टेलिकमको ‘प्रिपेड’मा पनि भारत र चीनमा रोमिङ सेवा

टेलिकमको ‘प्रिपेड’मा पनि भारत र चीनमा रोमिङ सेवा


नेपाल टेलिकमले प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा उपलब्ध गराउने भएको छ । यसअघि पोस्टपेड मोबाइल सेवामा मात्रै त्यस्तो सेवा दिइँदै आएकोमा आज (मंगलबार) देखि प्रिपेड सेवामा समेत उक्त सुविधा दिन लागिएको हो । देशबाहिर तत्कालका लागि भारत र चीनमा प्रिपेड रोमिङ सेवा उपलब्ध हुनेछ ।

टेलिकमले ‘आउट वाउन्ड रोमिङ’ सेवा शुरु गरेको हो । निकट भविष्यमै अन्य देशमा जाने नेपालीका लागि आफ्नै देशको मोबाइल सेवामार्फत आफ्ना आफन्तसँग कुराकानी गर्न सक्ने गरी व्यवस्था गरिनेछ । प्रिपेड सेवा लिएका नागरिकले बिनाधरौटी त्यस्तो सुविधा लिन पाउने भएका छन् । मोबाइलमा जे–जति मात्रामा रकम रहेको छ सोही आधारमा फोन गर्न पाउनेछन् ।

यसअघि पोस्टपेड सेवा लिएको ग्राहकले रु. दश हजार धरौटी राखेर रोमिङ सेवा लिँदै आएका थिए । टेलिकमका प्रबन्ध–निर्देशक डिल्लीराम अधिकारीले सेवा र सुविधालाई थप विविधिकरण गर्दै लैजाने सोचका साथ नयाँ–नयाँ योजना अगाडि सारिएको बताए ।

यस्तै टेलिकमले मंगलबारदेखि लागू हुने गरी जीएसएम पोस्टपेड ग्राहकलाई रु. नौ सयको प्याकेजमा प्रतिमहिना दुई जीबी डाटा उपलब्ध गराउने भएको छ । यही माघ २३ गतेदेखि आगामी फागुन ८ गतेसम्म दर्ता हुने नयाँ जीएसएम पोस्टपेड मोबाइल ग्राहकलाई तीन महिनासम्म प्रतिमहिना ‘अल टाइम’ डाटा एक जीबी र १०० मिनेटबराबरको टेलिफोन सुविधा उपलब्ध गराउनेछ ।

पर्यटकीय प्याकेजअन्तर्गत रु. पाँच सयमा पाँच जीबी डाटा, नेपाल टेलिकमको संयन्त्रमा ५० मिनेट टेलिफोन गर्ने सुविधा र ५० एसएमएस र १०० मिनेटको अन्तराष्ट्रिय फोन गर्नसमेत सकिनेछ ।

यस्तै रु. एक हजारमा १० जीबी डाटा र टेलिकमकै संयन्त्रमा १०० मिनेट फोन गर्ने सुविधा, १०० वटा एसएमएस र २०० मिनेटबराबरको अन्तर्राष्ट्रिय फोन गर्न सक्ने सुविधा दिइएको छ ।

टेलिकमको आम्दानी ४५ अर्ब

टेलिकमले आर्थिक वर्ष ०७४–७५ मा रु. ४५ अर्ब २७ करोडबराबरको नाफा गरेको छ । आव २०७३–७४ मा रु. ४४ अर्ब ५९ करोड आम्दानी गरेको थियो । कम्पनीको खुद नाफा १३.७३ प्रतिशतले वृद्धि भई आव २०७४–७५ मा रु. १७ अर्ब ४८ करोड पुगेको छ भने कम्पनीको प्रतिशेयर आम्दानीमा वृद्धि भई आव २०७४–७५ मा ११६.५६ प्रतिशत पुगेको छ ।

टेलिकमले सरकारी राजस्वमा उल्लेख्य योगदान गरेको छ र आगामी वर्ष पनि सो जारी रहने उल्लेख छ । कम्पनीले आव २०७४–७५ मा कर तथा गैरकरबापत कुल रु. २६ अर्ब ६५ करोड २० लाख सरकारी कोषमा योगदान गरेको छ । कम्पनीको कार्ययोजनाअनुसार आय र मुनाफामा वृद्धि हुँदा सरकारी राजस्वमा स्वतः वृद्धि हुने दाबी छ । कम्पनीका अनुसार गत मंसिरसम्म ग्राहक संख्या दुई करोड १० लाख ९८ हजार पुगेको छ । आव २०७३–७४ मा एक करोड ७६ लाख दुई हजार ग्राहक रहेकोमा १३.५१ प्रतिशतले वृद्धि भई २०७५ असार मसान्तसम्म एक करोड ९९ लाख ८० हजार पुगेको थियो । हाल टेलिघनत्व ७२.५० प्रतिशत पुगेको छ ।

कम्पनीले मुलुकको ७७ जिल्ला र सातै प्रदेशमा तारसहित र ताररहित सेवा तथा डाटा सेवा सञ्चालनमा ल्याएको छ ।