जलेश्वरवासी तीन महिनादेखि खानेपानीबाट वञ्चित

जलेश्वरवासी तीन महिनादेखि खानेपानीबाट वञ्चित


महोत्तरीको जलेश्वर नगरपालिकाका करिब आधा उपभोक्ता तीन महिनादेखि खानेपानीबाट वञ्चित भएका छन् । नेपाल खानेपानी संस्थान शाखा कार्यालय महोत्तरी जलेश्वरबाट खानेपानी धाराको लाइन लिएका नगरपालिकाका एक हजार १८१ उपभोक्तामध्ये ६ सयभन्दा बढी उपभोक्ताले तीन महिनादेखि खानेपानीबाट वञ्चित रहेको गुनासो गरेका छन् ।

नगरपालिकाको साबिक वडा १, २, ३, ४, ५, ६, ७ र १० मा ग्राहक बनेका प्रत्येक घरधुरीमा तीन महिनादेखि खानेपानीको आपूर्ति नभएकाले उपभोक्ता पानीको अभावमा काकाकुल भएका छन् । ग्राहक खानेपानीको अभावमा टाढाटाढाबाट चापाकल, मोटर र बोरिङजस्ता स्रोतबाट पानी खान बाध्य रहेको जलेश्वर–२ का गोरेबाबा साहले बताए । तीन महिनादेखि खानेपानीबाट पानी नपाउँदा पिउन, खाना पकाउन, नुहाउन, लत्ताकपडा धुन र वस्तुभाउलाई खुवाउनसमेत निक्कै समस्या भएको जलेश्वर– ५ का विवेक साहले बताए ।

संस्थानका प्रशासन प्रमुख अजयकुमार प्रसादले नगरपालिकाको मुख्य बाटो भएर शहरी विकास मन्त्रालयको कार्यक्रमअन्तर्गत एपेक्स जेभी रोसन कन्स्ट्रक्सनले ह्युमपाइप राखेर नाला निर्माण गर्न लाग्दा खानेपानीको पाइप ठाउँठाउँमा बिग्रेकाले कार्यालयले ठाउँठाउँमा पानीको आपूर्ति रोक्नुपरेको बताए ।

नाला निर्माणका लागि ह्युमपाइप राख्न स्काइभेटरले बाटो खन्दा ठाउँठाउँमा खानेपानीको ६ इन्च र ८ इन्चका पाइपका साथै मुख्य पाइपसमेत तोडेको र अहिलेसम्म पनि तोड्ने क्रम जारी रहेको उनको भनाइ छ । खानेपानी कार्यालयले नगरपालिका प्रमुख रामशंकर मिश्र र प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई खानेपानी उपभोक्ताको समस्याबारे जानकारी गराउँदा उनीहरूले ठेकेदार कम्पनीले खानेपानीको पाइप फुटाएकै बखत मर्मतसम्भार गर्नुपर्ने बताए ।