काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालअगाडि सडक अवरोध गर्न खोज्ने १७ चिकित्सकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
अनशनरत डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन गरी सडक अवरोध गर्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका चिकित्सकलाई अहिले महेन्द्र पुलिस क्लबमा राखिएको छ ।
पक्राउ पर्नेमा डा. सुमित पाण्डे, डा. विशाल अग्रवाल, डा. हेमन्त बाँस्तोलालगायत छन् । चिकित्सकले भने शान्तिपूर्ण ¥यालीका क्रममा चिकित्सकलाई पक्राउ गरेको दाबी गरेका छन् । अनशनरत प्राडा केसीको मागका पक्ष–विपक्षमा आन्दोलन सञ्चालन हुन थालेपछि सर्वसाधारण बिरामीले पाउनुपर्ने आधारभूत र अनिवार्य स्वास्थ्य सेवामा विगतदेखि नै प्रतिकूल असर पुग्दै आएको छ ।
चिकित्सा शिक्षा क्षेत्रमा सुधार र विगतमा आफूसँग भएका सहमतिअनुसार कानुन बनाउनुपर्नेलगायतका सवाल उठाई गत पुस २६ गतेबाट डा. केसी १६औँ पटक अनशनमा बसेका छन् । डा. केसीका अधिकांश माग प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएकाले अनशनको औचित्य नभएको सरकारले बताउँदै आएको छ ।
प्रतिक्रिया