सुन्तलाबाटै गोरखामा भित्रियो ३८ करोड

सुन्तलाबाटै गोरखामा भित्रियो ३८ करोड


गोरखा जिल्लामा यस वर्ष सुन्तला बिक्रीबाट मात्रै ३८ करोड रुपैयाँ भित्रिएको छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ । जिल्लामा भएको कुल सुन्तला निर्यातमध्ये सबैभन्दा धेरै मनकामना क्षेत्रमा निर्यात भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला तथा फलफूल जोन कार्यक्रम गोरखाका प्रमुख अजय अधिकारीले जानकारी दिए । ‘ताङलिचोकलाई पनि जोेडेर हेर्ने हो भने मनकामना क्षेत्रमा जिल्लाभरिको उत्पादनमध्ये ५५ प्रतिशत सुन्तला उत्पादन तथा बिक्री भएको छ,’ अधिकारीले भने ।

जिल्लामा यस वर्ष ६ हजार ६ सय टन सुन्तला उत्पादन तथा बिक्री भएको उनले बताए । यस वर्ष गोरखामा उत्पादन भएको सुन्तला न्यूततम रु. ५० देखि अधिकतम रु. ८० किलोसम्ममा बिक्री भएको अधिकारीले बताए ।

उनका अनुसार जिल्लामा यस वर्ष अघिल्लो वर्षभन्दा ३० प्रतिशत सुन्तला उत्पादनमा वृद्धि भएको छ । ‘अघिल्लो वर्ष चैत महिनामा खडेरी र असिनाले सुन्तला राम्रो हुन सकेको थिएन,’ प्रमुख अधिकारीले भने, ‘तर, यसपटक गएको चैत महिनामा पानी राम्रो परेकाले उत्पादनमा वृद्धि भएको हो ।’

यस्तै जिल्लामा कृषि जोन घोषणा भई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएका क्षेत्रमा सुन्तला बगैँचा व्यवस्थापन, सिँचाइको राम्रो व्यवस्थालगायतका कारणले पनि सुन्तला उत्पादनमा वृद्धि भएको उनको भनाइ छ ।

खडेरी र पानीको अभावले सुन्तला उत्पादनमा बढी ह्रास आउने भएकाले त्यसतर्फ ध्यान पु¥याउन सके उत्पादनमा वृद्धि गर्न सकिने अधिकारीले बताए । त्यस्तै जिल्लाको देउराली, खेप्लाङलगायतका क्षेत्रमा पनि व्यावसायिक सुन्तलाखेती गरिँदै आएको छ । जिल्लामा कुल ८६५ हेक्टरभन्दा बढी क्षेत्रफलमा सुन्तलाखेती हुने गरेको छ ।