यस्तो छ अमेरिकामा सडक दुर्घटना र क्षतिको इतिहास

यस्तो छ अमेरिकामा सडक दुर्घटना र क्षतिको इतिहास


bichar– सानुबाबु सिलवाल
‘लेखेको दिन टर्दैन’ भन्ने हाम्रो उखान त एकातिर छँदै छ, अर्कोतिर विज्ञान र प्रविधिले मानव विकास र चलखेललाई यतिसम्म उच्च पु-यायो कि जसबाट मानवले आफूलाई विकसित प्राणीको दर्जामा पु-याए पनि त्यत्तिकै रूपमा क्षति व्यहोरिरहेको छ । क्षति मानवीय मात्र छैन, साधन, स्रोत र भौतिक सम्पत्ति पनि त्यत्तिकै रूपमा क्षति भइरहेको छ । यस लेखमा पङ्क्तिकारले मानव विकास, प्रविधि र विज्ञानको उच्चतम प्रयोगअन्तर्गत सवारीसाधन र यसको दुर्घटनाबाट संसारकै मानव प्राणी र संयुक्त राज्य अमेरिकाले व्यहोरिरहेको ठूलो जनधनको क्षतिलाई मुख्य विषयवस्तु बनाएको छ ।
विश्वमा हरेक २५ सेकेन्डमा सडक दुर्घटनाबाट एकजना मानिसको मृत्यु हुँदोरहेछ । संयुक्त राज्य अमेरिकामा सडक दुर्घटनाबाट हरेक १३ मिनेटमा एकजना र हरेक दिन एक सय १५ जनाको मृत्यु हुने गरेको तथ्याङ्क छ । अमेरिकाको यातायात तथ्याङ्क विभागको सन् २०१३ को तथ्याङ्कअनुसार अमेरिकामा २५ करोड ४६ लाख ३९ हजार ८६ सवारीसाधन दर्ता भएका छन् । तीमध्ये १८ करोड ३१ लाख ७१ हजार आठ सय ८२ हल्का सवारीसाधन दर्ता भएका छन् । सन् १८९९ देखि सन् २०१२ सम्मको तथ्याङ्कलाई हेर्दा सडक दुर्घटनाबाट अमेरिकामा मात्रै ३५ लाख ५१ हजार तीन सय ३२ जनाको मृत्यु भएको छ । सन् २०१२ देखि यता मात्रै पनि हालसम्म झन्डै एक लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । अमेरिकाको फेडरल हाइवे प्रशासन कार्यालयका अनुसार अमेरिकामा पक्की सडकको लम्बाइ २७ लाख ३४ हजार एक सय दुई सार्वजनिक सडक र १३ लाख २४ हजार दुई सय ४५ कच्ची सडक छन् । अमेरिका संसारको यस्तो मुलुक हो, जहाँ सडकको विकास र लम्बाइ नमुना र ऐतिहासिक रूपमा रहेको छ । अमेरिकाका ५० वटै राज्यको विकास संरचनालाई जोड्ने काम पनि सडकले नै गरेको छ । अमेरिकी सडक इतिहास हेर्ने हो भने सन् १६२५ मा अमेरिकाको मेन राज्यको कोलोनियल सहरमा पहिलोपटक सडक बनेको हो । सन् १८७७ मा वासिङ्टन डीसीको पेन्सिलभेनियामा पहिलो कालोपत्रे पक्की सडक बन्यो । अमेरिकामा सडक दुर्घटना मानव विकासकै अभिशापका रूपमा रहेको छ । दैनिक रूपमा ठूलो सङ्ख्यामा हुने सडक दुर्घटनाबाट ठूलो जनधनको क्षति हुने गरेको छ । फेडेरल यातायात प्रशासन कार्यालयको तथ्याङ्कअनुसार, सन् २००३ मा मात्रै अमेरिकामा ६३ लाख २८ हजार गाडी दुर्घटनाग्रस्त भए । जसबाट तीन मिलियन मानिस घाइते भए भने ४२ हजार ६ सय ४३ जनाको मृत्यु भयो । त्यस्तै, सन् २००५ मा ६४ लाख २० हजार गाडी दुर्घटनाग्रस्त भए भने दुई सय ३५ विलियन डलरबराबरको क्षति र आर्थिक भार व्यहोर्नुप-यो ।
त्यस्तै, २.९ मिलियन मानिस घाइते भए भने ४२ हजार ६ सय ३६ जनाको मृत्यु भयो । सन् २०१२ को तथ्याङ्कअनुसार, ३० हजार आठ सय ठूला दुर्घटना र सन् २०१० मा २२ लाख ३९ हजार सख्त घाइते र ३२ हजार नौ सय ९९ जनाको मृत्यु भयो । अमेरिकामा सडक दुर्घटनाबाट सबैभन्दा कम सन् १८९९ मा वर्षभरि २६ जनाको मृत्यु भएको थियो । सबैभन्दा बढी सन् १९६२ मा ५४ हजार पाँच सय ८९ जनाको मृत्यु भएको थियो । अमेरिकामा सन् १९०० देखि १९३६ सम्म सडक दुर्घटनाबाट भएको जनधनलाई हेर्ने हो भने उच्चतम मान्न सकिन्छ भने पछिल्ला वर्षमा यसको दर घटिरहेको देखिन्छ । यो दर घट्नु खुसीको कुरा भए पनि पक्कै पनि मानवीय र भौतिक क्षतिलाई खुसी मान्न सकिन्न ।
अमेरिकामा वर्षेनी सडक दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या ३० हजारभन्दा बढी नै रहने गरेको छ । फेडेरल यातायात विभागका अनुसार अमेरिकामा सडक दुर्घटनाबाट सन् २००० मा ३३ हजार आठ सय ८३ जनाको मृत्यु भयो भने सन् २०१० मा ३२ हजार नौ सय ९९, सन् २०११ मा ३२ हजार चार सय ७९, सन् २०१२ मा ३३ हजार पाँच सय ६१ र त्यसैगरी सन् २०१३ मा ३२ हजार सात सय १९ जनाको मृत्यु भयो । त्यसैगरी लाखौं गाडीहरू दुर्घटनाग्रस्त भई विलियन डलरबराबरको भौतिक र आर्थिक भार व्यहोर्नुप-यो । अमेरिकामा १६ वर्षपछि सीमित तहको सवारीचालक अनुमतिपत्र पाइन्छ । लिखित परीक्षा पास गरी सडक परीक्षणमा समेत पास भएपछि मात्रै सवारीचालक अनुमतिपत्र पाइन्छ । त्यसैगरी १८ वर्ष पुगेपछि मात्रै पूर्ण सवारीचालक अनुमतिपत्र पाइन्छ । सुरुका तीन वर्ष नयाँ सवारीसाधन चालकका लागि जोखिम समयका रूपमा लिइन्छ । त्यस अवधिमा बिमा पनि महँगो हुने गर्दछ । सडक दुर्घटना हुँदा दुर्घटनामा संलग्न सवारीचालकहरूबीच कुटाकुट र मुख छाडाछाड हुँदैन । दुवैको सहमतिमा प्रहरीलाई खबर गरिन्छ । र, प्रहरीको आगमनपश्चात् दुर्घटना प्रतिवेदन तयार पारी बिमा कार्यालयलाई पठाएर दुर्घटनाग्रस्त गाडी र मानवीय क्षति व्यहोरिने गरिन्छ । सवारीचालक अनुमतिपत्रबिना गाडी चलाउनु, मादक पदार्थ तथा लागूऔषध सेवन र सवारीसाधनमा राख्नु, सवारीचालक अनुमतिपत्र खोसिनु, द्रुत गतिमा गाडी चलाउनु, सडक प्रहरीलाई ढाँट्नु वा सहयोग नगर्नु दुर्भाग्यपूर्ण हुन्छ ।
अमेरिकामा कानुन र नियमभन्दा माथि कोही पनि छैन । विविध कारणले अमेरिकामा सडक दुर्घटना हुने गरेको छ । भर्खरका युवायुवती, नयाँ सवारीचालक, वृद्धावृद्धा चालक, मादक वा लागूऔषध सेवन, थकान, निद्रा, चिन्ता, प्राविधिक गडबडी, सिट बेल्ट नलगाउने, सेल फोनको प्रयोग, गाडी चलाउँदा टेक्स्ट गर्ने, द्रुत गति, घना ट्राफिकमा गाडी चलाउँदा अरूका कारणबाट र सवारी चिह्नहरूको बेवास्ता र दुरुपयोग आदि कारणबाट अमेरिकामा सडक दुर्घटना हुने गरेको देखिन्छ । अमेरिकामा सडक दुर्घटनामा संलग्न हुने सवारी नियमको उल्लङ्घन गर्दा हुने कारबाहीको मानसिक, आर्थिक र कानुनी बाधा प्रसस्त हुने गर्दछ । ठूला सहरहरूमा सार्वजनिक सवारी साधन हुने भएकाले केही सहज भए पनि अमेरिकामा अधिकांश राज्यहरूमा सवारीसाधनबिना जीवनशैली अत्यन्त असहज हुन्छ । यहाँ गाडी र जीवन र जीवनशैलीको अन्तरसम्बन्ध गाँसिएको छ । सवारीसाधन किन्न र पहुँचका लागि त्यति गाह्रो छैन । सवारीसाधनको पहुँच र यसको प्रयोग सामान्यभन्दा सामान्य मानिसको जीवन पनि जोडिएको हुनाले सवारीसाधन हाँक्दा आफू गल्ती नगरेकै भरमा यसबाट बच्न सकिन्छ भन्ने होइन । अरूका गल्तीका कारणबाट पनि जन–धनको क्षति र मृत्यु हुने गर्दछ । सडक दुर्घटना अमेरिकाको मात्रै समस्या नभएर संसारभरकै दुर्भाग्यपूर्ण अभिशाप हो । जसको नियन्त्रण शून्यता हुन सक्तैन, मात्रै घटाउने हो ।
विश्वमा ८० प्रतिशत गरिब र मध्यम गरिब तथा विकासोन्मुख मुलुकहरूमा विश्वको ७२ प्रतिशत जनसङ्ख्या रहेको छ । जहाँ विश्वको ५२ प्रतिशत मात्रै गाडी दर्ता रहेको छ । यहीँ नै सडक दुर्घटना र जनधनको क्षति बढी देखिन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सडक दुर्घटनामा २३ प्रतिशत मोटरसाइकल चालक, २२ प्रतिशत पैदलयात्री, पाँच प्रतिशत साइकल यात्री, ३१ प्रतिशत कारचालक, १९ प्रतिशत ठूला सवारीचालक र संयोगमा पर्ने व्यक्तिहरूको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०१० र सन् २०१३ को अवधिमा गरेको विविध अध्ययन–अनुसन्धानबाट के डरलाग्दो परिस्थिति देखियो भने सडक सवारी दुर्घटनाबाट विश्वमा मर्नेहरू अन्य रोगबाट मर्नेभन्दा बढी छ । डब्लूएसओका अनुसार सन् २०१० मा मात्रै चीनमा सडक दुर्घटनाबाट सबैभन्दा बढी दुई लाख ७५ हजार नौ सय ८३ जनाको मृत्यु भयो भने त्यसपछि भारतमा दुई लाख ३८ हजार पाँच सय ६२ जनाको मृत्यु भयो । सन् १०१० मा सान मारिनोमा एकजनाको पनि मृत्यु भएन भने माइक्रोनेसियामा दुईजना र मार्सल आइसल्यान्डमा चारजनाले सडक दुर्घटनाबाट ज्यान गुमाए । त्यसैगरी सन् २०१० मा भुटानमा ९६ जना, बंगलादेशमा १७ हजार दुई सय ८९, ब्राजिलमा ४३ हजार आठ सय ६९, इन्डोनेसियामा ४२ हजार चार सय ३४, मेक्सिकोमा १६ हजार सात सय १४, नाइजेरियामा ५३ हजार तीन सय ३९, भियतनाममा २१ हजार ६ सय ५१ र नेपालमा चार हजार सात सय ८७ जनाले ज्यान गुमाए । त्यसैगरी सन् २०१० मै थाइल्यान्डमा २६ हजार तीन सय १२ जनाले ज्यान गुमाए । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१० मा मात्रै विश्वभर १२ लाख मानिसको मृत्यु सडक दुर्घटनाबाट भयो । यसरी ज्यान गुमाउनेमा युवा अर्थात् १५ देखि ४४ वर्षका ५९ प्रतिशत छन् । त्यसमा पनि ७७ प्रतिशत पुरुष थिए । सबैभन्दा बढी दुर्घटना अफ्रिकी मुलुक जहाँ २४ प्रतिसत र सबैभन्दा कम युरोपमा १० प्रतिशत रहेको छ । सडक दुर्घटनाबाट केही अपवादका मुलुकबाहेक अधिकांश मुलुकले ठूलो जनधनको क्षति व्यहोरिरहेका छन् । जनधनको क्षतिको विवरण हेर्दा कुनै युद्ध वा दैवी प्रकोपमा भएको क्षतिभन्दा कम छैन । सडक दुर्घटनालाई भवितव्य मात्रै भनेर कम आँकलन गर्न मिल्दैन । सवारी नियम कडा भएको मुलुक अमेरिकासमेत सडक दुर्घटना र यसबाट हुने ठूलो क्षतिबाट पीडित बनिरहेको छ । जनचेतना अभिवृद्धि, नियम पालना, सवारीसाधनको मर्मत, सवारीसाधन चलाउँदा अपनाउनुपर्ने सावधानी, आवश्यक नियमकानुनको तर्जुमा, चालकहरूका लागि चेतनामूलक सन्देश, सूचनासहितका कार्यक्रमहरूमार्फत सवारीसाधन एवम् सडक दुर्घटनालाई कम गर्न र यसबाट हुनसक्ने ठूलो जनधनको क्षतिलाई कम गर्न सकिन्छ ।