उचित मूल्य नपाएपछि अन्डा उत्पादक किसान आन्दोलित

उचित मूल्य नपाएपछि अन्डा उत्पादक किसान आन्दोलित


लेयर्स कुखुरापालक कृषकले लागतअनुसारको मूल्य नपाएपछि नेपाल अन्डा उत्पादक संघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरूले नारायणगढमा सँगै रहेको दाना वितरक संघको कार्यालयमा पनि ताला लगाएका छन् ।

संघले किसानको हितमा काम गर्न नसकेको आरोप लगाउँदै पश्चिम चितवन अन्डा उत्पादक किसान संघ र पूर्वी चितवन अन्डा उत्पादक किसान आन्दोलित भई मंगलबार तालाबन्दी गरेका हुन् । बिचौलियाका कारण अन्डाको मूल्य पाउन नसकेपछि आन्दोलित हुनुपरेको पश्चिम चितवन अन्डा उत्पादक किसान संघका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

नेपाल अन्डा उत्पादक संघले समस्या समाधानका लागि विक्रेता र किसानलाई बोलाएको भए पनि विक्रेता नआएपछि किसानले तालाबन्दी गरेका हुन् । हाल बजारमा दानाको मूल्य बढेर प्रतिकिलो रु. ५३ पुगेको भन्दै संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले ठूलो अन्डा प्रतिक्रेट रु २३० मा मात्र बिकेको बताए ।

अहिलेको लागत मूल्यअनुसार कृषकले प्रतिक्रेट रु. ३०० पाउनुपर्ने उनको भनाइ छ । हाल बजार मूल्यअनुसार किसानले एउटा अन्डाको हाराहारी आठ रुपैयाँ पाएका छन् । सोही अन्डा उपभोक्ताले खरिद गर्दा रु. १५ तिर्नुपर्ने बाध्यता छ । दानाको मूल्य बढेपछि दैनिक कृषकले नोक्सानी व्यहोर्दै आएका छन् ।

चल्लाको मूल्यमा समेत अस्वाभाविक वृद्धि भएपछि ब्रोइलर कुखुरापालक कृषकले गत महिना मात्र चल्ला उठाउन रोकेर आन्दोलन गरेका थिए । हाल नेपालमा दैनिक ३५ लाख वटा अन्डा उत्पादन हुँदै आएको छ । दुई हजारभन्दा बढी कृषक लेयर्स कुखुरापालनमा आबद्ध रहेका छन् ।

संघका केन्द्रीय सचिव मदन पोखरेलका अनुसार लेयर्स कुखुरापालनबाट मात्र एक लाख ७० हजारजनालाई प्रत्यक्ष रोजगारी मिलेको छ । अन्डा उत्पादनका क्षेत्रमा मात्र देशभरमा रु. ५० अर्ब हाराहारी लगानी भएको पोखरेलको भनाइ छ ।