प्रेरणाशक्ति र अद्भुत मस्तिष्क– पुण्यप्रसाद प्रसार्इं

प्रेरणाशक्ति र अद्भुत मस्तिष्क– पुण्यप्रसाद प्रसार्इं


bicharएक जोडी शिक्षकले सुस्तमनस्थितिका केही बच्चालाई लिएर परीक्षण गरे । तिनीहरूले आईक्यू टेस्टमा ३० देखि ४० अङ्क ल्याएका थिए । उनीहरूले ती बच्चालाई बताए– उनीहरू कति सुन्दर, कति प्रतिभाशाली छन् र के–के गर्न सक्छन् । शिक्षकले यो कुरा बारम्बार दोहो-याए । स्कुलका अन्य अधिकारीहरू उनीहरूको विचारको विरोधी थिए । ती बच्चाले जिन्दगीमा केही गर्न सक्छन् भन्ने विश्वास एकरत्ति पनि थिएन उनीहरूमा । उनीहरूले ती शिक्षकलाई सम्झाउँदै भने, ‘हेर, यिनीहरूप्रति दयालु बन । यिनीहरूलाई आराम र खुसी देऊ । तर, यिनीहरूले केही गतिलो कुरा हासिल गर्न सक्तैनन् ।’
तर, ती शिक्षकले अधिकारीहरूको कुरा मान्न अस्वीकार गर्दै बच्चाहरूलाई के कुरा बताउने कार्य जारी राखे भने उनीहरू कति महान् छन् । ती बच्चाहरूले पछि एउटा प्रतिष्ठित स्कुलमा गएर आईक्यू टेस्टमा १३० देखि १४० अङ्कसम्म ल्याएका थिए ।
बेंग्लोरकी सकुन्तला नामक एक महिलाले गणितका आश्चर्य लाग्ने उत्तर दिएर संसारलाई चकित पारिन् । अस्ट्रेलियाको सिड्नीमा उनले एक करोड साठी लाख मूल्य पर्ने कम्प्युटरसँग गणितका समस्या सुल्झाउनमा बाजी ठोकेर जितिन् । कम्प्युटरले कुनै पनि उत्तर दिन जति समय लगाउँथ्यो, सकुन्तला त्योभन्दा छिटो उत्तर दिन्थिन् । स्वामी विवेकानन्द पुस्तकमा हात राखेर केवल पाना पल्टाएको भरमा त्यो पुस्तक शब्दशः दोहो-याउन सक्थे ।
यसको मतलब के हो भने हरेक मानिसभित्र अस्तित्वले शक्ति र सामथ्र्य भरेको छ । हामीले ‘यो मानसिक रूपमा अपाङ्ग छ, यसले केही गर्न सक्तैन’ भनेको मानिसले समेत अद्भुत कार्य गरेर देखाउन सक्छ । त्यसकारण कुनै पनि वहाना बनाउन छोडौँ । म गरिब परिवारमा जन्मेँ, म शिक्षित छैन, ममा यो शारीरिक कमजोरी छ, म गलत समय र गलत देशमा जन्मेँ, म फलानो जाति, लिङ्ग या रङ्गको भएकाले गर्न सकिनँ । म अब बूढो भएँ । यी वहानाको ठाउँमा तपाईं आपूmमा विश्वास भर्नुहोस् । यी कुनै पनि कुरा समस्या होइनन् । यदि तपाईं आपूmमा विश्वासको जादु जगाउनुहुन्छ भने जेलाई तपाईं समस्या देखिरहनुभएको छ, तिनै तपाईंका लागि समाधानको बाटो बनेर देखापर्न थाल्नेछन् ।
तँ आँट म पु-याउँछु । मलाई कुनै बेला लाग्थ्यो, यो कसले भनेको होला । अब म बुझ्न थालेको छु । हाम्रो मस्तिष्कले हरबखत भन्छ– तँ आँट म पु-याउँछु । वास्तवमा हामी आँट गर्न सक्तैनौँ । त्यसैले केही पाउँदैनौँ । आँट अर्थात् सपना देख्ने साहस नभएकाले हामीले नपाएका हौँ । हामीलाई हाम्रो मस्तिष्कको शक्ति र सामथ्र्यबारे केही ज्ञान छैन, त्यसैले हामी ठूलो कुरा भन्दै कामबाट पन्छिन्छौँ । हाम्रो मस्तिष्क सर्वशक्तिमान छ । यो पारसमणि हो र यसले पत्थरलाई सुनमा परिणत गर्न सक्छ ।
तपाईंंको मनमा कामको सफलताप्रति विश्वास हुनु आवश्यक छ । कुनै कामप्रति तपाईंको मनमा जब ‘म सक्छु’ भन्ने विचार बन्छ तब तपाईंंको मस्तिष्कले त्यसलाई गर्ने, सफल पार्ने हजारौँ तरिका खोजेर ल्याउँछ । तर, यसविपरीत तपाईंंको मनमा ‘म सक्तिनँ कि’ भन्ने धारणा बन्छ भने तपाईंंको मस्तिष्कमा केही यस्ता विचार आउँछन्– मैले यस्तो काम पहिले कहिल्यै गरेकै छैन । मैले कसैले यस्तो गरेको देखेकै पनि छैन । यो काम सम्पन्न गर्न मसँग साधन कहाँबाट आउँछ ? म यस कामका लागि योग्य भएकै छैन । मैले योभन्दा अगि धेरै तयारी गर्नुपर्छ आदि । यस प्रकार तपाईंंको दिमाग कुनै न कुनै प्रकारले काममा बाधा उत्पन्न गर्छ र तपाईंं त्यसमा सफल हुन पाउनुहुन्न । जस्तो, तपाईं मोटो हुनुहुन्छ । निकै मोटो । ८० केजीभन्दा पनि निकै बढी । तपाईंलाई आफ्नो तौल घटाउनु छ । ६० केजी या त्योभन्दा पनि कमको बन्नु छ । तर, तपाईंलाई विश्वासै छैन– म यो तौल घटाउन सक्छु । कसैले तौल घटाएको कुरा तपाईंलाई केवल बनावटी कथाजस्तो लाग्छ । तब तपाईंको जीउ मात्र अल्छी बन्दैन, तपाईंको दिमाग पनि वहाना बनाउन थाल्छ । खानेकुरा देख्नसाथ तपाईंको मन रोकिनै मान्दैन, आ ऽ, आज एक दिन खाएर कति नै वेट बढ्ला र । एक दिनले के फरक पर्छ, भोलिदेखि बार्छु । भोलिदेखि खाना कम गर्छु । जब बिहान वाकमा जाने बेला हुन्छ, तब झ्यालको पर्दा खोलेर यसो बाहिर चियाउनुहुन्छ, धत् आज कुहिरो लागेको छ, चिसो पनि उत्तिकै छ, भोलिदेखि जान्छु । आङ तान्दै घडी हेरेर सोच्नुहुन्छ, आज त ६ बजिसकेछ, त्यो मुर्दार वाकबाट फर्किरहेको हुन्छ, मलाई त्यसको अनुहारै मनपर्दैन । भोलिदेखि जान्छु । र, त्यो भोलि कहिल्यै आउँदैन । तपाईंको दिमागले वाकमा नजाने हजार वहाना खोजेर तपाईंका अगाडि तेस्र्याउँछ । र, जसले भोलि भन्छ, उसले काम कहिल्यै गर्दैन ।
भोलिवादी बनेर जुन कामलाई तपाईं पन्छाइरहनुभएको छ, त्यसको मूल कारण हो– तपाईंलाई त्यो काम हुन्छ या गर्न सक्छु भन्ने विश्वास छैन । जबसम्म मानिसलाई कुनै काम गर्न सक्छु भन्ने विश्वास हुँदैन, तबसम्म ऊ आलटाल गरिरहन्छ । तपाईंंको मनमा ‘म यो गर्न सक्तिनँ कि’ भन्ने धारणा छ भने तपाईंंको दिमागले कस्ता–कस्ता विचार र वहाना बनाउन थाल्छ भने सुन्ने पनि चकित हुन्छ । तर, जब त्यसका विपरीत तपाईं आफ्नो वेट घटेर स्लिम बनेको कल्पना गर्न थाल्नुहुन्छ, आपूmमा विश्वास भर्नुहुन्छ, तब तपाईंलाई बिहान उठ्नका लागि घडीमा अलार्म लगाइरहनै पर्दैन । अलार्म बज्नुभन्दा अघि नै तपाईंका आँखा खुलिसकेका हुनेछन् । तपाईं दौडेर आएर सनराइज हेर्दै कफी खान मनपराउन थाल्नुहुन्छ । तपाईं बिहानका दृश्यहरू मनपराउन थाल्नुहुन्छ । अर्थात् तपाईंको विश्वाससँगै तपाईंको दिमाग पनि त्यो विश्वासलाई साकार बनाउने योजना बुन्न लाग्छ । त्यसकारण सफलताका लागि आवश्यक छ– दरिलो विश्वास ।