उधारो आश्वासन पाएपछि पार्टी फुटाउने अभ्यासमा देउवा

उधारो आश्वासन पाएपछि पार्टी फुटाउने अभ्यासमा देउवा


नेपाली काङ्ग्रेस संसदीय दलको नेता बन्न शेरबहादुर देउवाले निर्णयक प्रयास गर्नुभएको छ । संसदीय दलको नेता नबनेसम्म अवसर आए पनि आफू प्रधानमन्त्री बन्न नसक्ने भएपछि देउवा उक्त पद हात लगाउने अन्तिम प्रयत्नमा जुट्नुभएको हो । त्यस निम्ति देउवाले संसदीय दलका नेता रामचन्द्र पौडेलका विरुद्ध अविश्वासको प्रस्ताव राख्न हस्ताक्षर अभियान सुरु गर्नुभएको छ । काङ्ग्रेसका एक सय तेह्र सभासद्हरूमध्ये छत्तीसजनाले हस्ताक्षरसमेत गरिसकेको बुझिएको छ । केही सभासद्हरूले चाहिँ एकजनाले बहुमत पुग्न नसकेमा आफू दस्तखत गर्न तयार रहेको वचन देउवालाई दिएका छन् । त्यसरी वचन दिनेहरूको सङ्ख्या एघार पुगेको बताइन्छ । तर, देउवाले दस्तखत गराउँदा केही सभासद्हरूले आफूलाई झुक्याएको बताएका छन् । बुढानीलकण्ठस्थित आफ्नो निवासस्थानमा सभासद्हरूलाई चिया पिउन भनी बोलाएको र उपस्थिति भनी दस्तखत गराएर पछि अविश्वास प्रस्तावको व्यहोरा जोडेको आरोप ‘ती’ सभासद्हरूको छ । सभासद् लीला सुब्बाले त आफूलाई देउवाले कसरी झुक्याए भन्ने कुराको जानकारी पार्टीको उच्च तहलाई समेत गराइसकेकी छिन् । पार्टी नेतृत्वले यस विषयलाई गम्भीरताका साथ लिएको छ । यस सम्बन्धमा उपसभापति एवम् काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलको ध्यानाकर्षण गर्दा उहाँले जिम्मेवार मानिसले जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउँदै हस्ताक्षर अभियानबारे आफूले पत्रिका पढेर थाहा पाएको जानकारी दिनुभयो । पौडेलको भनाइ छ, ‘माओवादीलाई बदलेर शान्ति, संविधान र लोकतन्त्रका पक्षमा ल्याउनु वर्तमानको मुख्य कार्य हो, संसदीय दलको नेता बदल्ने र्व्यर्थ कुरामा समय बर्बाद गर्नु उचित होइन ।’
पार्टीको सभापति र संसदीय दलको नेता पदमा चुनाव लडेर दुवैमा नराम्रोसँग पराजित हुनुभएका देउवाले पछिल्लोपटक सुरु गर्नुभएको अभियानलाई पार्टी नेतृत्वले गम्भीरताका साथ लिएको छ । नेपाली काङ्ग्रेसमा विलय भएको चार वर्ष पुग्दा नपुग्दै विघटित प्रजातान्त्रिक काङ्ग्रेसका सभापति देउवाले निर्वाह गर्नुभएको वर्तमान भूमिकाले पार्टीको एकतालाई गम्भीर क्षति पुर्‍याउने ठानिएको छ । ०५९ सालमा त्यसबेलाको शक्तिशाली दक्षिणपन्थीहरूको आड-भरोसामा पार्टी विभाजन गराउनुहुने देउवा यतिबेला अति वामपन्थीहरूको मोहजालमा फस्नुभएको छ र उहाँ तिनकै आडमा पार्टी विभाजन गराउनसमेत मानसिक रूपमा तयार रहनुभएको बताउन थालिएको छ । सकेसम्म अविश्वासको प्रस्ताव राखेर संसदीय दलको नेता पद हात पार्ने, सो पद प्राप्त गर्न नसके आफ्ना समर्थकहरू लिएर पुन: छुटि्टने योजना देउवाले बनाउनुभएको बुझिएको छ । पछिल्लो समयमा देउवा माओवादी र त्यसका अध्यक्ष प्रचण्डप्रति ज्यादा सकारात्मक रहँदै आउनुभएको छ । प्रचण्डसँगको ज्यादा उठबसका कारण देउवाले भावनात्मक रूपमा काङ्ग्रेसको प्रतिनिधित्व गर्नसमेत छोडिसक्नुभएको छ । उच्चस्तरीय संयुक्त बैठकहरूमा पार्टीको तर्फबाट प्रतिनिधित्व गरेर जाँदा पनि उहाँले पार्टी लाइनविपरीत माओवादीको पक्षमा धारणा राख्ने गर्नुभएको छ । केही महिनाअघि दक्षिणकाली रिसोर्टमा भएको उच्चस्तरीय बैठकमा देउवाले माओवादीको पक्षमा बोलेर काङ्ग्रेसलाई अप्ठ्यारोमा पारेपछि बैठकमा सहभागी अर्का नेता डा. रामशरण महतले अर्को कोठामा लगेर देउवालाई नराम्रोसँग झपार्नुपरेको थियो । त्यस्तै एउटा बैठकमा रामचन्द्र पौडेलले देउवालाई सचेत गराउनुपरेको थियो । यसरी देउवा माओवादीको पक्षमा उभिनुको कारण प्रचण्डको उहाँलाई प्रधानमन्त्री बनाइदिने उधारो आश्वासन भएको बुझिन्छ । भनिन्छ, आफू प्रधानमन्त्री बन्न नसक्ने अवस्थामा प्रचण्डले देउवालाई समर्थन र सहयोग गर्ने वचन दिनुभएको छ । र, देउवाले प्रचण्डको आश्वासनमा भरोसा राख्नुभएको छ । गत महाधिवेशनमा पराजित भएपछि देउवाले आफ्नो पराजयको दोष नेपालभित्र राष्ट्रपति र बाहिर मित्रराष्ट्र भारतलाई दिँदै आउनुभएको छ । चीन समर्थित मानिने वर्तमान सत्ता गठबन्धनका अगुवाहरूले देउवाको मानसिकतामा खेल्ने योजना बनाएको हेक्का सम्भवत: उहाँलाई छैन र उहाँ प्रचण्ड र झलनाथलगायतका नेताहरूबाट प्रयोग हुँदै आउनुभएको छ । देउवाको विचारमा ‘माओवादीहरू पूरै बदलिइसकेका छन्, अब उनीहरूलाई काङ्ग्रेस र एमालेलगायतका दलहरूले पूर्ण सहयोग पुर्‍याउनुपर्छ । लडाकु व्यवस्थापन पनि माओवादीले भनेबमोजिम गर्नुपर्छ र अनावश्यक अडान लिएर माओवादीलाई हैरानी दिनुहुँदैन ।’ देउवाको यस्तो विचार संयुक्त बैठक र अन्य संवेदनशील भेटवार्ताका क्रममा समेत प्रकट हुन थालेको छ । यसरी आफ्नो प्रवक्ताझैं प्रस्तुत हुन थालेपछि माओवादी नेतृत्वले देउवाको उच्च प्रशंसा गर्न सुरु गरेको हो । चीन समर्थकहरूसँग ‘कम्फोर्ट’ महसुस गर्नुहुने उहाँसँग प्रचण्ड र झलनाथको गठबन्धनलाई राजनीतिक विश्लेषकहरूले आश्चर्यजनक र घातक मानेका छन् । यस गठबन्धनले देउवालाई अन्तत: फेरि पनि लोकतन्त्रकै विरुद्ध उभ्याउनसक्ने विश्लेषकहरूको बुझाइ छ । प्रचण्डले प्रधानमन्त्री बनाइदिने आश्वासन दिएकै भरमा काङ्ग्रेसभित्र बनिबनाउ एकता र समझदारीलाई भत्काउन अग्रसर हुनुहुने देउवा कदाचित माओवादीको समर्थनमा झलनाथझैं प्रधानमन्त्री बन्नुभयो भने उहाँ माओवादी आन्दोलनको कति ठूलो सेवक बन्नुहोला सहजै अनुमान गर्न सकिन्छ । शेरबहादुर देउवाको पछिल्लो क्रियाकलापले नेपाली काङ्ग्रेसमा चिन्ता बढाएको छ । पार्टीले उहाँलाई समयमै तह लगाउन सकेन भने अन्तत: काङ्ग्रेसले देउवाबाट पुन: धोखा पाउने निश्चित मानिन्छ । तीनपटक प्रधानमन्त्री बन्दा तीनैवटा नकारात्मक कीर्तिमान बनाउनुहुने देउवाबाट काङ्ग्रेस कसरी जोगिन सक्ला, व्यग्रतापूर्ण त्यसैको प्रतीक्षा हुँदै छ ।

दलको नेता बदलिँदैन
लन्डन/ नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला एक साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार दिल्ली हुँदै नेपाल प्रस्थान गर्नुभयो ।
यसैबीच लन्डनमा पत्रकार विपिन निरौलासँग सङ्क्षिप्त कुराकानी गर्दै सभापति कोइरालाले नेपाली काङ्ग्रेसको प्राथमिकता अहिले सरकार नभएको बताउनुभयो । ‘काङ्ग्रेस माओवादीको
सेना र हतियारको उचित व्यवस्थापन र शान्तिप्रक्रिया पहिले टुङ्गोमा पुर्‍याएर संविधान निर्माणलाई प्राथमिकता दिन्छ’ भन्दै यसका लागि काङ्ग्रेसले निकै बलिदान गरेको र परिआएमा पुन: बलिदान दिन तप्पर रहेको बताउनुभयो ।
कोइरालाले अहिले काङ्ग्रेसमा संसदीय दलको नेता परिवर्तन नहुने स्पष्ट पार्दै सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आइपरेमा काङ्ग्रेसको विधानअनुसार पार्टीले सही समयमा सही निर्णय गर्ने स्पष्ट गर्नुभयो । पाँचबुँदे सहमतिअनुसार वर्तमान प्रधानमन्त्री झलनाथ खनालले यथाशक्य चाँडो राजीनामा दिर्य नयाँ सरकार, शान्तिप्रक्रिया, संविधानलेखन र निर्माणको पक्षमा अघि बढ्नुपर्ने बताउनुभयो ।
कोइराला उपचारको क्रममा अमेरिकाबाट बेलायत आउनुभएको थियो । उहाँले गत शुक्रबार सोसलिष्ट इन्टरनेसनलका महासचिव लुइस आयलासँग भेटवार्ता गर्नुभएको थियो । उक्त अवसरमा कोइरालाले नेपालमा हाल शान्तिप्रक्रिया र संविधान निर्माणको विषयमा भइरहेको कार्यप्रगतिका बारेमा जानकारी गराउनुभएको थियो । त्यसैगरी महासचिव आयलाले नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टीको नाताले संविधान निर्माण र शान्तिप्रक्रिया टुङ्गोमा पुर्‍याउने नेतृत्व नेपाली काङ्ग्रेसले लिनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । उक्त भेटमा बेलायतस्थित नेपाली जनसम्पर्क समितिका महामन्त्री शान्तविनोद लामिछाने, सल्लाहकार दीपक न्यौपाने, नेपाली काङ्ग्रेस महासमिति सदस्य विज्ञान प्रसार्इं र एनआरएन युकेका उपाध्यक्ष कुल आचार्यसहित नेपाली जनसम्पर्क समिति उत्तरअमेरिकाका केन्द्रीय प्रतिनिधि मृदुला कोइराला सहभागी हुनुहुन्थ्यो ।
सभापति कोइरालाले नेपाली काङ्ग्रेसको विदेशस्थित संस्था नेपाली जनसम्पर्क समिति युरोपको जर्मनीमा र बेलायतका विभिन्न क्षेत्रीय समितिहरूद्वारा आयोजित सभाहरूलाई सम्बोधन गर्नुभएको थियो ।
बेलायतको साउथइस्ट जनसम्पर्क समितिद्वारा लन्डनको प्लम्स्िटडस्थित राज सिटौलाको चौतारी नेपाली रेस्टुरेन्टमा आयोजित सभालाई समेत सम्बोधन गर्नुभएको थियो । उक्त कार्यक्रममा बेलायतस्थित नेपाली राजदूत सुरेशचन्द्र चालिसेले समेत बोल्नुभएको थियो । क्षेत्रीय सभापति मोती भण्डारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा चेतनाथ खनालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने राज पाठकले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा जनसम्पर्क समितिका संस्थापक महासचिव विकास देवकोटा, सदस्य अजय राई, काङ्ग्रेस महासमिति सदस्य विज्ञान प्रर्साईं, अमेरिकी काङ्ग्रेस नेतृ मृदुला कोइराला, नेपाल भूतपूर्व सैनिक सङ्घका अध्यक्ष केशबहादुर गुरुङ, उपाध्यक्ष भोज गुरुङ, नेपाल फोरम ग्रिनविचका अध्यक्ष राम अधिकारी, गुल्मी समाजका उपाध्यक्ष दुर्गा पाण्डेलगायत विभिन्न सङ्घसंस्थाका पदाधिकारी प्रतिनिधिहरू र अन्य राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताको समेत उपस्थिति रहेको थियो । सभापति कोइराला युरोप भ्रमणभर अन्य राजनीतिक भेटघाट र कार्यक्रमहरूमा व्यस्त रहनुभएको थियो ।
यसैबीच नयाँदिल्लीस्थित सूत्रका अनुसार कोइराला दिल्लीमा रहँदा उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त रहनुपर्‍यो । उहाँले प्रधानमन्त्री मनमोहन सिंह, काङ्ग्रेस नेत्री सोनिया गान्धी, मन्त्री प्रणव मुखर्जी र भाजपा नेता लालकृष्ण आडवाणीसहितलाई भेट्नुभएको बुझिएको छ । उहाँको असार २९ गते काठमाडौंमा अवतरण गर्ने कार्यक्रम रहेको छ ।
– लन्डनबाट विपिन निरौला

माओवादी बैठक महाभारत बन्दै भिड्ने तयारीमा दुवै पक्ष
निकै मुस्किलले तय गरिएको केन्द्रीय समिति बैठकमा अर्को पक्षलाई कसरी परास्त गर्ने भन्ने विषयमा माओवादी नेताहरूको अभ्यास मंगलबार निकै अबेरसम्म जारी रह्यो । वैद्य र बाबुराम एक भएपछि प्रचण्डका निम्ति यसपटकको युद्ध महाभारतभन्दा ठूलो हुन पुगेको छ भने प्रचण्डलाई साइजमा ल्याउन अर्को पक्षले गरेको तयारी पनि निकै मजबुत देखिएको छ । असार २९ गते बुधबारका लागि तय गरिएको केन्द्रीय समिति बैठकप्रति लक्षित गर्दै माओवादीभित्रका सबै पक्षका नेताहरूले बैठकमा उठाइने एजेण्डाका बारेमा निकटस्थहरूसँग परामर्श लिई आन्तरिक तयारीलाई मजबुत बनाएका हुन् ।
अध्यक्ष प्रचण्डले बैठकमा उठाइने विषयमा मात्र बैठकमा उठ्न सक्ने सम्भावित प्रश्नको उत्तर कसरी दिने भन्नेबारेमा समेत निकटस्थहरूसँग परामर्स लिनुभएको छ । स्रोतका अनुसार प्रचण्ड वैद्य-भट्टराई गठबन्धनलाई कसरी तोड्न सकिन्छ भन्नेमा बढी केन्द्रित हुनुभएको छ । स्रोतका अनुसार प्रचण्डले मंगलबारका कार्यक्रम स्थगित गर्दै वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्ति बस्नेतलगायतका नेताहरूसँग बैठकमा प्रस्तुत गरिने विषय र ती विषयमाथि उठ्न सक्ने सम्भावित प्रश्नका बारेमा छलफल गर्नुभएको थियो । यसअघि उहाँले पार्टीका सबैजसो केन्द्रीय सदस्यसँग एक्लाएक्लै भेट गरी वर्तमान परिस्थितिलाई ख्याल गरेर पार्टीले नयाँखाले नीति तय गर्नुपर्ने भएकाले त्यसमा समर्थन गर्न आग्रह गर्नुभएको थियो । उहाँको कार्यदिशा स्पष्ट भए मात्र अरू विषयलाई बहसका रूपमा अघि बढाउनुपर्ने खाँचो औंल्याउनुभएको थियो । तर, प्रचण्डको आग्रहलाई बहुमत सदस्यले अस्वीकार गर्दै केन्द्रीय समिति बैठकबाट सबैखाले समस्या समाधान हुने गरी छलफल चलाउनुपर्ने र त्यसका लागि खुल्ला बहसमा जानुपर्ने माग गर्दै आएका छन् ।
यसैगरी बैठकमा उठाइने विषयका बारेमा उपाध्यक्षहरू मोहन वैद्य (किरण), बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ ? प्रकाश)बीच संयुक्त छलफलसमेत भयो । अध्यक्ष प्रचण्डनिकट मानिने उपाध्यक्ष श्रेष्ठसहित भएको छलफललाई निकै अर्थपूर्ण रूपमा लिइएको छ । ललितपुरको धोबीघाटमा भएको गोप्य भेलामा एक सय पचासभन्दा बढी नेताको सहभागिता थियो । भेलामा अध्यक्ष प्रचण्डले आफ्नो प्रतिवेदनमा उठाउन सक्ने सम्भावित विषयका साथै आफूहरूले उठाउँदै आएको मुद्दालाई कसरी पार्टीबाट पारित गराउन सकिन्छ भन्नेमा छलफल केन्द्रित थियो । छलफलमा सहभागी हरिभक्त कँडेलका अनुसार केन्द्रीय कमिटी बैठकमा संयुक्त रणनीति एवम् धारणा तय गर्नका लागि भेला गरिएको हो । सत्तरीभन्दा बढी केन्द्रीय सदस्यको सहभागिता रहेको गोप्य भेलामा पार्टीकोभित्रको अन्तरसङ्घर्ष समाधान गर्न पार्टी नेतृत्वबाटै रूपान्तरण हुनुपर्ने निष्कर्ष निकालिएको कँडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अध्यक्ष कमरेड सबैलाई रूपान्तरण हुनुपर्‍यो भन्ने तर आफू कहिल्यै रूपान्तरण नभएकाले समस्या देखिएको हो ।’ नयाँ आधारबाट मात्र पार्टीभित्र एकता हुने भन्दै कँडेलले भन्नुभयो, ‘पार्टी नेतामा जिम्मेवारी विभाजन भागवण्डाका आधारमा होइन वैज्ञानिक आधरबाट हुनुपर्नेमा पनि हामी सहमत भएका छौँ ।’
अध्यक्ष प्रचण्डले प्रस्तुत गर्ने प्रतिवेदनको आधारमा फरक प्रतिवेदन ल्याउने निचोडमा यसअघि नै पुग्नुभएका वैद्यले बैठकमा आफूहरू कसरी प्रस्तुत हुने भन्नेबारेमा परामर्श गर्नुभएको थियो । स्रोतका अनुसार कार्यविभाजन, पार्टीभित्रको विवाद, पार्टीको भावी कार्यदिशा, संविधान निर्माणलगायतका विषयलाई प्रमुखता दिने यसअघि नै पदाधिकारीहरूबीच मौखिक सहमतिसमेत भए पनि कार्यविभाजन, संविधान तथा सरकार निर्माणलगायतका विषयलाई महत्त्वहीन बनाउँदै कार्यदिशामा मात्र जोड दिने तयारी प्रचण्डले गरेकाले कसरी अघि बढ्ने भन्नेबारेमा पनि भेलामा छलफल भएको थियो ।
छलफलबाट प्रचण्डले नियतवश हाम्रो (वैद्य-भट्टराई) सम्बन्धमा फाटो ल्याउन यसअघि भएको सबै सहमति तोड्दै पार्टीको कार्यदिशालाई पहिलो मुद्दा बनाएको निष्कर्षसमेत निकालेका छन् । उनीहरूले कार्यविभाजनलाई महत्त्वहीन बनाएर सम्बन्धमा वैद्य र बाबुरामबीचको दरार ल्याउने खोजेकाले त्यसमा सचेत हुनुपर्ने खाँचोसमेत औंल्याइएको भट्टराईनिकट एक नेताले जानकारी दिनुभयो । ‘भट्टराईको कार्यदिशालाई पार्टीको कार्यनीति बनाउँदा आफू बलियो हुने र वैद्य-भट्टराईको सम्बन्ध पनि टुट्ने प्रचण्डको विश्वास छ, त्यसैले पहिले कार्यनीतिका बारेमा छलफल हुनुपर्ने प्रचण्डको बुझाइ हामीले पायौँ,’ ती नेताले भन्नुभयो ।
स्रोतका अनुसार केन्द्रीय समितिमा कार्यविभाजको मुद्दालाई प्रमुख रूपमा नउठाइए अध्यक्षको कडा प्रतिवाद गर्दै कार्यविभाजनका मुद्दालाई पहिलो प्राथमिकतामा राख्न बाध्य पार्ने तयारीमा वैद्य-भट्टराई पक्षका नेताहरू जुटेका छन् । ‘हामी अध्यक्षलाई यसपटक सहजै उम्कन दिने पक्षमा छैनौँ,’ वैद्यनिकट एक केन्द्रीय सदस्यले भन्नुभयो, ‘अहिलेको बैठकबाट पुराना परम्परालाई तोडी नयाँ रेकर्ड कायम गर्र्छौं ।’ ‘नेतृत्वले पार्टी अगाडि बढाउनुपर्नेमा कमाउ धन्दामा लागेको तथा पार्टी र क्रान्तिलाई विसर्जनवादतिर लैजान लागेको, आफ्ना र पराई चिन्न नसकेको, युद्धकालीन कार्यकर्ता र नेतालाई उपेक्षा गरेकोजस्ता गम्भीर आरोपको सामना अध्यक्ष प्रचण्डले बैठकमा गर्नुपर्नेछ,’ ती नेताले भन्नुभयो ।
वैद्यले कार्यविभाजनसँगै तत्काल पार्टीको महाधिवेशन बोलाइनुपर्ने र आर्थिक हिसाब पारदर्शी गरिनुपर्ने कुरालाई पनि महत्त्वका साथ उठाउनुहुनेछ । ‘आर्थिक रूपमा पार्टी कसरी सञ्चालन भइरहेको छ, त्यसबारेमा न युद्धकालमा जानकारी दिइन्थ्यो न अहिले । यस्तो अराजक अपारदर्शी कार्यलाई कहिलेसम्म साथ दिने र हामी मौन बस्ने ? ‘ वैद्यनिकट नेताको भनाइ थियो । ‘बैठकमा पार्टीका युवालाई अपराध र गुण्डागर्दी तथा फिरौतीमा सामेल गराएको, फरक विचारलाई निषेध गरेको, संस्थापन पक्षबाट आफूनिकट नेता तथा कार्यकर्ता सम्मिल्लित भेला आयोजना गर्दै हिँडेको, हतियार र सेना सरकारलाई बुझाएको, विचारमा एकरूपता नभएको, संशोधनवादी नीतितिर गएको, फरक विचार राख्ने आफ्नै पार्टीका नेतालाई सिध्याउने कार्यमा संस्थापन पक्षका मानिसहरू लाग्दासमेत नेतृत्व मौन बसेको, आफूनिकटका मानिसबाट भएको कमी-कमजोरीलाई ढाकछोप गर्ने गरेकोलगायतका विषयले प्रमुखता पाउनेछन्,’ स्रोतले भन्यो ।
‘अध्यक्षसँग पटक-पटक पांैठेजोरी खोज्नुभन्दा एकैपटक लड्नु उत्तम हुने भन्दै वैद्य कमरेड कठोर रूपमा अघि बढ्नुभएको हो,’ स्रोतले भन्यो । यसका लागि वैद्यले उपाध्यक्ष भट्टराईकै निवासमा पुगेर भट्टराईसँग पटक-पटक गोप्य छलफलसमेत गर्नुभएको छ । आफूलाई साथ दिए यसपटकको कन्द्रीय समितिमा प्रचण्डको असली रूप देखाउन सकिने र पार्टी पनि अघि बढ्नेमा उनी विश्वस्त छन् । भट्टराईले पनि अध्यक्षको कार्यशैलीप्रति तीव्र असुन्तष्टि जनाउँदै आउनुभएको छ । अध्यक्षकै कार्यशैलीका कारण पार्टीभित्र थुप्रै समस्या देखिएकाले तत्काल महाधिवेशन गरेर वैधानिक ढङ्गबाट नयाँ नेतृत्व चयन नभएसम्म पार्टीले सही गति लिन नसक्नेमा भट्टराई सहमत छन् । उनले पनि केन्द्रीय समितिमा प्रस्तुत गर्ने एजेण्डाहरूका बारेमा सुझाव लिन आफूनिकट सदस्यहरूसँग पटकपटक छलफल गरेका छन् । स्रोतका अनुसार भट्टराईले प्रचण्ड र वैद्यनिकटका सदस्यहरूसँग पनि गोप्य भेट गर्दै आएका छन् । यसैबीच मंगलबार नै भट्टराईले नारायणकाजी श्रेष्ठसँग उनकै निवासमा भेट गर्नुभएको थियो । भेट केन्द्रीय समितिमा प्रस्तुत गरिने एजेण्डाका बारेमा केन्द्रित भएको स्रोतले जानकारी दियो ।

मिनी महाधिवेशन गर्दै एमाले
सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले पनि काङ्ग्रेसको सिको गर्दै जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । पार्टीभित्र देखिएको समस्याको उपाय खोजी गर्ने उद्देश्यका साथ काभ्रेको धुलिखेलमा आगामी साउन ७ र ८ गते आयोजना गर्न लागिएको भेलामा एक सय पचहत्तरभन्दा बढीको सहभागिता रहनेछ । यसअघि काङ्ग्रेसले पनि काभ्रेमा नै जिल्ला अध्यक्षहरूको भेला आयोजना गरेको थियो ।
पार्टीको आठौँ महाधिवेशनले पारित गरेको विधानमा उल्लेख गरिएको विशेष महाधिवेशनको बारेमा समेत राय लिने गरी आयोजना गर्न लागिएको भेलामा आगामी भदौ ३० देखि असोज २ सम्म हुने राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा
प्रस्तुत गरिने विभिन्न एजेण्डा तथा प्रस्तावका बारेमा छलफल हुने बताइएको छ । पार्टी केन्द्रीय सङ्गठन विभागको आयोजना र एमाले काभ्रे जिल्ला कमिटीको व्यवस्थापनमा हुन लागेको भेलामा पार्टीको आठौँ महाधिवेशनबाट पारित गरेको विधान संशोधन, पार्टी नेताहरूमा देखिएको अनुशासनको विचलन, पार्टीको आन्तरिक जीवनलगायतका विषयमा पनि गम्भीर छलफल हुनेछ ।
यसअघि नै एमालेका नेताहरूले पार्टी नेतृत्वदेखि सबै नेताहरू विधानविपरीत हिँड्ने तथा अभिव्यक्ति दिने, एकले अर्काको अस्तित्व नस्वीकार्ने, पार्टी निर्णयविरुद्ध जाने, पार्टीलाई गुटमा परिवर्तन गर्नेजस्ता कार्यमा पार्टी नेतृत्व नै उद्यत् रहेकाले त्यसलाई नियन्त्रण गर्न भेलाको खाँचो औंल्याएका थिए । राष्ट्रिय मुद्दालाई ओझेलमा पार्दै नेतृत्वमा रहेका नेताहरू आफ्नो स्वार्थमा मात्र केन्द्रित रहेकाले पनि भेलाको महत्त्व थप उच्च हुने उनीहरूको भनाइ थियो । एमालेका एक नेताका अनुसार पार्टी निर्णय र विधानका विषयलाई लिएर भेलामा अध्यक्ष खनाल र ओली-नेपाल पक्ष्ँका नेताहरूबीच चर्काे बहससमेत हुनेछ । ओलीनिकट एक नेताका अनुसार भेलामा पार्टी अध्यक्ष्ँको कार्यशैलीका बारेमा चर्को बहस हुनेछ र भेलाले अध्यक्ष झलनाथ खनाललाई साइजमा ल्याउन ठूलो सहयोग गर्नेछ । भेलाले पार्टीभित्र देखिएका सबैखाले समस्याका बारेमा खुला छलफल गरेर निकालिने निष्कर्षहरू पार्टी केन्द्रलाई बुझाइने भेला व्यवस्थापन समितिका संयोजक एवम् काभ्रे जिल्ला अध्यक्ष गोकुल बास्कोटाले जानकारी दिनुभयो । भेलाले दिएको निष्कर्षलाई केन्द्रीय कमिटीले थप परिमार्जन गरी राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा प्रस्तुत गर्ने बास्कोटाले जानकारी दिनुभयो । एमालेमा राष्ट्रिय प्रतिनिधि परिषद्लाई महाधिवेशनपछिको सबैभन्दा शक्तिशाली निकाय मानिन्छ ।
पार्टी केन्द्रीय विभाग, फाँट, जनवर्गीय सङ्गठनका प्रमुखहरू, अञ्चल संयोजक, सचिव र जिल्ला अध्यक्ष्ँहरूलगायत गरी डेढ सयभन्दा बढी एमाले नेताको सहभागिता रहने व्यवस्था व्यवस्थापन समितिले गरेको छ । भेला सम्पन्न गर्नका लागि काभ्रे जिल्ला अध्यक्ष बास्कोटाको संयोजकत्वमा एक सय पचास सदस्यीय मूल व्यवस्थापन समिति निर्माण गरिएको छ भने आयोजना स्थल, आवास तथा खाना, प्रचारप्रसार, स्वागत र स्वयम्सेवा गरी चार उपसमिति पनि बनाइएको छ ।

सञ्चारजगत्को अलग्गै पाँचबुँदे
सरकार नयाँ आर्थिक वर्षको बजेट घोषणाको तयारीमा रहेको अवसर पारेर सञ्चारमाध्यमहरूले भोग्नुपरेका समस्या उल्लेख गर्दै समस्या निराकरणको मागसमेत राखेर नेपाल पत्रकार महासङ्घ काठमाडौंले अर्थमन्त्रीलाई पाँचबुँदे ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमा लोककल्याणकारी विज्ञापन रकम आगामी आर्थिक वर्षदेखि दोब्बर हुनुपर्ने, समानुपातिक विज्ञापन प्रणाली लागू गर्न विज्ञापन प्राधिकरण गठन गरिनुपर्ने, सञ्चारमाध्यमका नाममा देखाइएको बेरुजु मिनाहा गरी वार्ष्र्िक २० लाखभन्दा कम आर्थिक कारोबार गर्ने सञ्चारमाध्यमलाई आगामी वर्षदेखि १५ प्रतिशत भ्याट नलिने गरी नियमावली संशोधन हुनुपर्ने, प्यान दर्ताका लागि ६ महिना समय थप गरिनुपर्ने र पत्रकारको क्षमता अभिवृद्धिसम्बन्धी तालिम सञ्चालानार्थ आर्थिक सहयोग प्रदान गर्नुपर्ने बुँदा समेटिएका छन् ।
ज्ञापनपत्रमार्फत मुलुकमा राजनीतिक परिवर्तनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका सञ्चारमाध्यमलाई प्रदान गर्दै आएको अनुदान रकममा अनेक कर लगाएर सरकारले पीडामाथि पीडा थोपरेकोले त्यसो नगर्न अनुरोध पनि गरिएको छ भने सरकारबाट जबर्जस्ती थोपरिएका सर्त पालना गर्न असमर्थता जनाउँदै माग पूरा नभए दबाबमूलक कार्यक्रम गर्न बाध्य हुने चेतावनीसमेत दिइएको काठमाडौं जिल्ला अध्यक्ष गोविन्द चौलागाईंले जनाएका छन् ।

फोन ह्याकिङका कारण १६८ वर्षको पत्रिका धराशयी
लन्डन । दि न्यूज अफ वर्ल्ड आफ्नो स्थापनाको १६८ वर्षपछि जुलाई १०, २०११ का दिन अन्तिमपटक छापिएर मिडिया जगत्बाट बिदा भएको छ । यूकेको सबैभन्दा बढी बिक्री हुने सनसनीपूर्ण पत्रिकाको रूपमा अत्यन्तै ख्याति पाएको सो पत्रिका अन्तिम प्रकाशनको मुख्य पृष्ठमा ‘धन्यवाद र गुडबाई’ भन्ने शीर्षकका साथ ८६७४औँ संस्करण छापिएर बिदा लियो । उक्त पत्रिका हेरक कोणहरूमा यूकेको पारम्परिकता अनि संस्कृतिको एक अभिन्न अङ्गको रूपमा यूकेवासीको मनमस्तिष्कमा भिजेको थियो । गत शनिबार ? ९ जुलाई) बेलुका अति नै भावुक कर्मचारीले लामबद्ध भएर उक्त अफिसलाई सदाकै लागि छोडेका थिए । वर्तमान सम्पादक कोलिन माइलरले सबै स्टाफलाई साथ लिई एक-एक प्रति पत्रिका हातमा लिएर उक्त भवन निकै नै भावुक मूद्रामा छोडेका थिए र सो लाममा धेरैजसो स्टाफलाई रोएको अवस्थामा देखिएको थियो । सोही समय आफ्ना स्टाफसहित अन्य मिडियाका कर्मचारीसमक्ष आफ्नो पत्रिकाको गौरवमय इतिहासको सम्झना गर्दै आफ्ना अति नै बहुमूल्य लगभग ७५ लाख पाठकलाई मौखिक रूपमा पनि धन्यवाद र गुडबाई भनेर सम्पादक माइलेरले बिदा लिएका छन् । अन्तिमपटक प्रकाशित भएको दिन सो पत्रिका साविकको भन्दा डबल अर्थात् पचास लाख प्रति छापिएको छ ।
न्युज कर्पोरेसनअन्तर्गत यूकेमा गत १६८ वर्षबाट लगातार उक्त पत्रिका न्युज अफ द वर्ल्ड प्रकाशित हुँदै आएको थियो । उक्त न्युज कर्पोरेसनका अध्यक्ष रूपर्ट मर्डोज अमेरिकाबाट लन्डनका लागि आउने क्रममै त्यहाँ यस पत्रिकालाई बन्द गर्ने फैसला अति नै लामो र गहन छलफलपछि लिइएको बताएका थिए ।
आफ्नो सनसनीखेजपूर्ण समाचारका लागि ख्याति कमाएको न्युज अफ द वर्ल्डले समाचारकै लागि अनेकौंपटक अवैधानिक कदम उठाएको समाचारका विविध माध्यमबाट पर्दाफास भइसकेको छ । त्यसको सुरुवाती अवस्थामा सन् २००२ मा बेपत्ता भएकी १३ वर्षीया मिली ड्वेलरको केस अगाडि आएको हो । सनसनीखेज समाचारका लागि भोको उक्त पत्रिकाले विभिन्न स्थानमा प्राइभेट जासुसलगायत करप्ट पुलिसहरूको पनि सेवा लिने गरेको तथ्य खोलिएको छ । त्यसरी बेपत्ता भएकी मिलीको घटनालाई गहिराइमा पुग्नका लागि पत्रिकाले उक्त स्थानमा गहन रूपमा अनुसन्धान थालेको थियो । हरेक ड्वेलर थर भएकाहरूका बारेमा जानकारी लिनेदेखि लिएर ती विविध सम्बन्धित व्यक्तिका फोनहरू ह्याक गरेर सूचना सङ्कलन गर्ने क्रममा न्युज अफ वर्ल्डका पत्रकारले मिली ड्वेलरको मोबाइल पनि ह्याक गरेर उक्त मोबाइलमा आउने भ्वाइस मेसेज सुन्न थालेका थिए । त्यसरी हराइरहेकी मिलीका परिवार तथा आफन्त अनि साथी-सङ्गीले छोडेका भ्वाइस मेलहरूलाई पत्रकारले सुन्दै प्रसङ्ग मिलाएर मिलीसम्बन्धी समाचारलाई विभिन्न मोड दिँदै जाने क्रममा तिनले भ्वाइस मेसेजको समय-सीमालाई यथावत् राख्नका लागि पनि आइसकेका अनि सुनिसकेका भ्वाइस मेलहरूलाई मेटाउँदै लगेका थिए, तिनका सोही क्रियाकलापले मिलीको परिवारलाई छोरी अझै जीवितै रहेको आभास मिलेको थियो, किनकि, भ्वाइस मेसेज बक्स कहिल्यै पनि भरिएको थिएन, त्यसको मतलब मिलीले सुन्दै अनि मेट्दै गरेकी हुनसक्ने तिनको विश्वास थियो । तर, मिली कहिल्यै पनि फर्केर आइनन् । न्युज अफ वर्ल्डले सन् २००७ को लन्डन बम्बिङका मृतकका परिवार तथा घाइतेका फोन ह्याक गर्नेलगायत विभिन्न सरकारी तथा गैरसरकारी अनि सेल्रि्रेटीहरूका फोन ह्याकिङ गर्ने गरेको तथ्यहरूलाई गार्डियनले आफ्नो गहन समाचार बनाएपछि भने न्युज अफ द वर्ल्ड अनि यसका सम्पादक कानुनको दायरामा आएका थिए । तत्कालीन सम्पादिका रेबेका ब्रुकलाई यसपालि संसद्बाटै राजीनामा दिनुपर्ने सांसदहरूलगायत विपक्षी नेता एड मिलब्यान्डको अडान रहेको छ । न्युज कर्पोरेसनको यूके शाखाकी चिफ एक्जेक्युटिभ रेबेका ब्रुकको कानुनी अवस्था तत्कालीन अदालतमा पनि जायज रहेको र योबेला पनि जायज रहेको भन्दै अध्यक्ष रूपर्ट मर्डोजले साथ दिएका छन् । न्युज अफ वर्ल्डको तत्कालीन फोन ह्याकिङसम्बन्धी आफूलाई कुनै जानकारी नभएको, संलग्नता नभएको भन्ने उक्त पत्रिका सर्वसाधारणका मनमा पनि गलत प्रभाव पार्न सक्षम हुँदै गएको ठानेर १६८ वर्षसम्म लगातार रूपमा यूकेको आमजीवनको एक अभिन्न अङ्ग बनेर रहेको प्रकाशनलाई नै सदाकै लागि बन्द गर्न बाध्य भएको पत्रिकाको सम्पादकीयमा लेखिएको छ । तथापि, उक्त पत्रिकाको ठूलो आधारको रूपमा रहेका विभिन्न ठूला विज्ञापनदाताले एकपछि अर्को गर्दै हट्न थालेपछि बाध्य भएर पत्रिका बन्द गर्नुपरेको पनि आमविचार छ । लगभग दुई सय कर्मचारी तथा पत्रकार अहिले बेरोजगार भएका छन् ।
संसद्लगायत अन्य विभिन्न पत्रपत्रिकामा न्युज अफ द वर्ल्डबाट सनसनी समाचारका लागि फोन ह्याकिङद्वारा प्रयोगमा आएका संवेदनशीललगायत प्रसिद्ध नाम प्रकाशमा आएपछि तिनको चर्चा संसद्मा पनि हुन थालेको थियो र त्यही क्रमको आघातको रूपमा विज्ञापनदाता न्युज अफ द वर्ल्डसँग टाढिन थालेका थिए । राष्ट्रिय स्तरमा नै सर्वसाधारणका परिसरमा यस पत्रिकाउपर टीका-टिप्पणी गरिन थालिएपछि पत्रिकालाई हटाउने निर्णय भएको मानिन्छ । तर, पूर्वसम्पादिका रेबेक्का ब्रुकलाई केही अघि नै हटाएको भए पत्रिकालाई हटाउन नपर्ने, त्यसो गर्दा लगभग दुई सय कर्मचारीको जागिर सुरक्षित हुने थियो भन्दै कतिपय कर्मचारी संस्थापन पक्षसँग रुष्ट रहेका छन्, तथापि जोर्नालिज्म इथिक्स आफूबाट नतोडिएको भन्दै अडिग रहने ब्रुकलाई अध्यक्ष कर्डोजको स्थायी साथ देखिएको छ । तर, पनि अहिलेसम्म तत्कालीन उपसम्पादकलगायत केही पत्रकारहरू र पुलिसका केही व्यक्तिलाई सोही सिलसिलामा स्कटल्यान्ड यार्ड पुलिसले सोधपुछका लागि हिरासतमा लिइसकेको छ भने आजैबाट बन्द भएको न्युज अफ द वर्ल्डको कार्यालयलाई घटनास्थलको रूपमा पुलिसले अनुसन्धानका लागि कब्जामा लिने भएको समाचार पनि छ ।
पत्रकारितामा गम्भीर आक्षेपको रूपमा यस न्युज अफ द वर्ल्ड प्रकरण रहेको मानिएको छ भने पत्रकारितामा गम्भीर मोड र्‍यान गिग्सबाट सार्वजनिक रूपमा अप्रकाशनमा आफ्नो कुकृतिहरूलाई राख्न लिएको कानुनी बन्देजबाट आएको छ ।-प्रकाश के.सी. लन्डनबाट

एकतर्फी प्रेमले लियो शुभेच्छाको ज्यान
नवलपरासी/ युवतीसँग एकतर्फी प्रेम गरेका युवाको प्रेम-प्रस्तावलाई किशोरी शुभेच्छा चापागाईंले अस्वीकार गरेपछि सामूहिक बलात्कारपश्चात् हत्या गरेको रहस्य खुलासा भएको छ ।
नवलपरासीको माकर-४ बर्दघाटनिवासी १७ वर्षीया किशोरी शुभेच्छा चापागार्इंको हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका ६ युवालाई सार्वजनिक गर्न जिल्ला प्रहरी कार्यालय नवलपरासीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त रहस्य खुलासा भएको हो ।
हत्याका मुख्य नाइके सोही ठाउँका आइटम भनिने अशोक गुरुङ, ग्रेड भनिने राजु विक, निजका भाइ देशी भनिने अरमान विक, गोरे भनिने राजकुमार अरगेजामगर, भान्जे भनिने सुभाष दर्जी र विष्णु सुनार रहेको प्रहरी उपरिक्षक ज्ञानविक्रम शाहले बताए ।
हत्याका मुख्य नाइके सोही ठाउँका आइटम भनिने अशोक गुरुङको बयानका आधारमा घटना सुनियोजित रूपमा घटाइएको प्रहरी उपरिक्षक शाहले बताए ।
चापागाईंको गत जेठ ३० गते सोमबार राति आफ्नै घरको छतमा बीभत्स तरिकाले हत्या भएको थियो । चापागाईंलाई आफूले पहिलेदेखि मन पराएकोले उक्त प्रस्ताव उनले नमानेको कारण राति मलाई गुण्डाहरूले लखेटेका छन् भन्ने नाटक गरी घरको ढोका खोल्न लगाई छतमा लगेको हत्यारा अशोक गुरुङले पत्रकारमाझ बताए ।
घरको ढोकाको भ्यान्टिलेसनको ग्रिल फोर्नका लागि एकमाथि अर्को गरी चढेर दुईजना भित्र पसेको घटनाका मुख्य योजनाकार गुरुङलाई किशोरीले ढोका खोलेका कारण हत्या भएको प्रहरी भनाइ रहेको छ ।
भ्यान्टिलेसनको ग्रिलमा दुईवटा मात्र काँटी रहेका कारणले फोर्न सम्भव भएको प्रहरीले जनाएको छ । परिवारसँग हारगुहार नमाग्नु नै हत्याका प्रमुख कारण भएको प्रहरी उपरिक्षक शाहले बताए । हत्यारासँगै शुभेच्छाले प्रयोग गरेको मोबाइल, सिम, हत्या गर्दा रगत पोतिएको कपडा, हतियार सार्वजनिक गरिएको थियो ।
यसैबीच किशोर अवस्थाका केटाकेटीलाई परिवारले विशेष ख्याल गर्नुपर्ने बताउँदै प्रहरी उपरिक्षक शाहले मोबाइलको सदुपयोगभन्दा दुरुपयोग बढ्दै गएकाले यसप्रति सजग रहन सबैलाई अपिल गरेका छन् ।
शरीरमा जताततै धारिलो हतियार प्रहार गरी चोटैचोट पारिएको अवस्थामा र अत्यधिक रक्तश्राव भएको अवस्थामा चापागाईंको शव भेटिएको थियो । मृतककी आमा विगत आठ वर्षदेखि विदेश बस्दै आएकी र अहिले उनी छोरीको मृत्युको खबरपछि घर आएकी छिन् भने बुबा कृष्ण चापागाईं माकर-३, कर्मैयास्थित
ज्ञानोदय प्राथमिक विद्यालयका प्रधानाध्यापक हुन् । पछिल्लोपटक नवलपरासीको माकर गाउँ विकास समिति-४ मा मात्रै ६ महिनाको अन्तरालमा तीनवटा हत्या भइसकेको छ ।
-आरपी उपाध्याय

प्रधानाध्यापक विवादले विद्यालय अस्तव्यस्त
राजनीतिक खिचातानीले प्रधानाध्यापकसम्बन्धी विवाद निम्त्याएपछि काठमाडौं, सिनामंगलस्थित गुह्येश्वरी उमावि हाल अस्तव्यस्त बनेको छ । केही समयअगाडि अक्षम भनेर फालिएकी प्रधानाध्यापिका सुमन शर्मालाई शिक्षामन्त्री गंगालाल तुलाधरले ठाडो तोकमार्फत पुनर्बहाली गराउनुभएपछि सो अवस्थाको सिर्जना भएको सरोकारवाला स्थानीयले महसुस गरेका छन् ।
७/८ महिना अघिमात्रै आर्थिक हिसाबकिताब पारदर्शी नगराएको, शिक्षकर्-कर्मचारी नियुक्तिमा अनियमितता गरेको, विद्यालयको भौतिक एवम् शैक्षिक विकासलाई ध्यान नदिर्य विद्यालयको शैक्षिक गुणस्तर खस्काएको, व्यवस्थापन समितिको निर्णयलाई नाघेर आफूखुसी गर्दै हिँडेको र विद्यालयलाई शैक्षिक केन्द्रभन्दा राजनीतिक अखडा र भर्ती केन्द्र बनाउन उद्यत् रहेकोजस्ता आरोपमा अभिभावक, विद्यार्थी, शिक्षक तथा कर्मचारी एवम् व्यवस्थापन समितिबाट समेत फालिएकी शर्मालाई शिक्षामन्त्री तुलाधरले ठाडो तोक गरेर सोही विद्यालयमा पुनर्बहालीका लागि निर्देशन किन दिनुभयो भन्ने प्रश्न उनीहरूले उठाएका छन् । अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा मन्त्रीको तोक लिएर विद्यालयमा हाजिर हुन आएकी शर्मालाई स्थानीय अभिभावकहरूले सामान्य हातपातसमेत गरेर विद्यालयबाट पुन: निकालिदिएका थिए । शिक्षक-शिक्षिका, विद्यार्थी, अभिभावक र व्यवस्थापन समितिसमेत सबैको असहमतिमा पनि शर्मा भने १५ दिनदेखि विद्यालयमा हाजिरका लागि पहल गरिरहेकी छिन् जसले गर्दा विद्यालयमा नियमित पठनपाठनसमेत सुचारू हुन सकेको छैन । प्रधानाध्यापकको सो विवादले शिक्षक-शिक्षिका र कर्मचारी चिन्तित बनेका छन् भने अभिभावक अत्यन्त आक्रोशित बनेका छन् । अक्षम भनेर फालिएकी व्यक्ति पुन: प्रधानाध्यापिकाको रूपमा आउँदा विद्यार्थीमा समेत अन्योल र निराशा छाएको छ भने सोही कारणले भर्खरै सुरु भएको कक्षा ११ को भर्ना कार्यक्रममा समेत नकारात्मक प्रभाव परेको छ ।
विद्यालयलाई राजनीतिक भर्तीकेन्द्र बनाउन नहुने र अक्षम भनेर बहिष्कार गरिएकी व्यक्तिलाई अदालतले कुनै फैसला नगर्दै शिक्षामन्त्रीले तोकआदेश दिएको भन्दै स्थानीय अभिभावकले शिक्षामन्त्री गंगालाल तुलाधरप्रति पनि रोष प्रकट गरेका छन् । अदालतको फैसला आउनुभन्दा अगाडि कुनै पनि हालतमा निज शर्मालाई विद्यालयकी प्रधानाध्यापिका तथा प्राचार्यको रूपमा स्वीकार गर्न नसक्ने भन्दै अभिभावकले सो निर्देशनलाई कार्यान्वयन गरेर देखाउन स्वयम् शिक्षामन्त्रीलाई चुनौती दिएका छन् । सोही कारणले गर्दा विद्यालयको यही साउन ४ गते हुने भनिएको ६५औँ वारि्षकोत्सव कार्यक्रम पनि केही समय र्सर्ने भएको छ ।
-नारायणप्रसाद अर्याल

सडक अलपत्र बनेपछि आन्दोलनको तयारी
जिल्लाको एक मात्र कालोपत्रे सडक डुम्रे-बेसीसहर खण्डमा मध्य-मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माणको क्रममा भत्किएको फूलबारी-फलिया-साँघु सडकको पुनर्निर्माणकार्य ठप्प भएको छ ।
मध्य-मर्स्याङ्दी जलविद्युत् परियोजना निर्माणकार्य सम्पन्न भएपछि पुनर्निर्माण गरिदिने सम्झौता भए पनि परियोजना निर्माण सम्पन्न भएपछि पनि मर्मत भएको थिएन । स्थानीयवासीले पटक-पटक बाटो पुनर्निर्माणको माग गर्दै आन्दोलन चर्काएपछि नेपाल विद्युत् प्राधिकरणले सडक विभागलाई सात करोड प्रदान गरेको थियो । तर, सडक पुनर्निर्माण गर्नेभन्दा भत्काउने काम भइरहेका यात्रुहरूले बताएका छन् । सडकमा माटोको थुप्रो र ढुङ्गा बाटो छेक्ने गरी राखिएकोले साँघुरो सडक झन् साँघुरो हुँदै गएको छ जसका कारण दुर्घटना निम्तिन सक्छ । सडकको पुनर्निर्माणकार्य सुरुवात नहुँदै काम रोकिनुलाई जिल्लावासीले भने अर्थपूर्ण रूपमा लिएका छन् । सडक पुनर्निर्माण तत्काल सुचारु नगरे फेरि आन्दोलन गर्ने भोटेवडार सामुदायिक सेवा केन्द्रका अध्यक्ष द्वारिकाप्रसाद मिश्रले बताए ।
यता ठेकेदार कम्पनी लामा च्याङ निला सुन्दरी कन्ट्रक्सन जेभीले भने बर्खाको समय भएको कारण साउन १५ गतेसम्मका लागि काम स्थगित गरेको बताएको छ । बर्खामा पानी परेको कारण काम गर्न नमिल्ने र यस्तो समयमा गरिएको काममा गुणस्तरीय नहुने भएकोले काम राकिएको जेभीका काजी गुरुङले बताए । उनले आफ्नो कम्पनीले तीन करोड रुपैयाँमा नौ किलोमिटर बाटो पुनर्निर्माण गर्ने ठेक्का लिएको बताए । बाँकी कामको जिम्मा भने कसले लिएको छ भन्नेबारेमा अहिलेसम्म खुल्न आएको छैन ।
भोटेओडार तथा उदिपुरका स्थानीय बासिन्दाले सडक मर्मतका लागि मङ्सिरमा आन्दोलन गरेपछि सडकको पुनर्निर्माण गरी कालोपत्रे गर्ने, नाली निर्माण तथा वाल उठाउने निर्णयसहित सडक डिभिजन कार्यालय दमौलीलेे टेन्डर आह्वान गरेको भए पनि करिब सात महिना बितिसक्दासमेत सो सडक खण्डमा कालोपत्रे हुन सकेको छैन ।
भोटेवडार सामुदायिक सेवा केन्द्रका अध्यक्ष मिश्रले आफूहरूले पुन: कडा आन्दोलनको तयारी गरिरहेको बताउँदै सडक कालोपत्रेमा ढिलाइ गर्ने काम जिल्ला प्रशासनबाट नै भएको दाबी गरे । सडक पुनर्निर्माण तथा कालोपत्रेका लागि नेपाल प्राधिकरणले सडक विभागसँग पाँच करोड ३२ लाख सम्झौता गरेको छ । अहिले उक्त सडक खण्डको करिब १५ किमिभन्दा बढी सडक पूरै भत्केको छ । कालोपत्रे उप्किएर सडकमा बिछ्याइएका गिट्टीसमेत सडकमा नहुँदा निकै बेवारिसे बनेको छ । परियोजना सञ्चालनको अवधिमा परियोजनाका दैनिक २/३ सयभन्दा बढी सवारी साधन आवत-जावत गर्नुको साथै सडकको भारभन्दा बढी सामान बोकेका सवारी साधनहरू आवत-जावत गरेकोले सडक काम नलाग्ने अवस्थामा पुगेको छ । कालोपत्रे उक्किएर जीर्ण बनेको सडकमा सवारी साधन गुडाउन र सर्वसाधरण हिँडडुल गर्नसमेत अप्ठ्यारो परेको छ ।
परियोजना सञ्चालनको समयमा समेत भोटेवडार र उदिपुर गाउँ विकास समितिका स्थानीय बासिन्दाले पटक-पटक मर्मतको माग गर्दै विद्युत् प्राधिकरण, मध्यमर्स्याङ्दी जलविद्युत् परियोजना र ठेकेदार कम्पनीको कार्यालय घेराउ गर्दै विभिन्न चरणका आन्दोलन गर्दै आएका थिए ।
जिल्लाका राजनीतिक नेताहरू, विद्युत् प्राधिकरण, जिल्ला प्रशासन र स्थानीय बासिन्दाबीच तत्काल मर्मत प्रक्रिया अघि बढाउने लिखित तथा मौखिक दुवै सहमति भए तापनि अहिलेसम्म सडक मर्मत गर्ने कुनै पनि लक्षण नदेखिएकाले आन्दोलनको तयारी गर्नुपर्ने मिश्रले बताए ।
-छविलाल बगाले

दमकमा सर्पदंश अध्ययन केन्द्र
दमकस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाद्वारा डेढ दशकदेखि सञ्चालनमा रहेको सर्पदंश उपचार केन्द्रलाई ‘सर्पदंश अध्ययन केन्द्र’ बनाइएको छ ।
उपचार केन्द्रलाई जेनेभा हेल्थ युनिभरि्सटीको सहयोगमा अध्ययन केन्द्रको रूपमा स्तरीकरण गरिएको रेडक्रस उपशाखाका सभापति प्रकाश बुढाथोकीले बताए । अध्ययन केन्द्रमा सर्पडसाइको उपचारसम्बन्धी नयाँ पद्धतिको विकास र अध्ययन, सर्पको प्रजातिबारे अनुसन्धानलगायतका कार्य हुने उनले जनाए । अध्ययन केन्द्रमा ६ महिना देखि ३ जना चिकित्सक रहँदै आएको र यसको संयोजन धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. सञ्जिव शर्माले गरिरहेको बुढाथोकीले जानकारी दिए । रेडक्रसले सर्पदंश अध्ययन केन्द्रमार्फत हाल सर्पले डसेका व्यक्तिको उपचार मात्र नभई बच्ने तरिका, सर्पका प्रजातिलगायतका बारेमा चेतनामूलक कार्यसमेत गरिरहेको छ । सर्पडसाइ उपचारलाई सहज बनाउन सर्पदंश अस्पतालसमेत निर्माणकार्य भइरहेको छ । झन्डै तीन करोड रुपैयाँको अनुमानित लागतमा निर्माण सुरु गरिएको अस्पताल भवनमा हालसम्म करिब ८० लाख रुपैयाँ खर्च भइसकेको जनाइएको छ ।
-विष्णु सुब्बा

महरालाई रसुवाका प्रहरीको चुनौती
मन्त्री बनेर आफूले घर पनि नबनाउने, कुनै पनि सम्पत्ति नजोड्ने घोषणा गर्दै गृह मन्त्रालयसम्बद्ध सबैलाई घुस नलिन गृहमन्त्री कृष्णबहादुर महराले निर्देशन दिएकै दिन रसुवा प्रहरीका अधिकृतहरूले भारतीय जाली नोट कारोबारमा संलग्न रहेको अभियोगमा जिल्ला प्रहरी कार्यालय रसुवाको हिरासतमा रहेका चित्रमान डङ्गोलसँग मोटो रकम मागेका छन् । रसुवा प्रहरीले ०६८ असार २० गते चिलिमेस्थित थम्बुचेत बजारबाट पक्राउ गरेका भारतीय जाली नोट ओसार-पसार र कारोबार गर्ने आपराधिक सञ्जालका सदस्य डङ्गोललाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रसुवाको हिरासतमा राखेपछि प्रहरीले यसरी रकम मागेको उनको परिवारका सदस्यले बताएका छन् । त्यही कारण उनलाई प्रहरीले पक्राउ गरेको ८५ घन्टासम्म रकमको बारगेनिङ गर्नेबाहेक कुनै कानुनी कारबाहीलाई अगाडि बढाउने काम गरिएन । नेपालको कानुनअनुसार कुनै पनि व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको २४ घन्टाभित्र कानुनी कारबाही अगाडि बढाउनुपर्ने प्रावधान छ ।
पश्चिमाञ्चल क्षेत्रका क्षेत्रीय सुरक्षा भेलामा भावुक हुँदै महराले मन्तव्य दिइरहेकै समयमा भारतीय जाली नोट ओसार-पसार र कारोबार गर्ने डङ्गोलका परिवारसँग उनलाई मुद्दा नचलाउने आश्वासन दिँदै जिल्ला प्रहरी कार्यालय रसुवाका अधिकृतले मोटो रकम मागेका हुन् । जिल्ला प्रहरी कार्यालय रसुवाका एक प्रहरी अधिकृतका अनुसार डङ्गोललाई प्रहरीले नियन्त्रणमा लिने क्रममा उनको कोठामा भारतीय नक्कली नोट र नक्कली नेपाली नोट फेला परेको थियो । नेपाली नक्कली नोटमा पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीको हस्ताक्षर रहेको प्रहरीले बताएका छन् । प्रहरीले यी नक्कली नेपाली नोट कहाँ छापेको र कहाँबाट ल्याएको भनेर भन्दा डङ्गोलले ‘काठमाडौंबाट’ भनेर जवाफ दिएका थिए । स्मरण रहोस्, ६ महिनाअघि नेपाल प्रहरीले ललितपुरको थैबस्थित कृष्णकुमार श्रेष्ठको घरबाट नक्कली नोट बनाउने मेसिनसहित नक्कली भारतीय र नेपाली नोटहरू बरामद गरेका थिए ।
भ्रष्टाचार गर्नेलाई कारबाही गर्न गृह मन्त्रालय निर्मम ढङ्गले लाग्ने र भ्रष्टाचारमा लाग्नेलाई कुनै छुट दिने छैन भनी सार्वजनिक रूपमा नै गृहमन्त्रीले घोषणा गरिरहेको समयमा रसुवा प्रहरीले गृहमन्त्री महराको घोषणाको च्यालेन्ज दिँदै जाली नोटको ओसार-पसार र कारबाही गर्ने गिरोहका सदस्य डङ्गोलसँग मोटो रकम दिएमा सबै आधार र प्रमाण नष्ट गरिदिने भनी रसुवा प्रहरीका केही अधिकृतले बा निङ गरिरहेका छन् । स्रोतका अनुसार रसुवा प्रहरी प्रमुख अच्युत पुडासैनीका निर्देशनमा प्रहरी अधिकृतले डङ्गोलसँग मोटो रकमका बारगेनिङ गरिरहेका हुन् ।
भ्रष्टाचार नियन्त्रणका लागि अहिले आफू लागिपरेको र भ्रष्टाचारमा रुमलिएका ग्रह-प्रशासनलाई परिवर्तन गरेर छोड्ने नसके पद छोड्ने, सके तस्करी तोडौँला नसके छोडौँला भनी घोषणा गर्ने गृहमन्त्री महराको भनाइ र निर्देशनलाई रसुवा प्रहरीको यो गतिविधि च्यालेन्ज नै भएको छ । नेपाल सरकारले भारतीय जाली नोटको कारोबारलाई नियन्त्रण गर्न नसकेकै कारण भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाका गर्भनर डी. सुब्बा राओले नेपालमा पाँच सय र हजार दरका भारतीय रुपैयाँ प्रचलनमा लगाएको प्रतिबन्ध तत्काल फुकुवा नहुने बताएका छन् । नेपालमा १० वर्षोदेखि त्यो नोट प्रतिबन्ध छ । नेपालले अनौपचारिक रूपबाट पाँच सय र हजार दरका नोटमा भारतले लगाएको प्रतिबन्ध फुकाउन पहल गर्दै आएको छ । यो वर्ष मात्र नेपाल प्रहरीले एक करोड ७४ लाख भा.रु. बरामद गरेको छ । भारतीय बजारको ६ प्रतिशत हिस्सा नक्कली भा.रु. न्ाोटले ओगटेको छ ।
– सुशीला पौडेल

होमियोप्याथिक चिकित्सकको नयाँ समिति
अखिल नेपाल होमियोप्याथिक चिकित्सक सङ्घको हालै दमकमा सम्पन्न पहिलो पूर्वाञ्चल क्षेत्रीय अधिवेशनले डा. केपी सुवेदीको अध्यक्षतामा क्षेत्रीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राजविराजका डा. एसएन मेहेता, महासचिवमा बिर्तामोडका विष्णुप्रसाद मिश्र, सचिवमा बेलबारीका डा. सीएन मण्डल र कोषाध्यक्षमा विराटनगरका गोपाल गुप्ता रहेका छन् । २१ सदस्यीय कार्यसमितिका सदस्यमा डा. लेखनाथ न्यौपाने ? दमक), डा. घनश्याम सुवेदी ? दमक), डा. हरिबाबु दाहाल ? उर्लाबणरी), डा. अनामिका मिश्र ? बिर्तामोड), डा. शिवानन्द प्रसाद ? लाहान), डा. मियाज अहमर ? इटहरी) रहेका छन् । यसैगरी जेपी शाह ? राजविराज), सदानन्द शाह ? इनरुवा), रामजी व्यास ? विराटनगर), खगेन्द्र ओली ? विराटनगर), लेखनाथ भट्ट, चन्दन गिरी ? राजविराज) लगायत सदस्य छानिएका छन् । नवनिर्वाचित कार्यसमितिलाई केन्द्रीय अध्यक्ष डा. शब्बिर खाँले शपथग्रहण गराएका थिए ।

अधिवेशनले श्यामनन्द शर्माको संयोजकत्वमा सल्लाहकार समितिसमेत गठन गरेको छ । अधिवेशनले ११ सूत्रीय मागसमेत पारित गरेको छ । होमियोप्याथिक काउन्सिलको गठन, होमियोप्याथिकको छुट्टै औषधि व्यवस्था विभागको व्यवस्था, सरकारबाट होमियोप्याथिक मेडिकल कलेज सञ्चालनलगायतका माग अधिवेशनले अघिसारेको हो ।
अधिवेशनको उद्घाटन प्रमुख अतिथिका रूपमा स्वास्थ्य राज्यमन्त्री धर्मशिला चापागाईंले गरेकी थिइन् । कार्यक्रममा दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडा, मेची चिकित्सक सङ्घका अध्यक्ष डा. पीताम्बर शर्मा, राष्ट्रिय शिक्षक परिषद्का केन्द्रीय उपाध्यक्ष जयबहादुर श्रेष्ठ, राष्ट्रिय प्राध्यापक सङ्घका केन्द्रीय उपाध्यक्ष अखिलेश्वर दास, सिन्हा होमियोप्याथिक मेडिकल कलेज भारतका प्राध्यापक डा. एसएम बारद्दिनलगायतले बोलेका थिए ।

जीवनका रंगमाथि परिचर्चा
साहित्यकार इल्या भट्टराईको नयाँ कथासङ्ग्रह जीवनका रंगमाथि काठमाडौंमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा साहित्यकार डा. मदनमणि दीक्षितले विषयका हिसाबले इल्याको कथा नयाँ भएको बताए । उनले पुरुष मनोविज्ञानलाई इल्याका कथाले उजागर गरेको बताए । आख्यानकार डा. ध्रुवचन्द्र गौतमले जीवनका रंग सफल कथाको सङ्ग्रह भएको बताए । उनले इल्याले नियात्रा र कथामा एकसाथ कलम चलाउनु महत्त्वपूर्ण भएको बताए । कार्यक्रममा समालोचक प्रा. राजेन्द्र सुवेदीले नारी हस्ताक्षरमा इल्या सफल र अग्रस्थानउन्मुख रहेको बताए । कवि तथा समीक्षक हरि अधिकारीले इल्याका कथाले आममानिसको मनमा बलियो गरी स्थान बनाउन सक्ने दाबी गरे । उनले नपत्याउँदो किसिमले विषयको उठान गर्ने इल्याको खुवीको प्रशंसा पनि गरे । कार्यक्रममा साहित्यकार गीता केशरी, दीपक भट्टराई, मणि लोहनीलगायतले बोलेका थिए । त्यस अवसरमा कवि तथा सञ्चारकर्मी ठाकुर बेल्वासेले इल्या भट्टराईको कथा वाचन गर्नुभएको थियो ।
जीवनका रंग इल्याको सातौँ कृति हो । यसअघि उनका चार कथासङ्ग्रह र दुई नियात्रा कृति प्रकाशित भइसकेका छन् ।