म बर्बाद छु– मोतीराज बम

म बर्बाद छु– मोतीराज बम


indreniयिनै पाखुरा हुन् उचालेर कोदाली खेत खनेको
यही पिठुयुँ हो बोकेर मल अन्न फलाएको
यिनै हात हुन् समाएर निगालोको कलम
पहिलोचोटि ‘क’ लेखेको
मेरो गर्धनजस्तो धुलौटे पाटीमा ।
यही छानो हो
मेरो आर्जन केही थान सर्टिफिकेटहरू
मेरी दिवंगत आमाका एक जोर लालचुरीसँगै
बाकसमा थन्किएर बसेका छन् वर्षौंदेखि ।
जीवन जिउने खेतीमा
लिलामी कपडाको रास लगाएर सडक किनारामा पनि उभिएँ म
काँधमा बदामको डालो बोकेर घरघर पनि डुलेँ म
टोकरीमाथि काँक्राको नाङ्लो राखेर दोबाटोमा पनि बसेँ म
कहिले महानगरको कहिले बन्द–हड्तालको सुनामी आउँदा
पानपराग, चुरोटका खिल्ली र खैनीका पत्ताहरू च्यापेर बेपत्ता पनि दौडेँ म
यति गर्दा पनि कसैको मन नपग्लिएपछि
स्टिलको कचौरामा अमिलो साँधेर ग्राहक पर्खिरहेँ म
दिनैभरि मेरै मुख सुक्यो बरु
अरू कसैको जिब्रो रसाएन ।
कहिल्यै सग्लो हिँडिनँ म उकाली–ओराली
भारीले थिचिएको जिन्दगी हिंडँे
कहिल्यै अग्लो उभिनँ म देशको माटोमा
कतै कद होच्याएर कतै कद अग्ल्याएर समान उभिएँ म
समाजको साझा चौतारीमा ।
मिक्चर मेसिनदेखि क्रसर मेसिनसम्म
हातेतानदेखि अत्याधुनिक कारखानासम्म
कहाँ बाँकी राखेँर मैले इमानको खेती गर्न ।
तर मैले
काँडामा इमान देखेंँ, उसको धर्म घोच्नु हो घोच्छ
फूलमा इमान देखेँ, उसको धर्म सुभास दिनु हो दिन्छ
खहरेमा इमान देखेँ, उसको धर्म गडगडाउनु हो गडगडाउँछ
नदीमा इमान देखेँ, उसको धर्म शान्त र स्थिर बग्नु हो बग्छ
आजसम्म कतै
मैले नदेखेको एउटा इमान
मैले नगरेको एउटा खेती
झुटो बोलिएन, कपट पढिएन, चिल्लो घसिएन
र त म बर्बाद छु ।