चाइना फाउन्डेसन फर पिस एन्ड डिभलपमेन्टका उपमहासचिव ची पिङ चिनियाँ कम्युनिस्ट पार्टीमा राम्रो हैसियत भएका व्यक्ति मानिन्छन् । मार्च १६ का दिन नेपाली भ्रमण टोलीको अन्तरक्रियात्मक छलफल कार्यक्रम सीएफपीडीकै मुख्यालयमा राखिएको थियो । एक समय कूटनीतिज्ञहरूका रूपमा करिब सात वर्ष नयाँदिल्लीमा बिताएका ची हिन्दी भाषाको समेत सामान्य ज्ञान राख्दा रहेछन् । तर, उनले आपसी संवादको क्रममा हिन्दीको प्रयोग भने गरेनन् । ‘चीनलाई बुझ्न चीनको चरित्र बुझ्नुपर्ने भन्दै चीले राष्ट्रियता, भाषा, जनसङ्ख्या र धर्मलाई बुझेपछि चीनबारे जानकारी पाउन सकिन्छ,’ उनी भन्छन् । पचपन्न (५५) अल्पसङ्ख्यक जनजाति समुदाय भएको चीनमा करिब एक करोड साठी लाख तिनको सङ्ख्या रहेको, करिब एक अर्ब मानिस बौद्धमार्गी तथा चार करोड मुसलमान धर्मावलम्बीहरूको बसोबास भएको जानकारी गराउँदै चीले विश्वमा मुसलमानहरूको नवौँ ठूलो जनसङ्ख्या भएको देश चाइना भएको स्पष्ट गरे । उनले भने, ‘चीनका आफ्नै केही मौलिकताहरू छन्, हामी पश्चिमाहरूले अपनाएको राजनीतिक प्रणाली अवलम्बन गर्न चाहँदैनौँ र पूर्व सोभियत सङ्घले अपनाएको बाटोमा पनि हामी छैनौँ, कानुनको शासनका पक्षमा छौँ र हामीले यतिबेला पञ्चायती प्रणालीको अभ्यास गरिरहेका छौँ । पञ्चायतमा जसरी समाजका प्रतिनिधिहरू बसेर छलफल तथा निर्णय गर्छन् हामीले त्यस्तै अभ्यास गर्दै छौँ । न्याय र विकासका लागि यस्तो अवधारणाले राम्रो योगदान पु-याएको छ । हामीले अवलम्बन गरेकै राजनीतिक प्रणाली हामीलाई डबल डिजिटको आर्थिक विकासका दर बनाउन सहयोगी भएको छ । चाइनाको अर्थतन्त्र खस्किँदै छ भन्ने प्रचार पनि कतिपयले गरिरहेका छन्, उनीहरूले भोलि चीनको विकासदर ६ प्रतिशतभन्दा तल गयो भन्ने प्रचार गरे भने पनि आश्चर्य मान्नुपर्दैन ।’
ची को भनाइ थियो, ‘सन् १९७० ताक जापानको राजधानी टोकियोको वायु प्रदूषण अहिलेको हाम्रो बेइजिङको भन्दा पनि धेरै खराब थियो, हामी औद्योगिकीकरणको चरणमा रहेकाले वायु प्रदूषणको समस्या हामीले झेल्नुपरेको हो । तर, हामी प्रदूषण घटाएर गुणस्तरीय वायु प्रवाह कसरी गराउने भन्नेतर्फ अत्यन्त सचेत र संवेदनशील छौँ । हो, हामीले आर्थिक विकासमा अत्यन्त जोड दिइरहेका छौँ, तथापि वायुको गुणस्तरप्रति हामी सचेत छौँ र त्यस निम्ति केही सिमेन्ट र स्टिल उद्योगहरू बन्द पनि गरिसकेका छौँ ।’ चीनको बाह्रदिने भ्रमणका क्रममा बेइजिङ पुगेको नेपाली टोलीसँगको अन्तरक्रियात्मक कार्यक्रममा चीले ‘कुनै पनि मुलुकलाई बेरोजगारीले अस्थिरतातर्फ लैजान सक्ने’ बताउँदै चीन बेरोजगारी घटाउन कटिबद्ध र क्रियाशील रहेको स्पष्ट गरे । विश्व अर्थतन्त्रमा चीनले २७.८ प्रतिशत योगदान पु-याइरहेको र चालीस बिलियन अमेरिकी डलरबराबरको रकम सिल्क रोडका लागि विनियोजन गरिएको जानकारी चीले दिए । उनले काठमाडौं र थाइल्यान्डलाई रेलवेले जोड्नेबारे चिनियाँ सरकारले आवश्यक तयारी गरिरहेको बताइरहँदा भ्रमण टोलीका सदस्यहरूले ताली बजाएर प्रसन्नता प्रकट गरेका थिए । नेपालमा बाह्य शक्तिले अस्थिरता र अराजकताको अवस्था पैदा गरेको बताउने चीले आफूहरूको (चीनको) चासो नेपालको शान्ति, विकास र स्थिरताको निम्ति मात्र हुने दाबी पनि गरे ।
चिनियाँ मुद्राको कारोबार अन्तर्राष्ट्रियकरण हुँदै गएका र यसक्रममा धेरै मुलुकसँग चिनियाँ मुद्राको सञ्चिति एवम् सटही सम्बन्ध रहेको बताउँदै चीले भने, ‘भारतको राजधानी नयाँदिल्ली र बंगलादेशको ढाकामा चाइना बैंकले आफ्नो शाखा खोलिसकेको छ, अन्य मुलुकमा पनि शाखा विस्तार गर्ने क्रम जारी छ ।’
तिब्बत चीनको अभिन्न अङ्ग भएको तथ्य संसारले बुझेको भए पनि तिब्बत मुद्दालाई चर्काउन कतिपय विदेशीहरू सक्रिय रहेकोमा आफूहरूलाई दुःख लागेको बताउँदै ची पिङले विदेशीबाट उक्साइएका केही व्यक्तिहरूले आत्मदाह गरेको, त्यस्तामध्ये केहीचाहिँ जीवनबाट निराश भएर पनि आत्मदाह गरेको पाइएको दाबी गरे ।
जे होस्, चीनका निम्ति अर्थतन्त्रको विकास नै सर्वाधिक प्राथमिकतामा पर्दै आएको छ र आर्थिक विकास तथा सुरक्षाबाहेक झिनामसिना कुरामा अल्झिने मानसिकतामा चीनका नीतिनिर्माताहरू देखिन्नन् । सन् २०२० सम्ममा संसारको सबैभन्दा बलियो अर्थतन्त्र बन्नका निम्ति चीनले गरिरहेको प्रयत्नसँग हाम्रा (नेपाली) नेताहरूको सोच–व्यवहारको तुलना गर्दा लाग्छ– ‘हाम्रो राजनीतिक नेतृत्व पाषाण युगमा छ, जो सिकारका निम्ति आपसमा लड्छन् र लड्नुलाई बहादुर ठान्छन् ।’
– डीपी त्रिपाठी
प्रतिक्रिया