विश्वकप क्रिकेट
जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको आयरल्यान्डको सपना चकनाचुर भएको छ । आफ्नो समूहमा पाँचौँ स्थानमा रहेको वेस्टइन्डिजले आफ्नो अन्तिम खेल फराकिलो अन्तरले जित्नैपर्ने थियो । अन्यथा उसलार्ई अघिल्लो चरणमा प्रवेश गर्न निकै कठिन थियो । वेस्टइन्डिजले लिग चरणको अन्तिम खेलमा यूएईलाई फराकिलो अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको पनि थियो । यसका लागि पाकिस्तानले आयरल्यान्डलाई पराजित गर्दै वेस्टइन्डिजलाई क्वार्टरफाइनल पु-याउन अहम् भूमिका निभाएको थियो । पाकिस्तानसँगको हारका बाबजुद आयरल्यान्ड र वेस्टइन्डिजको समान ६ अङ्क भए पनि रनरेटका कारण आयरल्यान्ड विश्वकपबाट बाहिरिन पुगेको थियो । आयरल्यान्ड विश्वकपबाट बाहिरिएपछि चालू विश्वकपमा एसोसिएयट राष्ट्रहरूको चुनौती पनि समाप्त भएको छ । जारी विश्वकपमा आयरल्यान्डले वेस्टइन्डिज, जिम्बावे र यूएईलाई पराजित गरेको थियो भने भारत, दक्षिण अफ्रिका र पाकिस्तानसँग पराजित भएको थियो । जारी विश्वकपमा भारत र न्युजिल्यान्ड अपराजित रहेर १२ अङ्क बटुल्न सफल भएका थिए । यी दुवै राष्ट्रले लिग चरणका सबै खेलमा विजय हासिल गरेका थिए ।
जारी विश्वकपको लिग चरणको खेल समाप्तिसँगै समूह ‘ए’बाट आयोजक न्युजिल्यान्ड, अस्ट्रेलिया, श्रीलंका र बंगलादेश अर्को चरणमा प्रवेश गरेका छन् । त्यस्तै समूह ‘बी’बाट भारत, दक्षिण अफ्रिका, पाकिस्तान र वेस्टइन्डिजले बाजी मारेका छन् । अब क्वार्टरफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध श्रीलंका, भारतविरुद्ध बंगलादेश, अस्ट्रेलियाविरुद्ध पाकिस्तान र न्युजिल्यान्डविरुद्ध वेस्टइन्डिजको घम्साघम्सी हुनेछ । क्वार्टरफाइनलको पहिलो खेलमा आज बुधबार अर्थात् चैत ४ गते दक्षिण अफ्रिका र श्रीलंका आमने–सामने हुनेछन् । यो पहिलो क्वार्टरफाइनल सिड्नीमा हुनेछ । त्यस्तै मेलबर्नमा बिहीबार हुने दोस्रो क्वार्टरफाइनलमा भारत र बंगलादेशबीच भिडन्त हुनेछ । यसैगरी तेस्रो क्वार्टरफाइनलको भिडन्त शुक्रबार एडेलेडमा हुनेछ । जसमा अस्ट्रेलिया र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । त्यसैगरी क्वार्टरफाइनलको अन्तिम खेल शनिबार बेलिङटनमा न्युजिल्यान्ड र वेस्टइन्डिजबीच हुनेछ । क्वार्टरफाइनलका दुई खेल अष्ट्रेलिया र दुई खेल न्युजिल्यान्डमा सञ्चालन हुनेछन् । यो साता अर्थात् चैत ७ गते क्वार्टरफाइनलका खेलहरू समाप्त हुनेछन् ।
क्वार्टरफाइनलका खेलहरूको विश्लेषण गर्दा यसपटक सबैभन्दा सजिलो प्रतिद्वन्द्वी भारतले पाएको छ । जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेको भारतले बंगलादेशलाई सजिलै पराजित गर्ने र सेमिफाइनलमा पुग्ने अनुमान गरिएको छ । तर, वेस्टइन्डिजमा सम्पन्न विश्वकपमा बंगलादेशले भारतलाई पराजित गरी लिग चरणबाटै स्वदेश फर्काएकाले यो भिडन्तलाई कम आँकिएको छैन । बंगलादेशले भारतलाई कडा चुनौती दिने कुरामा क्रिकेट विश्लेषकहरू सहमत देखिएका छन् । बंगलादेशले भारतलाई पराजित गर्न साम, दाम, डण्ड र भेद चारै नीतिको अवलम्बन गर्नेछ । भारतले पनि पुरानो पाठलाई दोहोरिन नदिने रणनीति अख्तियार गर्ने भएको छ । भारत बंगलादेशविरुद्ध सुझबुझका रूपमा उत्रिने प्रायः निश्चित छ । त्यस्तै वेस्टवन्डिजको मौसमी प्रदर्शनले न्युजिल्यान्डलाई सोच्न बाध्य पारेको छ । चालू विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेको न्युजिल्यान्डले वेस्टइन्डिजलाई सहजै पराजित गर्ने अनुमान गरिए पनि वेस्टइन्डिजलाई एक सशक्त प्रतिद्वन्दीको रूपमा हेरेको छ । वेस्टइन्डिज लयमा फर्किए कुनै पनि टिम लागि भारी पर्न सक्ने भएकाले यो भिडन्त निकै प्रतिस्पर्धात्मक हुने विश्वास प्रकट गरिएको छ । जारी विश्वकपमा वेस्टइन्डिजले कुनै सशक्त टिमलाई पराजित गर्न नसके पनि पाकिस्तानलाई भने पराजित गरेको थियो । त्यस्तै वेस्टइन्डिज मात्रै त्यस्तो टिम हो जो यो विश्वकपमा एसोसियट राष्ट्र अफगानिस्तानसँग पराजित भएको थियो । वेस्टइन्डिजको यही मौसमी प्रदर्शनले गर्दा न्युजिल्यान्डका लागि वेस्टइन्डिज टाउकोदुःखाइ बनेको छ ।
यो विश्वकपको प्रमुख दाबेदार मानिएको अस्ट्रेलियाको क्वार्टरफाइनलमा पाकिस्तानसँग भिडन्त हुँदै छ । निकै कसरतका बाबजुद क्वार्टरफाइनलमा पुगेको पाकिस्तानका लागि अस्ट्रेलियामाथि फतेह हासिल गर्न फलामकै चिउरा चपाउनुपर्ने देखिएको छ । चालू विश्वकपमा न्युजिल्यान्डसँगको सनसनीपूर्ण खेलमा पराजय भोगेको अष्ट्रेलियाले अन्य खेलमा गरेको प्रदर्शनलाई विश्लेषण गर्ने हो भने अस्ट्रेलिया पाकिस्तानमाथि निकै भारी पर्ने देखिन्छ । तर, क्रिकेटमा जे पनि हुन सक्छ । लिग चरणका दुई खेल लगातार गुमाएर विश्वकपबाटै झन्डै बाहिरिसकेको पाकिस्तानले त्यसपछिका चार खेल लगातार जितेर आफू अन्य टोलीभन्दा कम नभएको प्रमाणित गरिसकेको छ । अझ यो विश्वकपमा दक्षिण अफ्रिकाजस्तो सशक्त टिमलाई पराजित गरिसकेकाले पाकिस्तानले अस्ट्रेलियालाई कडा चुनौती नदेला भन्न सकिँदैन । र पनि अष्ट्रेलिया र पाकिस्तानमध्ये आयोजक अस्ट्रेलिया यो भिडन्तमा फेवरेट देखिएको छ । त्यस्तै दक्षिण अफ्रिका र श्रीलंकाबीच हुने पहिलो क्वार्टरफाइनल खेल निकै सनसनीपूर्ण हुने विश्वास गरिएको छ । यो खेलमा कसले बाजी मार्ला त्यो अनुमान लगाउन क्रिकेट पण्डितहरूलाई समेत हम्मेहम्मे परेको छ । चालू विश्वकपमा दुवै टिमले समान स्तरको प्रदर्शन गरेका कारणले पनि यस्तो अवस्थाको सिर्जना भएको हो । लिग चरणमा दक्षिण अफ्रिका भारत र पाकिस्तानसँग पराजित भएको थियो भने श्रीलंका न्युजिल्यान्ड र अस्ट्रेलियासँग । सरसर्ती हेर्दा विश्वकपमा दुवै टिमले समान प्रदर्शन गरेका छन् । यसर्थ यो भिडन्तमा जसले पनि बाजी मार्न सक्छ । विश्वकपमा अहिलेसम्म अनलक्की सावित भएको दक्षिण अफ्रिकाको यात्रामा श्रीलंकाले पुनः पूर्णविराम लगाए अन्यथा मान्नुपर्ने छैन । श्रीलंकाले पनि उतारचढावको प्रदर्शन गर्दा उसलाई पनि विश्वास गरिहाल्ने आधार भेटिएको छैन । यो खेलमा जसले बाजी मारे पनि खेल निकै सनसनीपूर्ण र रोमाञ्चकारी भने अवश्य हुनेछ ।
अन्त्यमा एसोसियट राष्ट्रहरूको चुनौतीको सामना गर्दै विश्वकपको क्वार्टरफाइनलमा पुगेका टेस्ट खेल्ने राष्ट्रहरूबीच नै विश्वकपका लागि वास्तविक भिडन्त हुने भएको छ । विश्वकप शुभारम्भ हुनुअघि नै विश्वकपको दाबेदारीको रूपमा देखिएका राष्ट्रहरू लिग चरणमा बलियो देखिएका छन् । विश्वकपको प्रमुख दाबेदारको रूपमा अस्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र साविक विजेता भारतलाई हेरिए पनि अन्य टोलीभन्दा तुलनात्मक रूपमा दक्षिण अफ्रिका अलि कमजोर देखिएको छ । तर, भारतले विश्वकपमा गरेको वापसी अहिले अस्ट्रेलिया र न्युजिल्यान्डका लागि टाउको दुःखाइ बनेको छ । भारतको प्रभावशाली प्रदर्शनले अस्ट्रेलिया र न्युजिल्यान्डको निद्रा हराएको छ । उसमा यति सन्त्रास बढेको छ कि भारतसँग उनीहरू फाइनलमा मात्र भिडन्त गर्न चाहन्छन् । यसर्थ यो विश्वकप अहिले भारत, न्युजिल्यान्ड र अस्ट्रेलिया तीन देशको बीचमा घुम्न पुगेको छ । हेरौँ, क्रिकेट हो– जे पनि हुनसक्छ, बाजी जसले पनि मार्न सक्छ ।
राष्ट्रिय एथलेटिक्समा आशिष र सीमा उत्कृष्ट
एपीएफ क्लबका द्वय पुरुषमा आशिष चौधरी र महिलामा सीमाकुमारी थारू ४०औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल एथलेटिक्स सङ्घद्वारा आयोजित प्रतियोगितामा आशिषले तीन स्वर्ण र एक रजत जितेका थिए । उनले दुई सय मिटर दौड २१ः८५ सेकेन्डमा पूरा गर्दै व्यक्तिगत स्वर्ण सङ्ख्या तीन पु-याएका थिए । त्यसअघि आशिषले एक सय मिटर र चार सय मिटर दौडमा स्वर्ण तथा चार गुणा एक सय मिटर रिलेमा टिमसँग मिलेर रजत जितेका थिए । दुई सय मिटर दौडमा आर्मीका मीनबहादुर चौधरी दोस्रो र यामसाजन सुनार तेस्रो भएका थिए । त्यस्तै सीमाले प्रतियोगितामा एक मात्र स्वर्ण जित्ने क्रममा ज्याभलिन थ्रोमा ३९.४६ मिटर टाढा फाल्दै आफ्नै नामको राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी थिइन् । उक्त कीर्तिमान प्रतियोगिताकै एक्लो कीर्तिमान हो । उत्कृष्टद्वयलाई नगद १०–१० हजार पुरस्कार प्रदान गरिनेछ । कीर्तिमानका लागि सीमाले छुट्टै पाँच हजार नगद पुरस्कार पनि पाउने भएकी छन् ।
नेपाल प्रहरीकी केशरी चौधरी प्रतियोगिताकै सर्वाधिक स्वर्ण जित्ने खेलाडी बनिन् । केशरीले चार व्यक्तिगत स्पर्धामा स्वर्ण हात पारिन् । अन्तिम दिन महिलाको हाइजम्पमा केशरीले १.४८ मिटर उचाइ नाघ्दै व्यक्तिगत स्वर्ण चार पु-याएकी हुन् । यअघि केशरीले लङजम्प, ट्रिपलजम्प र एक सय मिटर हर्डल्समा स्वर्ण जितेकी थिइन् । हाइजम्पमा एपीएफकी शिला चौधरी दोस्रो र प्रहरीकी वर्षा भट्टराई तेस्रो भएका थिए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको महिलाको दुई सय मिटर दौडमा एपीएफकी दिलमाया कार्की पहिलो भइन् । दिलमायाले २६ः२० सेकेन्ड समय खर्चिन् । एपीएफकी सरस्वती चौधरी दोस्रो तथा नेपाल आर्मीकी रमिता चौधरी तेस्रो भए ।
पुरुषको हाइजम्पमा आर्मीका सूर्य खत्री पहिलो स्थानमा गर्दै स्वर्ण पदक जितेका थिए । उनले १.९३ मिटर उचाइ नाघेका थिए । एपीएफका बालकृष्ण चौधरी तथा अमृत नेपाली क्रमशः दोस्रो र तेस्रो भए ।
पाँच हजार मिटर दौडको पुरुषमा आर्मीका हरिकुमार रिमाल पहिलो भए । उनले निर्धारित दूरी तय गर्न १५ मिनेट ०३ः४ सेकेन्ड समय खर्चेका थिए । आर्मीकै लालबहादुर थापा दोस्रो र एपीएफका नारायण थापा तेस्रो भए । सोही स्पर्धाको महिलामा एपीएफकी कान्छीमाया कोजूले १८ मिनेट १५ः६ सेकेन्डमा दूरी पार गर्दै शीर्ष स्थान कब्जा गरेकी थिइन् । आर्मीकी विश्वरूपा बुढा दोस्रो र एपीएफकी गीता खत्री तेस्रो भए । पुरुषको सटपुटमा आर्मीका राजेन्द्र बस्नेतले १२ः५० मिटर टाढा फाल्दै पहिलो स्थान हात पारे । आर्मीकै बमबहादुर गुरुङ दोस्रो र प्रहरीका पुष्कल खड्का तेस्रो भए । त्यसै स्पर्धाको महिलामा प्रहरीकी चन्द्रकला लाम्गाडे पहिलो भइन् । चन्द्रकलाले १०.६२ मिटर टाढा फालिन् । आर्मीकी अन्जु डगौरा दोस्रो र प्रहरीकी बसन्ती चौधरी तेस्रो भएका थिए । पुरुषको चार गुणा चार सय मिटर रिलेमा आर्मी पहिलो, प्रहरी दोस्रो र एपीएफ तेस्रो भए । उक्त स्पर्धाको महिलामा एपीएफ पहिलो, आर्मी दोस्रो तथा मध्यपश्चिमाञ्चल तेस्रो भएका थिए ।
आर्मी टिम च्याम्पियन
४०औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको उपाधि आर्मीले जितेको छ । टिम च्याम्पियन आर्मीले १६ स्वर्ण, १७ रजत र ९ कास्य हात पारेको थियो । दोस्रो भएको एपीएफले १३ स्वर्ण, १२ रजत र ९ कास्य प्राप्त गरेको थियो । ७ स्वर्ण, ५ रजत र ७ कास्यसाथ प्रहरीले तेस्रो स्थानमा चित्त बुझायो ।
त्यस्तै १ रजत र ५ कास्यमा मध्यपश्चिमाञ्चल चौथो, १ रजत र १ कास्यमा पश्चिमाञ्चल पाँचौँ, २ कास्यमा मध्यमाञ्चल छैटौँ तथा १ कास्यमा पूर्वाञ्चल सातौँ भए । सुदूरपश्चिमाञ्चल पदकविहीन रहेको थियो ।
विजेतालाई सभासद् कल्पना बस्नेत, सभासद् एवम् एथलेटिक्स सङ्घका अध्यक्ष राजीवविक्रम शाह, दक्षिण एसियाली कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धर, नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका जितबहादुर केसीलगायतले पुरस्कार वितरण गरेका थिए । तीनदिने प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय गरी ८ टिमका १ सय ७६ खेलाडीले ३६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । थ्रोइङ इभेन्ट भद्रकालीस्थित आर्मीको मैदानमा भएको थियो भने बाँकी स्पर्धा दशरथ रंगशालामा सञ्चालन गरिएको थियो ।
मुख्य प्रशिक्षक ओम सम्मानित
बक्सिङका मुख्य प्रशिक्षक ओमकुमार मास्के सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय बक्सिङ महासङ्घ (आइबा) बाट आइबा थ्री स्टार कोच भएकोमा केन्द्रीय बक्सिङ प्रशिक्षण केन्द्रका प्रशिक्षार्थीले मास्केलाई सामूहिक सम्मान गरेका हुन् । गत सेप्टेम्बरको पहिलो साता काजकिस्तानको अल्माटीमा आइबाद्वारा लिइएको परीक्षामा उत्तीर्ण भएपछि मास्के आइबा थ्री स्टार कोच बनेका हुन् । यसअघि यो उपलब्धि प्रचण्ड शर्मा र किरण थापाले प्राप्त गरेका थिए । यो थ्री स्टार कोच कोर्ष आइबाको माथिल्लो तहको कोर्ष हो । आइबाले आफ्नो नियममा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा थ्री स्टार कोच कोर्ष उत्तीर्ण गरेको प्रशिक्षकको आवश्यकता हुने बनाएको छ ।
मास्केले २०५० सालमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बक्सिङ प्रशिक्षक (अधिकृत तृतीय श्रेणी) का रूपमा सेवा प्रवेश गरेका थिए । मास्के दक्षिण एसियाली महासङ्घीय खेलकुद (अहिले दक्षिण एसियाली खेलकुद) को पाँँचौँ र छैटौँ संस्करणका कास्य विजेता हुन् । उनले जापानको हिरोसिमामा भएको १२औँ एसियाली खेलकुदमा पाँचौँ स्थान प्राप्त गरेका थिए । राखेप सदस्यसचिव युवराज लामाले मास्केलाई प्रशिक्षार्थीको तर्फबाट प्रशंसापत्र प्रदान गरी सम्मान गरेका थिए ।
पारा तेक्वान्दोमा जनार्जन निर्विरोध
नेपाल पारा तेक्वान्दो सङ्घको पहिलो साधारणसभाले जनार्जन ढुङ्गेलको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमितिको निर्विरोध चयन गरेको छ । अघिल्लो कार्यसमितिमा पनि ढुङ्गेल नै अध्यक्ष थिए । केन्द्रीय कार्यसमितिको उपाध्यक्षत्रयमा देवेश भट्टराई, मोहनकुमार कार्की र भीमसेन केसी, महासचिवमा अच्युतम लामिछाने, सचिवमा लोकेन्द्र आचार्य तथा कोषाध्यक्षमा रमेश शाक्य रहेका छन् । पवनकुमार थापा, भुवनलाल श्रेष्ठ, कल्याण कुँवर, मधु ढुङ्गेल, सुरिना गुरुङ, राजु ढुङ्गेल, विष्णुप्रसाद सापकोटा र माधव कोइराला सदस्यमा चयन भएका छन् ।
सो अवसरमा नवनिर्वाचित ढुङ्गेलले प्रमिला सिंह र डीके ढुङ्गानालाई उपाध्यक्ष तथा हरिबहादुर बुढाथोकी, बुद्धिबहादुर थापामगर, पारा तेक्वान्दो खेलाडी सीता भण्डारी र पारा तेक्वान्दो खेलाडी हीरामणि अधिकारीलाई सदस्यमा मनोनयन गरिएको घोषणा गरे । अब चार सदस्यको मनोनयनपश्चात् केन्द्रीय कार्यसमितिले पूर्णता पाउनेछ । विधानतः पारा तेक्वान्दो सङ्घको केन्द्रीय कार्यसमिति २५ सदस्यीय रहने प्रावधान छ । नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदावधि चार वर्षको हुनेछ ।
नवनिर्वाचित र मनोनीतहरूलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत सङ्घ संस्था समन्वय शाखाका प्रमुख एवम् प्रमुख निर्वाचन अधिकृत टेकप्रसाद कट्टेलले प्रमाणपत्र प्रदान गर्नुका साथै पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए । त्यसअघि राखेप सदस्यसचिव युवराज लामाले बानेश्वरमा आयोजित एक कार्यक्रमबीच साधारणसभाको उद्घाटन गरेका थिए । सो अवसरमा सदस्यसचिव लामाले कुनै पनि खेल सङ्घको स्थायित्वका लागि निर्वाचन अनिवार्य भएकोमा जोड दिए ।
साधारणसभामा केन्द्र र विभिन्न १७ जिल्लाका गरी जम्मा ५३ प्रतिनिधिको उपस्थिति रहेको निर्वाचन अधिकृत नारायणराज अर्यालले जनाएका छन् । पारा तेक्वान्दोमा नेपालले विश्व पारा तेक्वान्दो च्याम्पियनसिपको चौथो संस्करणमा कास्य र पाँचौँमा रजत जितिसकेको छ ।
राष्ट्रिय भलिबल चैत अन्तिम साता
दोस्रो नयाँ बजार कप राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिता चैत २५ देखि सञ्चालन हुने आयोजक नयाँ बजार सामाजिक युथ क्लबका अध्यक्ष भगवान थापाले जानकारी गराएका छन् । नयाँबजारस्थित क्लबमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले भने– व्यक्ति, समाज र राष्ट्रिय पहिचानको मूल आधार खेलकुद भएकाले क्लबले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।
दोस्रो संस्करणमा पुरस्कार राशि दोब्बर गरिएको छ । प्रथम हुनेले १ लाख १ हजार १ सय ११, दोस्रोले ६० हजार १ सय ११, तेस्रोले ३५ हजार १ सय ११ र चौथो हुनेले ११ हजार १ सय ११ नगद पाउने अध्यक्ष थापाले जानकारी गराए । २१औँ शताब्दीमा आएर द्वन्द्वको चपेडामा परेका राष्ट्र पनि सुमुधर सम्बन्धका लागि खेलकुदको माध्यमबाट पहिचान बढाइरहेका छन् । राज्यले पनि खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ अनि मात्र नेपाली खेलकुदको विकास र विस्तार सम्भव भएको थापाको कथन थियो ।
नयाँबजार टाउन प्लानिङ आई ब्लकस्थित सोसियल ग्राउण्डमा २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टिम सहभागिता रहने प्रतियोगिता संयोजक पदमकुमार श्रेष्ठले जानकारी गराए । प्रतियोगितामा सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिगकम नकआउट पद्धतिमा खेलाइनेछ । नेपाल पुलिस, सशस्त्र बलको एपीएफ क्लब, नेपाल आर्मी, विश्व विद्यालय, हेल्प नेपाल, ढोरपाटन प्रशिक्षण क्लब, जाउलाखेल प्रशिक्षण केन्द्र र आयोजकको टिमले सहभागिता जनाउने संयोजक श्रेष्ठले जानकारी गराएका छन् । प्रतियोगिता सञ्चालनका लागि ११ लाख ८० हजार खर्च लाग्ने आयोजकले बताएको छ । प्रतियोगिता सफल बनाउन पूर्व राष्ट्रिय खेलाडी पदमकुमार श्रेष्ठको संयोजकत्वमा प्रतियोगिता आयोजक कमिटी गठन गरिएको छ । राष्ट्रिय रेफ्री विकास गुरुङ प्रतियोगिता सहसंयोजक रहेका छन् ।
विश्व मुवा थाईमा नेपाल
थाइल्यान्डको बैंककमा हुने विश्व मुवा थाई च्याम्पियनसिपमा नेपालबाट तीन पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । बैंककको लुम्पिनी रंगशालामा मार्च १३ देखि १८ तारिखसम्म सञ्चालन हुने च्याम्पियनसिपको ६३ केजीमा भुपेश शाक्य, ६५ केजीमा छुल्टिम लामा र ७१ केजीमा सूर्यबहादुर बुढाथोकीले नेपालको चुनौतीको सामना गर्नेछन् । खेलाडीसहितको ६ सदस्यीय नेपाली टोली शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोली नेतामा नेपाल मुवा सङ्घका अध्यक्ष गणेशलाल कक्षपति, अफिसियलमा उमेश केसी तथा प्रशिक्षकमा सीताराम लामा रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा, नेपाल कराते महासङ्घका अध्यक्ष दावा गुरुङ र महासचिव हरिशरण केसीले गत बुधबार आयोजित एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।

प्रतिक्रिया