चितवनमा उन्नाइस हजार सवारीचालक कारबाहीमा

चितवनमा उन्नाइस हजार सवारीचालक कारबाहीमा


जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १९ हजार सात सवारीचालकलाई कारबाही गरेको छ ।

कारबाही पर्नेमा मादक पदार्थ सेवन गर्ने ३८५, क्षमताभन्दा बढी सामान बोक्ने तीन हजार ९ सय ८८, सिटबेल्ट नबाँध्ने र हेल्मेट नलगाएका एक हजार १ सय ७८, सवारी चलाउँदा आवश्यक पर्ने कागजपत्र नबोकेका तीन हजार ३ सय ८ र सवारीचालक अनुमतिपत्र नभएका दुई हजार ७ सय २६ जना रहेका छन् ।

यस्तै सवारीसाधनमा बत्तीको अवस्था ठीक नभएका १ सय ५३, अन्यमा छ हजार ६ सय ६९, तीव्रगतिमा सवारी चलाउने ३ सय ४२, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने ६ सय २८ सवारीचालकलाई कारबाही गरिएको हो ।

जिल्लाको विभिन्न स्थानमा गरिएको जाँचका क्रममा कारबाहीमा परेका उनीहरूबाट एक करोड ४६ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । जिल्लामा बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि सञ्चालन गरिएका विभिन्न कार्यक्रम प्रभावकारी बन्दै गएको भए पनि सवारीसाधन लापरबाहीले चलाउनेको संख्यामा कमी आउन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिए ।