जीवनप्रतिको मोह कम हुँदै गएपछि मानिस ज्ञानी छ भने अत्यन्त सकारात्मक सोच राख्न थाल्छ, तर परिणामप्रति निरपेक्ष रहन्छ, तर अल्पबुद्धि, अल्पज्ञान या ज्ञान र बुद्धिविहीन मानिसले जीवनप्रति मोह राखेन या जीवनलाई बोझ ठान्न थाल्यो भने ती संवेदनाहीन हुन्छन्, त्यसपछि अत्यन्त क्रूर बोली–व्यवहार प्रस्तुत गर्न थाल्छन् । प्रधानमन्त्री पद सम्हालेपछि सुशील कोइरालाले तीनवटा घटनामा जुन संवेदनहीनता देखाए, यसले उनी कुन कोटिका मानिस हुन् भन्ने स्पष्ट गर्दै छ
नेपालको इतिहासमा पहिलोपटक सरकारसमक्ष न्यायका निम्ति माग राख्दै नन्दप्रसाद अधिकारीले आमरण अनशनसहित सत्याग्रह गरे, उनको स्वास्थ्यस्थिति अत्यन्त नाजुक भएको छ भन्ने जानकारी हुँदाहुँदै पनि सुशील कोइरालाले नन्दप्रसादलाई बचाउनुपर्ने तहको संवेदना व्यवहारतः प्रकट गरेनन् । नगर्नुका पनि कतिपय अभेद्य कारण हुन सक्छन्, पहिलो कारण छोराछोरीबिनाका मानिसलाई आफ्नो सन्तान मर्नु–मारिनुको पीडाबोध नहुनसक्छ, यसो एकाध घन्टा विछ्यौनामा बिताउँदैमा प्राप्त हुने उपलब्धि (सन्तान) मर्नु–मासिनुलाई कोइरालाले अत्यन्त सामान्य र स्वाभाविक रूपमा लिएका हुनसक्छन् । सन्तानको माया कस्तो हुन्छ भन्ने बुझ्न नन्दप्रसाद बनिरहनुपर्दैन, केवल एक सन्तानको जन्मदाता भए पुग्छ । एक रमणीय क्षणको अवाञ्छित परिणामका रूपमा सन्तानलाई बुझ्नेहरूले नन्दप्रसादको पीडा बुझ्न सम्भव थिएन, यस्तै संवेदनाहीन व्यक्ति प्रधानमन्त्री भएको समय पारेर नन्दप्रसादले आमरण अनशन गरे, आखिर ज्यानै गुमाउनुप-यो, सुशीलबाट दुःखका दुई थोपा आँसुको अपेक्षा गरिएकै थिएन, दुई थुङ्गा फूल नन्दको पार्थिव शरीरमा चढाउने आवश्यकता पनि उनले महसुस गरेनन् ।
सुशील कोइरालाको एमालेमाथि भरोसा थिएन र छैन, कुनै पनि बेला एमाले सत्ताबाट बहिरिन सक्छ भन्ने आशङ्का कोइरालाको मानसपटलमा सधैँ हरियो रङ्गमा जीवित छ । एमालेले सरकार छोडेमा एमाओवादीलाई साथ लिएर भए पनि आफू सत्तामा रहिरहनुपर्छ भन्ने मानसिकतामा रहेका कोइराला मर्दै गरेका नन्दप्रसादप्रति सायद अपेक्षित संवेदनशील हुन सकेनन् । मानवजीवनको मूल्यभन्दा सत्ता महत्वपूर्ण नठानिएको भए सुशीलबाट नन्दप्रसादलाई बचाउने तहको संवेदना प्रकट हुन पनि सक्थ्यो । ‘स्वच्छ छविका इमानदार’ सुशीलले मान्छेको जीवनभन्दा सत्ता महत्वपूर्ण भएको बुझिसकेका थिए, त्यसैले नन्दप्रसादले उनकै शासनकालमा न्याय माग्दै आफ्नो इहलीला समाप्त पार्नुप-यो ।
सुशील कोइराला संवेदनाहीन भएको पुष्टि बाग्लुङका सभासद् हरिबहादुर खड्काको दुर्घटना प्रकरणले पनि गरेको हो । काङ्गे्रसभित्रका अनेक धारमध्ये हरि खड्का सुशील कोइरालाले अगुवाइ गरेको ‘चिसो धार’भित्र थिएनन् । तथापि पार्टी सभापति सहभागी हुने कार्यक्रममा सामेल हुनुलाई निकै प्राथमिकता राखे र त्यही कारण खड्काले ज्यान पनि गुमाए । तर, खड्काको उपचारप्रति सुशील कोइरालाले जुन स्तरको उदासीनता देखाए, त्यसले पनि उनको संवेदनहीनता स्पष्ट गरेको हो । सभासद् खड्का काङ्गे्रसको आन्तरिक राजनीतिमा देउवानिकट हुनुका कारणले सुशील खड्काप्रति निर्दयी बनेकामा शङ्का गरिरहनुपर्दैन । संसदीय दलका नेताका लागि भएको निर्वाचनमा हरि खड्काले देउवालाई मतदान नगरेर सुशील कोइरालालाई सहयोग पु-याएका भए कोइरालाबाट आफूले प्रयोग गरेको हेलिकोप्टर ‘होल्ड’ गरेर राख्ने या खड्कालाई उपचारका लागि काठमाडौं नपु-याई पोखरामै अड्काउने असंवेदनशील कार्य नहुन सक्थ्यो । सुशील कोइराला आफूसँग असहमतहरूप्रति कतिसम्म असहिष्णु छन् भन्ने तथ्यबोध नभएकाहरूलाई हरि खड्का प्रकरणले स्तब्ध तुल्याएको हुनसक्छ । वास्तवमा सुशील कोइरालाको संसार यति सानो र सङ्कीर्ण छ कि आफूसँग असहमति, विमति या आलोचनात्मक दृष्टिकोण राख्नेहरू बाँचिरहेको देख्न–सुन्न पनि चाहँदैनन् कि भन्ने अनुभूत हुँदै छ ।
चिकित्सा क्षेत्रको सुधारका लागि पहिले भएका सम्झौता कार्यान्वयनको माग राख्दै डा. गोविन्द केसीले केही दिनअघिदेखि आमरण अनशन सुरु गरे । केसीको जीवनरक्षाको माग गर्दै आफूसमक्ष आएका नागरिक प्रतिनिधिहरूसमक्ष सुशील कोइरालाले जे–जस्तो व्यवहार प्रस्तुत गरे त्यसले पनि उनी कुनस्तरको संवेदनाहीन व्यक्ति हुन् भन्ने सङ्केत दिएको छ । ‘डा. केसी मर्छन् म त के गरौँ’ भनी सुशील कोइरालाले अभिव्यक्ति दिइरहँदा कोइरालामा मानवीय संवेदना मरिसकेको महसुस सहभागी नागरिक प्रतिनिधिहरूले गरेका थिए । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा नकारात्मक टीका–टिप्पणी भएपछि उनले आफ्नो बचाउको प्रयास गर्दै केही व्यक्तिलाई खण्डन गर्न लगाएका छन् । बचाउका लागि खण्डन गर्नु र गल्ती स्वीकार गर्दै आफूलाई बदल्न प्रयास गर्नु नितान्त भिन्न पहलु हुन् । सुशील कोइरालाले आफूलाई बदल्न चाहेनन् बरु आफैँलाई ढाकछोपको प्रयास मात्र गरे ।
ज्ञानी, ध्यानी र विद्वान्हरू जीवनको उत्तराद्र्धमा पुगेपछि आफूमा रहेको ज्ञान बाँड्न या आफूलाई थप सहज बनाउन यत्नशील रहन्छन् । तर, ज्ञान प्राप्त हुन बाँकी मान्छेहरूले आफैँ मर्ने अवस्थामा पुगेको महसुस गर्न थाले भने त्यस्ता मानिसमा वैराग्यभाव प्रकट हुँदैन, बरु संसारदेखि चिढिने र परपीडक प्रवृत्ति कसिलो हुँदै जाने मनस्थिति बन्दछ । सिनेम्याटोलोजीप्रतिको अधिक क्रेजले सुशीलको रुचि ज्ञान र ध्यानतिर कहिल्यै थिएन भन्ने स्पष्ट गर्दछ । त्यही विषय पनि उनले पढ्न पाएका भए उनको सोचको स्तर केही फराकिलो हुन सम्भव थियो । प्रजातन्त्र स्थापनाका लागि लडेका दाज्यूहरूको सेवामा आफूलाई समर्पण गरेपछि उनले ज्ञानवृद्धिको कुनै अवसर पाएनन्, फलस्वरूप सुशील कोइराला सेतो दाह्रीको आवरणमा वर्षौंदेखि देखापरिरहँदा पनि उनलाई कसैले ज्ञानी, ध्यानी वा विद्वान् मान्ने स्थिति बन्न सकेन । आफ्नो जीवनप्रतिको भरोसा ह्रास हुँदै जाँदा सुशील कोइरालामा नकारात्मक प्रवृत्ति बढेको महसुस भइरहेको छ । राम्रा मानिस कुनै कारणवश एचआईभी सङ्क्रमित भए भने तिनले आफ्नो बाँकी जीवन एचआईभी सङ्क्रमण हुनबाट जनतालाई जोगाउने अभियानमा समर्पण गर्न सक्छन्, तर खराब मानिसले आफूमा एचआईभी सङ्क्रमण भएको पायो भने ‘धेरैभन्दा धेरैलाई रोग कसरी सारौँ र सबैलाई आफूजस्तै कसरी बनाउँm’ भन्ने चिन्ता गर्न थाल्छ । सुशील कोइरालाले न्यायका लागि अनशनरत नन्दप्रसादको मृत्युमा पीडाबोध गरेको महसुस देशले गर्न पाएन । डा. गोविन्द केसीको सत्याग्रह, उनको माग र जीवनप्रति प्रधानमन्त्री सुशीलले दर्शाएको अभिव्यक्ति र व्यवहारले कोइराला कुन हदसम्मका अमानवीय र असंवेदनशील रहेछन् भन्ने थप प्रमाण दिइरहेको छ ।
देशवासी हरेक नागरिक तथा अन्य जल तथा स्थल प्राणीहरूको संरक्षण गर्नु कुनै पनि मुलुकका प्रधानमन्त्रीको प्रमुख कर्तव्य हुने गर्दछ । डा. गोविन्द केसी प्राणी मात्र नभई मानिस हुन् र भूमिकाले उनलाई उत्कृष्ट मानव प्रमाणित गरिसकेको छ । गोविन्दकै हाराहारीको अर्को मानव पैदा भएको हेर्न नेपालीले कैयन वर्ष प्रतीक्षा गर्नुपर्ने हुन्छ । सुशील कोइरालाजस्तै प्रधानमन्त्री बन्नसक्ने व्यक्ति दर्जनौँ भेटिन्छन्, तर डा. केसीजस्ता व्यक्ति दर्जन मात्र भेटिन पनि मुस्किल पर्छ । यस्ता व्यक्तिको सत्याग्रहलाई सरकारले तत्काल ‘रेस्पोन्स’ गर्नुपर्नेमा ‘मर्छन् भने म के गरौँ’ त भन्नेजस्तो गैरजिम्मेवार अभिव्यक्ति प्रधानमन्त्रीबाट आउनुले नेपालको राज्य र सरकार नागरिकप्रति कति संवेदनशील छ भन्ने तथ्य उजागार गरेको छ ।
‘आफैँ मर्ने स्थितिमा पुगेपछि मीतको टाउको बेलैसरि’ भन्ने नेपाली उक्तिको पुष्टि गर्ने व्यवहार सुशील कोइरालाबाट मात्र प्रकट भएको भए बेग्लै ढङ्गले बुझ्न सकिन्थ्यो, प्रधानमन्त्री सुशीलले यसप्रकार संवेदनहीनता दर्शाउनुलाई कदापि क्षम्य मँन्न सकिँदैन । संवेदनहीनहरूको प्रतिस्पर्धामा प्रथम बन्नका लागि आफूलाई प्रधानमन्त्री बनाइएको होइन भन्ने ज्ञान–चेत सुशील कोइरालामा पैदा होस्– शुभकामना ।
प्रतिक्रिया