माथिल्लो तामाकोसीका लगानीकर्ताले गुमाए १७० करोड

माथिल्लो तामाकोसीका लगानीकर्ताले गुमाए १७० करोड


सेयर बजार निरन्तर गिरावट आएपछि माथिल्लो तामाकोसीको बजार पुँजीकरण पनि घटेको छ । एक साताको अवधिमा माथिल्लो तामाकोसीका लगानीकर्ताले १ अर्ब ७० करोड रुपैयाँ गुमाएका छन् । एक साताको अवधिमा माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १६ रुपैयाँ घटेको छ । गत साता अपर तामाकोसीको सेयर प्रतिकित्ता २७४ रुपैयाँमा कारोबार भएकोमा यो साता घटेर २५८ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ । कारोबार सुरु भएपछि उकालो लागेको सेयर मूल्य अहिले ओरालो लाग्न थालेको छ ।

अघिल्लो साता तामाकोसीको सेयर मूल्यमा गिरावट आएपछि बजार पुँजीकरण पनि झण्डै ४ अर्ब रुपैयाँ घटेको छ । सेयर मूल्य उकालो लागेपछि अपर तामाकोसीको बजार पूँजीकरण ३२ अर्ब ९३ करोड ४९ लाख रुपैया पुगेकोमा गत साता ३ अर्ब ९१ करोड ८३ लाख रुपैयाँ घटेर २९ अर्ब १ करोड ६६ लाख रुपैयाँमा सीमित भएको थियो ।

गत पुस २९ गतेदेखि दोस्रो बजारमा सो कम्पनीको सेयर कारोबार शुरु भएको हो । कम्पनीको १० करोड ५९ लाख कित्ता सेयर नेप्सेमा कारोबारका लागि सूचीकरण भएको छ । दोस्रो बजारमा तामाकोसीको सेयर कारोबार गत पुस २९ गते आइतबारदेखि प्रतिकित्ता २२४ रूपैयाँमा खुलेको थियो ।