प्रकाण्डका छोरालाई प्रहरीले किन लियो नियन्त्रणमा ?

प्रकाण्डका छोरालाई प्रहरीले किन लियो नियन्त्रणमा ?


नेपाल कम्युनिष्ट पार्टीका शीर्ष तहका नेता एवम् प्रवक्ता प्रकाण्डका छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विराटनगरबाट हिजो (विहिबार) साँझ काठमाडौं आउने क्रममा प्रकाण्डपुत्र नरेन्द्रलाई विमानस्थलबाटै नियन्त्रणमा लिइएको हो । उनी यती एयर लाइन्सको उडानबाट काठमाडौं आउने तयारीमा थिए ।

चेकजाँचको क्रममा नरेन्द्रको साथबाट पेस्तोलको गोली फेला परेकोले नियन्त्रणमा लिइएको जनाइएको छ । नाइन एमएम पेस्तोलमा प्रयोग हुने तीनवटा गोली फेला परेको मोरङ प्रहरीको दाबी छ ।

प्रहरीले नरेन्द्रलाई नियन्त्रणमा लिइएको कुरा सकभर लुकाउने प्रयास गरेको तर सो घटनाबारे खुलासा गर्न बाध्य भएको एक सुत्रको दाबी छ । व्यक्ति पक्राउ गरिएको कुरा नै यसरी लुकाउन खोजिएबाट घटना रहश्यपूर्ण बन्न पुगेको विप्लव नेतृत्वको नेकपाका एक नेताले बताए ।

उनका अनुसार नरेन्द्रले बुलेट बोकेर विमानमा सवार भई राजधानी आउन लागेको भन्ने कुरा विश्वास गर्न सकिँदैन । नेकपाका नेता–कार्यकर्तालाई राज्यले विशेष सुरक्षा निगरानीमा राख्दै आएको सन्दर्भमा नरेन्द्रले झोलामा गोली बोकेर विमानस्थल जाने गल्ती गरे होलान् भनी पत्याउन नसकिने उनको जिकीर छ । तर, प्रहरीले भने गोलीसहित पक्राउ परेको घटनालाई गम्भीरतापूर्वक लिँदै आवश्यक अनुसन्धान तीव्र पारेको बताइन्छ ।

कतै, प्रकाण्ड पुत्रलाई सुनियोजित तवरमा फसाइएको त होइन भनी शङ्का गर्न सकिए पनि थप कुरा अनुसन्धानपछि खुल्ने अपेक्षा गरिएको छ ।

ज्ञातव्य छ, वर्तमान सरकार तथा सत्ताका कतिपय शीर्ष तहका नेताहरूको निम्ति विप्लवले नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीको प्रभावपूर्ण गतिविधि टाउकोदुखाइको विषय बन्दै आएको चौतर्फी महसुस गरिएको छ ।