एनटीसीको फोरजी/एलटीई सेवा विस्तारका लागि सम्झौता

एनटीसीको फोरजी/एलटीई सेवा विस्तारका लागि सम्झौता


नेपाल टेलिकमको फोरजी/एलटीई सेवा विस्तारका लागि आज सम्झौता सम्पन्न भएको टेलिकमले जनाएको छ । संसदको अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरिद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रही सो सम्झौता गरिएको टेलकमको दाबी छ ।

बताइएअनुसार फोरजी/एलटीई सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क – ऱ्यान (RAN) को लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङसँग सम्झौता सम्पन्न भएको हो । यससम्बन्धी छुट्टाछुट्टै सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेडटीई तथा सीसीएसआईका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

नेपालभर ६५ लाख क्षमताको फोरजी/एलटीई विस्तारका लागि एउटा कोर नेटवर्क र दुई वटा ऱ्यान नेटवर्क तयार गरिने र यसका लागि मूख्य कोर नेटवर्क काठमाडौं र बुटवलमा रहने बताइएको छ ।

ऱ्यान नेटवर्क अन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिने जनाइएको छ । सम्झौतापश्चात् एक वर्षभित्रमा परियोजना सम्पन्न हुने टेलिकमको दाबी छ ।

ज्ञात रहोस्, नेपाल टेलिकमले मुलुकमै पहिलो पटक मिति २०७३ पौष १७ गते काठमाडौँ उपत्यका र पोखरामा फोरजी/एलटीई सेवा सञ्चालन गरेको थियो । देशभर यो सेवा विस्तार भए पश्चात टुजी, थ्रिजी र फोरजी नेटवर्कलाई ओभरले (Overlay) को रुपमा सञ्चालन गरी ग्राहकलाई आ–आफ्नो रुचि र आवश्यकता अनुसारका सेवाहरु छनोट गर्ने अवसर प्राप्त हुने दाबी गरिएको छ । यसबाट मुलुकभर द्रुत गतिको डाटा तथा भ्वाइस (VoLTE – voice over LTE) र मल्टिमिडिया (ViLTE -video over LTE) सेवा विस्तार तथा coverage and capacity का लागि Small Cell with WiFi विस्तार गर्न सकिने पनि जनाइएको छ ।