प्रधानमन्त्री केपी शर्मा ओलीले देशको चिन्ता लिनुपर्ने दिन कहिल्यै नआउने बताएका छन् । सरकार देशको समृद्धि र विकासको एजेण्डामा क्रियाशील भएर काम गरेकोमा जोड दिँदै प्रधानमन्त्री ओलीले अब कसैले देशको चिन्ता लिनुपर्ने दिन कहिल्यै नआउने बताए ।
उनले भने, ‘सरकारले चौतर्फी रूपमा तीव्रगतिले काम गरेको छ, त्यसैले अब कसैले पनि देशको चिन्ता लिने दिन आउँदैन ।’ झापाको दमक नगरपालिकाले आजदेखि आयोजना गरेको पाँचदिने प्रदेशस्तरीय बृहत् बाल महोत्सवको उदघाटन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारको एक मात्र लक्ष्य विकास र समृद्धि भएकाले त्यहीँबाट नेपालले फड्को मार्नेमा जोड दिए ।
देशको अहिलेको आवश्यकता पूरा गर्न सरकार स्पष्ट र जिम्मेवारीका साथ अगाडि बढेको उल्लेख गर्दै ओलीले विकास र समृद्धिको महान यात्रामा अब सबै नेपाली एकढिक्का हुनुपर्ने खाँचो रहेको औँल्याए । सो अवसरमा उनले देशको साझा लक्ष्यप्राप्तिका लागि कसैले बाधक बन्न नहुने धारणा राखे ।
‘सुखी नेपाली र समृद्ध नेपाल’को परिकल्पना सरकारको लक्ष्य मात्र नभएर देशकै योजना भएको प्रधानमन्त्रीको जिकिर थियो । प्रधानमन्त्री ओलीले देशको विकाससँगै नेपाली जनताको अधिकार प्राप्ति र विकासमा आधुनिकता हासिल गर्न उन्मुख भएकाले पनि देश रूपान्तरितको दिशामा अगाडि बढेको बताए ।
बालमहोत्सव बालबालिकाभित्रका लुकेका प्रतिभालाई उजागर गर्ने अवसर भएको र यस्ता महोत्सवले आफ्ना क्षेत्रको पहिचानसँगै देशको आर्थिक विकासमा सघाउ पु¥याउन सहयोग पुग्ने माध्यम भएको उनको भनाइ थियो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले नगरपालिकाद्वारा प्रकाशित ‘प्रोफाइल’को समेत विमोचन गरे ।
कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले देशको विकास र समृद्धिको महान लक्ष्यप्राप्तिका लागि सबै एक भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेकामा जोड दिए ।
नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा भएको बालमहोत्सव उदघाटनमा नगरउपप्रमुख तथा बालमहोत्सव मूल समितिकी संयोजक गीता अधिकारीले बालमहोत्सवले बालमैत्री नगर बनाउन सघाउ पु¥याउने चर्चा गरिन् ।
स्थानीय जातिका झाँकी, नृत्यसमेत प्रस्तुत गरिएको सो कार्यक्रममा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, भौतिक योजनमन्त्री रघुवीर महासेठलगायत प्रदेशका मन्त्रीको उपस्थिति रहेको थियो ।
दमक–९ स्थित हिमालय माध्यमिक विद्यालयमा शुरु भएको उक्त बालमहोत्सवमा बालबालिकाको प्रतिभा उजागर गर्ने नृत्य, निबन्ध, चित्रकला, कविता, हाजिरीजवाफ, वक्तृृत्वकला, विज्ञान प्रतियोगितालगायतका एक दर्जनभन्दा बढी विभिन्न विधामा एक हजार बढी विद्यार्थीले प्रतिस्पर्धा गर्ने कार्यक्रम रहेको छ ।
दैनिक बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चल्ने महोत्सवभरि स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको प्रस्तुतिसमेत रहने जनाइएको छ । करिब एक लाख सर्वसाधारणले अवलोकन गर्ने लक्ष्य राखिएको उक्त महोत्सवमा बालबालिकासहित विभिन्न ५० वटा व्यावसायिक कक्ष रहनेछन् ।
प्रतिक्रिया