मानिसहरू प्रायः भन्ने गर्छन्–पुलिस र पत्रकारलाई नजिक पनि राख्नुहुन्न टाढा पनि राख्नुहुन्न । अरू त अरू कहिलेकाहीँ आफन्तहरूले समेत ‘विचार गरेर बोल है, ऊ त पत्रकार पनि हो नि’ भनिदिँदा खिन्नता महसुस हुनेहरू धेरै छन् । प्रहरीहरूलाई पनि यस्ता घटनाहरू भएका हुँदा हुन् । कहिलेकाहीँ यस्तो व्यवहारको सामना गर्नुपर्ने हुन्छ मानौँ आफ्नो परिवेश र आफ्नाहरूको परिवेश छुट्टै हो । कहिलेकाहीँचाहिँ फेरि अनपेक्षित मान–सम्मान पनि प्राप्त भइरहेको हुन्छ । पुलिस र पत्रकारलाई एउटै रूपमा मानिसहरू किन हेर्छन् त ? के समाज या मुलुकमा उनीहरूको भूमिका उस्तै हो ? जनतालाई सुरक्षाको अनुभूति दिनुपर्ने प्रहरी र जनतालाई सुसूचित गर्नुपर्ने दायित्व बोकेका पत्रकारबीच त्यस्तो तादत्म्यता के छ त ? काम, कर्तव्य र अधिकार सबै फरक हुँदाहुँदै पनि प्रहरी र पत्रकारसँग टाढा पनि हुनुहुन्न, नजिक पनि हुनुहुन्न भनेर किन भनिएको होला ? वास्तवमा समाजमा प्रहरी र पत्रकारको भूमिका नितान्त फरक छ । सुरक्षा र सूचना यी दुवै शब्द ‘स’बाट सुरु हुनु संयोग मात्र हुन सक्छ । तर, यति भन्दाभन्दै पनि केही समानता पनि यी दुईमा देखिन्छ । प्रहरीले आफ्नो कर्तव्यको सिलसिलामा आफ्नो जात, धर्म, आफन्त, नातेदार, साथी या छिमेकी भन्न मिल्दैन र पत्रकारले पनि ए यो त मेरो आफन्तको कुरा हो, समाचार लेख्दिनँ या छाप्दिनँ वा सार्वजनिक गर्दिनँ भन्न मिल्दैन । यदि समाचारीय मूल्यको कुरा रहेछ भने जतिसुकै नजिकको मान्छे भए पनि एउटा व्यावसायिक पत्रकारले दिनैपर्ने हुन्छ । सत्यतथ्य सार्वजनिक गर्दा कहिलेकाहीँ आफन्तहरूलाई पनि धक्का पुगेको हुन सक्छ या पुग्न सक्छ । त्यसैले आफन्त या साथीभाइहरूले आफ्ना निजी तहका कतिपय घटनामा आफन्ती पुलिस या पत्रकारबाट सहयोग नपाउन सक्छ । टाढा राखुँ कहिलेकाहीँ काम पर्न सक्छ, नजिक राखुँ भने आफूले खोजेको सहयोग पाइँदैन, त्यसैले पत्रकार र पुलिसलाई टाढा पनि होइन नजिक पनि होइन भनिएको हुनुपर्छ ।
२०७१ साल चैत २२ गते आदिवासी जनजाति महासङ्घ (फोनिज) र युनेस्कोको संयुक्त आयोजनामा वीरगन्जमा भएको कार्यक्रममा बारा, पर्सा, मकवानपुरलगायतका विभिन्न आठवटा जिल्लाका प्रहरी अधिकृतहरूसँग छलफल र कुराकानी गर्ने मौका मिल्यो । मिडियासँगको अनुभवका बारेमा प्रहरी अधिकारीहरूले खुलेरै कुरा गरे । विभिन्न प्रकारका भिडन्तमा पत्रकारहरू प्रदर्शनकारीहरूसँगै अघि बढिदिँदा धेरै ठाउँमा आफूहरूलाई अप्ठ्यारो परेको, भीडभाडमा हुँदा पत्रकारले ज्याकेट अनिवार्य रूपमा लगाइदिए हुने, कतिपय पत्रकारहरू आफूले देवत्व नै प्राप्त भएझैँ गरी प्रस्तुत हुनेलगायतका कुराहरू प्रहरीका तर्फबाट आए । एक अधिकृतले आफ्नो अनुभव सुनाउँदै भनेका थिए, ‘उहाँले खोजेको सूचना मैले फोनबाट दिइनँ भनेर एकजना पत्रकार सीधै मेरो बेडरुममा पसे, पत्रकारले कसैको बेडरुममा त्यसरी छिर्न मिल्छ र ?’ प्रदर्शनकारीले प्रहरीलाई ढुङ्गा हानेर रगताम्य पारेको फोटो या दृश्यले मिडियामा कम स्थान पाउने, तर प्रहरीले लाठी उठाएको दृश्य जताततै आउने कुरा पनि उठेको थियो । कुनै घटनाबारे पूरा जानकारी नआउँदै मिडियाले हेडलाइन दिइसक्ने कुरामा पनि प्रहरीको गुनासो थियो । एक प्रहरी अधिकारीको भनाइ थियो, ‘पूरा जानकारी आइसकेकै हुँदैन, पत्रकारहरू छिटो भन्नुस्, भनिहाल्नुस् त, सूचना दिइहाल्नुस् भन्नुहुन्छ । हामी पनि त अपडेट हुनुप-यो, थप बुझ्नुप-यो । कतिपय पत्रकारको भनाइ त अर्को साथीले समाचार पठाइसक्यो, तुरुन्तै पठाएन भने मेरो जागिर जान्छ, छिटो भन्नुस न भन्ने पनि हुन्छ । हतारहतारमा जानकारी दिएर पत्रकारहरूको जागिर बचाउने कि, आफ्नो जागिर जोगाउने ? हामीलाई पनि गाह्रै छ ।’ छलफल पत्रकारको सुरक्षालाई लिएर थियो, विषयगत कुरासँगै प्रहरी–पत्रकारका सम्बन्धका कुरा पनि भए । महिला पत्रकारको सङ्ख्या बढ्दै गएको परिप्रेक्ष्यमा महिला पत्रकारको सुरक्षाका कुराहरू भए । पत्रकारिता क्षेत्रमा गलत प्रवृत्ति हावी नहोस् भनेर पत्रकार आचारसंहिताबारे पत्रकारसँगै विभिन्न क्षेत्र, पेसा, व्यवसायका मानिसलाई पनि जानकारी दिनुपर्ने सहभागीको भनाइ थियो ।
पछिल्लो समयमा मिडियाको प्रतिस्पर्धा यस्तो देखिएको छ कि कतिपय अवस्थामा एउटै घटनामा फरक–फरक कुरा आइरहेको हुन्छ । कुनै सूचना पहिले आफूले ब्रेक गरेर स्कुप मार्ने कि तथ्यपरक हुने भन्ने चुनौती हामीसामु छ । तथ्य परक हुनेभन्दा पहिलो हुने प्रतिस्पर्धा चलिरहेको छ । उसले दिइसक्यो म ढिलो भएँ भनेर दौडिनेहरूले उसले के दियो भन्नेतर्फ भने त्यति ध्यान दिएको पाइँदैन । कहिलेकाहीँ स्रोतले पनि नराम्ररी फसाइदिइरहेका हुन्छन् । तर, त्यो सही हो कि होइन थप पुष्टि नै नगरी अर्कोले सोही समाचार तलमाथि पारेर दिइरहेको हुन्छ । अनि फस्दाफस्दै पाठक, दर्शक या स्रोतासँग क्षमायाचना गर्नुपर्ने अवस्था पनि आउँछ कहिलेकाहीँ । तर, समाचारमा गल्ती भयो भनेर माफी माग्ने चलन पनि हामीकहाँ कमै छ । आपराधिकदेखि अन्य जुलुस, हडताल, कुटपिटलागयत धेरै घटनामा प्रहरी नै प्रमुख स्रोत हुन् । एउटा पत्रकारले आफुले जे–जे देखे पनि कति मानिस पक्रिए, कति छुटे या कति मानिस घाइते भए वा अन्य घटना के–के भए भनेर प्रहरी कार्यालयले दिएको सूचनाबाटै त्यसको पुष्टि गर्नुपर्ने हुन्छ । सूचना लिन र त्यसको पुष्टि गर्नका लागि पत्रकारलाई प्रहरीको सहयोग मात्र आवश्यक पर्ने होइन, आफूले गरेका काम जनसमक्ष ल्याउन प्रहरीलाई पनि पत्रकारको आवश्यकता त्यत्तिकै पर्दछ । मिडियामार्फत बाहिर नल्याउने हो भने प्रहरीले गरेका कति कामहरू जनसमक्ष नआइनै हराउने थिए । सूचना लिने–दिने कुरामा सीमित भएर स्वस्थ सम्बन्ध स्थापना गर्ने हो भने प्रहरी र पत्रकारबीचको सम्बन्ध एक–अर्काका परिपूरकजस्तै हुन । तर, यहाँ पत्रकारका नाममा प्रहरीका वरिपरि घुम्ने र प्रहरीका नाममा आफूले छिसिक्क जे गरे पनि मिडियामा आफ्नो नाम आइहालोस् भनेर या जे–जति नराम्रो काम गरे पनि मिडियामा नआओस् भनेर बिहानको तातो चियामा आफूलाई पत्रकार भन्नेहरूसँगै र बेलुकाको चिसो चियामा पनि उनीहरूसँगै बिताउन चाहने एउटा जमात् नै भएका कारण यी दुईबीच हुनुपर्ने परस्पर सम्बन्ध उपयोगी हुन नसकेको हो भन्न सकिन्छ ।
प्रतिक्रिया