नरेन्द्रलाई रिहाई गर्न अनेरास्ववियु (क्रान्तिकारी) को माग

नरेन्द्रलाई रिहाई गर्न अनेरास्ववियु (क्रान्तिकारी) को माग


अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी यूनियन (क्रान्तिकारी)ले आफ्ना संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र बिकलाई अविलम्ब रिहाई गर्न सरकारसंग माग गरेको छ । संगठनले माघ १७ गते (हिजो) साँझ विराटनगरबाट काठमाडौँ फकिने क्रममा पक्राउ परेका विश्वकर्मालाई बिना सर्त तुरुन्त सकुशल रिहाईको माग गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै संगठनका अध्यक्ष चिरञ्जिवी ढकालले अहिलेको सरकारले प्रहरी लगाएर अपहरण शैलीमा विश्वकर्मालाई गिरफ्तार गरेको भन्दै पनि आरोप लगाए । उनले भने,‘कमरेड नरेन्द्रको गिरफ्तारी प्रतिक्रान्तिको एउटा अमानवीय हर्कत हो र क्रान्तिकारीहरुलाई झुठ्ठा मुद्दा लगाएर जेल, नेल र यातना दिएपछि व्रmान्तिको प्रवाहलाई रोक्न सकिने ध्येय राख्नु वर्तमान सामाजिक दलाल पुँजीवादी सरकारको दिवा सपना मात्र हो ।’

उनले सत्तामा रहेकाहरुलाई दलालको संज्ञा दिँदै उनीहरुले देशको पैसा मनोमानी हिसावले खाईरहेको पनि गम्भिर आरोप लगाए । उनले भने,‘हामीले स्वाधिनता र राष्ट्रको लागि गरेको काम देखि नसहने ?’

उनले विश्वकर्माको तुरुन्त रिहाईको माग गर्दे हिजो क्रान्तिकारीमाथि धावा बोल्दाको अवस्थाको स्मरण गर्न पनि सरकारलाई सचेत गराए । उनले वर्तमान सरकार विचार, मुल्य, मान्यता र आदर्शबाट पुरै विचलित भएको पनि आरोप लगाए । उनले भने,‘क्रान्तिकारीहरुको विरुद्ध षड्यन्त्र नगर्न हामी सरकारलाई गम्भिर चेतावनी दिन चाहन्छौँ । हाम्रा कार्यकर्ता कहाँ र कहिले पक्राउ गर्ने भनेर ढुक्ने सरकारले ताकत भए देशको सिमामा गएर देखाए हुन्छ ।’ पक्राउ परेका बिकलाई अविलम्ब रिहाई नगरे सरकारलाई बाटो हिँड्नमा प्रतिबन्ध लगाउने आफूहरुको आगामी कार्यक्रम रहेको पनि उनले घोषणा गरे ।

मुलुकले प्राप्त गरेको गणतन्त्र र लोकतन्त्रमा आफ्नो पार्टीको अहम भुमिका रहेको बताउँदै उनले बरु वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको यसमा कुनै भूमिका नरहेको जिकिर गरे । न्युनतम प्रजातन्त्रको नियम नजान्ने सरकारले प्रजातन्त्रको वकालत गर्दे आफूहरुमाथि प्रभाव जमाउन खोजेकै हो भने बन्दुक चलाउन आफुहरुलाई पनि आउने उनले चेतावनी दिए ।

नेत्रविक्रम चन्द ‘बिप्लव’ नेत्तत्वको नेकपा माओबादीले देशको स्वाधिनताको निम्ति र देशमा ब्याप्त भ्रष्टाचारको लागि बिरोध देखाएका कारण सरकारले आफ्नो मुल पार्टीका ठुला नेताका परिवारलाई नियोजित रुपमा फसाएर मानसिक चिन्तामात्र दिन खोजेको पनि उनको आरोप रहेको छ ।

संगठनले तुरुन्त आफ्ना कार्यकर्ताको रिहाई नगरे आगामी बिरोधका कार्यक्रमको पनि घोषणा गरेको छ । उनका अनुसार यही माघ २० गते देशभरिका शैक्षिक संस्थाहरुमा बिरोध जनाउने, माघ २२ गते देशभरिका पार्टी कार्यकर्ता सडकमा उतार्दै विरोध सभाको आयोजना गर्ने, माघ २३ गते मसाल जुलुस निकाल्ने र माघ २४ गते देशभरिका सम्पुर्ण शैक्षिक संस्था बन्द गर्ने कार्यक्रम रहेका छन् । ।

त्यस्तै, कार्यक्रममा बोल्दै संगठनका महासचिव प्रकाश शाहीले क्रान्ति र क्रान्तिकारीहरुसँग वर्तमान सरकार डराएको आरोप लगाए । उनले भने,‘त्यही भएर विभिन्न झुटा मुद्दा सृजना गरेर र षड्यन्त्र रचेर फसाउने नियतले कमरेड नरेन्द्र विकलाई गिरफ्तार गरिएको हो ।’