सरकारले दियो चिलिमे–त्रिशूली प्रसारण लाइन क्षेत्रमा रुख कटानको स्वीकृति

सरकारले दियो चिलिमे–त्रिशूली प्रसारण लाइन क्षेत्रमा रुख कटानको स्वीकृति


सरकारले चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन रुटमा पर्ने रुख काट्न स्वीकृति दिएको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रसारण लाइन रुटको रुख कटान गर्न स्वीकृति दिएको हो ।

प्रसारण लाइनको टावर र तार मुनि (राइट अफ वे) को रुख कटान गर्न गरेको प्रस्ताव अनुमोदन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए । उनका अनुसार मन्त्रिपरिषदको स्वीकृतिपछि आयोजनाले ४१.७६४ हेक्टर क्षेत्रको जग्गा भोगको अधिकार पाएको छ ।

मन्त्रिपरिषदको स्वीकृतिपछि प्रसारण लाइन निर्माणको गति बढाउन बाटो खुलेको आयोजना प्रमुख केदार सिलवालले बताए । उनका अनुसार स्वीकृत प्रस्ताव वन विभागमा आउनेछ । ‘स्वीकृत प्रस्ताव वन विभागमा आएपछि सम्झौता गर्छौं,’ उनले ऊर्जा खबरसँग भने,‘ रसुवा र नुवाकोटमा पनि छुट्टै सम्झौता हुन्छ ।’

सम्झौतापछि दुवै जिल्लाको डिभिजन वन कार्यालय, वन उपभोक्ता समिति र आयोजना मिलेर कटान हुने रुखमा टाँचा लगाउन सुरु गरिनेछ । यो सबै प्रक्रिया पूरा गर्न एकदेखि डेढ महिनाको समय लाग्ने पनि सिलवालले बताए ।

प्रसारण लाइन आयोजना अन्तर्गत २७ किलोमिटर क्षेत्रमा पर्ने ४१.७६५ हेक्टर वनमा ३ हजार ८ सय २५ रुख कटान उनले जानकारी दिए । नुवाकोटमा ५ सय ११ र रसुवामा ३ हजार ३ सय १४ रुख कटान हुनेछन् ।

यसअघि डिभिजन वन कार्यालय रसुवाले प्रसारण लाइनको वन क्षेत्रमा पर्ने संरचना निर्माण गर्न मन्त्रिपरिषदको स्वीकृति अनिवार्य रहेको भन्दै अवरोध गरेको थियो । डिभिजन वन कार्यालयको अवरोधपछि रुख कटान गर्नु नपर्ने स्थानमा समेत टावरको फाउन्डेसन निर्माणमा रोक लगाएको थियो । स्वीकृति लिन भएको ढिलाइले चालु वर्षभित्र प्रसारण लाइन निर्माण पूरा हुने सम्भावना न्युन बन्दै गएको छ ।

समयमा प्रसारण लाइन पूरा नहुँदा रसुवा र नुवाकोटमा निर्माणाधीन आयोजनाको विद्युत खेर जानेछ । ३ करोड ५० लाख अमेरिकी डलर (करिब ३ अर्ब ५० लाख रुपैयाँ) अनुमानित लागत रहेको आयोजनामा सरकार, जर्मन विकास बैक (केएफडब्लु) र युरोपियन इन्भेष्टमेन्ट बैक (इआइबी) को लगानी छ ।