काठमाडौं गोकर्णेश्वरमा अर्गानिक खेतीमा कृषकको आकर्षण

काठमाडौं गोकर्णेश्वरमा अर्गानिक खेतीमा कृषकको आकर्षण


  • छविलाल बगाले

    शहरदेखि गाउँसम्म अर्गानिक तरकारी उत्पादन गर्ने होडबाजी चल्न थालेको छ । उपभोक्ताको स्वास्थ्य मात्र होइन, जैविक पर्यावरणका लागि पनि अर्गानिक उत्पादन आवश्यक छ । तर, अर्गा्निक तरकारीको मूल्य केही महंगो हुने भएकाले उपभोक्ताको सोच भने परिवर्तन हुन नसकेको कृषकको गुनासो छ ।

काठमाडौं गोकर्णेश्वर नगरपालिका कृषक गाउँमै अर्गानिक तरकारी फलाउने होडबाजीमा छन् । एकातिर जैविक पर्यावरण जोगाउने र अर्कोतिर उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै कृषकहरु अर्गा्निक खेती प्रणालीमा केन्द्रीत हुन थालेका छन् । तर, उपभोक्तामा सचेताना आवश्यक रहेको उनीहरुको भनाई छ ।

गोकर्णेश्वर–१ मुलखर्कका शुकबहादुर तामाङले अर्गानिक तरकारी खेतीबाट मात्रै मासिक ६० हजार आम्दानी गर्छन् । उनीमात्रै होइन कुरीगाउँ, ओख्रेनी, चिलाउने गाउँका २८ कृषक परिवार पनि अर्गा्निक खेतीमै रमाएका छन् । उनीहरुले काउली, गोलभेंडा, आलु, प्याज, सिमी लगायतका तरकारी बाली उत्पादन गर्दै आएका छन् ।

मुलखर्क बागमती जलाधार क्षेत्रको माथिल्लो तटिय क्षेत्र भएकोले पनि कृषकहरु आफूले उत्पादन गर्ने तरकारी बालीमा रासायनिक मल र किटनाशक औषधिको प्रयोग गर्दैनन् । खेतबारीमा प्रयोग गरीएको किटनाशक औषधि र रासायनिक मल पानीले बगाएर बागमतीमा पुग्ने डरले पनि कृषकहरु सचेत छन् । पारिस्थितकिय प्रणालीलाई बलियो बनाई राख्न र जलधार क्षेत्रलाई स्वच्छ बनाइराख्न गाउँमा अर्गानिक खेतीको अवधारणा ल्याइएको अभियन्ताहरु बताउँछन् ।

विषादी प्रयोग गरि उब्जाईएका तरकारी र फलफूलभन्दा जैविक मलको प्रयोग गरिएका उत्पादन तुलनात्मक रुपमा महङ्गो भएपनि तिनको माग भने बढ्न थालेको छ । अर्गा्निक तरकारी र फलफूल तुलनात्मक रुपमा २० देखि ३० प्रतिशतले महङ्गो हुने गरेको छ । स्वास्थ्यप्रति संवेदनशील शहरी क्षेत्रका उपभोक्ताहरु आफ्ना ग्राहक रहेको कृषक तामाङको भनाइ छ ।

अहिले नेपालका थोरै भागमा मात्रै अर्गानिक तरकारी खेती हुँदै आएको छ । हिजोआज बजारमा देख्दा चम्किलो, सर्लक्क परेको र किरा नलागेको विषादीयुक्त उत्पादनलाई भन्दा बढी पैसा अर्गा्निक उत्पादनलाई तिर्न अन्कनाउने ग्राहकको कमी भने छैन् । विकट जिल्लामा उत्पादन हुने मौसमी फलफूल र तरकारीको भरपर्दो र सुलभ ढुवानीको व्यवस्था गरिए उपभोक्ताले सस्तो दरमै गुणस्तरयुक्त तरकारी र फलफूल खान पाउने निश्चित छ ।