निगमले पायो जापान उडानको अनुमति

निगमले पायो जापान उडानको अनुमति


नेपाल एयरलाइन्स (नेपाल वायु सेवा निगम)ले जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट विमान सञ्चालनको अनुमति प्रमाण–पत्र (एओसी) पाएको छ ।

निगमको नयाँ ए ३३० वाइड बडी जहाजले काठमाडौं–ओसाका उडानका लागि क्यानबाट शुक्रबार एओसी पाएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिएका हुन् ।

ज्ञातव्य छ, निगमले करीब आठ महीनाअघि भिन्न मितिमा दुई वाइड बडी जहाज खरीद गरेको थियो ।

हाल पुरानै गन्तव्यमा उडान भर्दै आएका वाइड बडी जहाजबाट जापानसहित अन्य मुलुकका गन्तव्यमा उडान भर्ने निगमको योजना रहेको बताइएको छ । नयाँ गन्तव्यमा उडान सञ्चालनका लागि स्वदेश नियामक निकायबाट पनि अनुमति लिनुपर्ने प्रावधानअनुरुप क्यानले निगमलाई एओसी दिएको हो ।

नेपालमा उडान अनुमति पाएपछि जापानमा उडान अनुमतिका लागि प्रक्रिया अघि बढाउने बाटो खुला भएको सहायक प्रवक्ता कोइरालाले उल्लेख गर्नुभयो । ओसाका विमानस्थलमा उडान सञ्चालनका लागि निमगले कर्मचारीसमेत खटाइसकेको छ ।

निगमले नेपालमा गर्नुपर्ने कागजातको सम्पूर्ण प्रक्रिया पूरा गरिसकेकाले छिट्टै जापानको नियामक निकायसँग उडान अनुमतिका लागि पेश गर्ने निगमको भनाइ छ । आगामी फागुन १५ गतेसम्ममै जापान उडान शुरु गर्ने तयारी गरेको निगमले जापानबाट अनुमति पाएपछि उडान शुरु गर्न करीब एक महीना लाग्ने जनाएको छ ।

त्यस्तै, आगामी चैत १५ गतेसम्म चीनमा पनि उडान सञ्चालन गर्ने लक्ष्यासहित निगमले आवश्यक प्रक्रिया अघि बढाएको बुझिएको छ । जापान र चीनका दुवै गन्तव्यमा कर्मचारी व्यवस्थापन भइसकेका बताइन्छ ।

निगमले अहिले विभिन्न आठ गन्तव्य भारतको नयाँदिल्ली, बैङ्लोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ । निकट भविष्यमै चीन, दक्षिण कोरिया र साउदी अरबमा सिधा उडान गर्ने योजनाका साथ प्रक्रिया अघि बढाइएको छ ।

निगमसँग हाल दुई अन्तर्राष्ट्रिय वाइड बडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज र एक बोइङ ७५७ जहाज छन् ।