नयाँ शक्तिका प्रवक्ताले महाथिरसँग दाँजे बाबुरामलाई !

नयाँ शक्तिका प्रवक्ताले महाथिरसँग दाँजे बाबुरामलाई !


नयाँ शक्ति पार्टी, नेपालका प्रवक्ता प्रशान्त सिंहले नेपालमा राजनीति सेवाभन्दा धन्दाको रुपमा विकास भइरहेकोमा चिन्ता व्यक्त गरेका छन् । नयाँ शक्तिले सुरु गरेको जनसंवाद यात्राअन्तर्गत तेह्रथुमको औसीडाँडा र पोक्लावाङ्गका स्थानीयसँग अन्तरक्रिया गर्दै उनले राजनीतिलाई धन्दाबाट सेवामा रुपान्तरण गर्नुपर्नेमा जोड दिए ।

‘मैले राजनीतिलाई घृणा गर्ने मानिसहरुलाई भेटिरहेको छु,’ उनले प्रश्न गरे– ‘राजनीतिलाई घृणा गरेको हो कि धन्दालाई ? धन्दालाई घृणा गरेको हो भने असल राजनीतिका विकल्प खोज्न हिच्किचाउनु हुँदैन ।’

नेपालमा राजनीति राजनीतिजस्तै नरहेको भन्दै उनले असल समृद्धिको लागि असल राजनीतिको औचित्यमाथि जोड दिए । ‘नेपालमा राजनीति नजिकका मानिसलाई जीवन निर्वाह गरिदिने धन्दामा रुपान्तरण भयो । राजनीति खराब कुरा होइन । तर हाम्रोमा राजनीति राजनीति जस्तै रहेन,’ उनले बताए ।

राज्य संयन्त्र नै नेताका आफन्त र पार्टीका सीमित मानिसको सेवामा दुरुपयोग भइरहेकोमा चिन्ता व्यक्त गर्दै यसमा परिवर्तन बिना नेपाली जनताको समृद्धिको सपना पूरा नहुने बताए । नेपाली राजनीतिमा नयाँ चिन्तनको आवश्यकतामा जोड दिँदै उनले भने, ‘हामीले जसको लागि राजनीति गर्ने भनिरहेका छौं, उहाँहरुको मष्तिष्कमा के चलिरहेको छ, त्यो बुझ्न हामी जनसंवाद यात्रामा आएका हौं ।’

स्वर्गजस्तो गाउँ रित्तिजै जानु चिन्ताजनक भएको भन्दै उनले ऊर्जाशील युवा विदेश लखेटेर हामीले कस्तो समृद्धि गर्छौं भन्दै प्रश्न गर्नुभयो । ‘गाउँ स्वर्गजस्तो छ । तर, मानिसहरु किन छाडेर हिंडिरहेका छन् ? गाउँ किन रित्तो भइरहेको छ रु राजनीति गर्ने मानिसहरुले यसको जवाफ दिनुपर्छ,’ उनले बताए ।

प्रवक्ता सिंहले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई मलेसियाका महाथिर महासेठसँग तुलना गर्दै भने, ‘महाथिरले ९२ वर्षको उमेरमा आफ्नै पुरानो पार्टीलाई हराएर प्रधानमन्त्री हुनुभयो, मैले हाम्रो संयोजक भट्टराईमा पनि त्यही सम्भावना देख्छु ।’