असोजदेखि २४ हजार मेट्रिक टन चिनी भन्सारमै

असोजदेखि २४ हजार मेट्रिक टन चिनी भन्सारमै


साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको करिब १३ करोड रुपैयाँ मूल्यबराबरको २४ हजार ४५ मेट्रिक टन भारतीय चिनी सुक्खा बन्दरगाहको गोदाममा थन्किएको छ ।

सरकारले चिनी आयातमा परिणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि कर्पोरेसनले भित्र्याएको उक्त परिणामको भारतीय चिनी गोदाममा थन्किएको हो । परिणात्मक बन्देजका कारण पाँच महिना भइसक्दा पनि कर्पोरेसनले चिनी लान सकेको छैन ।

हिन्दूको महान् चाड दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी कर्पोरेसनले भारतको गुजरात राज्यस्थित रेणुका सुगर मिलबाट सो परिणामको चिनी आयात गरेको थियो । ढिलो गरी आयात भएकाले सो चिनी भन्सार पास हुन नसक्दा गोदाममै थन्किएकोे छ । विगत लामो समयसम्म गोदाममै थन्किएका कारण चिनी बिगँ्रदै गएको छ ।

०७५ भदौ ३१ गते बसेको मन्त्रिपरिषदको निर्णयलाई आधार मानी वाणिज्य विभागले चिनीको जाँचपास नगर्न पत्राचार गरेकाले यस्तो स्थिति आएको सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसनले आयात गरेको चिनी असोज ६ गते सुक्खा बन्दरगाहमा आएकाले भन्सार पास हुन नसकी गोदाममै थन्किएको छ ।

सुक्खा बन्दरगाहको गोदाममा राखिएको सो चिनी छाड्नेबारे विभागबाट कुनै पनि पत्र नआएकाले यसबारे अहिले केही भन्न नसकिने भन्सार अधिकारीको भनाइ छ ।

विगत पाँच महिनादेखि भन्सारमै थन्किएको सो चिनी गोदाममा राखेको भाडाबापत साल्ट ट्रेडिङ कर्पोरेसनले बन्दरगाह सञ्चालक कम्पनी हिमालयन ट्रर्मिनललाई रु. चार करोडभन्दा बढी रकम तिर्नसमेत सकेको छैन । गोदाममा राखेबापतको भाडा दर प्रतिदिन रु. तीन लाख ७६ हजार ६०० रहेकाले हालसम्म कर्पोरेसनले भाडा तिर्न नसकेको गोदाम इन्चार्ज सुनीलकुमार सिंहले बताए ।

गत पुस अन्तिम साता बसेको मन्त्रिपरिषदको बैठकले बन्दरगाहमा थन्किएर बसेको सो परिणामको चिनीका लागि भन्सार जाँचपासमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेपछि यससम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड अञ्चल कार्यालय वीरगञ्जका प्रमुख अमोज लामिछानेले बताए ।

यता साल्ट ट्रेडिङ कर्पोरेसनले सो चिनी आयात गर्न एलसी खोलेको थियो । चिनी आपूर्तिकर्ता गुजरातको रेणुका सुगर मिलले चिनी नेपाल पठाउन रेल्वे बुक गरेको भए पनि बुक गरेको रेल्वे जाम र चापका कारण १५ दिन ढिलो गरी सो चिनी सुक्खा बन्दरगाहमा आइपुगेकोले चिनी गोदाममै थन्किएको हो ।

विगत पाँच महिनादेखि सो चिनी सुक्खा बन्दरगाहको गोदाममा थन्किएकोले बोरा च्यातिएको, चिनी जथाभावी छरिएको, मजदुरलाई काम गर्न समस्या भएको तथा चिनीका बोरा बिग्रिन थालेपछि चिनी खराब भइरहेको मजुदरको भनाइ छ ।

चिनी आयातमा ३० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने गरेको छ । सरकारले चिनीमा भन्सार बढाउँदासमेत भारतबाट चिनी आउने क्रम नरोकिएपछि सरकारले भदौ ३१ गतेदेखि कोटा प्रणाली लगाएको थियो । फलस्वरूप असोज १ गतेदेखि कुनै पनि भन्सार नाकाबाट चिनी नेपाल भित्रिएको छैन ।

सरकारले चिनी आयातमा रोक लगाएपछि यहाँका उपभोक्ता भारतीय चिनी प्रति केजी रु. ७० का दरले किन्न बाध्य छन् । सुक्खा बन्दरगाहमा रोकिएको चिनी हालसम्म बजारमा आउन नसक्दा भारतबाट तस्करी गरी ल्याएको चिनी महँगो दरमा उपभोक्ता किन्ने गरेका छन् ।