प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले माघ २१ गते बस्ने संसद बैठकमा आफ्नो पार्टीले अवरोध नगर्ने स्पष्ट पारेका छन् ।
काठमाडौमा आयोजित साक्षात्कारमा बोल्दै नेता महतले भने,‘सँधै संसद अवरोध हुँदैन् । एक/दुई दिन अवरोध भयो भन्दैमा सँधै संसद अवरोध हुँदैन् । उहाँहरुले महिनौं दिनसम्म अवरोध गर्नुभएको थियो । हामीले त त्यत्रो गरेका छैनौं ।’
साक्षात्कारमा बोल्दै उनले माघ २१ गते बस्ने संसद बैठकमा आफ्नो पार्टीले विरोध गर्ने कुनै कार्यक्रम नभएको स्पष्ट पारे । उनले भने,‘संसदमा अवरोध गर्नेबारे अहिले कुनै निर्णय भएको छैन् । के गर्ने भन्नेबारे संसदीय दलले निर्णय गर्ला । तर, अहिलेसम्म अवरोध गर्ने निर्णय भएको छैन् । पर्सी त विरोधको कार्यक्रम हो । विपक्षीले विरोधको कार्यक्रम गर्नु त –संसदमा पनि विरोध गर्छ र आवश्यक परे संसदमा पनि विरोध गर्छ । एक दिन सडकमा आउँदैमा सारा कुरा निश्चयपनि अवरुद्ध हुँदैन् ।’
नेता महतले कांग्रेसले आफ्नो पार्टीका दुई जना नेता गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालाको नाममा खोलिएको अस्पताललाई लिएरमात्रै कांग्रेसले विरोध नगरेको जिकिर गरे । उनले भने,‘अहिले त सरकारले यी दुवै अस्पताल संघीय सरकारकै मातहातमा रहने निर्णय गरेको छ ।’
आफूहरुले सरकारले डाक्टर गोविन्द केसीसँग गरेको सम्झौता तथा सहमति कार्यान्वयन नगरेको र जबरजस्ती संसदबाट विद्येयक पारित गरेको विरोधमा सदन र सडकमा विरोध गरेको महतले स्पष्ट पारे । उनले भने,‘सभामुखले पनि विवादस्पद भूमिका खेल्नुभयो । कांग्रेसको विरोधका बावजुदपनि विद्येयक जबरजस्ती पारित भयो ।’ उनले पछिल्लो समय महँगीको चरम सिमा नाघेको र जताततै भ्रष्टाचार बढेको पनि आरोप लगाए । उनले भने,‘हजारौं विकास निर्माणका आयोजनाहरु बेवारिसे भएका छन् । बुहवर्षमा ठेक्का लागिसकेका आयोजनाहरु बेवारिसे भएका छन् । केन्द्रले सुरु गरेका योजनाहरु केन्द्रले नै सम्पन्न गर्नुपर्दथ्यो । होईन भने प्रदेशलाई हस्तान्तरण गर्नुपर्छ । त्यसको लागि आवश्यक बजेटको पनि व्यवस्था गरिनुपर्छ । तर, त्यो केही पनि गरिएको छैन् ।’
त्यस्तै उनले वार्डडबडी भ्रष्टाचार काण्डबारे पनि निश्पक्ष छानबिन हुनुपर्ने माग गरे । उनले भने,‘यसमा दोष कसको छ ? के छ ? भन्ने कुरा संसदीय समितिले बाहिर ल्याएको छ । यो रिपोर्टबारे निश्पक्ष तवरले छानबिन गर्नुपर्यो । अन्त्यमा त अदालत जान्छ । यसमा अविलम्ब निश्पक्ष तवरले छानबिन होस् । हामी यो अडानमा पछि परेका छैनौं ।’ उनले भने,‘प्रधानमन्त्री डाबोस जानुभयो । यो अत्यन्तै राम्रो कुरा हो । त्यसमा असहमित होईन् । तर, मुल कुरो के हो भने देशको अवस्था नै नसुधारिकन खाली भाषणमात्रै गरेर देश तथा विदेश घुमेरमात्रै अथवा लगानी सम्मेलन गरेरमात्रै लगानी आकर्षित हुने कुरो होईन् ।’
विश्व बैंकले प्रत्येक वर्ष प्रकाशित गर्ने ‘डुईङ बिजनेश रिपोर्ट’ मा नेपालको लगानीको वातावरणको अवस्था घटेको पनि उनले सुनाए । महतले भने,‘नेपालको स्टाटस घटेको छ । उता टा«न्सपरेन्सी ईन्टरनेश्नलको रिपोर्टअनुसार नेपालमा भ्रष्टाचार बढेको छ ।’ त्यस्तै उनले नेपालमा पछिल्लो समय लगानीकर्ताहरु आतंकित भएको अवस्था आफूले देखेको पनि आरोप लगाए । महतले भने,‘लगानी गर्छु भन्ने मान्छेहरु पनि अहिले हच्किएका छन् ।
लगानी गरेकाहरु पनि उद्योग नै बन्द गर्नुपर्ने हो कि भन्ने अवस्थामा पुगेका छन् ।’
महतले मुलुकमा वैदेशिक लगानी भित्र्याउनको लागि आकर्षणको वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले भने,‘लगानी ल्याउनको लागि देशको स्थिति सुधार्नुपर्छ ।’ उनले सरकारले समयमै र सही ढंगले निर्णय गर्नुपर्नेतर्फ ध्यान दिनुपर्ने सुझाव दिए । उनले भने,‘यसको लागि व्युरोक्रेसीलाई ईफिसेन्ट बनाउनुपर्छ ।’
सरकारले लगानी सम्मेलन गर्न लागेको विषयमा टिप्पणी गर्दै उनले भने,‘अढाई वर्ष अघि प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्थ्यो । नविन्द्रराज जोशी उद्योगमन्त्री हुनुहुन्थ्यो । त्यतिवेला कि–नोट नै मैले सम्बोधन गरेको थिएँ । त्यतिवेला १४ मिलियन डलरको लगानी गर्छौं भनेर प्रतिबद्धता आएको थियो । लगानीकर्ताहरुले एम.ओ.यूमा हस्ताक्षर गरेर गएका छन् । सरकारले त्यतिवेला प्रतिबद्धता गरेका लगानीकर्ताहरुसँग फलो–अप गर्नुपर्छ । उनीहरु किन आएनन् भनेर सोध्नुपर्छ ।’
प्रतिक्रिया