सेवा कटौती गरेको विरोधमा चिनी उद्योगका मजदुर अनशनमा

सेवा कटौती गरेको विरोधमा चिनी उद्योगका मजदुर अनशनमा


विशेष भत्ताको माग गर्दै एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिज लिमिटेड रामनगरका मजदुरले शुक्रबार दोस्रो दिन पनि आमरण अनशन जारी राखेका छन् ।

वर्षांैदेखि पाउँदै आएका सेवा सुविधा उद्योग व्यवस्थापन पक्षले कटौती गरेको भन्दै १० जना मजदुर सामूहिक रूपमा उद्योग प्रशासनको गेटअगाडि अनिश्चितकालीन आमरण अनशनमा बसेका हुन् ।

बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी अखिल नेपाल औद्योगिक मजदुर युनियनका उपाध्यक्ष नीरबहादुर अधिकारीको नेतृत्वमा फेकन साह, दशरथ महतो, जीवनहरि उपाध्याय, ओपिन्द्र पासवान, रामसेवक महतो, केदार सुस्लिङ, लीलाधर महतो, रामहरि दुलाल अनिश्चितकालीन आमरण अनशन बसेका हुन् ।

गत साउनदेखि नेपाल सरकारले वृद्धि गरेको प्रतिमजदुर रु. तीन हजार ७५० उद्योग प्रशासनले नदिएको भन्दै सो माग गर्दै विभिन्न चरणका शान्तिपूर्ण आन्दोलन सम्पन्न गरिसकेका मजदुरले इन्डष्ट्रिजको मूलगेटअघि आमरण अनशनमा बसेका हुन् ।

अहिले उखु क्रसिङ मौसम भएकाले उद्योगको कामकाज प्रभावित नहुने गरी शान्तिपूर्ण रूपमा उद्योगको मूलगेट अगाडि अनशन शुरु गरेको मजदुर नेता पर्शुराम खनालले बताए ।

खाइपाई आएको तलबभत्ता कुनै पनि हालतमा कटौती गरिनु नहुनेतर्फ सचेत गराउँदै विभिन्न समयमा उद्योग प्रशासनसँग वार्ता सम्पन्न गरिएको अर्का मजदुर नेता मुरारी दुलालले जानकारी दिए ।

आमरण अनशनमा बसेका मजदुरलाई प्रदेश सभा सदस्य भरतप्रसाद साहले फूलमाला र अबिर लगाएका थिए ।