तीन दिनसम्म देशभर वर्षा हुने, हिमाली क्षेत्रमा हिमपात

तीन दिनसम्म देशभर वर्षा हुने, हिमाली क्षेत्रमा हिमपात


काठमाडौं उपत्यकामा आज विहानैदेखि पानी परेको छ । पानी परेसँगै चिसो पनि बढेको छ । मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार)देखि तीन दिनसम्म काठमाडौंसहित देशभर वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने प्रक्षेपण गरेको छ । आज देशका पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुने महाशाखाले जनाएको छ ।

बुधबार रातिदेखि नै देशभर मौसममा केही बदली भएको र विहीबार बर्षा भएको महाशाखाले जनाएको छ । ‘उच्च हिमाली क्षेत्रमा भारी हिमपात र केही पहाडी भू–भागमा भारी वर्षाको सम्भावना छ,’ मौसमविद् गंगा नगरकोटीले भने ।’

वर्षासँगै हिमपात हुने भएकाले शनिबारसम्म चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी भागमा भारी हिमपात हुने र पहिरो पनि जाने खतरा रहेको भन्दै मौसमविदले केही दिन ‘ट्रेकिङ’ नजान सुझाव दिएका छन् ।

गत पुस २३ गतेयता पश्चिमी वायू प्रभाव तिब्र रुपमा पर्दै आएको छ । पश्चिमी वायूको प्रभावले पुस २३ गते यस वर्षको पहिलो हिउँदे वर्षा समेत भएको थियो ।