छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु


सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–२ कमेरेफाँटस्थित विपी राजमार्गमा बुधबार साँझ ६ः३० बजेतिर जन्ती लिएर आएको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकोे छ ।

काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–१ कठोरेबाट काभ्रेपलाञ्चोकको तेमालतर्फ बेहुली लिई आउँदै गरेको बा४ख ९४३८ नंको टिपर सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–२ कमेरेफाँटस्थित विपी राजमार्गमा अनियन्त्रित भई सडक छेउमा पल्टिँदा उक्त गाडीमा सवार तेमाल गाउँपालिका–९ का २२ वर्षीया कृष्णमाया माझी र सोही ठाउँका १६ वर्षीय चुनपाई लामाको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते हुनेहरुमध्ये तेमाल गाउँपालिका–९ का १२ वर्षीय दिनेश तामाङ र सोही ठाउँका १२ वर्षीय नीरज माझीको अवस्था जटिल रहेकाले ट्रमा सेन्टरमा लगिएकोे र अन्य घाइतेमध्ये सात जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ भने बाँकीको धुलिखेल अस्पतालमै उपचार भइरहेको छ । प्रहरीले टिपर चालक रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–१ का ३७ वर्षीय खड्क माझीलाई नियन्त्रणमा लिई घटनाबारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

उता, चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ग३ख ३२६९ नंको बसले लु५प ६८५६ नंको मोटरसाइकललाई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित कुरिनघाटमा बुधबार राति ९ः४५ बजे ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका– ४ लेवाटारका ३८ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको मुग्लिन इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नबीन बुढाथोकीले जानकारी दिए । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।

यसैबिच, तनहुँको बन्दीपुर बजारबाट आँबुखैरेनी गाउँपालिका–६ जालभञ्ज्याङतर्फ जाँदै गरेको ग२च ३२७० नं को जीप बन्दीपुर गाउँपालिका–५ स्थित झारगाउँमा आज राति ७ः३० बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ का ५० वर्षीया भीमकुमारी गुरुङ र सोही ठाउँका ५० वर्षीय मनबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनीहरुको उपचारका क्रममा मृत्यु भएको बन्दीपुर अस्पतालमा प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

जीप कच्ची सडकबाट ५० मिटर तल खस्दा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । दुर्घटनामा बन्दीपुर गाउँपालिका–५ कै ४५ वर्षीया चिजामाया गुरुङ, सोही ठाउँका ६० वर्षीया हरिमाया गुरुङ, ६० वर्षीया धनमाया गुरुङ, ५१ वर्षीया कमली गुरुङ र जीप चालक सोही ठाउँका २५ वर्षीय विर्खबहादुर गुरुङ घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि पोखरा लगिएको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिए ।