्यतिबेला उपत्यकावासीले महसुस गर्नेगरी उनले मुख्यतया दुई काम गरेका थिए । अपराध कर्म गर्नेहरू त्यही बस्तीमा बस्छन् भन्ने सूचना प्रवाह गर्नका लागि बस्ती भेटघाटमार्फत जनतालाई चेतनशील बनाउने र तिहार, होलीजस्ता चाडपर्वमा हुने विकृति नियन्त्रणको काम उनले विशेष पहलकदमीका साथ गरेका थिए । तिहारमा कानै फुट्नेगरी पड्काइने पटकालाई निरुत्साहित पार्नुका साथै होलीमा हप्ता दिनअघिबाट फालिने फोहोर पानी र बटुवामाथि हुने दुव्र्यवहार उनले पूर्ण रूपमा बन्द गराएका थिए । एउटा प्रहरी अधिकृतले दिलैदेखि चाहने हो भने काम हुनसक्छ भन्ने कुरालाई उनले व्यवहारसिद्ध तुल्याइदिए ।
यस्तै, काँधमा डीआईजीको फुली लगाएर सुदूरपश्चिम पुगेका चन्दले त्यहाँ पनि राम्रो प्रभाव पारे । चन्दले त्यहाँ पनि बस्ती भेटघाटका साथै सर्वसाधारणकै मुखबाट तिनका समस्या सुन्न र प्रहरीबाट दुःख दिइएमा आफूलाई सोझै फोन गर्न गाउँ–गाउँ पुगी उनले नम्बर नै बाँडे । उनको कार्यक्षेत्रमा पारिवारिकदेखि सामाजिक झगडासम्म पनि जनताले खुलेर राख्ने गरेको मातहतमा काम गरेका प्रहरीकर्मीहरू सम्झन्छन् । यतिबेला उपत्यका ट्राफिक व्यवस्थापनको कमाण्ड सम्हालिरहेका चन्दले गत शुक्रबार हात्तीगौंडास्थित आफ्नो निवासस्थानदेखि राष्ट्रिय सभागृहसम्म माइक्रोबस चढेर सार्वजनिक यातायातमा हुने गरेका अनियमितताको जायजा लिने प्रयास गरेको सन्दर्भ अहिले चर्चामा छ । सार्वजनिक यातायातमा सिटभन्दा बाहिर यात्रु बस्न नदिइने नीति व्यवहारमा उतार्न चुनौती देखिएको सन्दर्भमा डीआईजी चन्दको उक्त प्रयासले सकारात्मक सन्देश प्रवाह गरेको सरोकारवालाहरू बताउँछन् ।
– हेम लम्साल