क्विज कन्टेस्टमा ‘काठमाडौं सहर’-विनोद त्रिपाठी

क्विज कन्टेस्टमा ‘काठमाडौं सहर’-विनोद त्रिपाठी


nice phortoविश्वको सबैभन्दा भद्रगोल सहर कुन हो ? उत्तर, काठमाडौं । त्यो कुन देशको राजधानी हो, जुन सहरमा फोहोर, धुलो, धुवाँकै बीचमा पनि करिब करोड मानिस बसोबास गर्छन् ? उत्तर, नेपालको काठमाडांै । धुलो र हिलो छिचोल्दै सभा–समारोहमा प्रधानमन्त्री, मन्त्री, उच्च सरकारी अधिकारी, व्यापारी, सञ्चारकर्मीले अन्तर्राष्ट्रिय विषयमा विचार–विमर्श गर्ने सहर कुन हो ? उत्तर, काठमाडौं । कुनै ट्राफिक नियमबिना नै लाखौँ सवारी गुड्ने सहर कुन हो ? नेपालको राजधानी काठमाडांै ।
विश्व मानचित्रमा दक्षिण एसियाली मुलुकहरू जनजीविकाका सवाल र पछौटेपनबाट मात्र परिचित छैन, विकासका पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगार, खानपिन, लवाइखवाइ, सुरक्षा, स्वतन्त्रता आदि विषयमा निकै पछि छन् । उत्तर र केही दक्षिण अफ्रिकाका मुलुकबाहेक यहाँको सभ्यतामा आधुनिकीकरण, वैज्ञानिक वस्तुहरूको उपभोग र उन्नत जीवनस्तरलाई दक्षिण एसियाका मुलुकले अझै पछ्याउन सकेका छैनन् । पश्चिमा मुलुकहरूका नागरिकको दृष्टिकोणमा प्राचीन, प्राकृतिक, परम्परा, परापूर्वकालका विचित्र वस्तुका आधारमा दक्षिण एसियालाई चिन्ने गरिन्छ । मानव सभ्यताको विकासअनुरूप आधुनिक जीवनशैली, उच्चतम खानपान र आविष्कारजन्य सामग्रीको प्रयोगवादीका रूपमा विश्वले अझै दक्षिण एसियाका नागरिकलाई चिनेको छैन ।
विश्वमा कति मुलुक अन्य देशका नागरिक त्यो खाली जमिनमा पुगेर निर्माण गरिए । कति मुलुक मानव विकासक्रमसँगै भौगोलिक रेखाङ्कनका आधारमा देश बनाइए । अन्य मुलुकबाट मानिस पुगेर निर्मित देश अमेरिका हो भने समाजमा मानिसको अस्तित्व बढ्दै जान थालेपछि अन्य थुप्रै मुलुक भागबन्डाका आधारमा नक्सा कोरिए । तर, जे–जसरी देश निर्माण गरिए वा पछिल्ला कालखण्डमा युद्धमार्फत थप मुलुक निर्माण भए सबै मुलुकको इतिहास हाम्रोभन्दा भिन्न थिएन । जङ्गली कन्दमूल खाने, रूखका पात र बोक्राको लुगा लगाउने विश्वभरका मानिसले एकैचोटि गरेका थिए । पछि क्रमशः चेतनशील मानिसले सिर्जनात्मक, आविष्कार र विकास गर्दै गएपछि पृथ्वीका मानिसका बस्ती–बस्ती कहीँ सजिलो र राम्रो हुन थाल्यो, कहीँ जस्ताको तस्तै जङ्गली विचरणमै जीवन व्यतीत हुन थाल्यो । फलस्वरूप युरोप, अमेरिका र पछिल्लोपटक केही एसियन देशहरू मानिसका लागि लोभलाग्दो विकासका नमुना बन्दै गए । जे–जति कायापलट, परिवर्तन र विकास भए सबै मानिसकै परिश्रम र मिहिनेतकै परिणाम थियो ।
अहिले हरेक मुलुक आफ्नो देशभित्रका मानवबस्तीलाई के–कसरी सुन्दर र सभ्य बनाउन सकिन्छ भनेर चिन्तित छन् । विश्वका जतिसुकै गरिब मुलुक भए पनि विकासका कामलाई युद्धस्तरमा गर्नुपर्छ भन्ने मान्यतामा अगाडि बढेका छन् । यसरी २० वर्षमै मलेसियाले एसियामा विकासको नमुना प्रस्तुत गरिरहेको छ भने युरोपियन मुलुक पोल्यान्ड भर्खर १० वर्षदेखि विकासमा तीव्र रूपमा लम्किरहेको छ । तर, हाम्रो २ सय ४० वर्षको आधुनिक इतिहास र त्योभन्दा अघि करिब ३ हजार वर्षको आदिमकाल खण्डको समय गुजार्नेबाहेक हाम्रै लागि कुनै उपलब्धि हासिल गर्न सकेका छैनौँ । हामी इतिहासका विषयमा जति गर्व गर्न जान्दछौँ, वर्तमानलाई सुन्दर बनाउने काममा कहिल्यै लागेनौँ । हामी हाम्रो संस्कृतिको कुरा गर्न जति सिपालु छौँ, सामाजिक कुसंस्कार र कुरीति हटाउन कहिल्यै सिकेनौँ । हामी इतिहासको बहादुरीबाट छाती फुलाउँछौँ, तर अहिले एउटा नेपालीलाई अकाल मृत्युबाट जोगाउन सक्दैनौँ । यसरी, विगतका विषयमा घोत्लँदै हाम्रो जीवन चलाउन अनेक काम गर्दै जाँदा वर्तमानको जीवनलाई सहज बनाउन हाम्रो कार्यदिशा र राजनीतिक यात्रा कहिल्यै यसतर्फ उन्मुख भएन । फलस्वरूप विश्वका अरू देश दिनदिनै जति प्रगतिउन्मुख हुँदै गए, हामी झन्झन् अधोगतितर्फ धस्सिएका छौँ ।
कुनै पनि मुलुकको अन्य भूभागमा विकास हुन नसके पनि, पछौटेपन भए पनि त्यो देशको राजधानी भने कुनै न कुनै अर्थमा विशेष हुने गर्छ । तर, हाम्रो देशको राजधानीको विषयलाई एकछिन केलाएर हेरौँ त, साँच्ची नै विश्वले नपाएको प्रश्न राजधानी काठमाडौंबाट प्राप्त गर्नेछ । ती प्रश्नहरू अरूका लागि प्रेरणादायी र सकारात्मक कामका लागि उपयोग हुने प्रकारका हुने छैनन् ।
उभिएर होइन, कुप्रिएर सार्वजनिक बस चढ्ने सहर कुन हो ? छिमेकी मुलुक दिल्लीबाट सोझै नुन मात्र होइन, एसिडसमेत भित्याएर दिनदहाडै अपराधी जन्माउने सहर कुन हो ? दिउँसै बालिकालाई एसिड हान्नेलाई महिनौँसम्म पक्राउ गर्न नसक्ने देश कुन हो ? दिनदिनै समाचारपत्रका पानामा बलात्कारका समाचार छाप्ने मुलुक कुन हो ? २० वर्षअघिको तलबबाट अहिलेको महँगीमा जीवन चलाउने नागरिक कुन देशका हुन् ? झिँगा भन्केको खाना बिक्री गर्ने, ढल मिसिएको नदीको पानीबाट राँगाको मासु पखाल्ने सहर काठमाडौंबाहेक अन्त सायदै होला । थोरै मूल्यमा ठेक्का लगाउने अनि विकासका काम अलपत्र छोड्ने कुन देशको राजधानी हो ? नेताहरूले ठेकेदार पाल्ने मुलुक कुन हो ? सडकको आकाशमा मात्र होइन, भुइँभरि बिजुलीको तार असरल्ल छोड्ने सहर कुन हो ? यसरी सयौँ प्रश्न जन्माएको छ काठमाडौं सहरले ।
यहाँ अस्पतालको नाममा सोझै बिरामीबाट रकम ठग्न रसिद काटिन्छ । विद्यार्थीको नाममा सोझै रकम लुट्न शुल्क तोकिन्छ । विद्युत उत्पादन गर्ने भन्दै खोला ओगट्न लाइसेन्स खरिद–बिक्री गरिन्छ । तर पनि काठमाडौं सहर बोल्दैन । चुपचाप नयाँनयाँ प्रश्नहरू उब्जाइरहन्छ । यो यस्तो सहर हो जहाँ जनताका लागि काम गर्न नेतालाई भित्याउँछ, अनि आन्दोलन बोकेर गाउँ पस्छ । चप्पल लगाएर आउने राजनीति गर्ने नेताहरू नयाँ बंगलाको मालिकमा रातारात परिवर्तन हुन्छन् । तर, काठमाडौं सहर बनाउँदैनन्, इतिहासका बराजुले निर्माण गरिदिएका सिंहदरबार र महलहरूमा कुस्ती खेल्छन् । वर्षैपिच्छे विकासको बजेट सार्वजनिक गरिन्छ, गतिलो ल्यान्डफिल्ड साइट निर्माणमा ध्यान दिइँदैन । हप्तौँसम्म फोहोरको डङ्गुर सडकमा डुङडुङ्ग्ती गनाउँदासमेत समाधान गर्न सरकार सक्दैन । यति लाचार र गैरजिम्मेवार सरकार सायदै कुनै मुलुकमा होला ।
बागमती सफाइ अभियान ९६औँ शृङ्खला चलेको देख्दा र काठमाडौंभित्रका नदीमा उब्जिएका फोहोर देख्दा लाग्छ, हामी बालुवाको घर बनाइरहेछौँ । न यो घर कहिल्यै बन्नेछ, न तला थपिनेछ । बाहिरी चक्रपथ, आकाशेपुल, फ्लाइओभर आदिको योजना सुन्दासुन्दा लाग्छ, कुनै दिन भूकम्प आयो भने एकैचोटि नेपालको राजधानी काठमाडौंको स्वतः नयाँ सिर्जना हुनेछ । देशका प्रमुख व्यक्तिहरू बस्ने सहर, धनी व्यक्तिहरू बस्ने सहर, शिक्षित भन्नेहरू बस्ने सहर, विदेशतिर ओहोरदोहोर गर्नेहरू बस्ने सहर, आर्थिक विज्ञहरू बस्ने यो सहर देख्दा लाग्छ, देशको राजधानी बनाउन हुँदैन, राजधानी बन्यो भने यो देशको मुहारमा चमक आउनेछ र हाम्रो नेपालीपन विश्वमा हराएर जानेछ भन्ने मानसिकता देखिन्छ । त्यसैले लाग्छ राजधानी काठमाडांैले अब कोल्टे फेर्ने छैन, उही फोहोरको डङ्गुर, धुलो, धुवाँ, कोलाहल, हत्या, लुटपाट, बलात्कारको उपमा पाइरहेछ । यदि यो सहरले कोल्टे फे-यो भने विकासको कायापलट होइन, भएजति सबै थोत्रा संरचना पोखिनेछ । त्यो दिन धेरै कुर्नुपर्ने छैन । जोखिम खालका लाखौँ घरहरू त्यो जोखाना हेरेर भूकम्पलाई पर्खिरहेछन् । त्यतिबेला, झन् काठमाडांैले अति महत्वपूर्ण प्रश्न पाउनेछ, भूकम्प जाँदा लाखौँ मानिस एकै चिहान भएको सहर कुन हो ??