कृषि तथा वन विज्ञान विश्वविद्यालयले स्तानकोत्तर भर्नाका लागि पुनः परीक्षा लिने

कृषि तथा वन विज्ञान विश्वविद्यालयले स्तानकोत्तर भर्नाका लागि पुनः परीक्षा लिने


कृषि तथा वन विज्ञान विश्वविद्यालय पशुविज्ञान, पशु चिकित्सा तथा मत्स्यविज्ञान संकायले स्नातकोत्तर तहको भर्ना प्रक्रिया रद्द गरेको छ ।

विश्वविद्यालयको डिनको कार्यालयले यही माघ ५ गते भर्नाका लागि लिइएको प्रवेश परीक्षा रद्द गरेको जनाएको हो । मंगलबार एक विज्ञप्ति जारी गर्दै भर्ना कमिटीको निर्णयअनुसार माघ ५ गते लिइएको प्रवेश परीक्षा रद्द गरी फागुन ७ गते पुनः परीक्षा लिइने जनाइएको छ ।

गत माघ ५ गते लिइएको प्रवेश परीक्षामा अनियमितता भएको भन्दै प्राध्यापक र विद्यार्थीले विरोध गर्दै आएका थिए । सो संकायकी डिन डा. शारदा थपलियाले रजिस्टारको कार्यालयबाट परीक्षा समितिमा रहेका पदाधिकारीले आफ्ना आफन्त भएमा समितिमा बस्न नमिल्ने विश्वविद्यालयको प्रावधान रहेको भन्दै परिपत्र गरेसँगै परीक्षा शंकास्पद रहेको भन्ने कुरा आएपछि परीक्षा प्रक्रिया नै रद्द गरिएको बताइन् ।

सो परीक्षामा पशु चिकित्साका लागि ३९ जना आवश्यक परेकोमा ७१ जना, ३० जना आवश्यक परेको पशु विज्ञानमा ११९ जना र ६ जना आवश्यक परेको मत्स्य विज्ञानमा ४५ जनाले प्रवेश परीक्षा दिएका थिए । ती संकायमा स्नातकोत्तरमा दुईवर्षे पढाइ हुने गरेको छ ।