सदस्यसचिवप्रति स्थापितको चासो

सदस्यसचिवप्रति स्थापितको चासो


sportराष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव केशव स्थापितले राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवप्रति पुनः चासो प्रकट गरेका छन् । नेपाल आइस हक्की सङ्घको विशेष साधारणसभाका प्रमुख अतिथि रहेका स्थापितले राखेपप्रति आफ्नो भूमिका र दाबेदारीप्रति सङ्केत गरेपछि सदस्यसचिवप्रति उनको चासो बढेको प्रस्ट रूपमा देख्न सकिन्थ्यो । सो अवसरमा स्थापितले आफूलाई पूर्वभन्दा पनि भविष्यको सदस्यसचिव भन्न आग्रह गरेपछि खेलकुदमा उनको आगमनमा लालमोहर लागेको विश्वास गर्न सकिन्थ्यो । उनले वर्तमान सदस्यसचिव युवराज लामाको कार्यकाल अब ७० दिन मात्रै बाँकी रहेको स्मरण गराउँदै त्यसपछिको उत्तराधिकारी आफू भएको र त्यसका लागि मार्गप्रसस्त गरेको सङ्केतसमेत दिएका थिए । स्थापितले ‘नाग’ नागपञ्चमीका दिन मात्रै निस्कने सत्यतालाई उजागर गर्दै आफू पनि समयको मागसँगै खेलकुदमा झुल्कन लागेको प्रस्ट पारेका थिए । ‘हावा नचली पात हल्लिँदैन’ भनेझैँ स्थापितको गर्जनमा पनि सत्यता लुकेको छ भन्दा अतिसयोक्ति नहोला ।
०४६ को आन्दोलनपछि विभिन्न समयमा राष्ट्रिय खेलकुद परिषद्मा नियुक्ति भएर आएका सदस्यसचिवहरूको निष्पक्ष रूपमा मूल्याङ्कन गर्ने हो भने दुईजनाको नाम प्रमुख रूपमा आउँछ । ती हुन्– केशव स्थापित र युवराज लामा । जसले तथालिङ्ग र भताभुङ्ग अवस्थामा रहेको खेलकुदलाई केही हदसम्म व्यवस्थित र उचाइमा पु-याउन अहम् भूमिका निभाएका छन् । लामाले चार वर्ष खेलकुदमा बिताउँदा निकै उतारचढावको सामान गर्नुपरेको जगजाहेरै छ । यस्तो विषम परिस्थितिमा पनि राजनीतिक हस्तक्षेपको विरुद्धमा डटेर लडेका लामाले खेलकुदमा ‘नजिर’ कायम गर्न भने सफल भएका छन् । अब राखेपमा आउने अन्य सदस्यसचिवले राजनीतिक परिवर्तनसँगै दलीय स्वार्थकोे सिकार बन्नुपर्ने छैन । राजनीतिको जोड–घटाउकै सिकार बनेका केशव स्थापितले मात्र सात महिना खेलकुदलाई हाँक्ने अवसर पाएका थिए । उनले आफ्नो छोटो कार्यकालमा पनि राजनीतिलाई हावी हुन दिएनन् । बरु कुनै राजनीतिक पूर्वाग्रह नराखी खेलकुद व्यक्तित्वको पहिचान गरी खेलकुदको विकासमा निरन्तर लागिपरे । जसको उदाहरण उनले आफ्नो सदस्यसचिव पदलाई दाउमा राखेर गणेश थापालाई फुटबल सङ्घको अध्यक्ष बनाएकोलाई प्रमुख रूपमा लिन सकिन्छ । यस्तै अविष्मरणीय थुप्रै कार्य गरेर आफ्नो छोटो समयमा स्थापित खेलाडी, खेलप्रेमीको मानसपटलमा छाएका थिए ।
यतिबेला राखेपको सदस्यसचिवको कार्यकाल सकिन केवल दुई महिना मात्र बाँकी रहेको अवस्था छ । यस्तो अवस्थामा सदस्यसचिवको पद हत्याउन नेताहरूको घरदैलोमा राजनीतिक कार्यकर्ताहरूको दौडाहा सुरु भइसकको छ । यस्तो घिनौनो खेल हिजो पनि चलेको थियो र अहिले पनि चल्ने पक्का छ । यसर्थ यस्ता मौसमी किराहरूबाट खेलकुदलाई बचाउन उनीहरूको समयमै पहिचान गरी पार्टी र नेताहरूले समयसापेक्षअनुसार खेल जगत्को मागअनुसार निर्णय गर्नुपर्ने देखिन्छ । यदि यसको रोकथाम समयमै गर्न सकिएन भने खेलकुदको डुङ्गा मझधारमा डुब्ने पक्का छ । यस्तो अवस्थामा नेपालमा साँच्चिकै खेलकुदको विकास गर्ने हो भने यी दुई महारथीमध्ये एकलाई पुनः राखेपमा पुनर्वहाली गरे खेलकुदले फड्को मार्ने देखिन्छ । तर, राजनीतिक स्वार्थले गाँजेका राजनीतिक दलहरूले यसै गर्लान् भनेर यकिन गर्न सक्ने अवस्थाचाहिँ छैन । र पनि दलहरूको बुद्धिमा घाम लाग्यो भने उनीहरूको छविमा समेत सकारात्मक असर पर्ने कुरालाई भने नकार्न सकिँदैन । यसर्थमा यी दुई व्यक्तित्वहरूको नियुक्ति स्वयम् राजनीतिक पार्टीका लागि समेत अत्यन्त हितकर हुने देखिन्छ । साँचो अर्थमा भन्नुपर्दा राम्रो–नराम्रो छुट्याउन सक्ने, के गर्दा नेपाली खेलकुदको भलो हुन्छ भन्ने कुरा राजनीतिक दलका नेताहरूले अहिले बुझ्नुपर्ने जरुरी भइसकेको छ । जुन खेलकुदमा राजनीति गर्ने, पदका लागि चाकरी–चाप्लुसी गर्नेहरूका लागि एक सबकसमेत बन्नेछ । अन्यथा पैसाको खोलो बगाएर पदमा आसिन हुने र पैसा असुल्न खेलकुदलाई निसाना बनाउनेहरूका लागि खेलकुद एउटा कमाउ थलोबाहेक केही बन्ने छैन ।

पर्यटन विकासमा आइस हक्की ‘सेतु’ बन्ने
नेपाल आइस हक्की सङ्घको विशेष साधारणसभा हालै सम्पन्न भएको छ । साधारणसभाले सो खेलको प्रतियोगिता तथा अन्य विवाद समाधानको सम्पूर्ण अधिकार कोर्ट अफ आर्बिटर फर स्पोर्टस्मा मात्र पुनरावेदन गर्न पाउने गरी विधान संशोधन गरेको छ । अन्तर्राष्ट्रिय आइस हक्की महासङ्घको सुझावअनुसार नेपाल आइस आइस हक्की सङ्घको विधानमा यस खेलसँग सम्बन्धित कुनै पनि विवादहरूमा अन्तर्राष्ट्रिय आइस हक्की महासङ्घको पुनरावेदन प्रक्रियामा गएपछि त्यस्ता विवादहरू स्विट्जरल्यान्डको लोसोनोभामा रहेको कोर्ट अफ आर्बिटेसन फर स्पोर्टस्समक्ष पेस गर्ने प्रावधान पास गरेको सङ्घका अध्यक्ष लोकबहादुर शाहीले बताए । त्यस्तै अनुशासनसम्बन्धी सम्पूर्ण कारबाहीको जिम्मेवारी सङ्घमा निहित रहने व्यवस्था गरिएको छ ।
विशेष साधारणसभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव केशव स्थापितले गरेको थिए । उनले सो अवसरमा नेपालमा पर्यटनसँग आइस हक्की खेललाई जोड्दै भविष्यमा पर्यटन विकासका लागि आइस हक्की ‘सेतु’ बन्ने बताएका थिए । स्थापितले गरेपछि असम्भव भनेको केही नभएको चर्चा गर्दै एक दिन आइस हक्की पनि नेपालको चर्चित खेलमा समावेश हुने बताए । उनले नेपालमा सबै खेलको सम्भावना भएको र आइस हक्की नेपाल सुहाउँदो खेल भएकोसमेत सो अवसरमा बताएका थिए । नेपालको भौगोलिक बनावट यस्तै साहसिक खेलका लागि भएको बताउँदै सम्बन्धित निकायले यस्तो खेलप्रति विशेष चासो राखेर सहयोग गर्नुपर्नेसमेत धारणा राखेका थिए । सो कार्यक्रममा पूर्वसदस्यसचिव स्थापितले साधारणसभाको उद्घाटन सत्रमा सङ्घको आधिकारिक वेबसाइट WWW.icehockeynepal.org.np को लन्च पनि गरका थिए ।
सङ्घका अध्यक्ष शाहीले सङ्घले हालसम्म गरेको गतिविधि प्रस्तुत गरेका थिए । सो अवसरमा शाहीले वार्षिक प्रतिवेदन पेस गर्दै हालसम्म बाह्रवटा जिल्लामा आइस हक्की सङ्घको गठन भएको जानकारी गराएका थिए । वर्तमान अवस्थामा विभिन्न स्थानमा इनलाइन हक्कीका लागि जग्गा खोज्ने कार्य भइरहेको र जग्गा उपलब्ध भएपछि पहिलो चरणमा इनलाइन हक्कीका लागि भौतिक पूर्वाधार निर्माण गरिने बताए । गत असारमा राष्ट्रिय खेलकुद परिषद्मा एक सय ४२औँ सङ्घका रूपमा दर्ता भएको नेपाल आइस हक्की सङ्घले पहिलो चरणमा १५ जिल्ला सङ्घ गठन गर्ने लक्ष्य रहेकोसमेत बताए । केही महिनाभित्रै ती जिल्ला सङ्घ गठनतर्फ सङ्घ लाग्नेसमेत बताए । अहिले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म आइस हक्कीका जिल्ला सङ्घहरू गठन भएको चर्चा गर्दै अब तनहुँ, मनाङ र दाङमा गरिने बताए । वर्तमान अवस्थासम्म इलाम, मकवानपुर, दोखला, कास्की, भक्तपुर, काठमाडौं, ललितपुर, नुवाकोट, रसुवा, गोरखा, डडेल्धुरा र धादिङमा जिल्ला आइस हक्की सङ्घ गठन भइसकेका जानकारी गराएका थिए ।
शाहीले प्राविधिक, खेलाडी तथा प्रशिक्षक उत्पादन गर्न सङ्घ लागिरहेको बताएका थिए । एक वर्षभित्र कम्तीमा दुईजना प्राविधिक, तीनजना प्रशिक्षक र ५० जना खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको र त्यसका लागि अन्तर्राष्ट्रिय प्राविधिक तथा प्रशिक्षक नेपालमा ल्याउने सम्बन्धमा छलफल भइरहेको बताएका थिए । शाहीले केही दिनमै सङ्घले अन्तर्राष्ट्रिय मान्यता पाउनेसमेत दाबी गरेका थिए । त्यस्तै शाहीले नेपाल ओलम्पिक कमिटीसँग आबद्धताका लागि आवश्यक कागजात पेस गरेको र एनओसी सङ्घप्रति सकारात्मक रहेको जानकारी गराएका थिए । त्यस्तै नेपाल आइस हक्की सङ्घको पहुँच अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गर्नका लागि सङ्घले मलेसिया र न्युजिल्यान्डको प्रतिनिधिको रूपमा संगकर प्रसादलाई सङ्घको मानार्थ सदस्य प्रदान गरेको बताए । यसैगरी युचिदा खगेश्वरलाई सङ्घले जापानको प्रतिनिधिको रूपमा चयन गरेको छ । त्यस्तै भारतको देहरादुनमा रहेको आइस हक्की रिङमा नेपाली खेलाडीहरूलाई प्रशिक्षण दिलाउने सन्दर्भमा उत्तराखण्डका पूर्वखेलकुदमन्त्रीसँग छलफल भएको जानकारी गराएका थिए ।
त्यस्तै पूर्वखेलकुद राज्यमन्त्री तथा नेपाल आइस हक्की सङ्घका उपाध्यक्ष भुवन पाठकले छोटो समयमा नेपाल आइस हक्की सङ्घले ठूलो फड्को मारेको चर्चा गर्दै आइस हक्कीको नेपालमा प्रचुर सम्भावना रहेको बताएका थिए । पाठकले कुनै पनि खेलको विकासका लागि आत्मविश्वास हुनुपर्ने र त्यो आत्मविश्वास आफूले आइस हक्की सङ्घका पदाधिकारीहरूमा देखेको बताए । त्यस्तै अर्का उपाध्यक्ष श्रीविक्रम भण्डारीले आइस हक्कीबारे प्रकाश पार्दै पहिले हास्यको पात्र बनेको आइस हक्की अहिले ठूलो परिवार बनेको र आगामी दिनमा नेपालको चर्चित राष्ट्रिय सङ्घ बन्ने दाबी गरेका थिए । यसैगरी कोषाध्यक्ष हरि मानन्धरले आर्थिक प्रतिवेदन पेस गरेका थिए । जिल्लाका सहभागी पदाधिकारीको तर्फबाट कास्की जिल्लाका विद्या मरासिनी र भक्तपुर जिल्लाका किरण थापाले आफ्नो मन्तव्य राखेका थिए । ती पदाधिकारीहरूले यतिबेला केन्द्रीय सङ्घले आर्थिक अभाव झेलिरहेकाले त्यसका लागि जिल्ला सङ्घहरूले सहयोगसमेत गर्नुपर्ने धारणा राखेका थिए ।

खेल समाचार
वीरमान, सुजाता र सविन च्याम्पियन
नेपाल आर्मीका वीरमान लामा, लुम्बिनीकी सुजाता राई र आर्मीकी सविना श्रेष्ठले १८औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिताको आ–आफ्नो स्पर्धामा स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष खुला तौल समूहको फाइनलमा वीरमानले आफ्नै क्लबका बद्री थापालाई पराजित गरका थिए । आर्मीकै झनक शाही तेस्रो र लुम्बिनीका गोपीराम स्याङ्तान चौथो भए । महिला ५५ केजीमुनिको उपाधि भिडन्तमा सुजाताले लुम्बिनीकै झलकुमारी महतोलाई हराइन् । बागमतीकी सुस्मिता राई तेस्रो र धौलागिरीकी शर्मिला मगर चौथो बनेका थिए ।
नेपाल क्योकुसिन कराते डो सङ्घद्वारा आयोजित प्रतियोगिताको महिला खुलामा स्वर्ण जितेकी सविनाले फाइनलमा प्रतिद्वन्द्वी बागमतीकी निर्मला बज्राचार्यको चुनौती समाप्त पारिन् । भेरीकी सपना गन्धर्व तेस्रो र लुम्बिनीकी सपना न्यौपाने चौथो स्थानमा रहेका थिए । पुरुषतर्फ पहिलो हुनेले ३० हजार, दोस्रोले १५ हजार, तेस्रोले सात हजार पाँच सय र चौथोले तीन हजार पाँच सय नगद पुरस्कार हात पारे । महिलाको दुवै स्पर्धामा शीर्ष चार स्थान हात पार्ने खेलाडीले क्रमशः ६ हजार, तीन हजार, एक हजार पाँच सय र सात सय ५० का दरले नगद पुरस्कार जिते । त्यस्तै, महिलाको दुवै स्पर्धामा शीर्ष चार स्थान हात पार्ने खेलाडीका लागि मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय सदस्य गणेश लामाले एकमुष्ट ३० हजार नगद पुरस्कार छुट्टै प्रायोजन गरेका थिए । विजेतालाई सभासद् तीर्थ लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए । दुईदिने प्रतियोगितामा ७० खेलाडीले तीन स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

इन्कबाट विमलालाई एक हजार डलर
यूएसए नेपाल स्पोर्टस् एन्ड कल्चर (इन्क) ले १७औँ इन्चोन एसियाडकी पदक विजेता बिमला तामाङलाई सम्मान गरेको छ । सम्मानस्वरूप बिमलालाई प्रमुख अतिथि संविधानसभा सदस्य मोहन राईले एक हजार अमेरिकी डलर प्रदान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि राई, विशेष अतिथि संविधानसभा सदस्य रेशम लामा र राष्ट्रिय मान्यता प्राप्त नेपाल कराते महासङ्घका अध्यक्ष दाबा गुरुङले बिमलालाई बधाई दिनुका साथै भविष्यमा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिएका थिए । कराते खेलाडी बिमलाले एसियाडमा एकल कातामा कास्य पदक जितेकी थिइन् । जुन नेपालले सो एसियाडमा जितेको एक मात्र पदक हो । कार्यक्रममा इन्कका उपाध्यक्ष मनमोहन वाइवाले संस्थाको गतिविधिबारे प्रकाश पारेका थिए ।
सन् २००९ मा स्थापित इन्कले मिर्गाैलारोगबाट पीडित मञ्जु तुलाधरको उपचारको क्रममा १ हजार तथा एथलेटिक्स प्रशिक्षक धनीराम चौधरीको सहयोगका लागि पाँच सय अमेरिकी डलर सहयोग गरेको थियो । इन्कले दिवंगत ओलम्पयन चित्रबहादुर गुरुङको परिवारलाई २६१४, वालिङका विष्णु घलानको परिवारलाई २५४४ तथा करातेका गोपाल खड्काको परिवारलाई ७५० अमेरिकी डलर सहयोग गरेको थियो । यसैगरी, गत एसियाडका पदक विजेता बक्सिङका दीपक महर्जनलाई एक हजार अमेरिकी डलर सहयोग गरेको थियो । ओलम्पकमा स्वर्ण जित्नेलाई पाँच हजार, रजत जित्नेलाई तीन हजार तथा कास्य जित्नेलाई दुई हजार अमेरिकी डलर पुरस्कार दिने निर्णय इन्कले गरेको छ । यसैगरी, एसियाडमा स्वर्ण जित्नेलाई तीन हजार, रजत जित्नेलाई दुई हजार तथा कास्य जित्नेलाई एक हजार डलर दिने निर्णय इन्कले गरेको छ ।

वादोरियोका सिमोन सम्मानित
सुवेदी खत्री समाजले आफ्नो सातौँ वार्षिक साधारणसभाका अवसरमा अन्तर्राष्ट्रिय पदक विजेता वादोरियो कराते खेलाडी सिमोन खत्रीलाई नगदसहित सम्मान गरेको छ । समाजका अध्यक्ष, वादोरियोका प्रमुख प्रशिक्षक, नेपाल कराते महासङ्घका महासचिव एवम् दक्षिण एसियाली वादोरियो कराते महासङ्घका अध्यक्ष हरिशरण केसीले सिमोनलाई नगद १५ हजार एक रुपैयाँसहित प्रशंसापत्र प्रदान गरी सम्मान गरको थियो ।
सिमोनले २०१३ मा मलेसियामा भएको १०औँ वादोरियो खुला करातेमा एक स्वर्ण, २०१३ मै श्रीलंकामा भएको प्रथम वादो अन्तर्राष्ट्रिय करातेमा एक स्वर्ण तथा भारतमा भएको दक्षिण एसियाली वादोरियो करातेअन्तर्गत २०१३ मा भएको चौथो संस्करणमा एक स्वर्ण र २०१४ मा भएको पाँचौँ संस्करणमा दुई स्वर्ण जितेका थिए । सोही अवसरमा २०७० सालको एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण हुन सफल खत्री समाजका सावित्री खत्री, सरोज खत्री, मनीषा खत्री, युवराज खत्री, आरतीकुमारी खत्री र रमेश खत्री पनि प्रशंसापत्रबाट सम्मानित भए । त्यस्तै सहसेनानी दुर्गाबहादुर खत्री, उपसेनानी गोविन्दहरि खत्री तथा सहायक प्रहरी निरीक्षक शान्ति खत्रीलाई पनि सम्मान गरिएको थियो ।

पामलाई सीडब्लूसीएनलाई जुडो उपाधि
बन्दी सहायता नियोग (पाम) ले प्रथम सीडब्लूसीएन अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपको उपाधि जितेको छ । पामले सात स्वर्ण, एक रजत र एक कास्य जित्दै टिम च्याम्पियन बनेको थियो । घरेलु खेलाडीको सहभागितामा भएको गत दुई संस्करणको प्रतियोगितामा पनि पाम नै च्याम्पियन बनेको थियो । दुई स्वर्ण, चार रजत र दुई कास्यमा आयोजक बाल वातावरण केन्द्र (सीडब्लूसीएन) ‘सी’ दोस्रो भयो । तेस्रो स्थानको आयोजक ‘ए’ ले एक स्वर्ण, दुई रजत र चार कास्य हात पा-यो । पुरुषमा भुटानका तान्डिङ वाङचोक र महिलामा पामकी मनिता प्रधान श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । दुवै आ–आफ्नो स्पर्धाका स्वर्ण विजेता हुन् । विजेतालाई नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्य, पी फ्लास्टर कम्पनी, जापानका अध्यक्ष तोमोकी खाजामी, बालकल्याण समाजका संस्थापक अध्यक्ष किरणदत्त तिवारीलगायलते पुरस्कार प्रदान गरेका थिए । दुईदिने प्रतियोगितामा नेपाल र भुटानका एक सय २६ खेलाडीले १६ स्वर्णका लागि प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक धर्मकुमार श्रेष्ठले जनाएका छन् ।

राष्ट्रिय फुलकन्ट्याक्ट कराते लामोसाँघुमा
नेपाल फुलकन्ट्याक्ट कराते महासङ्घको आयोजनामा प्रथम ओयामा कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता सिन्धुपाल्चोकको लामोसाँघुमा चैत २८ गते हुने भएको छ । प्रतियोगितामा महासङ्घमा आबद्ध विभिन्न आठ खेल सङ्घका खेलाडीको सहभागिता रहने पत्रकार सम्मेलनमा आयोजक महासङ्घका उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक दमन बस्नेतले जानकारी दिए । पुरुषतर्फ खुला र ५५ केजीमुनि तथा महिलामा खुला तौल समूह गरी तीन स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताम करिब ६० खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ । प्रतियोगिता सञ्चालन गर्न करिब ६ लाख खर्च हुने आयोजकले जनाएको छ । फुलकन्ट्याक्ट करातेका जन्मदाता मासुतासु ओयामाको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।