सेयरमा सामान्य सुधार, घट्यो कारोबार रकम

सेयरमा सामान्य सुधार, घट्यो कारोबार रकम


धितोपत्र बजारमा आज सेयरको मूल्यमा सामान्य सुधार आएको छ । पछिल्ला केही दिनदेखि लगातार ओरालो लाग्दै आएको बजारमा केही सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २.८३ बिन्दुले बढेर एक हजार १४७.१० बिन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७४ बिन्दुले बढेर २४४.०२ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । कुल १६३ कम्पनीको सात लाख ३६ हजार ७६९ कित्ता सेयर रु. २३ करोड १० लाख २२ हजार २३३ मूल्यमा खरिद–बिक्री भएको छ । कारोबार भएका कुल १० उपसमूहमध्ये आज दुई उपसमूहको सेयर घटेको छ । वित्त क्षेत्र ०.९२ र उत्पादन समूह १९.६२ बिन्दुले घटेको छ ।

यस्तै बैंकिङ २.३८, होटेल १.३१, विकास बैंक ५.३, जलविद्युत ६.८, निर्जीवन बिमा १२.४३, अन्य २.९६, लघुवित्त ६.७३ र जीवन बिमा ४.७४ बिन्दुले बढेका छन् ।

स्टकका अनुसार सामुदायिक लघुवित्त वित्तीय संस्थाका सेयरधनीले आज नौ प्रतिशत कमाएका छन् । बुटवल पावर कम्पनी ५.७१, राधी विद्युत कम्पनी ५.७०, लक्ष्मी लघुवित्त वित्तीय संस्था ४.९७, आँखु खोला जलविद्युत कम्पनी ४.९४, चौतारी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ४ प्रतिशतले कमाएका छन् ।

त्यस्तै पूर्णिमा विकास बैंकका सेयरधनीले ४ प्रतिशतले गुमाउँदा वरुण हाइड्रो पावर ३.८४, सिटी एक्सप्रेस फाइनान्स कम्पनी ३.७०, नयाँ नेपाल लघुवित्त विकास बैंक २.९४, वेस्ट फाइनान्स कम्पनी २.९४, सेन्ट्रल फाइनान्स कम्पनीका सेयरधनीले २.६५ प्रतिशतले गुमाएका छन् ।