इलाममा चिया विषयमा पढाइ हुने

इलाममा चिया विषयमा पढाइ हुने


इलाममै चियासम्बन्धी विषयमा पढाइ हुने भएपछि स्थानीयवासी उत्साहित भएका छन् ।

इलामको सूर्योदय नगरपालिकाले माध्यमिक तहमा चिया विषयलाई पाठ्यक्रमको रूपमा लागू गर्ने योजना अघि बढाएसँगै यस विषयमा पढाइ हुने भएको छ ।

इलाम चियाको केन्द्र्रका रूपमा मानिन्छ । इलाममा १५५ वर्षअघि चिया रोपेको र सोही बेलादेखि यहाँ चिया खेती हुने गरेको छ । चिया खेतीसम्बन्धी सम्पूर्ण जानकारी पाठ्यक्रममा नै राखिने भएपछि विद्यार्थी जीवनदेखि नै चियाखेतीबारे थाहा पाउने अवसर धेरैलाई मिल्ने भएपछि यहाँका किसानमा उत्साह थपिएको चिया किसान नरेन्द्रप्रसाद कोइरालाले जानकारी दिए ।

चियाको विषयमा जानकारी नहुँदा बाहिरबाट प्राविधिक ल्याउन बाध्य बनेका चिया किसानले नगरको यो योजनालाई स्वागत गरेका छन् । चिया विषय अध्यापन भए रोजगारीसमेत सिर्जना हुने चिया किसान प्रेम कट्टेलको भनाइ छ । उनले व्यावहारिक शिक्षा सानै उमेरबाट पाउने भएकाले यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुने बताए ।

चिया पाठ्यक्रमको लागि समिति गठन गरेर काम थालनी शुरु गरिएको छ । सम्भव भए अब आउने नयाँ शैक्षिक सत्रबाट नै चिया विषय पढाइ शुरु गर्ने सूर्योदय नगरपालिकाका प्रवक्ता पेमा उगेन लामाले जानकारी दिए ।

चियाको इतिहास बोकेको इलाममा चियासम्बन्धी अध्ययन–अनुसन्धान गर्ने थलो बनाउने बहस हुने गरेको भए पनि कार्यान्वयन भने हुन सकेको छैन । यस विषयमा पठनपाठन शुरु भए यसबाट सूर्योदय नगरलाई मात्र नभई जिल्लाकै लागि फाइदा पुग्ने विज्ञको भनाइ छ ।