न्युयोर्क यात्राको सेरोफेरो

न्युयोर्क यात्राको सेरोफेरो


nisedhयसपटक ‘कमिसन अन दि स्टेटस अफ विमेन’को कार्यक्रममा भाग लिन न्युयोर्क जाने क्रममा अबुधाबीमा लामो समयको ट्रान्जिटपछि गन्तव्यतर्फ जान चेकजाँच हुँदै गर्दा एक महिलाले कडिकडाउ स्वरमा भनिन्, ‘ओपन योर ल्यापटप ।’ ल्यापटप खोलिसकेपछि ‘स्विच्ट अन’ भनेपछि मैले नेपालीमै भने, ‘अन नै गर्नुपर्ने ?’ उनको फरक स्वर सुनियो, अँ हेर्नु न अन नै गर्नुपर्छ । परदेशको भूमिमा नेपालीहरू त्यसमा पनि नेपाली महिलाले सुरक्षा जाँचमा निर्वाह गरिरहेको व्यावसायिक भूमिकाले खुसी बनायो । हेर्दाहेर्दै महिलाको लैङ्गिक भूमिका कसरी परिवर्तन हुँदै गइरहेको छ । पहिलापहिला दोहा, अबुधाबी, दुबईलगायतका एयरपोर्टहरूमा नेपाली युवा त्यसप्रकारको सुरक्षा जाँचमा खटिने गरेका भए पनि महिला थिएनन् । तर, अहिले महिलाको सङ्ख्या पनि त्यत्तिकै देखिन्छ । महिलाले घुम्टोभित्र बस्नुपर्ने संस्कृति रहेका खाडी मुलुकमा नेपाली महिला सुरक्षाजाँचमा खटिन थालेका छन् । हाम्रा आमा–पुस्ताका लागि कल्पनाबाहिरका यस्ता पेसा–व्यवसायमा महिलालाई देख्दा गर्वले मन ढक्क फुल्छ । अबुधाबी हुँदै अमेरिका जानेहरूका लागि हिजोआज अबुधाबीमै अमेरिका भेटिँदो रहेछ । सुरक्षा–जाँचसँगै भित्र गएपछि झन्डासहित ‘अमेरिकामा यहाँलाई स्वागत छ’ भन्ने लेखिएको अध्यागमन देख्दा त्यहाँ नै इमिग्रेसन कार्यालय छ भन्ने थाहा नपाई यात्रा गर्नेहरू छक्क पर्छन् । यो पङ्क्तिकारलाई पनि थाहा नभएकाले इमिग्रेसनमा विद्युतीय औँठाछाप लाउँदै गर्दा त्यहाँका अधिकारीसँग भनेकी थिएँ, ‘यो ठाउँ त यूएसको इमिग्रेसनजस्तै रहेछ ।’ मेरो कुरा सुनेपछि उनले भनेका थिए, ‘हो यो यूएसको इमिग्रेसन नै हो । अब तिमी अमेरिका पुग्यौ । अमेरिकामा अब आफ्नो ब्याग लिएर सरासर बाहिर निस्के पुग्छ, त्यहाँ अध्यागमनको कुनै प्रक्रिया हुँदैन ।’ हुन पनि न्युयोर्कस्थत जोन अफ केनेडी एयरपोर्ट पुगेपछि सीधै सुटकेस लिएर सरासर बाहिर निस्किइयो । अमेरिकी सरकारले अहिले अबुधाबी, डबलिनलगायतका केही स्थानमा यसप्रकारको अध्यागमनको स्थापना गरेको रहेछ ।
न्युयोर्क पुगेपछि औपचारिक–अनौपचारिक कार्यक्रम र भेटघाटहरू भए जुन प्रायः सबै यात्रामा हुने गर्छन् । संयुक्त राष्ट्रसङ्घ भवन र वरिपरि भएका दुई सयवटा कार्यक्रम सबैमा भाग लिएर सम्भव थिएन । आफ्नोअनुकूलको समय हेरेर तालिकालाई पिछा गर्दै केही कार्यक्रममा भाग लिइयो । संयुक्त राष्ट्रसङ्घका एक सय ६७ सदस्य राष्ट्रहरूले महिलाको क्षेत्रमा आफूले गरेका उपलब्धिहरू प्रस्तुत गरे । तर, ती सबैले परिणाममूलक उपलब्धि हासिल नगरेको निष्कर्ष निकालिएको छ । यसको निष्कर्ष दस्तावेजमा छलफल गरिने नै छ । औपचारिक कार्यक्रमहरूमा सहभागी हुने भागदौडबीच पनि व्यक्तिगत रूपमा केही अविस्मरणीय अनुभूतिहरू गर्न पाइयो । नेपाली पत्रकार, गायक, कलाकार, विद्यार्थी, साहित्यकारलगायत न्युयोर्कमा हिजोआज सार्वजनिक जीवन बाँचेका र सर्वसाधारण धेरै मानिस भेट्न सकिन्छ । अमेरिकामा सबैभन्दा बढी नेपालीको बसोबास भएको स्थान न्युयोर्क नै हो । करिब ६० हजार नेपाली न्युयोर्कमा बस्छन् । करिब ७० वटा त नेपालीका सङ्घसंस्था नै छन् । न्युयोर्कपछि टेक्सास, डीसी, क्यालिफोर्निया हुँदै अन्य राज्यमा नेपालीको उपस्थिति छ । न्युयोर्कमा ज्याक्सन हाइट अन्य दक्षिण एसियालीहरूको झैं नेपालीको पनि बाक्लो जमघट हुने स्थान हो । शुक्रबारदेखि आइतबारसम्म (छुट्टीको बेला) नेपाली रेस्टुरेन्टमा बसेर खाने ठाउँ नै नपाइँदो रहेछ । नेपाली खानासँगै गायक कलाकारहरू छुट्टीका आकर्षण रहेछन् । पत्रकार दिवाकर बागचन्द नेपाल टेलिभिजनमा काम गर्थे । चुनाव जितेर पत्रकार महासङ्घको केन्द्रीय सदस्यसमेत भएका उनी अहिले न्युयोर्कमा छन् । भने, ‘दिदी आउनुहुन्छ, जानुहुन्छ, यसपल्ट त भेट्नैपर्छ ।’ उनको आतिथ्यमा शुक्रबारको साँझ चौतारी रेस्टुरेन्टमा पुग्दा सबै टेबुलहरू भरिएका थिए । कति मानिस ठाउँ नपाएर फर्किए । परदेशको भूमिमा दिवाकर, जनसम्पर्क समिति अमेरिकाका आनन्द विष्ट, होटल चौतारीका मालिक गोविन्द श्रेष्ठ, गायक यम बरालको आतिथ्यता र सम्मान सदा अविष्मरणीय रहनेछ । चर्चित गायक यम बराल सोही रेस्टुरेन्टमा गीत गाउँदारहेछन् । मानिसहरू खाना खाँदै नेपाली गीत सुन्ने, गीतको अफर गर्ने, गफगाफ, भेटघाटलगायतले हप्ताभरिको थकाइ मेटाउने कोसिस गर्दारहेछन । एउटा टेबुलमा केही मानिस एक युवतीको बर्थ डे मनाइरहेका थिए । हामी सबैले उनलाई जन्मदिनको शुभकामना दियौँ । साथी विजया राई श्रेष्ठले अञ्जान ती युवतीलाई बर्थ डे उपहारको रूपमा नेपाली झन्डा दिँदा उनी भावुक भएर आँखाभरि आँसु पार्दै भनिन्, ‘दिदी मैले नेपाल छोडेको सात वर्ष भयो, यो झन्डा देख्दा मलाई मेरो देश नै पाएजस्तो लाग्यो ।’ उनी म्याग्दीकी रहिछिन्, सात वर्षअघि छोडेका आफ्ना दुई छोरीको खुव सम्झना गरिन् ।
चौतारीमा यम बराल, नरेन्द्र प्यासी, विमल डाँगी, गीता बुर्लाकोटीपछि डेलीहाइट रेस्टुरेन्टमा भेटिए गायिका अञ्जना गुरुङ, नायिका रञ्जना शर्मा र अन्य केही नेपालीहरू । अञ्जना उक्त रेस्टुरेन्टमा गीत गाउँदिरहिछन् । बद्नाम भएँ म तिम्रै कारणले… भन्ने उनको गीत निकै चर्चित छ । त्यहाँ पनि मानिसले सोही गीत बढी अफर गर्दारहेछन् । जमघटमा रमाइरहेकाजस्ता देखिने धेरैका परिवार छोडेर बाहिर बस्दाका, श्रीमान्÷श्रीमती या केटा÷केटी साथीले धोखा दिँदाका अनेक फ्रस्टेसनहरू छुट्टीका साँझहरूमा छरिइरहेका थिए । फ्रस्टेसन मेट्नलाई मदिराको सहारा लिएकी एक युवती भनिरहेकी थिइन्, ‘नेपालमा रहेको मेरो मंगेत्तर मसँग सधैँ पैसा मात्रै माग्थ्यो । तर, आउने कुरै गर्दैनथ्यो, अहिले त सुन्छु उसले त विवाह गर्न लागेको छ रे दिदी ।’ नेपालमा मात्र होइन, धोखाका कहानी बोकेर जिउने महिला–पुरुषको सङ्ख्या अमेरिकामा पनि धेरै छ ।
पत्रकारहरूको पनि राम्रो उपस्थिति छ अमेरिकामा । नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा) नै गठन भएको छ । यहाँ विभिन्न मिडियामा काम गर्दा गर्दै अमेरिका पुग्नेहरूका लागि अरू कामले मात्रै सन्तुष्टि दिँदैन । आङछिरिङ शेर्पा, भूपेन्द्र थापा, भोला आचार्य, टेम्बा, विजय पौडेल, दिनेशजंग शाह, गीता पन्थ सम्मिलित नेपाल–अमेरिका पत्रकार सङ्घ न्युयोर्कले सीएसडब्लूमा भाग लिन न्युयोर्क पुगेका पत्रकार तथा सञ्चारकर्मीका लागि राखेको भेटघाटमा न्युयोर्क बन्ने कोसिस गरिरहेका नेपालीका दुःखसुख, उपलब्धि र फ्रस्टेसनका कुराहरू भए । न्युयोर्कबाट नेपाली अखबार र अनलाइनहरू प्रकाशित भइरहेका छन् । आफू बाँच्न, न्युयोर्कमा टिक्न या भनौँ पैसा कमाउने काम भ्याएर पनि अरूलाई सुसूचित गर्न पत्रकारहरू खटिइरहेका छन् । आफ्नो देशमा मिडियाकै क्षेत्रमा केही गर्न पाए हुन्थ्यो भन्ने उनीहरूको धोको छ । दुर्गम क्षेत्रमा रहेका पत्रकारलाई तालिमलगायत के गर्न सकिन्छ भन्नेबारेमा नेजामा छलफलहरू चलिरहेको रहेछ । दुर्गममा मात्र होइन सुगममै पनि आधारभूत पत्रकारिता तालिम धेरै नै आवश्यक छ । वर्तमान भविष्य केही नहेरी धमाधम खुलेका मिडियामा पत्रकारहरूको सङ्ख्या बढिरहेको छ । मिडियामा नाम आइसक्यो, ठूलो पत्रकार भइसक्यो तर पत्रकारिताको कखरामै बुझ्नुपर्ने, जान्नुपर्ने कुरा कति छन् कति । त्यसैले यस्ता कुरामा बाहिर बस्ने पत्रकारहरूले सरोकार राख्नु राम्रो कुरा हो । आखिर आफ्नो क्षेत्रको कुरा आफूलाई जति अरूलाई के थाहा हुन्छ र ?