प्रहरी वृत्त बौद्धद्वारा चार महिनामा १७७ जुवाडे पक्राउ

प्रहरी वृत्त बौद्धद्वारा चार महिनामा १७७ जुवाडे पक्राउ


नेपाल सरकारद्वारा बन्देज लगाइएको जुवा तथा तास खेलेको अभियोगमा महानगरीय प्रहरी वृत्त बौद्धले चार महिनामा १७७ जुवाडेसहित रु. २५ लाख बरामद गरेको छ ।

०७५ असोज २४ देखि माघ २२ भित्र चार महिनाको अवधिमा बौद्ध परिसरका विभिन्न स्थानबाट १७ टोली जुवाडेसहित रु. २४ लाख ५४ हजार ६२५ बरामद गरिएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

भदौ १ देखि कार्यान्वयनमा आएको नयाँ मुलुकी अपराध संहितामा जुवा खेल्ने र चिठ्ठा सञ्चालन गर्ने पनि जेल जानुपर्ने सजाय थप गरेको भए पनि जुवा खेल्ने–खेलाउनेमा भने कमी आएको पाइँदैन । गत असोज २६ गते काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका–६ थलीबाट ६६ हजार ९०० नगदसहित मधु पौडेललगायत १५ जना विरुद्ध बौद्ध प्रहरीले मुद्दा चलाएको थियो । सोही महिनामा गोकर्णेश्वर नगरपालिकाको बँेसीगाउँबाट ४९ हजार ९५० नगद र दिलबहादुर राईसमेत सातजनालाई पक्राउ गरी उनीहरूविरुद्ध मुद्दा चलाइएको थियो ।

असोजमा मात्रै चार जुवाखालबाट रु. दुई लाख ८२ हजार ३९५ नगदसहित ३५ जनालाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त बौद्धले मुद्दा चलाएको हो । त्यस्तै कात्तिकमा काठमाडौंको बौद्ध परिसरभित्रका विभिन्न होटेल तथा जुवाखालबाट सादा पोसाकमा खटिएका प्रहरी अधिकृतसहितको टोलीले रु. ६ लाख १६ हजार ८२५ बरामद गर्नुको साथै ५९ जना जुवाडेलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

कपन र टाउन प्लानिङको क्षेत्रमा जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले मंसिरमा दुई जुवाखालबाट रु. ६ लाख तीन हजार ९८० सहित २१ जनालाई पक्राउ गरी मुद्दा चलाएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै, पुसमा दुई जुवाखालबाट प्रहरीले २८ जुवाडेसहित बौद्ध फूलबारी र थलीबाट रु. सात लाख ५० हजार ७५५ बारमद गरेको थियो । पक्राउ परेकाविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरी नायव उपरीक्षक चन्दले जानकारी दिए । चालू माघको २२ गतेसम्ममा ३४ जुवाडे पक्राउ परेका छन् भने उनीहरूबाट रु. दुई लाख ६७० बरामद भएको थियो । पक्राउ पर्नेबित्तिकै थप अनुसन्धानपश्चात् म्याद थप गरी मुद्दा दर्ता गर्ने गरेको प्रहरीले जानकारी दिएको छ ।

चन्दले भने, ‘जुवा खेल्न कसैले घर, कोठा, कुनै सम्पत्ति र गाडीमा ठाउँ दिएमा त्यस्तालाई पनि कारबाही गरिनेछ ।’ कानुनी रूपमा सो कार्यमा संलग्न रहेकालाई समेत कारबाही गरिने व्यवस्था रहेको उनले जानकारी दिए । बौद्ध क्षेत्रबाट महानगरीय प्रहरी वृत्त बौद्धले १६ वटा मुद्दा चलाएको छ भने प्रहरी परिसर टेकुले एक मुद्दा चलाएको छ । होटेल तथा रेस्टुराँलाई प्रहरीले निगरानीमा राखी छापा मार्न थालेपछि अहिले घरघरमा जम्मा भएर जुवा खेल्ने गरेको पाइएको महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक मीनबहादुर कुँवरले बताए ।

गोप्य सूचनाको आधारमा घरघरमा गएर पनि प्रहरीले जुवाडेको अखडामा छापा मार्ने गरेको छ । पछिल्लो समय घरबाटै अधिकांश जुवाडे पक्राउ पर्ने गरेको तथ्यांक रहेको कुँवरले जानकारी दिए । महानगरीय प्रहरी प्रभाग साँखु र प्रहरीचौकी नाङ्लेभारेले शनिबार काठमाडौं चापकोबोटबाट १२ जुवाडे पक्राउ गरेको थियो । उनीहरूमा अधिकांश ५० वर्ष नाघेका रहेका छन् । बजारकेन्द्रित जुवा अहिले बिस्तारै बजारबाट काठमाडौंको विभिन्न गाउँ क्षेत्रतिर सर्दै गएको प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिए । प्रहरीको पहँुचबाट बच्न सकिन्छ भन्दै जुवाडेहरूले अहिले काठमाडौं जिल्लाको ग्रामीण क्षेत्रलाई अखडा बनाउँदै गएको भए पनि प्रहरीले जुवा नियन्त्रणका लागि सूक्ष्म अनुसन्धानसहित कारबाही थालेको खनालले जानकारी दिए ।

मुलुकी अपराधसंहिताअनुसार पहिलोपटक जुवा खेल्ने र खेलाउनेलाई तीन महिनासम्म कैद वा रु. ३० हजारसम्म जरिवाना तोकेको छ । दोस्रोपटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना लाग्नेछ । त्यसपछि पनि जुवा खेल्ने र खेलाउने गरेमा तीन वर्षसम्म कैद र रु. १० हजार जरिवाना लाग्ने ०७५ भदौ १ गतेबाट लागू भएको मुलुकी अपराध संहितामा उल्लेख छ ।

संहितामा जुवा खेल्ने मात्र नभई अरूले खेलेको ठाउँमा च्याँखे थाप्नेलाई पनि जुवा खेलेबराबरकै कारबाही हुने कानुनी प्रावधान रहेको छ । भदौ १ गतेभन्दा पहिले जुवा खेल्नेलाई जुवा ऐन, २०२० अन्तर्गत कारबाही हुँदै आएको थियो । अहिले मुलुकी अपराध संहिता, २०७४ लागू भएपछि सोही कानुनी प्रावधानअनुसार कारबाही हुँदै आएको छ ।