जिल्ला सदरमुकामको विवादमा रुकुमकोट बन्द

जिल्ला सदरमुकामको विवादमा रुकुमकोट बन्द


रुकुमकोटमा शुक्रबारबाट यातायातका साधन र बजार ठप्प पारिएको छ । स्वस्फुर्त रुकुमकोटका यातायात व्यवसायी र व्यापार व्यवसायीले सदरमुकामका लागि भइरहेको आन्दोलनलाई सहयोग गर्न बजार र यातायातका साधन ठप्प पारेको यातायात व्यवसायी समितिका अध्यक्ष मुलमान बुढाले बताए ।

रुकुमकोटमा बिहानैदेखि यातायातका साधन चल्न दिइएको छैन । जसले गर्दा रुकुमकोट भित्रिने र बाहिरिने यात्रु अलपत्र परेका छन् । यसैगरी बजार पनि ठप्प पारिएको छ । सदरमुकामको विषयलाई लिएर रुकुमकोट र रुकुमकोट आसपासका नागरिक विगत एक वर्षदेखि आन्दोलित छन् ।

रुकुमकोटमा रहेको जिल्ला सदरमुकाम तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ०७४ माघ ११ गते पुथा उत्तरगंगा गाउँपालिकाको १२ गोलखाडामा राख्ने निर्णय गरेको थियो । सरकारको त्यस निर्णयविरुद्ध रुकुमकोट र रुकुमकोट आसपासका नागरिकले चर्को नाराबाजी, बन्द हडताल गरेका थिए । देउवा नेतृत्व सरकारको त्यस निर्णयविरुद्ध ०७४ माघ १७ मा सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो ।

उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले तत्काल सदरमुकाम नसार्न अन्तरिम आदेश दिएपछि केही शान्त भए पनि यही १४ गतेबाट पुनः आन्दोलनका कार्यक्रम शुरु गरिएको छ । रिट दर्ता भएको एक वर्षसम्ममा पनि सर्वोच्च, सरकार र रिट निवेदकलाई पटक–पटक पेशी र साधारण तारिखका लागि बोलाए पनि अहिलेसम्म कुनै फैसला भएको छैन । सदरमुकाम विवादको विषयमा छलफल गर्न दुवै पक्षलाई सर्वोच्च अदालतले आगामी २७ गते बोलाएको छ ।

सोमबारबाट रुकुमकोट बजार क्षेत्रका चोक तथा सिमानामा राँकेजुलुस, सरकारी कार्यालयमा धर्ना, कोणसभालगायतका कार्यक्रम गर्दै आएका रुकुमकोटवासीले आजबाट यातायातका साधन र बजार ठप्प पारेका हुन् । भौगोलिक दूरीलाई मात्र नहेरी पूर्वाधार र जनसंख्यालाई समेत ध्यानमा राखी सदरमुकाम तोक्न स्थानीयवासीले आग्रह गर्दै आएका छन् ।