वि.सं. २०७६ को पात्रो प्रकाशन

वि.सं. २०७६ को पात्रो प्रकाशन


सार्वजानिक बिदा समावेश नगरी वि.सं २०७६ को पात्रो (पञ्चांग) प्रकाशन भएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

समितिले वि.सं. २०७६ का लागि तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति र सिद्धि गरी १३ वटा पात्रो (पञ्चांग) लाई स्वीकृति दिएको छ ।

समितिमा सरकारले नियुक्त गरेका धर्मशास्त्रविद् विद्वानको छलफलमा आगामी वर्षको चाडबाडसम्बन्धी निर्णय गरिएकाले स्वीकृत पात्रो प्रयोग गर्न समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले आह्वान गरेका छन् ।

आफूखुसी निस्कने पात्रोका कारण मानिसमा चाडबाडसम्बन्धी भ्रम सिर्जना हुने गरेको छ । गृह मन्त्रालयले वि.सं. २०७६ मा दिइने बिदाको सूची उपलब्ध नगराएकाले आगामी वर्ष पनि पात्रोमा सार्वजनिक बिदा समावेश हुन नसकेको उनले जानकारी दिए । यसअघि २०७४ र २०७५ सालमा पनि सार्वजनिक बिदा नराखी पात्रो प्रकाशन गरिएको थियो । ‘सार्वजनिक बिदा गृह मन्त्रालयले प्रकाशन गरेबमोजिम हुनेछ’ भन्ने सूचना पात्रोमा राखिएको उनले बताए ।

गृह मन्त्रालयले वि.सं. २०७६ मा दिइने बिदाको सूची उपलब्ध नगराएकाले पात्रोमा सार्वजनिक बिदा उल्लेख गरिएको छैन

समितिमा सरकारले नियुक्त गरेका विद्वानहरूको समूहले २०७६ सालमा पर्ने चाडपर्वको निर्णय गरी पात्रोमा समावेश गरेको छ । समितिको स्वीकृति नलिई प्रकाशन भएका पञ्चांगमा चाडपर्व फरक पर्ने गरेकाले यससम्बन्धी कारबाहीका लागि गृह र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा लेखी पठाइएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयले प्रकाशन गर्ने पात्रोले पनि समितिको स्वीकृति लिने गरेको छैन । विश्वविद्यालय आधिकारिक प्राज्ञिक थलो भएकाले स्वीकृति लिनुनपर्ने अध्यक्ष गौतमले बताए । समितिले काठमाडौंमा हुने सूर्योदयका आधारमा गणना गर्ने र विश्वविद्यालयले गौरीशंकर हिमालमा हुने सूर्योदयका आधारमा गणना गर्ने गरेकाले घडी पलामा केही फरक पर्ने गरेको जनाइएको छ ।

संस्कृति मन्त्रालयअन्तर्गतको समितिले प्रत्येक वर्ष प्रकाशन हुने पञ्चांगको मस्यौदा हेरी प्रकाशनका लागि स्वीकृति दिने गरेको छ । पञ्चांगमा तिथि, बार, योग, करण र नक्षत्र गरी पाँच अंग समावेश हुन्छन् । वि.सं. २०७६ को संवत्सर ‘परिधावी’ नामको रहेको समितिले जनाएको छ ।

मन्त्रिपरिषद्ले सार्वजनिक बिदा पुनरावलोकन गर्न गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा समिति गठन गरेको छ । समितिले आगामी वर्ष कुन–कुन दिन बिदा दिने भनी निर्णय गरिसकेको छैन । विगत वर्षभन्दा यस वर्ष धेरै सांस्कृतिक पर्वको सार्वजनिक बिदा कटौती गरिएकाले पुनरावलोकन गर्न विभिन्न समुदायले सरकारसँग माग गरेका छन् ।