त्यतिबेला मार्सल आर्टस्ले प्रतिबन्धको पर्खाल तोड्दै सार्वजनिक हुने अवसर पाएको थियो । सेना र पुलिसमा मात्र सीमित मार्सल आर्टस् आमनेपालीका लागि अवसर र चुनौती दुवै बनेको थियो । कोही रहरले त कोही जानी–नजानी मार्सल आर्टस्तर्फ आकर्षित भएका थिए । परिवेश नै त्यस्तै थियो, त्यसबेला नेपालमा मार्सल आर्टस्को बाढी नै आएको थियो । तेक्वान्दो, जुडोे र कराते नेपालीको मानसपटलमा छाएका थिए । आत्मरक्षाका लागि खेलिने खेल भएकाले पनि बहादुर गोर्खालीबीच मार्सल आर्टस् निकै लोकप्रिय बनेको थियो त्यसबेला । छोटो समयमा आमनेपालीको मनमस्तिष्कमा जरो गाड्न पुगेको मार्सल आर्टस् खेल उतिबेलै नेपालको सर्वाधिक चासोे र लोकप्रिय खेलको रूपमा उदाएको थियो । यही कुरालाई आत्मसात् गर्दै थुप्रै नेपालीले मार्सल आर्टस्मा आफ्नो भविष्य देखेका थिए । त्यो उज्ज्वल भविष्य देख्ने थुप्रै नेपाली खेलाडीमा जगनलाल श्रेष्ठ (विपिन) पनि एक थिए । विपिनले पनि ०४१ सालमा तेक्वान्दोसँग आत्मीय साइनो गाँसेका थिए । जुन उनको जीवनको अटुट सम्बन्धको उदाहरणीय र स्मरणयोग्य पाटो बनेको छ । पहिलोपटक तेक्वान्दोसँग माया साटेका विपिनले अहिलेसम्म त्यो नातालाई प्रगाढ बनाई निरन्तरता दिन सफल भएका छन् । तेक्वान्दोप्रतिको विपिनको यही आस्था र निष्ठाले उनी स्वदेशमा मात्र नभई विदेशमा समेत चर्चित बनेका छन् । विपिन तेक्वान्दोका साँच्चिकै शुभचिन्तक रूपमा अहिलेसम्म देखापरेका छन् । जुन तेक्वान्दो खेलको समग्र विकास र विस्तारका लागि एक महत्वपूर्ण पाटो बनेको छ ।
मार्सल आर्टस् खेलप्रतिको आकर्षक विपिनको सौख मात्र थिएन, उनी यो विधामा उत्कृष्ट खेलाडी बन्न चाहन्थे । बचपनको चाहनालाई मूर्तरूप दिन समयले पनि उनलाई निकै साथ दिएको थियो, यसमा उनी आफूलाई भाग्यमानी ठान्छन् । यसर्थमा कि त्यो बेला नेपालमा मार्सल आर्टस्ले वैधानिक मान्यता पाइसकेको थियो । लुकिछिफी खेल्नुपर्ने बाध्यताबाट उनी मुक्त थिए । त्यसबेला उनले केवल एउटा मार्सल आर्टस् खेलको चुनाव गर्नुपर्ने थियो । विपिनले तेक्वान्दोको छनांट गरेर आफ्नो भाग्य अजमाएका थिए । ०४१ सालमा तेक्वान्दोलाई आत्मसात् गरेका विपिनले ०४७ सालसम्म फ्लाइवेटमा तेक्वान्दोमा प्रतिस्पर्धा गरेका थिए । आफ्नो ६ वर्षको छोटो खेलजीवनमा पनि उत्कृष्ट प्रदर्शन गरेका विपिनले राष्ट्रियस्तरका प्रतियोगितामा स्वर्ण–रजत पदक जितेर आफूलाई उदीयमान खेलाडीको रूपमा उभ्याएका थिए । दुर्भाग्य, काठमाडौंमा ०४७ सालमा आयोजना भएको चौथो अन्तरडोजाङ राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको सेमिफाइनल भिडन्तमा खुट्टा भाँचिएपछि विपिनले सदाका लागि तेक्वान्दोलाई बाध्यतावश अलबिदा गर्नुपरेको थियो ।
यो दुःखद् घटनापछि विपिनको सक्रिय खेलजीवनमा पूर्णविराम लागे पनि उनले तेक्वान्दोलाई भने माया मार्न सकेनन् । अझ तेक्वान्दो खेलको विकास र विस्तारका लागि सक्रिय भएर लागे । तेक्वान्दोप्रतिको अगाध माया र सम्मानले गर्दा उनले नौलो सपना देखे– ‘विश्वभरि छरिएर रहेका तेक्वान्दो परिवारलाई एउटै छानामुनि आबद्धता गराई यसै खेलमार्फत समाजको सेवा गर्ने ।’ यसको सुरुवात उनले बुटवलमा तेक्वान्दो भित्याएर गरेका थिए । तत्कालीन समयमा राष्ट्रिय खेलकुद परिषद्को सहायक प्रशिक्षकमा कार्यरत रहँदा विपिनले लुम्बिनी अञ्चलमा तेक्वान्दो खेलको विकास र विस्तारमा अहम् भूमिका निभाएका थिए । उनले यसक्रममा रूपन्देही जिल्लाका गाउँ–सहरदेखि बोर्डिङ स्कुलहरूमा तेक्वान्दो प्रशिक्षण दिएका थिए । उनको यही कार्यले गर्दा लुम्बिनी अञ्चलमा अहिले पनि विपिनको नाम सम्मानपूर्वक लिने गरिन्छ । लुम्बिनी अञ्चलको तेक्वान्दो प्रमुख हुँदा उनले प्रशिक्षणमा सीमित नरही प्रतियोगितासमेतको आयोजना गरेर तेक्वान्दोको श्रीवृद्धिमा महत्वपूर्ण योगदान गरेका थिए । त्यतिबेला उपत्यकाबाहिर अर्थात् मोफसलमा तेक्वान्दो प्रतियोगिता गर्नु साँच्चिकै चुनौतीपूर्ण थियो । यस्तो विषम परिस्थितिमा पनि विपिनले प्रथम र दोस्रो मेयर कप आमन्त्रण तेक्वान्दो प्रतियोगिता बुटवलमा सफलताका साथ सम्पन्न गरेर उदाहरणीय व्यक्ति बनेका थिए । उनलाई यो कार्यलाई सफलताको मूर्तरूप दिन बुटवल नगरपालिका र त्रिवेणी डिस्टिलरीले विशेष सहयोग गरेका थिए । बुटवलका विभिन्न बोर्डिङ स्कुल र डोजाङहरूमा निःशुल्क प्रशिक्षण दिएर तेक्वान्दोको विकासलाई गतिशीलता प्रदान गरेका विपिनले बुटवलमा नेपालकै पहिलो तेक्वान्दो भवन निर्माण गर्न अहम् भूमिका निभाएका थिए । बुटवल नगरपालिकाले उपलब्ध गराएको जग्गामा उक्त भवन निर्माण गरिएको थियो ।
तेक्वान्दोप्रतिको आस्था र निष्ठा चुलिँदै जाँदा विपिनको हौसला पनि बुलन्द भएको थियो । उनको दिमागमा तेक्वान्दोको भूत सवार भएको थियो । उनी दिनरात तेक्वान्दोको बारेमा मात्र सोच्दथे । के गरेर तेक्वान्दो विकास हुन्छ र सहयोग पुग्छ त्यसैमा उनी मस्त हुन्थे । तेक्वान्दोमा लामो छलाङ मारेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उनको ठूलो धोको थियो । उनी यसैमा प्रतिबद्ध भएर भविष्यको दूरगामी योजना बनाएर लागेका थिए । यसमा उनी कति सफल भए त्यसको लेखाजोखा राख्नेलाई भन्दा पनि उनले गरेका कार्यहरूले प्रमाणित गरेका छन् । त्यसको ज्वलन्त उदाहरण भैरहवा तेक्वान्दो डोजाङलाई लिन सकिन्छ । उनले भैरहवामा तेक्वान्दो डोजाङको स्थापना गरी बुटवलबाट पच्चीस किलोमिटर टाढा रहेको उक्त डोजाङमा हरेक दिन प्रशिक्षण गराउँथे । साथै उक्त प्रशिक्षणबाट उठेको रकम डोजाङको विकास र विस्तारका लागि समर्पित गरेका थिए । त्यस्तै राम्रो कार्य गरेबापत विपिनले १३औँ एसियाली खेलकुद प्रतियोगितामा तेक्वान्दोमा ऐतिहासिक रजत पदक दिलाउने सविता राजभण्डारीको आधिकारिक प्रशिक्षकको भूमिका निर्वाह गर्न पाएका थिए ।
०२५ मा जन्मिएका विपिनले तेक्वान्दोको विकास र विस्तारका क्रममा देउराली, उकाली, भञ्ज्याङ अनि चौतारीमा बास बसेर तेक्वान्दोको वास्तविकतासँग ज्यादै निकटको साइनो गाँस्ने अवसर पाएका छन् । समयको प्रभावसँगै अमेरिका पुगेका विपिनले सात समुद्र पार पुगेर पनि तेक्वान्दोलाई माया मार्न सकेनन् । विदेशमा कार्यव्यवस्थाका बाबजुद पनि उनी सदा तेक्वान्दोको विकासमा होमिइरहे । मुलुक र मुलुकबाहिर रहेका तेक्वान्दो परिवारलाई एकै छानामुनि आबद्ध गर्न उनी सदा प्रयासरत रहे अर्थात् यद्यपि उनले आफ्नो यो प्रयासलाई जारी राखेका छन् । वर्तमान अवस्थामा युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन – यूयूएनटीएफ) संस्था अमेरिकामा स्थापना गर्न विशेष भूमिका निभाएका विपिन अहिले त्यही संस्थाको उपाध्यक्ष तथा बोर्ड अफ डाइरेक्टरको रूपमा कार्यरत छन् । यसरी मुलुकबाहिर रहेर पनि स्वदेश र विदेशमा तेक्वान्दो खेलको विकासमा विपिन कटिबद्ध रहेका छन् । उनले नेपाली खेलाडीको स्तरोन्नति होस् या राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न दिल खोलेर ठूलो आर्थिक सहयोग गर्दै र जुटाउँदै आएका छन् । स्मरण रहोस्, नेपालमा सन् २०११ मा सफलताका साथ सम्पन्न भएको प्रथम माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि उनले विदेशका लागि आर्थिक संयोजक भई कार्य गरेका थिए । तत्कालीन समयमा उनले विभिन्न व्यक्ति र संस्थासँग अर्थ सङ्कलन गरी प्रतियोगिताका लागि २० हजार डलर जुटाएका थिए । त्यस्तै दोस्रो संस्करणमा पनि उनले आर्थिक सहयोग जुटाएर प्रतियोगितालाई सफल पार्न अहम् भूमिका निभाएका थिए । अब तेस्रो संस्करणका लागि पनि उनी सहयोगका लागि जुटिसकेका छन् ।
रोेजी–रोटीको खोजीमा बिदेसिनु अहिले आमनेपालीको बाध्यता र परम्पराजस्तै भएको छ । कारणवश विपिन पनि यसको एक पात्र बने । कुरा आफ्नोे परिवारको लालनपालनको थियो । तसर्थ श्रीमती पुष्पा, छोरा विपुल र छोरी लुभना श्रेष्ठलाई चटक्कै छोडेर उनी विदेश भासिएका थिए । उनी बिदेसिनु सम्पन्नताभन्दा पनि बाध्यता थियो । र पनि उनले विदेशमा रहेर आफ्नो मातृभूमि र आफ्नो प्रिय खेल तेक्वान्दोलाई कहिल्यै बिर्सेनन् । नेपालमा झँै विदेशमा पनि तेक्वान्दो खेलको विकासमा मलजल र गोडमेल गर्नमै सक्रिय भएर लागे । विश्वभरि छरिएर रहेका नेपाली तेक्वान्दो परिवारलाई एकजुट गराउन उनी दिनरात नभनी लागे । उनीहरूको दुःखसुखको साथी बने । उनको यही असाधारण प्रयासले गर्दा आज विपिन विश्वभरि नै तेक्वान्दोको शुभचिन्तकको रूपमा चिनिएका छन् । उनी विपिन मात्रै नभई तेक्वान्दोका विपिन बन्न सफल भएका छन् । विदेशमा बसेर पनि तेक्वान्दोको विकास र विस्तारमा एकलव्यजस्ता देखिएका विपिनले आगामी दिनमा यूयूएनटीएफ संस्थामार्फत नेपाली तेक्वान्दोको विकास र विस्तारका लागि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । जुन नेपाली तेक्वान्दोको विकासका लागि कोसेढुङ्गा सावित हुने विश्वास गर्न सकिन्छ ।
विश्वकप क्रिकेट
दाबेदार टिम नै सेमिफाइनलमा
विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलसम्मको समीकरण पूरा भएको छ । सेमिफाइनलमा विश्वकपको दाबेदार मानिएका चार राष्ट्रहरू भारत, दक्षिण अफ्रिका र आयोजक अस्ट्रेलिया र न्युजिल्यान्ड पुगेका छन् । क्वार्टरफाइनलमा भारतले बंगलादेश, दक्षिण अफ्रिकाले श्रीलंका, अस्ट्रेलियाले पाकिस्तान र न्युजिल्यान्डले वेस्टइन्डिजलाई पराजित गरेका थिए । अब सेमिफाइनलमा साविक विजेता भारतको भिडन्त अस्ट्रेलियासँग हुनेछ भने न्युजिल्यान्डले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलसम्मको यात्रा तय गर्ने क्रममा दक्षिण अफ्रिका भारत र पाकिस्तानसँग पराजित भएको थियो भने अस्ट्रेलिया न्युजिल्यान्डसँग । यो विश्वकपमा भारत र न्युजिल्यान्ड अपराजित रहेका छन् । यी दुई राष्ट्रले अहिलेसम्म आफूले खेलेका सात खेलमा विजय पाएका छन् ।
विश्वकपको सेमिफाइनल भिडन्तमा साँढे जुधाइ हुने प्रायः निश्चित छ । एकातिर चारपटकको विश्व च्याम्पियन अस्ट्रेलिया र दुईपटकको विश्व च्याम्पियन भारत भिड्नेछन् भने अर्कोतर्फ सेमिफाइनलभन्दा माथि पुग्न नसकेका टिम दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच फाइनल प्रवेशका लागि भिडन्त हुने भएको छ । अहिले चारवटै टिमले उत्कृष्ट प्रदर्शन गरेका कारण यो नै टिम फाइनलमा पुग्ला भनेर अड्कल काटन गाह्रो भएको छ । न्युजिल्यान्ड र दक्षिण अफ्रिका पहिलोपटक फाइनलमा पुग्नका लागि मैदानमा उत्रिनेछन् भने भारत त्रिकोणीय सिरिजमा अस्ट्रेलियासँग भोगेको पराजयको बदला लिने सुरमा छ । सेमिफाइनल भिडन्तलाई क्रिकेट पण्डितहरूले विभिन्न अड्कल काटे पनि वास्तविक परिणाम मैदानमै देखिने विश्लेषकहरूको दाबी छ । चारै टिम विश्वकपका प्रमुख दाबेदार भएकाले यसपटक एउटा टिमको बारेमा हौवा पिट्नु गलत हुनेछ । क्रिकेट हो जसले पनि बाजी मार्न सक्छ । एउटा सत्य के हो भने यसपटक न्युजिल्यान्ड र दक्षिण अफ्रिकामध्ये एक पहिलोपटक विश्वकपको फाइनलमा पुग्नेछन् ।
त्यस्तै मंगलबारदेखि सुरु हुने सेमिफाइनल खेल खेलाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले अफिसियलहरूको नाम घोषणा गरेको छ । न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच अकल्यान्डमा हुने पहिलो सेमिफाइनल खेलको म्याचरेफ्री डेबिड बुन र फिल्ड अम्पायरमा इयान गोउल्ड र रुड टक्नर रहनेछन् । त्यस्तै बिहीबार हुने भारत र अस्ट्रेलियाबीचको दोस्रो सेमिफाइनलमा रन्जन मदुगले म्याचरेफ्री र फिल्ड अम्पायरमा कुमार धर्मसेना र रिचर्ड किट्लीवोरफ रहनेछन् । यसैगरी थर्ड र फोर्थ अम्पायरको भूमिकामा माराइस इरासमुस र रिचर्ड लिङवर्थ रहनेछन् । फाइनलको अफिसियल नियुक्ति सेमिफाइनलको समाप्ति हुनेछ ।
खेल समाचार
विश्वकप चेसको छनोट प्रतियोगितामा नेपालमा
विश्व चेस महासङ्घको आधिकारिक प्रतियोगिताको रूपमा रहेको विश्वकप चेसको छनोट प्रतियोगिता एसियन जोन ३.२ चेस च्याम्पियनसिप नेपालमा आयोजना गर्न लागेको नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष राजेशहरि जोशीले जानकारी गराएका छन् । प्रतियोगिता आगामी मार्च २६ देखि अप्रिल २ तारिख अर्थात् चैत १२ देखि १९ गतेसम्म काठमाडौंमा सञ्चालन हुनेछ । फिडेको World Chess Championship Cycle अन्तर्गत आगामी सेप्टेम्बर १० देखि अक्टोबर ४ सम्म अजरबैजानको बाकु सहरमा सञ्चालन हुने FIDE Chess World Cup मा सहभागिता जनाउने आधिकारिक छनोट च्याम्पियनसिप नेपालले पहिलोपटक आयोजना गर्ने अवसर प्राप्त गरेको हो ।
यस प्रतियोगितामा फिडेको ३.२ जोनमा पर्ने एसियाका ६ राष्ट्रहरू नेपाल, माल्दिभ्स, श्रीलङ्का, बंगलादेश, भुटान र पाकिस्तान सहभागी हुनेछन् । च्याम्पियनसिपमा महिलातर्फ १६ जना तथा खुलातर्फ २९ जना गरी जम्मा ४५ जना खेलाडीको सहभागिता रहनेछ । साथै च्याम्पियनसिप सञ्चालनका लागि प्रमुख निर्णायकको रूपमा भारतका अन्तर्राष्ट्रिय आर्विटर धर्मेन्द्र कुमार आउने आयोजकले जानकारी गराएको छ । प्रतियोगिताको कुल बजेट ३२ लाख रुपैयाँ रहेको छ । जसलाई भरतपुर चितवनमा रहेको सिवानी एअरलाइन्सले मुख्य प्रायोजन गरेको छ । प्रतियोगिता पर्यटकीय क्षेत्र नगरकोटमा अवस्थित रत्नागिरी रिसोर्टमा सञ्चालन हुनेछ ।
यस च्याम्पियनसिपका विजेताले FIDE World Chess Championship 2014-2016 Cycle अन्तर्गत आगामी सेप्टेम्बर १० देखि अक्टोबर ४ सम्म अजरबैजानको बाकु सहरमा सञ्चालन हुने FIDE Chess World Cup मा सहभागिता जनाउनेछन् । जसको पहिलो चरणमा एक सय २८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपका विजेताले सीधै अन्तर्राष्ट्रिय मास्टर(WIM)को उपाधि प्राप्त गर्नेछन् । त्यसैगरी ९ खेलबाट ६५ प्रतिशत अङ्क प्राप्त गर्ने खेलाडीले फिडे मास्टर [WFM] र ५० प्रतिशत अङ्क प्राप्त गर्नेले क्यान्डिडेट मास्टर [CM] उपाधि प्राप्त गर्नेछन् । त्यसैगरी महिलातर्फ पनि विजेताले वुमन अन्तर्राष्ट्रिय मास्टर (WIM) को उपाधि प्राप्त गर्नेछन् भने नौ खेलबाट ६५ प्रतिशत अङ्क प्राप्त गर्ने खेलाडीले वुमन फिडे मास्टर (WCM) र ५० प्रतिशत अङ्क प्राप्त गर्नेले वुमन क्यान्डिडेट मास्टर(WCM) उपाधि प्राप्त गर्नेछन् ।
फिडे अध्यक्ष नेपाल आउने
एसियन जोनल चेस च्याम्पियनसिपको समापनमा रसियन गणराज्य क्यालमिकियाका पूर्वराष्ट्रपतिसमेत रहेका World Chess Federation (FIDE फिडेका अध्यक्ष किरसान इलुमजिनोभ प्रमुख अतिथिको रूपमा सहभागी हुने कार्यक्रम रहेको आयोजक कमिटीले जानकारी गराएको छ ।
बाइसजना आइबी वान स्टार प्रशिक्षक
नेपाल बक्सिङ सङ्घले २२ जनालाई आइबा वान स्टार प्रशिक्षकको प्रमाणपत्र प्रदान गरेको छ । अन्तर्राष्ट्रिय बक्सिङ सङ्घ (आइबा) ले बक्सिङलाई उपलब्ध गराएको प्रमाणपत्र सम्बन्धितलाई हस्तान्तरण गरिएको हो । गत जुन ९–१३ तारिखसम्म काठमाडौंमा भएको कोचेज कोर्समा सहभागी एक महिलासहित २२ जनाले परीक्षा दिएकोमा सबै उत्तीर्ण भएका थिए । प्रमाणपत्र पाउनेमा हरिशबहादुर चन्द, किशोर लिम्बू, कृष्णसुन्दर प्रजापति, निशा लोहला, राजु थापा, विद्याप्रसाद मरासिनी, डम्बरदत्त भट्ट, किशोर खत्री, रमेश श्रेष्ठ, रमेशदास श्रेष्ठ, साजन लघु, टंकबहादुर बुढामगर, गोपाल श्रेष्ठ, दीपक राई, निमा तामाङ, राज श्रेष्ठ, सुमन शर्मा बन्जारा, डम्बरबहादुर लिम्बू, हरिचन्द्र खड्का, प्रकाश थापामगर, तेजबहादुर थापामगर तथा उमेश लामा रहेका छन् । नेपाल बक्सिङ सङ्घका मानार्थ आजीवन अध्यक्ष विष्णुगोपाल श्रेष्ठले एक कार्यक्रमबीच प्रमाणपत्र हस्तान्तरण गरे । सो अवसरमा बक्सिङ सङ्घका अध्यक्ष राजीव श्रेष्ठले आफूले हासिल गरेको ज्ञान अरूलाई सिकाएर विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।
स्लालमकी गोमा थाइल्यान्डमा
स्लालम कायक तालिम शिविरमा सहभागी हुन महिला कायक खेलाडी गोमा सुनुवार थाइल्यान्डको नाक्होन नायोक पुगेकी छिन् । ‘एक्सपान्ड एन्ड एक्सटेन्ड’ नाराका साथ तालिम मार्च २१ देखि ३० तारिखसम्म हुनेछ । शिविरकै दौरान मार्च २७ देखि ३० तारिखमा हुने ओपन एसिया क्यानोई स्लालम प्रतियोगितामा पनि गोमाले सहभागिता जनाउनेछिन् । नेपाल -याफ्टिङ एन्ड क्यानोई सङ्घका अध्यक्ष मनबहादुर न्यौपानेले आगामी १८औँ एसियाली खेलकुदलाई लक्षित गरी खेलाडीलाई सहभागिताको अवसर प्रदान गरिएको बताए ।
उपत्यकाव्यापी विविध खेलकुद हुने
जोरपाटीको भगवती युवा क्लबले आफ्नो नवौँ वार्षिकोत्सवको अवसरमा उपत्यकाव्यापी विविध खेलकुद प्रतियोगिता चैत २१ गतेदेखि आयोजना गर्ने भएको छ । प्रतियोगितामा खुला कराते, उपत्यकाव्यापी ब्याडमिन्टन, विभागीय टोलीबाहेकको म्याराथन र ह्विलचेयरतर्फ प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष शिव कारञ्जितले जनाएका छन् । प्रतियोगिता चैत २८ गतेसम्म जोरपाटीस्थित क्लबकै हातामा हुनेछ ।
अन्तिम दिन हुने सांस्कृतिक कार्यक्रममा धीरज राई, सञ्जीव श्रेष्ठ, प्रेम लामा र स्थानीय कलाकारहरूको प्रस्तुति पनि रहने आयोजकले बताएको छ । क्लबले हरेक वर्ष आफ्नो वार्षिकोत्सवका अवसरमा नियमित रूपमा विविध खेलकुद प्रतियोगिता र सँंस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको क्लबले जनाएको छ ।
नेपाललाई चार स्वर्णसहित १७ पदक
प्रथम विश्व मार्सल आर्ट च्याम्पियनसिपअन्तर्गत उमा कुङफुतर्फ नेपाली खेलाडीले चार स्वर्णसहित १७ पदक जितेका छन् । चार स्वर्णका अलावा नेपालले थप तीन रजत र १० कास्य पनि प्राप्त गरेको टिम व्यवस्थापकसमेत रहेका उमा कुङफु सङ्घका सचिव सिद्धार्थ लामाले जनाएका छन् ।
महिलाको ताइची २४ याङ स्टायलमा प्रज्ञा केसीले स्वर्ण र पुरुष ताइचीतर्फ मणिराज मिक्छनले २४ याङ स्टायल तथा रमन राई चाम्लिङले १३ याङ स्टायलमा नेपाललाई स्वर्ण दिलाएका थिए । त्यस्तै पुरुषको ट्रेडिसनल प्याटर्नमा विकास लामाले स्वर्ण हात पारेका थिए । स्वर्ण विजेतामध्ये कुङफु सान्डाको ४५–४८ केजीमा प्रज्ञा र ३१.१–३४ केजीमा विकासले १–१ रजत तथा मणिराजले ५२.१–५६ केजी तथा रमनले ६०.१–६५ केजीमा १–१ कास्य पनि प्राप्त गरेका थिए ।
कुङफु सान्डाकै पुरुषको ३१.१–३४ केजीमा सुवास अधिकारी, २५.१–३१ केजीमा देव देवकोटा, ६०.१–६५ केजीमा दावा लामा, ५१.१–६० केजीमा सुहन श्रेष्ठ, ७०.१–७५ केजीमा प्रकाश खत्री तथा ८०.१–८५ केजीमा अमिन तामाङले कास्य हासिल गरेका थिए । त्यसैगरी, महिलाको ३८ केजीमा आयुष्मा श्रेष्ठले रजत तथा ३८ केजीमै सृष्टि श्रेष्ठले कास्य जिते ।
थाइल्यान्डको बैंककमा च्याम्पियनसिप मार्च १२ देखि सुरु भएको थियो । १२ खेलाडीसहित १६ सदस्यीय नेपाली उमा कुङफु टोलीले च्याम्पियनसिपमा सहभागिता जनाएको थियो । उमा कुङफुमा नेपालसहित नौ राष्ट्र दुई सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए । च्याम्पियनसिपमा भने समग्रमा उमा कुङफुसहित विभिन्न १२ खेलमा २९ राष्ट्रले सहभागिता जनाएका थिए ।
प्रतिक्रिया